अमेरिका निर्वाचन: रिपब्लिकन दलले प्रतिनिधिसभामा बहुमत जित्ने प्रक्षेपण

अमेरिका निर्वाचन २०२२

तस्बिर स्रोत, Getty Images

अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ।

सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ।

शक्ति सन्तुलन फेरबदल

तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ।

बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ।

मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो।

यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म गरेको प्रक्षेपणअनुसार १९० सिट रिपब्लिकनले जित्ने र १८० सिट डेमोक्र्याटले जित्ने देखिएका छन्।

विश्लेषकहरूका अनुसार रिपब्लिकन दलले यसपालि प्रतिनिधिसभामा बहुमत जित्ने देखिन्छ।

एकै सिटले रिपब्लिकन अगाडि भएपनि उसको नेता केभिन मक्कार्थी सभामुख चयन हुनेछन्।

साथै बहुमत हुनासाथ रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध पारिदिन सक्छन्।

सिनेटमा कडा टक्कर

माथिल्लो सदन सिनेटको १०० सिटमध्ये ३५ मा मात्रै मङ्गलवार निर्वाचन भएको छ।

अहिले सिनेटमा दुवै पार्टिका ५०-५० सिट छ तर सिनेटमा निर्णायक मताधिकार प्राप्त उपराष्ट्रपति कमला ह्यारिसलाई गन्दा डेमोक्र्याटको पक्षमा ५१ हुन्छ।

यसपालिको सिनेटको दौडको नतिजा चाहिँ जोर्जिया, पेन्सलभ्यानिया, एरिजोना र निभाडा राज्यको परिणाममा भर पर्ने देखिएको छ।

ती सबै राज्यमा कडा प्रतिस्पर्धा भइरहेकोले यकीन प्रक्षेपण भएको छैन।

संसद्का दुईमध्ये कुनै एक सदनमा नियन्त्रण जमाउनासाथ रिपब्लिकन दलले राष्ट्रपति बाइडनका विधायिकी एजेन्डामा अवरोध उत्पन्न गरिदिन सक्छन्।

अमेरिका निर्वाचन २०२२

तस्बिर स्रोत, Getty Images

के हो मिड टर्म इलेक्सन?

अमेरिकाको संसदमा दुई सदन रहेका छन्।

तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ।

हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ।

राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ।

मङ्गलवार प्रतिनिधिसभाको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको छ। साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका छन्।

यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ।

प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।