किसिन्जर : राजा वीरेन्द्रका ‘गुरु’ र नेपालको ‘सन्तुलित कूटनीति’का प्रशंसक

तस्बिर स्रोत, Reuters
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
सन् १९८५ को ज्यानुअरी महिनाको एक दिन लाजिम्पाटस्थित शङ्कर होटलमा आयोजना गरिएको एउटा प्रवचन सुन्न यति ठूलो भिड जम्मा भयो कि त्यहाँको मुख्य हलमा आगन्तुकहरू अटाउन सकेनन्।
आगन्तुकलाई फर्काउनु नपरोस् भनेर आयोजक र होटलले बाहिर खुला चौरमा भिडिओ देखाउने व्यवस्था मिलाए।
मुख्य वक्ताले बोल्न थाल्दा हलसहित बाहिर खुला चौरमा पनि खचाखच मानिस थिए।
दर्शकदीर्घामा अधिकांश नेपाली सत्ता र समाजका प्रभावशाली व्यक्तिहरू बसेका थिए।
आफ्नो प्रवचनका लागि नेपालका सबैभन्दा प्रभावशाली व्यक्तिहरूलाई आकर्षित गर्ने मुख्य वक्ता भने त्यस बेला कुनै राज्यको मुख्य भूमिकामा रहेका व्यक्ति थिएनन्।
ती वक्ता अमेरिकाका भूतपूर्व विदेशमन्त्री तथा भूतपूर्व प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार हेन्री किसिन्जर थिए।
“उहाँको लेक्चर सुन्न धेरै मान्छे आए। हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो। होटलले बाहिरै भिडिओमा हेर्ने व्यवस्था मिलाउँदा त्यहाँ पनि मान्छे खचाखच भए,” किसिन्जरको प्रवचन आयोजना गर्ने नेपाल विश्व सम्बन्ध परिषद्का तात्कालिक अध्यक्ष प्रा मोहनप्रसाद लोहनी सम्झन्छन्। उनी पूर्वराजदूत पनि हुन्।

तस्बिर स्रोत, Getty Images
वीरेन्द्र युवराज हुँदा र पछि राजा बनेपछि कस्तो सम्बन्ध
हेन्री किसिन्जरले अमेरिकी प्रशासनमा प्रभावशाली भूमिका पाउनुअघि उनी विश्वप्रसिद्ध हार्भर्ड विश्वविद्यालयमा प्राथ्यापन गर्थे।
नेपालका तात्कालिक युवराज वीरेन्द्रले ब्रिटेनको इटन कलेजपछि सन् १९६८ मा हार्भर्डमा लिबरल आर्ट्समा एकवर्षे कोर्ष गर्न गए। त्यस बेला विश्वविद्यालयमा उनलाई पढाउनेमा किसिन्जर पनि थिए।
सन् १९७५ फेब्रुअरी २४ मा वीरेन्द्रको राज्याभिषेकबारे प्रकाशित समाचारमा न्यूयोर्क टाइम्सले लेखेको थियो, “… उनी हार्भर्डमा हेन्री किसिन्जरको नेतृत्वमा राजनीतिबारे अध्ययन गर्ने व्यक्ति पनि हुन् र उनी आफ्नो फुर्सदको समय प्यारशूटिङ तथा प्रभाववादी शैलीमा चित्र कोरेर बिताउँछन्।”
राजा वीरेन्द्रका प्रमुख संवाद सचिव रहेका चिरण शम्शेर थापा पनि किसिन्जरले उनलाई हार्भर्डमा पढाएको बताउँछन्।
अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको निमन्त्रणामा सन् १९८३ मा नेपालबाट वीरेन्द्रले अमेरिकाको राजकीय भ्रमण गरेका थिए। त्यस बेला नेपालका राजारानीलाई वाशिङ्टनस्थित म्याडिसन होटलमा राखिएको थियो।
“हार्भर्डपछि किसिन्जरले वीरेन्द्र सरकारलाई पहिलो पटक त्यो राजकीय भ्रमणका बेलामा म्याडिसन होटलमै भेट्नुभएको थियो,” थापाले बीबीसीसँग भने, “सरकारले उहाँलाई नेपाल भ्रमणको निम्तो दिइबक्यो। त्यसपछि उहाँ नेपाल आउनुभएको हो।”

