'रास्वपाप्रति मतपेटिकाबाट प्रकट मोहसँग जोडिएका ती घुम्तीहरू'

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ७ मिनेट

प्राध्यापक पीताम्बर शर्मालाई यो आम चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राम्रो नतिजा ल्याउँछ भन्ने अनुमान थियो तर उनी भन्छन् "प्रमुख दल, त्यसमा पनि नेपाली कांग्रेसलाई समेत बढारिदेला भन्ने चिताएको थिइनँ।"

रास्वपाले एक्लै स्पष्ट बहुमत प्राप्त गर्नसक्ने हालसम्मको नतिजाको रूझानले दिएको सङ्केततर्फ उनको भनाइ लक्षित थियो।

"त्यसैले स्थापित मुख्य राजनीतिक दलहरूसँग जनता वाक्क दिक्क भइसकेका थिए भन्ने पहिलो सन्देश चुनावले दिएको छ," राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शर्मा भन्छन्, "विकल्पमा जनताले रास्वपाप्रति ठूलो आशा र भरोसा प्रकट गरेका छन्।"

विगतभन्दा फरक यो चुनावी सरकारमा प्रमुख दलहरूको उपस्थिति थिएन। तर स्थानीय र प्रदेश सरकारमा उनीहरूकै हालीमुहाली छ। जहाँ रास्वपा छँदै छैन।

विघटित संसद्मा उसको २१ सिट मात्र थियो। तर पनि स्थापना भएको चार वर्ष नबित्दै रास्वपाले कसरी यति ठूलो फड्को मार्‍यो? यसका पछाडि पाँच वटा राजनीतिक घुम्तीहरू जोडिएको विश्लेषण गरिएको छ।

रास्वपामा बालेन शाह: कति महत्त्वपूर्ण?

चुनावको मुखमा काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) रास्वपामा प्रवेश गरे। त्यसपछि देशव्यापी रूपमा देखिएको रास्वपाप्रतिको आकर्षण ह्वात्तै बढेको देखियो।

त्यसले खास गरी रास्वपाको सङ्गठन कमजोर मानिएको मधेस र सुदूरपश्चिम प्रदेशमा समेत एक खालको लहर ल्याउन सघाएको बुझाइ पाइन्छ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङ्कायका उपप्राध्यापक पीताम्बर भण्डारी बालेनलाई भित्र्याएर रास्वपाले ठूलो राजनीतिक लाभ लिन सफल भएको ठान्छन्, "रास्वपाको उदयभन्दा अगाडिनै स्थानीय निर्वाचनमा केही उप र महानगरपालिकाका स्वतन्त्र मेयरहरूको जबरजस्त उपस्थितिलाई वैकल्पिक शक्तिको उदयको रूपमा स्थापित गरियो र चुनावको मुखमा बालेन शाहलाई भित्र्याएर सम्पूर्ण वैकल्पिक शक्ति एक हौँ भन्ने सन्देश दिए।"

पार्टी सभापति रवि लामिछाने विभिन्न मुद्दामा जेल चलान भएपछि रास्वपाको नेतृत्व र भविष्य जोखिममा पर्ने सम्भावनाबारे पनि चर्चा हुन थालेको थियो। जेन जी आन्दोलनका क्रममा उनी जेलबाट बाहिर निस्किएको घटनाले पनि उक्त दललाई प्रतिरक्षात्मक तुल्याएको देखिन्थ्यो।

बालेनको सहभागिताले लामिछानेविरुद्धका मुद्दाले गर्दा पार्टी नेतृत्वमाथिको सम्भावित सङ्कटबारेको अन्योल अन्त्य गर्न सघाएको बताउँछन् प्राध्यापक पीताम्बर शर्मा। "नेतृत्व ठूलो प्रश्न र शङ्काको घेरामा थियो, छ। त्यसैले बालेनलाई पार्टीमा भित्र्याएर प्रधानमन्त्रीको रूपमा अघि सारे। त्यसको पनि अवश्य भूमिका छ," उनको भनाइ छ।

