अमेरिकी संसद्‌ भवनमा भएको दङ्गाले डोनल्ड ट्रम्पको विरासतलाई कस्तो प्रभाव पार्ला

ट्रम्प

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरूलाई संसद् भवनतिर जान भनेका थिए
    • Author, एन्थनी जर्कर
    • Role, बीबीसी उत्तर अमेरिका संवाददाता

डोनल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकाल अलि फरक किसिमले टुङ्गिदैछ।

धेरै सातादेखि राष्ट्रपति ट्रम्पले ज्यानुअरी ६ निर्णायक दिन हुने बताउँदै आएका थिए। उनले आफ्ना समर्थकहरूलाई त्यो दिन वाशिङ्टन डीसीमा आएर नोभेम्बरमा सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गर्न र आफूलाई राष्ट्रपति बनाइराख्न कङ्ग्रेस र उपराष्ट्रपति माइक पेन्सलाई चुनौती दिन आह्वान गरेका थिए।

गत साता बुधवार बिहान राष्ट्रपति र उनका पक्षधरहरूले त्यसका लागि केही गतिविधि गरे।

ट्रम्पका निजी वकिल रूडी जुलियानीले निर्वाचनसम्बन्धी विवाद “युद्धमार्फत् सुनुवाइ" गर्नुपर्ने टिप्पणी गरेका थिए।

राष्ट्रपतिका जेठा छोरा डोनल्ड ट्रम्प जुनिअरले आफ्ना पिताको पक्षमा ‘नलड्ने’ पार्टीका सदस्यहरूलाई एउटा सन्देश दिए।

“यो अब उनीहरूको रिपब्लिकन पार्टी होइन,” उनले भने, “यो डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टी हो।”

अमेरिका संसद्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दुवै सदनको संयुक्त सत्र सुरु हुँदा प्रदर्शनकारीहरू संसद् भवनबाहिर भेला भए

चुनावमा धाँधली भएको भन्दै प्रदर्शन गर्न भेला भएका समर्थकहरूलाई राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट दुई माइल पर अवस्थित संसद् भवन क्यापिटलसम्म जान आह्वान गरे।

उनले भने,”हामीले हार मान्नेछैनौँ। हामी पराजय स्वीकार गर्नेछैनौँ। हाम्रो देशले बढी नै सहिसक्यो। अब हामी त्यसो गर्न सक्दैनौँ।”

राष्ट्रपतिले आफ्नो भनाइ टुङ्ग्याउँदै गर्दा अमेरिकी संसद्‌मा अर्कै किसिमको नाटकीय घटनाक्रम विकास हुँदै थियो।

त्यस बेला संसद्को संयुक्त सत्रमा राज्यपिच्छेको निर्वाचन परिणाम प्रमाणीकरण गर्ने तयारी गरिएको थियो।

सुरुमा माइक पेन्सले विवादित राज्यको मतपरिणाम खारेज गर्न राष्ट्रपतिले गरेको आग्रह अस्वीकार गर्दै विज्ञप्ति जारी गरे। उनले आफूसँग त्यस्तो शक्ति नरहेको र आफ्नो भूमिका ‘धेरै हदसम्म आलङ्कारिक’ रहेको बताएका थिए।

त्यपछि रिपब्लिकनहरूले सुरुमा एरिजोनाको मतपरिणामलाई चुनौती दिए। त्यसपछि दुवै सदनमा उक्त राज्यमा जो बाइडनको विजय स्वीकार गर्ने या नगर्नेबारे बहस चल्यो।

दुवै पक्षले कटु अभिव्यक्ति दिए र आफ्ना पक्षका नेता बोल्दा ताली बजाए।

अमेरिका संसद्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा छिरेका एक प्रदर्शनकारीले आफूहरू फिर्ता नहुने सन्देश पठाएका थिए

संसद् भवनमा दङ्गाकारी

केही समयअघि कङ्ग्रेस भवनमा बन्दुक बोकेर प्रवेश गर्ने धारणा राखेको भनेर चर्चामा आएकी सांसद लरेन बोबर्टले जनमत बेवास्ता हुन आफूले नदिने बताइन्।

उनले आफूले संविधानको रक्षा र समर्थन गर्ने शपथ खाएकाले हास्यास्पद निर्णयको विपक्षमा उभिनुपरेको बताइन्।

कसैको अन्तिम संस्कारमा सहभागी हुन जाँदा लगाइने जस्तो कालो सूट लगाएर आएका रिपब्लिकन पार्टीका मिच मक्कनेलले पनि डोनल्ड ट्रम्पको चर्को आलोचना गरे।

उनले भने, “यदि पराजित पक्षको आरोपकै मात्र आधारमा निर्वाचनको परिणामलाई उल्टाइयो भने हाम्रो प्रजातन्त्र मृत्युचक्रमा प्रवेश गर्छ,” उनले भने। “हामीले सम्पूर्ण देशले चुनावको परिणामलाई स्वीकार गरेको कहिल्यै देख्न पाउनेछैनौँ। प्रत्येक चार वर्षमा जुनसुकै मूल्यमा पनि शक्ति हत्याउने प्रपञ्च हुनेछ।”

