एक पोर्नस्टार जोडिएको मुद्दामा ट्रम्पले सामना गरिरहेका कानुनी चुनौती के हुन्?

तस्बिर स्रोत, Reuters
न्यूयोर्कको ग्रान्ड जुरीले अभियोग लगाउने निर्णय गरेपछि डोनल्ड ट्रम्प फौजदारी अभियोगको सामना गर्ने हालसम्मकै पहिलो अमेरिकी पूर्व राष्ट्रपति बनेका छन्।
उक्त अभियोगको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन र जिल्ला अदालतले पूर्व राष्ट्रपतिलाई मुद्दा चलाउने विषयमा विस्तृत रूपले खुलाइ सकेको पनि छैन।
मङ्गलवारसम्म उक्त अभियोगलाई ‘सिल’ गरेर राखिनेछ र त्यसपछि मात्रै त्यसलाई औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
तर उक्त मुद्दा सन् २०१६ को अभियानका क्रममा एक जना वयस्क चलचित्र अभिनेत्रीलाई आफूसँगको सम्बन्धबारे मौन बस्न भनी दिइएको रकमसँग सम्बन्धित रहेको ठानिएको छ।
‘इन्डाइटमेन्ट’ के हो?
बिहीवार एउटा ग्रान्ड जुरीले डोनल्ड ट्रम्पमाथि अभियोग लगाउने निर्णय लिएको थियो।
यसको अर्थ सरकारी अभियोजनहरूले उनीविरुद्ध ‘इन्डाइटमेन्ट’ अर्थात् एउटा औपचारिक लिखित अभियोग अघि सार्नेछन्।
कुनै पनि व्यक्तिले अपराध गरेको विश्वास लागेको अवस्थामा अभियोजनकर्ताहरूले त्यसरी आरोप लगाउँछन्।
अभियोगपत्रमा आरोपबारे आधारभूत जानकारीहरू समेटिएको हुन्छ र ट्रम्पको हकमा गम्भीर खालको आरोप जोडिन्छ।
त्यस्ता अपराधमा एक वर्ष वा बढी समयसम्म जेल सजाय हुनसक्छ।
सरकारी वकिलहरूले नियमित प्रक्रियाले लगाउने आरोप भन्दा पनि न्यूयोर्कको म्यानहटन शहरस्थित ग्रान्ड जुरीले गोप्य मतदानमार्फत यो मुद्दा अघि बढाउने निर्णय लिएका हुन्।
ग्रान्ड जुरीमा नागरिकहरूको समूह सम्मिलित हुन्छ जसले प्रमाणहरू हेर्छ र प्रत्यक्षदर्शीहरूका बयान सुनेर कुनै पनि व्यक्तिलाई अपराधको अभियोग लगाउन मिल्छ कि मिल्दैन भनेर निर्णय लिन्छ।

तस्बिर स्रोत, Reuters
के ट्रम्प पक्राउ पर्छन्?
अभियोग लगाइएपछि सधैँ नै व्यक्ति पक्राउ पर्छन् भन्ने छैन।
तर अभियोजनकर्ताहरूले ट्रम्पका वकिललाई सम्पर्क गरेपछि के गर्ने भनेर छलफलहरू भएका विवरण आएका छन्।
पूर्व राष्ट्रपतिको टोली र अरू विज्ञहरूले उनले मङ्गलवार आफैँ आत्मसमर्पण गर्ने जनाएका छन्।
ठ्याक्कै कसरी यो अघि बढ्छ प्रस्ट छैन तर आत्मसमर्पण गरे पनि उनले गम्भीर कसुरको आरोपमा पक्राउ गरिँदा अभियुक्तले पार गर्ने प्रक्रियाहरू पूरा गर्नुपर्नेछ।
दोषी वा निर्दोष रहेको सोध्न अदालतभित्र लैजाने क्रममा उनलाई हतकडी लगाइन पनि सक्नेछ।


