के डोनल्ड ट्रम्प जेल पर्लान् र अरू महत्त्वपूर्ण प्रश्न

तस्बिर स्रोत, Reuters
- Author, रोबर्ट ग्रीनोल
- Role, बीबीसी न्यूज
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद् भवनमा भएको दङ्गासँग सम्बन्धित घटनाक्रममा संलग्न भएको अभियोग लागेको छ।
यी रिपब्लिकन राजनीतिज्ञले आफूले कुनै अनुचित काम नगरेको दाबी गर्दै आफूविरुद्धको मुद्दालाई "हास्यास्पद" को सङ्ज्ञा दिएका छन्।
उनीमाथि यसअघि नै गोप्य दस्तावेज सुरक्षित रूपमा नराखेको र एक महिला पोर्नस्टारलाई "मुख नखोल्न" दिइएको रकम ढाकछोप गर्न आफ्नो व्यापारिक अभिलेखमा मिथ्या विवरण भरेकोमा छुट्टाछुट्टै मुद्दा चलाइएको छ।
यहाँ यो नयाँ मुद्दासँग सम्बन्धित केही प्रश्नहरू छन्।
ट्रम्पविरुद्ध कस्ता अभियोग?
सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएपछि परिणाम उल्ट्याउन षड्यन्त्र गरेको आरोप ट्रम्पलाई लागेको छ।
उनीमाथि लागेका चारवटा अभियोगः
उनी विरुद्ध चार वटा अभियोग लगाइएको छ:
- अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको
- एउटा औपचारिक प्रक्रिया रोक्ने षड्यन्त्र गरेको
- एउटा औपचारिक प्रक्रियामा अवरोध गरेको
- नागरिक अधिकारहरूविरुद्ध षड्यन्त्र गरेको
यी अभियोगहरू ट्रम्पले निर्वाचनको दिन (नोभेम्बर ३) देखि ज्यानुअरी २० मा ह्वाइट हाउस छोडेको दिनसम्म दुई महिनाभन्दा बढीको अवधिमा गरेका कार्यहरूसँग सम्बन्धित छन्।
पहिलो अभियोग मत सङ्कलन, गणना र प्रमाणीकरणमा बाधा पुर्याउन गरिएको कथित प्रयाससँग सम्बन्धित छ।
दोस्रो र तेस्रो अभियोग ज्यानुअरी ६ मा अमेरिकी कङ्ग्रेसमा सङ्कलन भएको 'इलेक्टोरल कलेज' का मत प्रमाणीकरणमा बाधा पुर्याउने कथित प्रयाससँग सम्बन्धित छन्। त्यहाँको घटनाक्रमले दङ्गाको रूप लिएको थियो।
चौथो अभियोग नागरिकको मताधिकारमा हस्तक्षेप गर्ने र उनीहरूको मत गन्ने कथित प्रयासको बारेमा छ।

तस्बिर स्रोत, Reuters
पुराना मुद्दाको तुलनामा नयाँ अभियोग कति गम्भीर छन्?
ट्रम्पविरुद्धको अहिले तेस्रो पटक मुद्दा परेको हो। केही कानुनविज्ञहरूले यो ट्रम्पविरुद्ध लगाइएको सर्वाधिक बलियो मुद्दा नहुन सक्ने औँल्याएका छन्। यद्यपि उनी अरू मुद्दामा गम्भीर कानुनी सङ्कटमा पर्न सक्छन्।
गाम्भीर्यको दृष्टिकोणले यी अभियोगहरू सर्वाधिक महत्त्वपूर्ण र परिणामकेन्द्रित भएको धारणा बीबीसीकी उत्तर अमेरिका सम्पादक सारा स्मिथको छ।
उनका अनुसार ट्रम्प पदासीन हुँदा भएको कुनै घटनाका कारण मुद्दा परेको यो पहिलो पटक हो। यो मुद्दाबाट पर्न सक्ने व्यावहारिक प्रभाव हामीले अरू मुद्दामा देखेका छैनौँ।
विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले ट्रम्पविरुद्ध अमेरिकी संसद् भवनमा आक्रमण गर्ने भिडलाई उक्साएको आरोप लगाउन अस्वीकार गरे पनि उक्त घटना "प्रतिवादीको झुटबाट प्रेरित" भएको बताएका थिए।
भूतपूर्व सङ्घीय अभियोजक रेनाटो मारिओटीले बीबीसीको टुडे कार्यक्रममा यो अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिलाई पदीय आचरणका लागि अभियोजन गरिएको पहिलो घटना भएको बताए।
उनका अनुसार यो ट्रम्प “सत्तामा बसिरहन र शक्तिको शान्तिपूर्ण हस्तान्तरण रोक्नका लागि गरेको प्रयास”सँग सम्बन्धित छ।

