डोनल्ड ट्रम्पको निलम्बन फुकुवा, फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने

डोनल्ड ट्रम्पको फाइल तस्बिर

तस्बिर स्रोत, Getty Images

फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले डोनल्ड ट्रम्पलाई दुई वर्षअघि गरिएको निलम्बन फुकुवा गर्ने घोषणा गरेका छन्। उक्त घोषणासँगै भूतपूर्व अमेरिकी राष्ट्रपति ती सामाजिक सञ्जालमा फर्किन पाउनेछन्।

मेटाका अनुसार निलम्बन “आगामी साताहरूमा” समाप्त हुनेछ।

एक विज्ञप्ति जारी गर्दै मेटाका उच्च अधिकारी निक क्लेगले जनताले “उनीहरूका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने सुन्न पाउनुपर्छ” भनेका छन्।

सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि पदासीन राष्ट्रपति ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चित कालका लागि निलम्बन गरिएको थियो।

क्यापिटल दङ्गामा संलग्न व्यक्तिहरूको "ट्रम्पले प्रशंसा गरेका कारण" त्यस्तो कारबाही गरिएको क्लेगले बताएका छन्।

"उक्त निलम्बन असाधारण परिस्थितिमा लिइएको असाधारण निर्णय थियो," उनले भने।

ट्रम्पको सामाजिक सञ्जाल खाताको समीक्षा गर्दा त्यसले अब सार्वजनिक सुरक्षामा गम्भीर जोखिम नपर्ने देखिएको जानकारी उनले दिए।

तर ट्रम्पले विगतमा गरेका "उल्लङ्घनहरू" का कारण उनले पुनः त्यस्तै गल्ती गरे थप कारबाही हुनसक्ने बताइएको छ।

ट्रम्पले पुनः राष्ट्रपति पदको प्रतिस्पर्धामा सहभागी हुने तयारी गरिरहेका छन्। उनलाई फेसबुकमा फिर्ता हुने बाटो खोलिदिन रिपब्लिकनहरूले दबाव दिइरहेका थिए।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रूथ खोलेका छन्। बुधवार उनले त्यसमा फेसबुकले "तपाईँको मन पर्ने राष्ट्रपति मलाई प्रतिबन्ध लगाएपछि अर्बौँ गुमायो" लेखेका थिए।

आलोचना

फेसबुक

तस्बिर स्रोत, Reuters

ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने समाचारलाई डेमोक्र्याट र केही सङ्गठनहरूले भने आलोचना गरेका छन्।

सन् २०२०को राष्ट्रपतीय निर्वाचन आफूले जितेको मिथ्या दाबी दोहोर्‍याउन पूर्वराष्ट्रपतिले उक्त मञ्च प्रयोग गर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।

नागरिक अधिकारवादी सङ्गठन एनएएसीपीका अध्यक्ष डेरिक जोनसनले आफूले यो कदमलाई "गम्भीर गल्ती" को रूपमा हेरेको र यो "नाफालाई जनताको सुरक्षाभन्दा माथि राखिएको एउटा ज्वलन्त उदाहरण" रहेको समाचारसंस्था एपीलाई बताएका छन्।

"यो एकदम अचम्मको कुरा हो कि कसैले घृणा फैलाउन सक्छ, षड्यन्त्रहरूलाई प्रोत्साहन गर्न सक्छ र हाम्रो राष्ट्रको क्यापिटल भवनमा एउटा हिंसात्मक विद्रोहलाई उक्साउन सक्छ अनि मार्क जकरबर्ग अझै पनि विश्वास गर्छन् कि उनको मञ्चबाट कसैलाई हटाउन यो सब पर्याप्त छैन," उनले थपे। 

नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले पनि ट्रम्पलाई सन् २०२१ को ज्यानुअरी ६ तारिखमा भएको घटनापछि प्रतिबन्ध लगाएको थियो।

तर गत नोभेम्बरमा ट्विटरमा लगानीकर्ता इलोन मस्कले ट्रम्पको खातामा लगाइएको रोक हटाइएको बताएका थिए। त्यसका लागि उनले ट्विटरमा सर्वेक्षण समेत गरेका थिए जसमा झिनो अन्तरले प्रयोगकर्ता ट्रम्पको पक्षमा उभिएका थिए।

तर ट्रम्प भने हालसम्म ट्विटरमा फर्किएका छैनन्।

“म त्यस्तो गर्नुको कुनै आवश्यकता देख्दिनँ,” उनले विगतमा भनेका थिए।