‘पर्प वाक’ के हो?
ट्रम्पमाथि अभियोग लगाउने निर्णय भएको छ र उनी अदालतमा मङ्गलवार उपस्थित हुने अपेक्षा भइरहँदा सबैभन्दा सुरुमा उनले न्यूयोर्कको अदालत बाहिर क्यामेरा र माइक्रोफोन बोकेका पत्रकारहरूको भीडको सामना गर्नुपर्ने हुनसक्छ।
उक्त प्रक्रियालाई ‘पर्प वाक’ भन्ने गरिन्छ। कतिपय सन्दिग्धहरूलाई प्रहरीले हतकडी लगाएर ल्याउँछन् भने अरू आफ्नै हिसाबले प्रवेश गर्छन्।
हलिउड फिल्म उद्योगका हस्ती हार्भी वाइन्स्टीनलाई बलात्कार र दुई जना महिला जोडिएको यौन अपराधको अभियोग लगाइँदा उनी हतकडी लगाएर न्यूयोर्क पुलिस डिपार्टमेन्टको कार्यालयमा प्रवेश गरेका थिए।

तस्बिर स्रोत, Getty Images
क्यामेरामा कैद उक्त क्षणलाई अहिले पनि मी टु अभियानको शक्तिशाली तस्बिरका रूपमा लिने गरिएको छ।
त्यसरी हतकडी लगाएर अदालत लगिएका अर्का व्यक्तिमा घरेलु कामदारलाई यौन दुर्व्यवहार र बलात्कारको प्रयास गरेको अभियोग लगाइएका आईएमएफका पूर्व प्रमुख डोमिनिक स्ट्रउस कान पनि पर्छन्।
त्यसबेला लिइएको तस्बिरमा उनी असिनपसिन र थकित देखिन्थे। पछि उनले हतकडी लगाएर सञ्चारमाध्यमको अघि उभ्याउनु गलत भएको बताए।
सन् २०१३ मा अमेरिकी न्यूज च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा उनले भनेका थिए, “तपाईँ दोषी ठहर नभएसम्म निर्दोष नै मानिनुहुन्छ….. वास्तविकता थाहा नै नभईकन तपाईँलाई त्यो क्षणमा सबैसामू अपराधी जसरी प्रस्तुत गरिन्छ।”
उनीमाथिका अभियोग पछि फिर्ता लिइएको थिए तर उनले आईएमएफको आफ्नो जागिरबाट राजीनामा दिएका थिए।
नखुलाइएको रकममा उनले पीडितसँग मिलापत्र गरेका थिए।
ट्रम्पका कैयौँ सहयोगीहरूले पनि आफ्नै ‘पर्प वाक’हरू गरेका थिए।
ट्रम्पसामू पढेर सुनाइने अभियोगपत्र के हो?
ट्रम्पलाई अदालतमा उपस्थित गराएर चाँडोमा आगामी मङ्गलवारसम्म अभियोगपत्र प्रस्तुत गरिने ठानिएको छ। ट्रम्पमाथिका आरोप खुला अदालतमा पढेर सुनाइनेछ।
ट्रम्पलाई दोषी रहे वा नरहेकोबारे सोधिनेछ। त्यही बेला प्रतिवादीहरूले आफू दोषी रहेको वा नरहेको बयान दिनेछन्।
त्यसबेला अदालतमा न्यायाधीशहरूले अनुमति दिएको खण्डमा मात्रै क्यामेराहरू हुन सक्छन्।
त्यसपछि उनले स्वैच्छिक रूपमा अदालत र सुनवाइमा उपस्थित हुने प्रतिबद्धता सहित उनी रिहा हुनसक्ने ठानिएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अभियोगपत्रमा गैर हिंस्रक कसुरका आरोपमात्रै छन्।
न्यूयोर्कको कानुन अनुसार यस्तोमा अभियोजकहरूले प्रतिवादीलाई धरौटीमा मात्रै रिहा गर्नुपर्ने अनुरोध गर्न सक्दैनन्।