जोर्जियामा रिपब्लिकन पार्टीले दुई स्थानमा पराजय बेहोरेपछि सेनटको अल्पसङ्ख्यक दलको नेतामा घटुवा हुन लागेका कन्टकीका सेनटर मक्कनेलको अभिव्यक्ति आएकै बेला संसद्‌बाहिर रहेका ट्रम्प समर्थकहरू उग्र भइसकेका थिए।

सम्भवतः अगाडिका भाषणबाट प्रेरित भएर संसद् भवनमा छिर्दै उनीहरूले त्यहाँ विद्यमान कमजोर सुरक्षा नाघेर संसद्को सत्र ठप्प पारिदिए। त्यो बेला सांसद, कर्मचारी र सञ्चारकर्मीहरूलाई सुरक्षित क्षेत्रमा लगिएको थियो।

उक्त घटनाक्रमको समयमा टेलिभिजन क्यामराहरूले प्रदर्शनकारीहरूले संसद् भवनको सिँढीमा नाचिरहेको र झण्डा फहराइरहेको दृष्य देखाएका थिए।

अमेरिका संसद्

तस्बिर स्रोत, Getty Images

सामाजिक सञ्जालमा दङ्गाकारीहरूले विधायिकाको च्याम्बर फोडेर प्रवेश गर्न खोजेका तस्बिर र भिडिओहरू देखा पर्ने थाले।

उनीहरूले निर्वाचित सांसदको कार्यालय र सुरक्षा अधिकृतको कार्यालयमा आफ्नो तस्बिर खिचाए र तल्लो सभाको सुरक्षा घेराभन्दा परसम्म बन्दुक समेत लगे।

समर्थकहरूको उपद्रोपछि पनि ट्रम्पको 'माया'

डेलवेअरमा अर्थतन्त्रबारे सम्बोधन गर्ने तयारीमा रहेका राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो कार्यक्रम स्थगित गर्दै वाशिङ्गटनमा भएको उपद्रोको निन्दा गरे।

आफ्नो सङ्क्षिप्त मन्तव्यमा उनले आधुनिक समयमा अमेरिकी लोकतन्त्रमा कहिल्यै त्यस्तो आक्रमण नभएको भन्दै राष्ट्रपति ट्रम्पलाई तत्कालै राष्ट्रिय टेलिभिजनमा गएर हिंसाको निन्दा गर्न र उक्त घेराबन्दी अन्त्य गर्न माग गर्न चुनौती दिए।

जो बाइडन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जो बाइडनले वाशिङ्टनमा भएको घटनालाई विद्रोहको सङ्ज्ञा दिए

त्यसको केही मिनेटमै ट्रम्पले देशवासीलाई सन्देश दिए तर त्यो बाइडनले अपेक्षा गरे जस्तो थिएन।

बरु उनले चुनावमा धाँधली भएको जस्ता यसअघि व्यक्त गर्ने भनाइसँगै आफ्ना समर्थकहरूलाई “घर जान” अनुरोध गरे।

उनले ती समर्थकहरूलाई माया गर्ने भन्दै उनीहरू एकदमै विशेष रहेको बताए।

त्यो नियमित रूपमा राष्ट्रपतिले आफ्ना समर्थकहरूको उत्तेजित कदमबारे जनाउने प्रतिक्रियाजस्तै थियो।

सामाजिक सञ्जालले लगाएको अभूतपूर्व प्रतिबन्ध

ट्रम्पका समर्थकहरूलाई प्रोत्साहन गरिएका दुइटा ट्वीटलाई सुरुमा चेतावनी दिँदै ट्विटरले पछि हटाइदिएको थियो।

त्यसपछि उक्त समाजिक सञ्जालले राष्ट्रपतिको ट्विटर खातालाई १२ घण्टा पोस्ट गर्न नमिल्नेगरी ‘लक’ गरिदियो। फेसबुकले उक्त कदम पछ्याउँदै ट्रम्पमाथि दिनभरि प्रतिबन्ध लगायो।

सामाजिक सञ्जालसँगको लामो र निकट सम्बन्ध राखेका ट्रम्पलाई राष्ट्रपति भएयता पहिलो पटक त्यसरी चुप लगाइएको थियो।

ट्रम्पका समर्थक

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पका समर्थकहरू विभिन्न वेशभूषामा आएका थिए

यदि डोनल्ड ट्रम्पका लागि यो ‘अन्त्यमा तपाईँलाई सदाचारको मतलब छैन” भन्ने घडी हो भने अमेरिकी संसद्‌मा रगतका टाटा र काँचका टुक्राको सरसफाइ भइरहँदा त्यो क्षण आइपुगेको छ।

साँझमा प्रहरीले अन्तत: अमेरिकी संसद्‌मा सुरक्षा कायम गरेपछि दुवै तर्फका नेताहरूले हिंसाको निन्दा गरेका थिए।