तस्बिर स्रोत, MICHAEL REYNOLDS/EPA-EFE/REX/Shutterstock
अब के हुन्छ?
ट्रम्प बिहीवार वाशिङ्टन डीसीको अदालतमा उपस्थित हुनुपर्ने छ। उनी सशरीर उपस्थित हुन्छन् कि अन्य माध्यममार्फत् भन्ने स्पष्ट छैन।
अनुसन्धानको नेतृत्व गरिरहेका विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले "शीघ्र सुनुवाइ"को प्रतिबद्धता जनाएका छन्। तर विभिन्न कारणले त्यस्तो हुन्छ नै भन्ने निश्चित छैन।
यो मुद्दाले अन्य मुद्दासँगै सुनुवाइको पालो पर्खनुपर्ने हुन्छ किनकि सबै मुद्दा एकैचोटि अघि बढ्न सक्दैनन्। अनि राष्ट्रपतिको उम्मेदवार चयनका लागि हुने औपचारिक कार्यक्रम, रिपब्लिकन न्याश्नल कन्भेन्शनजस्ता महत्त्वपूर्ण बेला पनि सुनुवाइ हुने सम्भावना छैन।
मारिओटीले भने जस्तै अमेरिकी न्यायप्रणालीमा सुनुवाइका लागि थप समय उपलब्ध गराउने पर्याप्त उपायहरू छन्।
त्यसैले यो मुद्दाको सुनुवाइ सुरु हुँदासम्म ट्रम्प राष्ट्रपतिमा निर्वाचित भइसक्ने सम्भावना कायमै रहन्छ।


जेल परे भने पनि के ट्रम्पले चुनाव लड्न पाउँछन्?
दोषी ठहर भएमा ७७ वर्षीय पूर्वराष्ट्रपतिले कडा जेल सजाय भोग्नुपर्ने हुनसक्छ।
ज्यानुअरी ६ का अन्य मुद्दामा कडा सजाय सुनाउने व्यक्तिका रूपमा चिनिएकी टान्या चट्किन ओबामाद्वारा नियुक्त न्यायाधीश हुन्। उनैले यो मुद्दा हेर्ने छिन्।
ट्रम्पले गोप्य दस्तावेजको मुद्दामा मात्र २० वर्षको जेल सजाय भोग्नुपर्ने हुनसक्छ।
अमेरिकी कानुनअनुसार कुनै व्यक्तिले फौजदारी अभियोगको सामना गरिरहेको वा हिरासतमा रहेको भए पनि निजलाई राष्ट्रपति पदका लागि उम्मेदवारी दिन रोक छैन।
तर मतदाताहरूले त्यस्ता उम्मेदवारलाई समर्थन गर्छन् भन्ने छैन।
सन् १९२० मा सोशलिस्ट उम्मेदवार यूजिन डेब्सलाई सन् १९१८ मा दिएको युद्धविरोधी भाषणका कारण दोषी ठहर गरिएको थियो। त्यस्तै 'कन्स्पिरसी थिअरी' का प्रवर्तक लिन्डन लरूश जालसाजीका लागि दोषी ठहर भएका थिए।

तस्बिर स्रोत, Getty Images
चुनाव जितेमा ट्रम्पले के आफैँलाई क्षमादान दिन पाउँछन्?
केही विश्लेषकहरूले ट्रम्पले आफू दोषी ठहरिएमा र चुनाव जितेमा आफूलाई क्षमादान दिने प्रयास गर्न सक्ने बताएका छन्।
यो सम्भावित परिदृश्य अमेरिकी कानुनद्वारा परीक्षण गरिएको छैन अर्थात् त्यहाँको सर्वोच्च अदालतले यस प्रक्रियामा हस्तक्षेप गर्नुपर्ने हुनसक्छ।
उनी राष्ट्रपति निर्वाचित भएको खण्डमा मुद्दा नै खारेज गर्ने प्रयास गर्ने सम्भावना पनि उत्तिकै छ।
आर्कन्सा राज्यका पूर्वगभर्नर आसा हचिन्सनले एनबीसी नेटवर्कलाई बताएअनुसार अनुमान गरिएका दुवै घटनाक्रमको सम्भाव्यता छ। तर आफैँलाई क्षमादान दिन पाउने कुरा “संविधानको उद्देश्य नभएको” उनले बताए।
त्यस्ता कदम "अनुपयुक्त" र "अशोभनीय" हुने उनको भनाइ छ।
यद्यपि ट्रम्पका एक प्रतिद्वन्द्वी विवेक रामास्वामीले आफू राष्ट्रपति निर्वाचित भए ट्रम्पलाई क्षमा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
अनि रिपब्लिकन पार्टीभित्रका मुख्य प्रतिद्वन्द्वी रोन डीस्यान्टिसले सीएनएनसँग कुरा गर्दै ट्रम्प जेल जानु "देशका लागि राम्रो नहुने" बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