तस्बिर स्रोत, Reuters
ट्रम्पमाथि के आरोप लगाइएको छ?
हामीलाई अझै पनि ट्रम्पमाथि कुन अभियोग लगाइएको छ भन्ने औपचारिक जानकारी छैन।
तर हामीलाई ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनमार्फत वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएको विषयमा अनुसन्धान गरिएको जानकारी छ।
सन् २००६ मा ट्रम्पसँग रहेको उनको सम्बन्धबारे मौन रहन उनलाई रकम तिरिएको भनिएको छ।
रकम तिर्नु गैरकानुनी होइन तर अभियोजकहरूका अनुसार ट्रम्पले कोहेनलाई शोधभर्ना दिँदा अभिलेखमा त्यसलाई कानुनी परामर्श शुल्कका लागि तिरेको उल्लेख गरेका थिए।
त्यसको अर्थ उनीहरूले ट्रम्पले व्यवसायका अभिलेखहरूमा झुटा विवरण दिएको भनेर लगाएका छन्।
अर्को उल्लेख्य रकम प्लेव्यायकी मोडेल केरिन मकडुगललाई तिरिएको थियो। उनको पनि ट्रम्पसँग ‘अफेयर’ रहेको दाबी गरिएको थियो।
अरू सम्भावित अभियोगहरू के के हुन्?

तस्बिर स्रोत, Reuters
अभियोग पत्र अझै सार्वजनिक गरिएको छैन तर अरू पनि सम्भावित आरोपहरू अगाडि ल्याइनसक्छन्।
सन् २०२१ को ज्यानुअरी ६ मा लड्न उक्साउँदै ट्रम्पले भाषण दिएपछि उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा तोडफोड गरेका थिए।
उक्त हमलालाई लिएर ट्रम्पले कुनै आरोपको सामना गर्छन् कि गर्दैनन् भन्ने प्रस्ट छैन।
अर्को सम्भावित अभियोग ट्रम्पको फ्लोरिडास्थित घरमा फेला परेका गोप्य दस्तावेजहरूको जाँचसँग सम्बन्धित छ।
त्यसको अनुसन्धानमा सम्भावित बाधा पुर्याएको आरोप उनीमाथि छ।
पूर्व अमेरिकी राष्ट्रपतिलाई सन् २०२० मा राष्ट्रपति जो बाइडनले चुनाव जित्दा दक्षिणी राज्य जोर्जियाका अधिकारीलाई उक्त चुनावको परिणामलाई उल्ट्याउने गरी पर्याप्त भोट ‘खोज्न’ दबाब दिएको विषयमा पनि छानबिन भइरहेको छ।
अभियोग लगाइएपछि उनी सन् २०२४ को चुनावमा लड्न पाउँछन्?
पाउँछन्। कुनै अभियोग वा दोषी ठहर्याइएको घटनाले उनले चाहेको खण्डमा राष्ट्रपतिको चुनाव लड्नबाट वञ्चित गर्न सक्दैन।
अमेरिकी संविधान अनुसार राष्ट्रपति पदको लागि योग्य हुन कुनै पनि फौजदारी अभियोग नभएको हुनुपर्छ भन्ने छैन।
महाअभियोग लागेका वा सङ्गिन खालका आरोपमा दोषी ठहर भएका व्यक्ति अयोग्य ठहर हुन सक्छन् तर अमेरिकी सिनेटले महाभियोग सुनुवाइमा उनलाई निर्दोष ठहर गरेको थियो।
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर भन्छन्, “अमेरिकी कानुनमा वास्तवमा त्यस्तो कुनै व्यवस्था छैन जसले अपराधमा दोषी पाइएको कुनै व्यक्तिलाई जेलमै बसेर पनि चुनावी अभियान चलाउन वा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न वञ्चित गर्न सकोस्।”








