ट्रम्पमाथि अर्को मुद्दा, चुनाव हारेपछि षड्यन्त्र गरेको आरोप

तस्बिर स्रोत, Reuters
- Author, म्याक्स माट्जा
- Role, बीबीसी न्यूज
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उक्त परिणाम उल्ट्याउन षड्यन्त्र गरेको भन्दै चारवटा अभियोग लगाइएको छ।
उनीविरुद्ध राज्यलाई धोका दिने षड्यन्त्र रचेको, साक्षीलाई प्रभावित पारेको र नागरिक अधिकारविरुद्ध रणनीति बनाएको आरोप लगाइएको छ।
यो अभियोजनसँगै सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद् भवनमा भएको दङ्गाको घटनाबारे अनुसन्धान टुङ्गिएको छ।
यद्यपि राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दिन लागेका ७७ वर्षीय ट्रम्पले गलत कार्य गरेको आरोप अस्वीकार गरेका छन्।
उनीविरुद्ध यसअघि नै गोप्य दस्तावेज सुरक्षित रूपमा नराखेको र एक महिला पोर्नस्टारलाई "मुख नखोल्न" दिइएको रकम ढाकछोप गर्न आफ्नो व्यापारिक अभिलेखमा मिथ्या विवरण भरेको आरोप लगाइएको छ।
निर्वाचनसम्बन्धी अनुसन्धान उनको पराजय र वाशिङ्टन डीसीमा भएको दङ्गाबीचको दुई महिनाको अवधिमा ट्रम्पले गरेका कार्यहरूमा केन्द्रित छ। त्यतिबेला डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनको जितलाई सांसदहरूले प्रमाणीकरण गरेपछि ट्रम्पका समर्थकहरूले संसद् भवनमा आक्रमण गरेको थिए।
अमेरिकी न्याय मन्त्रालयबाट नियुक्त भएका विशेष सल्लाहकार ज्याक स्मिथले अनुसन्धानको नेतृत्व गरेका हुन्।
“सन् २०२१ को ज्यानुअरी ६ मा देशको राजधानीमा भएको आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको अभूतपूर्व आक्रमण थियो," उनले मङ्गलवार साँझ भने।


"अभियोगमा भनिए झैँ त्यो घटनाक्रम झुटबाट प्रेरित थियो।"
उनले आफ्नो छोटो वक्तव्यमा अभियोगमाथि "शीघ्र सुनुवाइ"को माग गर्ने प्रतिबद्धता जनाउँदै पूर्वराष्ट्रपतिलाई "दोषी प्रमाणित नभएसम्म निर्दोष मान्नुपर्ने" मा जोड दिएका थिए।

तस्बिर स्रोत, Reuters
अन्य अधिकारीहरू पनि तानिए
ट्रम्प बिहीवार वाशिङ्टन डीसीको अदालतमा उपस्थित हुने ठानिएको छ।
पैँतालीस पृष्ठ लामो उक्त अभियोगमा चार वकिल, न्याय मन्त्रालयका एक अधिकारी र एक राजनीतिक सल्लाहकार गरी छ जनालाई षड्यन्त्रमूलक गतिविधिमा संलग्न रहेको जनाइएको छ।
तर उनीहरूको परिचय गोप्य राखिएको छ।
अदालतमा प्रस्तुत दस्तावेजमा ट्रम्पले “बेइमानी, जालसाजी र छल गरेर सङ्घीय सरकारको काम कारबाहीमा खलल पुर्याउने, अवरोध सिर्जना गर्ने र सरकारलाई हराउने षड्यन्त्र गरेको” आरोप लगाइएको छ।
सन् २०२० को निर्वाचनमा धाँधली भएको आरोपबारे अभियोजनकर्ताहरूले भने, "यी दाबीहरू झुटा थिए र प्रतिवादीलाई ती झुटा भएको थाहा थियो।"
उनीहरूले ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपतिमा बाइडनको अनुमोदन रोक्नका लागि मनाउने कोसिस गरेको तर असफल भएको बताएका छन्।
अभियोगपत्रमा थुप्रै अमेरिकी अधिकारी र ट्रम्पको निर्वाचन अभियानका वरिष्ठ कार्यकर्ताहरूको नाम पनि उल्लेख गरिएको छ। उनीहरूले निवर्तमान राष्ट्रपतिलाई उनी पराजित भएको अनि निर्वाचनमा धाँधली भएको कुनै प्रमाण नभएको जानकारी दिएका थिए।
विभिन्न तीनवटा मुद्दामा ७८ वटा फौजदारी अभियोगको सामना गरिरहेका ट्रम्प अहिले रिपब्लिकन पार्टीको तर्फबाट आगामी राष्ट्रपति पदका लागि हुने प्रतिस्पर्धामा अगाडि छन्।
पार्टीभित्र विजेता बन्नेले सन् २०२४ को नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार चुनौती दिने छन्। डेमोक्र्याटिक पार्टीबाट सम्भवतः पदासीन राष्ट्रपति जो बाइडन पुनः उठ्ने छन्।
के भन्छन् ट्रम्पका समर्थकहरू?

तस्बिर स्रोत, Getty Images
ट्रम्पको निर्वाचन अभियानले एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पविरुद्धको अभियोजन "चुनावी हस्तक्षेप" सरह भएको टिप्पणी गरेको छ।
"राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूमाथि भएका यी अराजक उत्पीडनका व्यवहारले सन् १९३० को दशकमा नाजी जर्मनी, तात्कालिक सोभियत सङ्घ र अन्य अधिनायकवादी तथा तानाशाही शासनको सम्झना गराउँछ," अभियानको विज्ञप्तिमा भनिएको छ।
अनुसन्धानका क्रममा पूर्वउपराष्ट्रपति तथा ट्रम्पका वकिलसहित उनको राष्ट्रपतीय कार्यकालका दर्जनौँ अधिकारी तथा सल्लाहकारहरूसँग बयान लिइएको थियो।
जोर्जा राज्यका अभियोजकहरूले पनि पूर्वराष्ट्रपतिमाथि यस्तै आधारमा अनुसन्धान गरिरहेका छन्। ट्रम्पले गैरकानुनी रूपमा त्यहाँका अधिकारीहरूलाई बाइडनको जितलाई अस्वीकार गर्न ट्रम्पले दबाव दिएका थिए भन्नेमा उनीहरूको अनुसन्धान केन्द्रित छ।
एट्लान्टाका सरकारी वकिलहरूले ट्रम्पलाई अभियोग लगाउने वा नलगाउने भन्ने विषयमा यसै महिना निर्णय गर्ने ठानिएको छ।
अन्य राज्यका रिपब्लिकनहरूमाथि पनि बाइडनलाई पदभार ग्रहण गर्नबाट रोक्न ट्रम्पको प्रयासमा सहयोग पुर्याएको आरोपमा अनुसन्धान भइरहेको छ।
मङ्गलवार मिशिगनका सरकारी वकिलहरूले रिपब्लिकन पार्टीबाट महान्यायाधिवक्ताको उम्मेदवार बनेका एक जना र ट्रम्पका अर्का एक समर्थकलाई व्यापक मतदाता धाँधलीका कारण ट्रम्पले हारेको प्रमाणित गर्ने प्रयासमा भोटिङ मशीन बिगारेको आरोप लगाएका थिए।
अमेरिकी कङ्ग्रेसमा भएको दङ्गाका कारण हाउस अफ रेप्रिजेन्टटिभ्समा ट्रम्पविरुद्ध दोस्रो पटक महाभियोग लाग्यो र उनी दुई पटक महाभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