तस्बिर स्रोत, Getty Images
जानकारहरूको भनाइमा सन् १९८५ मा किसिन्जर राजा वीरेन्द्रकै निम्तोमा नेपाल आएका थिए। उनले नारायणहिटी राजदरबारमा वीरेन्द्रसँग एक्लाएक्लै भेटघाट पनि गरे।
“त्यस बेला महाराजाधिराजले दरबारका कुनै पनि सचिव साथमा नराखी विदेशीलाई दर्शनभेट दिने चलन थिएन, किसिन्जरसँग भने वीरेन्द्र सरकारले कसैलाई पनि नराखीकन एक्लै एक घण्टाजति भेटिबक्सेको थियो।”
हेन्री किसिन्जरको त्यो प्रवचन
किसिन्जर नेपाल आउने तय भएपछि परराष्ट्र मन्त्रालयमा सल्लाहकार यदुनाथ खनालले प्रवचन कार्यक्रमको व्यवस्था मिलाएको पूर्वराजदूत लोहनी स्मरण गर्छन्।
“यदुनाथ खनालले मलाई बोलाएर नेपाल विश्व सम्बन्ध परिषद्को आयोजनामा उहाँको प्रवचन दिने भनिएको छ, तपाईँ अध्यक्ष हुनुहुन्छ व्यवस्था मिलाउनूस् भन्नुभयो,” प्रा लोहनीले भने।
“त्यसपछि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा हामीले कार्यक्रम मिलायौँ र शङ्कर होटलमा उहाँको प्रवचन भयो।” त्यो प्रवचनमा किसिन्जरले विश्वको परिदृश्य र नेपाल तथा छिमेकी मुलुकहरूबारे पनि चर्चा गरेको लोहनी स्मरण गर्छन्।

तस्बिर स्रोत, GETTY IMAGES
त्यस बेला लोहनीले नेपाल र बाङ्ग्लादेशको तुलना गर्दै प्रतिव्यक्तिका दरले हिसाब गर्दा ‘नेपालले किन कम अमेरिकी सहायता पाइरहेको छ?’ भनेर आफ्नो परिचयात्मक मन्तव्यमा भनेका थिए।
त्यसको उत्तरमा किसिन्जरले “अमेरिकी कङ्ग्रेसमा लबी गर्दा मात्र सहायता बढ्ने” खालको धारणा राखेका थिए। प्रवचनपछि खानपानका लागि होटलको माथिल्लो तलामा जाँदै गर्दा किसिन्जरले भनेको कुरा लोहनीका कानमा "अहिले पनि गुन्जिरहेको छ"।
त्यस बेला किसिन्जरले लोहनीलाई भने, “मैले भारतको बारेमा धेरै त बोलिनँ नि?” “मलाई त त्यस्तो लागेन भनेर मैले जबाफ फर्काएँ,” लोहनी भन्छन्।
सोल्टीमा डिनर र चितवनमा गैँडाको दर्शन
किसिन्जर नेपाल आउने भएपछि राजा वीरेन्द्रले उनलाई सोल्टी होटलमा डिनरको व्यवस्थापन गर्न तात्कालिक शिक्षामन्त्री पशुपति शम्शेर जबरालाई निर्देशन दिएका थिए।
“म त्यस बेला शिक्षामन्त्री थिए, मलाई डिनरको व्यवस्था गर्नु भन्ने निर्देशन आएपछि हामीले सोल्टी होटलमा उहाँलाई डिनरको व्यवस्था गरेका थियौँ,” जबराले बीबीसीसँग भने।
“उहाँसँग डिनरका बेलामा नेपाल र छिमेकी मुलुकसहित भूराजनीतिक विषयमा कुराकानी भएको थियो तर कुन विषयमा कस्तो कुरा भन्ने मलाई अहिले याद छैन।”
यद्यपि उनले नेपालले भारत र चीनसँग राखेको सन्तुलित सम्बन्धको उनले प्रशंसा गरेको जबरा स्मरण गर्छन्।
काठमाण्डूमा प्रवचन दिनुअघि उनी गैँडा हेर्न भनेर चितवन गएको राजा वीरेन्द्रका तात्कालिक प्रमुख संवाद सचिव थापालाई सम्झना छ।