भदौ २३ र २४ को सजाय

जेन जी आन्दोलनमा युवाहरू मारिएको घटना र तत्कालीन नेतृत्वले उत्तरदायित्व नलिँदा नागरिकमा प्रमुख दलप्रतिको असन्तुष्टि थप आक्रोशमा परिणत भएको कतिपयको बुझाइ पाइन्छ।

कतिपय मुख्य दल र नेताहरूले आफू सत्तामा वा साझेदार रहँदा भदौ २४ गते भएका घटनामा बाह्य शक्तिको चलखेल रहेको भन्दै आफू उम्किन खोजेको सन्देश पनि प्रवाह भएको देखिन्छ।

तर कट्टर आलोचकहरू मतदाताले मत पेटिकामार्फत् दलहरूलाई उक्त 'नरसंहारको दण्ड' दिएको ठम्याइ सुनाउँछन्।

"त्यति धेरै मान्छे मारिए तर प्रधानमन्त्री भएको मान्छेले मेरो कुनै उत्तरदायित्व छैन भन्न सुहाउँदैन," प्राध्यापक शर्मा भन्छन्, "मानिसहरू त्यति बुद्धु त छैनन्। जस आफूले लिने अपजस अर्कालाई बोकाउनु त भएन नि।"

भदौ २३ र २४ को विद्रोह र विध्वंस दुबैलाई पुँजीकृत गर्न रास्वपा सफल भएको उपप्राध्यापक भण्डारीको भनाइ छ।

"उनीहरूले त्यो सामाजिक आन्दोलन मात्र नभएर त्यो विशुद्ध राजनीतिक क्रान्ति थियो भन्ने भाष्य बनाउन सफल भए," उनी भन्छन्, "चुनावी सरकार पनि आन्दोलनको वैधता सिद्ध गर्दा आफ्नो वैधता स्थापित हुन्छ भन्ने किसिमबाट अघि बढेको देखियो।"

'शक्ति दुरुपयोगको बदला मतपेटिकाबाट'

जब रवि लामिछाने राजनीतिमा आए, सुरुमा उनीविरुद्ध दोहोरो नागरिकता र पासपोर्ट सम्बन्धी मुद्दाहरू परे। सांसद पद गुम्यो।

अदालतको फैसलाअनुसारको वैधानिक प्रक्रिया पुरा गरेर उनले पुनः चुनाव जिते। त्यसपछि सहकारी ठगीको विषय उठ्यो। संसद्मा लामो समय त्यही विषयमा लामो राजनीतिक रस्साकस्सी चल्यो।

उनी सत्ताबाट हटेपछि विभिन्न जिल्लाहरूमा सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाहरू चलाइयो।

उपप्राध्यापक भण्डारी भन्छन्, "त्यसमा नियमित कानुनी प्रक्रियाभन्दा पनि प्रतिशोध साधेको भन्ने भाष्य स्थापित गर्न रास्वपा सफल भयो।"

तत्कालीन सरकार र उसका निकायले अतिरिक्त सक्रियता देखाएको र शक्तिको दुरुपयोग गरेको भन्दै उनलाई रातारात एउटा जिल्लाबाट अर्को जिल्ला लगिएका घटनाको आलोचना पनि भएको थियो।

प्राध्यापक पीताम्बर शर्मा रास्वपाले त्यो लाभ लिएको बताए, "जुन रूपले राज्य उनका पछाडि लाग्यो, राज्यले जानीजानी खेदो खनेको हो भन्ने छाप जनतामा परेको पाइयो।"

लामिछानेप्रति सहानुभूति राख्ने कैयौँ सर्वसाधारणहरूले चुनावी परिणामलाई 'पाप धुरीबाट कराएको' प्रतिक्रिया दिएको समेत देखिन्छ। मतदाताले 'मतपेटिकाबाट बदला लिएको' कतिपयको टिप्पणी पाइन्छ।

दुई चाल: 'पुरानाप्रतिको वितृष्णा र परिवर्तनको खाँचो'

