तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बालेनको जितले ल्याएको आशा र निम्त्याएको संशय
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
भावी प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा ५ बाट अत्यधिक मतसहित विजयी बनेका छन्।
उनले ६८,३४८ ल्याउँदा प्रतिस्पर्धी रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८,७३४ मत ल्याएका छन्।
योसँगै अहिलेसम्म सर्वाधिक मत ल्याउने उम्मेदवार पनि ३६ वर्षे शाह नै बनेका छन्।
यसअघिको स्थानीय तहको चुनावमा काठमाण्डूबाट स्वतन्त्र उम्मेदवारका रूपमा मेअर निर्वाचित भएका उनी गत पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।
अहिलेसम्म निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमतनजिक पुग्ने देखिएको छ।
देशैभरि देखिएको रास्वपाको यो जितको लहरमा बलियो कारण 'बालेन फ्याक्टर' रहेको धेरै विज्ञहरू बताउँछन्।
बालेनको जितले जगाएको 'आशा'
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पटकपटक जितेको झापा क्षेत्र नम्बर ५ मा उनको प्रतिस्पर्धीका रूपमा बालेन साहले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसले धेरैलाई चकित पारेको थियो।
ओलीको बलियो पकड रहेको क्षेत्रमा भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका बालेनको हार हुन सक्ने अनुमान गरिएका विवरणसमेत आएका थिए।
तर त्यही क्षेत्रमा उनले निकै फराकिलो मतान्तरले जित हासिल गरेसँगै त्यसले जनतामा आशा जगाएको र सँगै संशय पनि उब्जाउन सक्ने विश्लेषक तथा जेन जी प्रतिनिधिहरूले बताएका छन्।
भदौ २३ को जेन जी आन्दोलनकी एक अभियानकर्मी रक्षा बम अहिलेसम्मको मतले आफूहरूलाई आशावादी बनाएको बताएकी छन्। तर त्योसँगै संसद्मा बलियो उपस्थिति जनाउने उक्त दलले अल्पमतको कदर नगर्ने वा सडकका आवाज नसुन्ने गर्छ कि भन्ने संशय रहेको उनले बताएकी छन्।
"हामी त एकदमै आशावादी छौँ। अन्य दलहरूसँग जनता निराश छन् भन्ने त जेन जी आन्दोलनकै बेलामा देखिएको थियो। यो सरकारले अल्पमतमा रहेका र सडकमा उठ्ने आवाज सुनोस् भन्ने लाग्छ," बमले भनिन्।
"हामीले उठाउँदै आएका भ्रष्टाचार अन्त्य र सुशासनका मुद्दालाई जनादेशले आमजनताका मुद्दा हुन् भन्ने देखाएको छ। यी मुद्दालाई उचित रूपमा उहाँहरूले सम्बोधन गर्नुहुन्छ भन्ने आशा जागेको छ।"
राजनीतिशास्त्री मीना वैद्य मल्लले अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार र खास गरी बालेनबाट आफू आशावादी रहेको बताएकी छन्।
"उहाँको अरूको कुरा सुन्ने संस्कार छ। मेरो बुझाइमा उहाँ सुन्ने, सुनाउने र सिकाउने प्रवृत्तिको व्यक्ति हो जस्तो लाग्छ," उनले भनिन्।
"कति मानिसको बोल्ने मात्रै, अरूको कुरा नसुन्ने हुन्छ। उहाँले ठाउँमा बोल्नु पनि पर्छ र सुधार्नु पनि पर्छ।"
तर सँगै बालेन र अब बन्ने उनको नेतृत्वको सरकारले दम्भ राख्न नहुने र बहुमतको दुरुपयोग गर्न नहुने उनी बताउँछिन्।
खबरदारीको खाँचो
बालेनले जसरी उत्साहजनक रूपमा मत ल्याएका छन्, त्यसअनुसार जिम्मेवारी निभाउन पनि त्यतिकै चुनौतीपूर्ण हुने उनी ठान्छिन्।
"सरकार चलाउने अनुभवको कुरा पनि हुन्छ। त्यसका लागि समय लाग्छ। अनुभव विकास गर्न कमीकमजोरी देखियो भने नीति कार्यान्वयनमा पनि ढिलो हुन्छ कि?" उनले अब बालेनका सामु देखिन सक्ने चुनौतीबारे बोल्दै भनिन्।
"त्यसैले प्रशासनसँग कसरी समन्वय गरेर अगाडि जाने त भन्ने पनि चुनौती रहेको देख्छु। अर्को, पार्टीभित्रबाट पनि दबाव आउन सक्छ। नेतृत्व सङ्घर्ष हुन सक्छ।"
तर सँगै अबको सरकारलाई खबरदारी गर्न आफूहरू पछि नपर्ने जेन जी प्रतिनिधि बमले बताएकी छन्।
आशासँगै अबको सरकारबाट कुनै किसिमको संशय पनि छ?
