तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुन पार्टीलाई कति समानुपातिक सीट? यसरी हुन्छ छिनोफानो
- Author, केशव कोइराला
- Role, बीबीसी न्यूज नेपाली
- Author, स्वाति जोशी
- Role, भिजूअल जर्नलिजम
- पढ्ने समय: ४ मिनेट
नेपालमा गत साता प्रत्यक्ष प्रणालीतर्फ १६५ र समानुपातिक प्रणालीतर्फ ११० सांसद छान्ने गरी भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम औपचारिक रूपमा घोषणा हुन बाँकी छ।
समानुपातिकतर्फ मङ्गलवार अपराह्ण ८ः०० बजेसम्म एक करोड पाँच लाखभन्दा बढी मत गनिँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ७० हजार मत कटाइसकेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको प्रावधान समाविष्ट छ। उक्त दफाको उपदफा ११ मा "समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने" उल्लेख छ।
अहिलेसम्म रास्वपाले झन्डै ४८ प्रतिशत, नेपाली कांग्रेसले १६.२ प्रतिशत, नेकपा एमालेले १३.५ प्रतिशत र नेपाली कम्युनिस्ट पार्टीले ७.४ प्रतिशत समानुपातिक मत पाएका छन्।
त्यसै गरी प्रत्यक्षतर्फ आफ्ना उम्मेदवार निर्वाचित गराउन सफल अन्य दुई दल श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि तीन प्रतिशत मत कटाएका छन्।
नेपालभरि झन्डै एक करोड १० लाख समानुपातिक मत खसेको बताइएको छ। अहिलेसम्मको गणनाबाट प्राप्त मतको अनुपात हेर्दा अब दलहरूले पाउने मत प्रतिशतमा तात्त्विक भिन्नता नआउने देखिन्छ।
अन्तिम मतपरिणाम आउँदा राप्रपाले तीन प्रतिशत कायम राख्न सक्यो भने उसले पनि समानुपातिक सीटमा भाग पाउँछ।
गत निर्वाचनमा केही हजार मतले तीन प्रतिशत पुर्याउन नसकेपछि माधव नेपालको नेतृत्वमा रहेको तात्कालिक नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी समानुपातिक प्रतिनिधित्वबाट विमुख भएको थियो।
माथिको चार्टमा यसअघि त्रुटिवश समानुपातिक सीट प्राप्त गर्न प्रत्यक्षतर्फ एक सीट जितेको हुनुपर्ने लेखिएकाले क्षमायाचना गर्दै संशोधन गरिएको छ।
यद्यपि राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ती दुई आवश्यकता पूरा हुनुपर्छ।
सीट वितरण गर्ने विशेष सूत्र
अहिले कुन दलले कति समानुपातिक सीट पाउँछन् र त्यसको निर्णय कसरी हुन्छ भन्ने जिज्ञासा धेरैमा देखिन्छ। यो प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद ५ मा समानुपातिक सीट बाँडफाँटबारे उल्लेख छ।
दफा ३३(२) ले स्पष्ट रूपमा "मतपरिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण" हुने जनाएको छ।
दफा ३४ ले उक्त सूत्र कसरी प्रयोग गर्ने भनेर व्याख्या गरेको छ। "निर्वाचनमा प्रत्येक दलले प्राप्त गरेको मतपरिणामलाई क्रमशः १,३,५,७,९ आदि (कुल उम्मेदवार सङ्ख्याअनुसारको हुने) भाजकहरूले भाग गरिने छ। त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल (कोसन्ट) भनिने छ," त्यसमा उल्लेख छ।
भूतपूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार समानुपातिक सीट पाउन योग्यता पुगेका पार्टीहरूको मतको अनुपातका आधारमा परिणाम आउँछ।
"त्यसकै आधारमा ११० सीटको छिनोफानो हुन्छ। हिसाब गर्दा ट्याक्कै मिल्दैन, केही मत खेर जान्छ," गुरुङले बीबीसीसँग भने।
नेपालमा प्रयोग हुने सूत्र फ्रान्सेली गणितिज्ञ सेन्ट-लाग्यूले प्रतिपादन गरेको विधिमा आधारित छ।
यो विधिमा सीट र मतको अनुपातका आधारमा सीट विभाजन गरिने हुँदा 'थ्रेश्होल्ड' कटाउने साना पार्टीहरू लाभान्वित हुँदै आएका छन्।
कुन पार्टीले कति सीट पाउने भन्ने विषयमा निर्वाचन आयोगले अन्तिम निर्णय गर्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६०(३) का अनुसार "दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी दलले प्राप्त गर्ने सीट सङ्ख्या बाँडफाँट गर्दा कुनै सीटका सम्बन्धमा एकभन्दा बढी दलको बराबर भागफल हुन आएमा आयोगले गोला हाली सो सीट कुन दलले प्राप्त गर्ने हो सो कुराको निर्धारण" गर्ने छ।
"पार्टीहरूले पाएको सीट सङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी महिला र पुरुष एवं अन्य क्लस्टरबाट पहिला तिनले निर्वाचन आयोगमा बुझाएको सूचीबाट उम्मेदवारहरू निर्वाचित हुन्छन्," गुरुङले भने।
पार्टीहरूले प्रतिनिधिसभामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने अनिवार्य प्रावधान छ। प्रत्यक्ष प्रणालीबाट त्यो पूरा नभए समानुपातिक मनोनयनबाट त्यसलाई पूर्ति गर्नुपर्छ।
अरू देशमा पनि समानुपातिक प्रणाली
केही देशमा समानुपातिक प्रणालीमा पार्टीहरूको प्रतिनिधित्व निर्धारण गर्न अरू विधिहरू पनि प्रयोग हुँदै आएका छन्।
तीमध्ये 'डी'होन्ड्ट विधि'मा १,२,३ जस्ता विभाजकहरू प्रयोग हुन्छन्। त्यसबाट ठूला पार्टीहरू बढी लाभान्वित हुन्छन्।
निर्वाचन आयोग नेपालले 'परिमार्जित सेन्ट-लेग्यू विधि' प्रयोग गर्छ।
जर्मनी र स्वीडनजस्ता युरोपेली देश र न्यूजील्यान्डमा पनि सेन्ट-लेग्यू विधिबाट सांसदहरूको सङ्ख्या निर्क्योल गरिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।