ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएको कोलराडो सर्वोच्च अदालतको ठहर

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई कोलराडो राज्यबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न त्यहाँको सर्वोच्च अदालतले रोक लगाएको छ।

कोलराडो सर्वोच्च अदालतले राजद्रोहको आरोपमा फैसला गर्दै उनलाई उक्त राज्यमा चुनाव लड्न रोक लगाएको हो। अन्य राज्यमा ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न भने यो निर्णयले रोक्दैन।

अमेरिकाको संविधानको १४औँ संशोधनबाट थप गरिएको व्यवस्थाका आधारमा कसैलाई राष्ट्रपतिको उम्मेदवार बन्नबाट रोक लगाइएको यो पहिलो पटक हो।

ट्रम्पको निर्वाचन अभियानले उक्त आदेश अप्रजातान्त्रिक रहेको तर्क गर्दै पुनरावेदन गर्ने जनाएको छ।

यसअघि न्यूह्याम्शर, मिनिसोटा र मिशिगनमा ट्रम्प निर्वाचनमा सहभागी हुन अयोग्य रहेको भन्दै मुद्दा परेको थियो। तर त्यहाँ ट्रम्पविरुद्ध आदेश आएको थिएन।

मङ्गलवारको फैसलाविरुद्ध ट्रम्पले एक महिनाभित्र पुनरावेदन दिन सक्छन्।

अदालतको आदेश मार्च ५ मा हुन लागेको प्राइमरी निर्वाचनमा लागु हुने छ। उक्त दिन रिपब्लिकनहरूले आफ्नो पार्टीबाट राष्ट्रपतीय उम्मेदवार चयन गर्दै छन्। यद्यपि यो आदेशको असर अर्को वर्ष नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा पनि हुने ठानिएको छ।

निर्वाचनमा हस्तक्षेप गरेको अभियोग लागेका ट्रम्प जोर्जा राज्यमा पक्राउ परेका थिए

तस्बिर स्रोत, FULTON COUNTY SHERIFF'S OFFICE

तस्बिरको क्याप्शन, निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पक्राउ परेपछि जोर्जा राज्यमा प्रहरीले उनको यो तस्बिर खिचेको थियो

फैसलामा के छ

उक्त फैसलाको पक्षमा चार र विपक्षमा तीन न्यायाधीश थिए।

“हामी हलुका रूपमा यो निष्कर्षमा पुगेका छैनौँ। हामीले यसले पार्ने असर र अब हामीलाई सोधिने प्रश्नहरूबारे पनि ध्यान दिएका छौँ,” उनीहरूले आफ्नो आदेशमा लेखेका छन्।

"हामी जनताको प्रतिक्रियाबाट प्रभावित नभई कानुन लागु गर्ने हाम्रो गम्भीर कर्तव्यलाई बिनाडर वा बिनापक्षपात र कानुनद्वारा निर्देशित निर्णयहरूका आधारमा गर्न सचेत छौँ।”

यो आदेशले यसअघि कोलराडोकै अर्का न्यायाधीशले दिएको एउटा आदेश उल्टिएको छ।

यसअघिका न्यायाधीशले संविधानको १४औँ संशोधनको राजद्रोहसम्बन्धी व्यवस्थामा राष्ट्रपतिहरूबारे उल्लेख नगरिएकाले राष्ट्रपतिहरूमा यो प्रावधान लागु नहुने ठहर गरेका थिए।

यसअघि त्यही राज्यको तल्लो अदालतले सन् २०२१ मा क्यापिटल हिलमा भएको दङ्गामा ट्रम्पको संलग्नता भएको ठहर गरेको थियो।

सांसदहरूले अमेरिकी राष्ट्रपतिमा जो बाइडनको विजय अनुमोदन गर्दै गर्दा ट्रम्पका समर्थकहरू अमेरिकी कङ्ग्रेसमा प्रवेश गरेका थिए।

अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको दङ्गामा केही व्यक्तिको मृत्यु पनि भएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी संसद् भवन क्यापिटल हिलमा भएको दङ्गामा केही व्यक्तिको मृत्यु पनि भएको थियो

डोनल्ड ट्रम्प पक्ष के भन्छ

कोलराडो सर्वोच्च अदालतको आदेश २०२४ को ज्यानुअरी ४ सम्म कार्यान्वयन हुँदैन।

त्यसको भोलिपल्ट प्राइमरी निर्वाचनका लागि उम्मेदवारहरूको मतपत्र प्रकाशित गर्न नाम टुङ्गो लगाइसक्नुपर्छ।

ट्रम्पको राष्ट्रपतीय अभियानका प्रवक्ता स्टीभन चङले अदालतको आदेश त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिएका छन्। उनले डेमोक्र्याटिक पार्टीबाट नियुक्ति पाएका न्यायाधीशहरूप्रति पनि आक्रोश व्यक्त गरेका छन्।

“मतसर्वेक्षणहरूमा ट्रम्प निकै अगाडि देखिएपछि डेमोक्र्याटिक पार्टीका नेताहरू विक्षिप्त बनेका छन्,” उनले भने।

“उनीहरूले बाइडनको विफल नेतृत्वमाथि पनि विश्वास गुमाइसकेका छन् र अहिले अर्को नोभेम्बरमा उनीहरूको पार्टीको सरकार फाल्ने अमेरिकी मतदाताहरूको तयारी रोक्न सक्दो प्रयास गरिरहेका छन्,” ट्रम्पका प्रवक्ताले भनेका छन्।

बाइडनको अभियानका प्रतिनिधिले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे।

तर बाइडनको निर्वान अभियानमा सहभागी एक डेमोक्र्याट नेताले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग अदालतको निर्णयले क्यापिटल हिलमा भएको दङ्गा राजद्रोहको प्रयास भएको भन्ने आफ्नो दाबीलाई पुष्टि गरेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।