अमेरिका चुनाव: ट्रम्प समर्थकद्वारा संसद् भवनमा हङ्गामा

ट्रम्प समर्थक

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ३ मिनेट

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्‍यो।

ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन्।

थप सुरक्षा बल तैनाथ

अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन्।

उनले ट्वीटमा लेखकी थिइन्, "राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुन: दोहोर्‍याउँछौँ।"

क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो।

एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो।

अमेरिका

तस्बिर स्रोत, DREW ANGERER/GETTY IMAGES

तस्बिरको क्याप्शन, अमेरिकी सिनेटभित्रको दृष्य

कङ्ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो।

प्राय: उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए।

बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित छ।

केही दिनदेखि राष्ट्रपति ट्रम्पले उक्त सत्रको अध्यक्षता गर्ने उप-राष्ट्रपति माइक पेन्समाथि पनि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिइरहेका छन्।

तर बुधवार पेन्सले कङ्ग्रेसलाई लेखेको पत्रमा "कुन इलेक्टोरल मतको गणना गर्नुपर्छ भन्ने निर्णय गर्ने एकाधिकार" आफूसँग नभएको उल्लेख गरेका छन्।

तर पनि ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्।

बाइडनले के भने?

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई "पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन" आग्रह गरे।

उनले भने, "यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन्।"

उनले "अति भएको" पनि बताएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

उनले ट्वीट गर्दै पनि ट्रम्पलाई समर्थकलाई उक्त स्थानबाट हटाउन आग्रह गरेका छन्।

एउटा अर्को ट्वीटमा उनले क्यापिटल बिल्डिङमा केही व्यक्तिहरूले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिसहरू भएको लेखेका छन्।

उनले त्यसलाई देशद्रोह भनेका छन्।

विरोध प्रदर्शन

प्रदर्शनकारीहरू "अमेरिकालाई बचाऔँ" र्‍यालीमा क्यापिटल पुगेका हुन्।

त्यहाँ ट्रम्पले उनीहरूलाई जुन सांसदले बाइडनको जितलाई अस्वीकार गरे उनीहरूको समर्थन गर्न आग्रह गरेका थिए।

अमेरिका

तस्बिर स्रोत, Getty Images

ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गरिरहेका छन्।

उनले कुनै प्रमाणविनै चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन्।

ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए।

ट्रम्पको आग्रह

राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै "क्यापिटल प्रहरीलाई सहयोग गर्नुहोस्" भनेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

उनले लेखेका छन्, "उनीहरू हाम्रो देशकै पक्षमा छन्। शान्ति कायम गर्नुहोस्।"

ट्रम्पको भिडिओ सन्देश

उक्त घटनापश्चात् ट्रम्पले एउटा भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका छन्।

उनले भनेका छन्, "एउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो। त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ। तर अहिले तपाईँहरूले घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामीले कानुन-व्यवस्था कायम राख्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीहरूलाई हिंसा नगर्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, "क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजाय दिइनेछ।"

अमेरिकी सिनेटका केही तस्बिरहरूमा प्रदर्शनकारीहरू सिनेटको चेम्बर नजिकै भेला भएको देखिएको छ।

त्यसमध्ये केहीको साथमा हतियार पनि देखिएको छ।

यसअघि क्यापिटल प्रहरीले हिंसक झडपपछि अमेरिकी क्यापिटल बिल्डिङमा लकडाउन लागु गरिदिएको थियो।

केही प्रदर्शनकारी पक्राउ

अमेरिकी राष्ट्रपतीय चुनाव परिणामको विरोध गरिरहेका ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर लगाइएको अस्थायी ब्यारियरहरू तोडेका थिए।

केही प्रदर्शनकारीहरू भवनभित्र प्रवेश गर्न प्रयास गरिरहेको पनि देखिएको छ।

क्यापिटल प्रहरीले बिल्डिङभित्र प्रवेश गरेका केही व्यक्तिहरूलाई हिरासतमा लिएको छ।

केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले बन्दुक ताक्नु परेको थियो।