तस्बिर स्रोत, GETTY IMAGES
नेपाली सन्तुलित कूटनीतिको प्रशंसा
नेपाली नेताहरूसँगको भेटमा नेपालले अपनाएको कूटनीतिबारे प्रशंसा गरेका किसिन्जरले आफ्नो पुस्तकमा पनि त्यसबारे लेखेका छन्।
किसिन्जरले आफ्नो पुस्तक ‘वर्ल्ड अर्डर: रिफ्लेक्शन अन क्यारेक्टर अफ नेशन्स एन्ड द कोर्स अफ हिस्ट्री’मा नेपालको कूटनीतिक परम्पराको प्रशंसा गरेका छन्।
उनले त्यसमा “शताब्दियौँदेखि नेपालले चीन र भारतका शासक राजवंशबीच आफ्नो कूटनीतिक कुशलतापूर्वक सन्तुलित गर्दै आएको” उल्लेख गरेका छन् [पृ. १७९]।
त्यसमा उनले नेपालले चीन र भारतका शासकहरूलाई पत्राचार र उपहारहरू पठाएर त्यस्तो सन्तुलन कायम गरेको लेखेका छन्।
नेपालले पठाउने उपहारलाई चीनले श्रद्धापूर्वक पठाएको भन्ने उल्लेख गरे पनि नेपालले त्यसलाई समान खालको आदानप्रदानको रूपमा लिने गरेको किसिन्जरले उल्लेख गरेका छन्।
उनले नेपालले चीनसँग विशेष सम्बन्ध राख्दै र भारतसँग पनि त्यसै गर्दै आफ्नो स्वतन्त्रतालाई सुनिश्चित पारेको पुस्तकमा लेखेका छन्।
हेन्री किसिन्जरको कूटनीतिक छवि
आफ्नो लामो कूटनीतिक जीवनमा किसिन्जरले अमेरिकी विदेश र सुरक्षासम्बन्धी नीतिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर उनी पटकपटक विवादमा पनि परेका थिए।
किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई खुला हुन सघाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यस क्रममा उनी पाकिस्तान हुँदै चीन पुगेका थिए।
पाकिस्तानभन्दा अगाडि उनले काठमाण्डू हुँदै बेइजिङ जान चाहेको तर नेपालको राजदरबारले त्यसलाई अस्वीकार गरेको विवरणहरू पनि पाइन्छन्। चीनसँग सम्बन्ध सुधार गर्न अमेरिकालाई आफ्नो भूमि हुँदै सहजीकरण गरिदिँदा भारत चिढिएला भन्ने त्यस बेला नेपाललाई लागेको बताइन्छ।
त्यो शीतयुद्धको समय थियो र भारत तथा नेपालजस्ता देशहरूले असंलग्नताको सिद्धान्त अपनाएका भए पनि परम्परागत रूपमा भारतले तात्कालिक सोभियत सङ्घसँग साझेदारी गरिरहेको थियो। पाकिस्तान भने अमेरिकासँग निकट मानिन्थ्यो।
त्यो दाउपेचमा नेपाल पर्न नचाहेकाले किसिन्जर पदमै रहँदा उनको नेपाल भ्रमण हुन नसकेको भन्नेहरू पनि छन्।
सन् १९७३ मा अमेरिकी विदेशमन्त्री रहेका किसिन्जरले त्यस वर्ष नोबेल शान्ति पुरस्कार पाएका थिए।
अमेरिकी विदेशनीतिका केही विवादित घटनाक्रममा संलग्न भएका उनलाई दिइएको पुरस्कारले धेरैलाई अचम्ममा पार्यो। क्याम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकामा क्रूर सैन्य शासकहरूलाई सहयोग गर्ने जस्ता घटनाक्रममा उनको संलग्नता रहेको बताइन्थ्यो।
किसिन्जरलाई उत्तर भियतनामी नेता ले डक थोसँगै भियतनाम युद्धमा युद्धविराम गराउन भूमिका खेलेको भनेर पुरस्कृत गरिएको थियो।
यससँगै नोबेल पुरस्कार समितिका दुई सदस्यहरूले राजीनामा दिएका थिए भने न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई 'नोबेल युद्ध पुरस्कार' भनेर प्रतिक्रिया जनाएको थियो।
पटकपटक चीन भ्रमण गरेर अमेरिका र चीनबीच सम्बन्ध सुधारमा प्रमुख भूमिका खेलका हुनाले उनलाई कतिपयले “चीनका मित्र” समेत भन्थे। पदमा हुँदा र पछि समेत गरेर उनी १०० भन्दा बढी पटक चीन गए।
नेपाली कूटनीतिज्ञहरू कम्तीमा राजा वीरेन्द्र रहुन्जेल किसिन्जर चीनका मात्र होइन “नेपालका पनि असल मित्र” थिए भन्ने विश्लेषण गर्छन्।
उनी सम्भवत: अमेरिकी र पश्चिमा कूटनीतिमै आफ्नो समयका एकदमै प्रभावशाली र विवादित कूटनीतिज्ञ थिए।
एक शताब्दी बाँचेका किसिन्जरको बिहीवार अमेरिकास्थित आफ्नै निवासमा निधन भयो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