जवाफमा बम भन्छिन्, "तानाशाही नयाँ होस् वा पुरानो होस्, त्यो हामीलाई स्वीकार्य हुने छैन। डरलाग्दो दुईतिहाइको नजिक उहाँहरू पुग्नुभएको देखिन्छ। त्यो एक किसिमले राम्रो हो किनभने हामीले स्थायी सरकार पाउँछौँ। तर सँगै शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ भन्ने छ, त्यो बाटोमा उहाँहरू नलाग्नुहोस् भन्ने हाम्रो अपेक्षा छ।"
मतपरिणामबाट प्रतिपक्ष कमजोर भयो भन्ने डर आफूहरूमा रहेको पनि उनले बताइन्।
"अन्धभक्त हुने होइन। भगवान् बनाउने होइन कसैलाई, आफ्ना मुद्दाको नायक मात्रै खोजिरहने होइन। प्रश्न पनि गर्ने हो। राम्रा काम गरे समर्थन गर्ने हो र आफूले जिताएर पठाएको व्यक्ति भड्किँदा वा बाटो बिराउँदा पनि चुप लाग्ने प्रवृत्ति हामी (नेपाली जनता)ले पनि सच्च्याउनुपर्छ भन्ने लाग्छ," उनले भनिन्।
"सदनमा रहँदा पनि अल्पमतलाई सम्मान गर्नुहुन्न भने उहाँहरू इतिहास रच्ने बाटोमा होइन कि इतिहासबाट खस्ने बाटोमा जान सक्ने सम्भावना रहन्छ। त्यसैले उहाँहरू इतिहास रच्ने बाटोमा जानुपर्छ भन्ने लाग्छ।"
मतपरिणामले देखाएको संशय
त्यस्तै विश्लेषक सीके लालले यसरी व्यक्तिलाई हेरेर आएको मतले सर्वसत्तावाद र अधिनायकवादको जोखिम देखाएको बताएका छन्।
उनले अहिले धेरै शङ्का गर्नु उपयुक्त नभए पनि सावधानी अपनाउनुपर्ने बताए।
"भन्ने बेलामा त बालेनले जनकपुरमा गएर सङ्घीयता बलियो बनाउने कुरा गरे। तर त्यो बलियो बनाउने भन्दा कमजोर गराउन सक्ने एउटा सम्भावना हुन सक्छ। मधेश-पहाड जोड्ने बालेन भनेर त्यसको नाममा समावेशितालाई कमजोर पार्ने प्रयास हुन सक्छ," लालले भने।
"त्यस्तै कठिन भूराजनीतिक अवस्थाका बाबजुद जसरी केपी ओलीले [नेपाली सत्तालाई] उत्तरतिर पुर्याउनुभएको थियो, यसअघि जसरी दुईतिहाइले बेइजिङ पुर्याइदिएका थिए, अर्को दुईतिहाईले वाशिङ्टन वा दिल्ली पुर्याइदेलान् कि भन्ने पनि त डर रहन्छ।"
अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कसरी सरकार बन्छ?
निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि कुन दलले कति सीट ल्याउँछ, त्यसमै सरकार निर्माणका लागि कति समय लाग्छ भन्ने कुरा निर्भर रहने विज्ञहरू बताउँछन्।
अहिलेसम्मको परिस्थितिले समानुपातिकको समेत मतपरिणाम आइसक्दा रास्वपालाई सदनमा कुनै दलसँग मिलेर भए पनि दुईतिहाइ सुरक्षित गर्न कठिन नदेखिएको विश्लेषक लाल बताउँछन्।
कुल २७५ सांसदहरू रहने प्रतिनिधिसभामा प्रत्यक्ष प्रणालीतर्फबाट १६५ जना र समानुपातिकतर्फबाट ११० जना रहने छन्। कुनै एउटा दलको दुईतिहाइ बहुमत ल्याउन १८४ सीट जित्नुपर्ने हुन्छ।
सबै परिणाम आएपछि आयोगले राष्ट्रपतिलाई बुझाएपछि उनले सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ।
संवैधानिक व्यवस्थाअनुसार निर्वाचनको परिणाम आएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्ने छन्।
संविधानको धारा ७६(१) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने छन्।
सांसदहरू बस्ने भवनको अवस्था के छ?
गत भदौ २४ गते बानेश्वरस्थित संसद् भवनमा तोडफोड र आगजनी भएपछि नयाँ प्रतिनिधिसभा कक्ष सिंहदरबारभित्र निर्माणाधीन रहेको छ।
चैत १ गते आफूहरूलाई प्रतिनिधिसभा बैठक बस्न मिल्ने गरी उक्त भवन दिने सरकारले बताएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताएका छन्।
"अब अहिले भवन निर्माणाधीन नै हो। यद्यपि निर्माणका थुप्रै कामहरू बाँकी रहेको देखिन्छ। तर सरकारले दिन्छु भनेपछि हामीले विश्वास गरेका छौँ र विकल्प खोजेका छैनौँ," प्रवक्ता गिरिले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।