सेनटका बहुमतप्राप्त नेता चक शुमरले ज्यानुअरी ६ अमेरिकी इतिहासमै कालो दिनका रूपमा अभिलेखमा बसेको बताए।

उनले ट्रम्पलाई भिडको राष्ट्रपति भन्दै उनको पक्षपोषण गर्नेहरूको पनि आलोचना गरेका थिए।

रिपब्लिकन पार्टीभित्रको भावी सङ्घर्ष

त्यसपछि रिपब्लिकनहरूले पनि त्यस्तै प्रतिक्रिया व्यक्त गरे।

ट्रम्पकी आलोचक रिपब्लिकन सांसद लिन चेनीले राष्ट्रपतिको उक्साहटमा भिडले आफूहरूलाई संवैधानिक दायित्व पूरा गर्नबाट रोक्न खोजेको भन्दै ट्वीट गरिन्।

प्रायः ट्रम्पको पक्षमा उभिने गरेका आर्कन्सोका सांसद टम कटनले राष्ट्रपतिलाई चुनावको परिणाम स्वीकार गर्न, अमेरिकी नागरिकलाई झुक्याउन छोड्न र भिडले गरेको हिंसाको निन्दा गर्न आग्रह गरे।

प्रथम महिला मेलानिया ट्रम्पकी चीफ अफ स्टाफ स्टेफनी ग्रिशम र ह्वाइट हाउसकी सहप्रवक्ता सेरा म्याथ्यूजले पदबाट राजीनामा दिए। अगामी २४ घण्टामा थप पदाधिकारीहरूले राजीनामा दिने विवरण आइरहेका छन्।

सीबीएस च्यानलले ट्र्म्पको क्याबिनेटका अधिकारीहरू संविधानको २५ औँ संशोधनको प्रयोग गरी कसरी उपराष्ट्रपति र क्याबिनेटका बहुमत सदस्यले अस्थायी रूपमा राष्ट्रपतिलाई पदबाट हटाउन सक्छन् भन्ने विचार गरिरहेको जनाएको छ।

क्यापिटल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दुवै सदनको संयुक्त सत्र सुरु भएको समयमा क्यापिटलबाहिर प्रदर्शनकारीहरू भेला भएका थिए

पेन्स र क्याबिनेटले कदम चाले पनि नचाले पनि ट्रम्पको राष्ट्रपतीय कार्यकाल ज्यानुअरी २० मा अन्त्य हुँदैछ।

यो बिन्दुमा रिपब्लिकन दलले आफूले कङ्ग्रेस र ह्वाइट हाउसमा नियन्त्रण गुमाएको अवस्था छ। उसको नराम्ररी साख गुमेको छ तर पार्टीको नेतृत्व पङ्क्तिमा अझै डोनल्ड ट्रम्पको बलियो प्रभाव छ।

बुधवारको घटना ट्रम्प र उनका समर्थकहरूबाट नियन्त्रण हासिल गर्न रिपब्लिकन दलभित्रका परम्परावादीहरूका लागि पार्टीभित्र सङ्घर्ष गर्न एउटा प्रस्थानविन्दु बन्न सक्छ।

मक्कनेलको सम्बोधन सुन्दा उनी त्यस्तो बाटो अङ्गीकार गर्न इच्छुक भएको देखिन्छ।

यसअघिका रिपब्लिकन दलका राष्ट्रपतीय उम्मेदवार तथा यूटाका सेनटर मिट रोम्नीले पनि त्यसको नेतृत्व लिन सक्छन्।

ट्रम्पको लोकप्रियतावादी किसिमको विरासतमा दाबी गर्ने अरू नेताले त्यसलाई चुनौती दिन सक्छन्।

ट्रम्पको विरासत र भावी योजना

सेनटमा चुनावको परिणामप्रति आफू असहमत रहेको सबैभन्दा सुरुमा घोषणा गरेका मिजरीका जस हलीले संसद् भवनको हिंसापछि पुनः बैठक बस्दा पनि आफ्नो धारणा परिवर्तन गरेनन्।

सङ्कटले राजनीतिक अवसर पनि दिन्छ र धेरै नेताहरूले यो अवसरलाई आफ्नो लाभका लागि प्रयोग गर्न सङ्कोच मान्नेछैनन्।

अहिले पनि ट्रम्प शक्तिमा छन्। उनी सबैबाट निन्दित भएको हुनसक्छन् र ह्वाइट हाउसमा टेलिभिजन हेरेर बसिरहेका हुनसक्छन्।

सामाजिक सञ्जालबाट अस्थायी रूपमा बाहिरिएपनि उनी लामो समय चुप बस्नेछैनन्।

फ्लोरिडास्थित आफ्नो नयाँ घरमा गएपछि लेखाजोखा गरेर उनले कुनै दिन फेरि शक्तिमा फर्किने योजना बुन्न सक्नेछन् र अहिले क्षतविक्षत विरासत फेरि पुनर्जीवित बनाउने प्रयास गर्नेछन्।