मानविकी तथा समाजशास्त्र सङ्कायका उपप्राध्यापक पीताम्बर भण्डारी रास्वपाले थप दुई वटा राजनीतिक चाल पनि चलेको ठान्छन्।

उनले गणतन्त्रको स्थापना र त्यसअघिको संसदीय अभ्यासका क्रममा भएका भ्रष्टाचार प्रकरण र विकासको सन्दर्भमा जन्मिएको निराशा चौथो कारण हो।

"त्यसमा मुख्य दलहरू जिम्मेवार रहेको कुरा स्थापित गर्न उनीहरू सफल भए," भण्डारी बताउँछन्।

उनका बुझाइमा विघटित संसद्मा रहेको आफ्नो उपस्थितिलाई पनि रास्वपाले अनुकूलतामा परिणत गरेको हो।

"यही संसद्मा बसेर उनीहरूले जारी प्रक्रियाबाट उत्पन्न वितृष्णालाई पुँजी पनि बनाए," उपप्राध्यापक पीताम्बर भण्डारीको ठम्याइ छ।

यसअघि २०६४ सालमा तत्कालीन नेकपा माओवादीले कांग्रेस र एमालेलाई खुम्च्याउँदै संविधानसभामा निकै ठूलो दल बनेको थियो। तर उसले प्रधानसेनापति प्रकरणमा अल्झिएर सत्ता गुमाउन पुग्यो।

पछिल्लो पटक २०७४ सालमा नेकपा एमाले र माओवादी मिलेर बहुमत ल्याएका थिए। तर एकीकरण गरेर बनेको नेकपा विभाजित बन्न पुगेको थियो।

कतिपयले रास्वपाले सम्भावित राजनीतिक अपरिपक्वता र विवाद-विभाजनबाट भोग्नु पर्ने जोखिमबाट ती दुई प्रकरणबाट सिक्नु पर्ने बताउँछन्।

प्राध्यापक पीताम्बर शर्माको टिप्पणी:

बालेन शाह र रवि लामिछानेका चुनौती:

रास्वपा २-४ जना नेताको अनुहारको भरमा अघि बढेको छ। रवि लामिछाने विभिन्न विवाद र मुद्दामा छन्। बालेन शाह बोल्दैनन्। त्यसैले उनीहरूबारे केही थाहा छैन। नयाँ (पार्टी र नेता) मा केही सम्भावना होला भनेर जनताले एक प्रकारले च्याँखे खेलेका हुन्।

त्यसैले रास्वपाको जिम्मेवारी र उत्तरदायित्व अनि जनताको अपेक्षा ठूलो छ। देशमा उत्पादन बढोस्। करिब ४० लाख नेपाली विदेशमा छन्। इरानसँगको लडाइँ लम्बियो भने खाडीमा कार्यरत धेरै नेपाली विस्थापित हुन सक्छन्। देशभित्र रोजगारी सृजना होस्, विकासले गति लेओस्, भ्रष्टाचार र कुशासन अन्त्य होस्, सरकारबाट सेवा प्रवाह स्वस्थ, छरितो र गतिशील रूपमा पाउन सकियोस्। पूर्वाधार दशकौँसम्म उस्तै रहने, पुल बन्न १५-२० वर्ष लाग्ने अवस्था अन्त्य होस्। बैङ्कमा ठूलो रकम थुप्रिएको छ।

कम ब्याजमा पनि कसैले ऋण लिइरहेका छैनन्। भन्नुको मतलब अर्थतन्त्रमाथि कसैको विश्वास छैन। राजनीति, आर्थिक र सामाजिक विश्वास बढाउनु पर्ने ठूलो चुनौती छ। रास्वपा र त्यसको नेतृत्वमा त्यो बहन गर्ने क्षमता, शक्ति र बुद्धि-विवेक अनि जनताले दिएको विश्वास काँधमा बोकेर अघि बढ्ने हैसियत छ कि छैन?

भूराजनीतिक स्थिति निकै संवेदनशील छ। नाजुक छ। प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन शाहमा ससाना कुरामा तरङ्गित हुने र प्रभावित हुने विगत देखिएको छ। गम्भीर र वयस्क कूटनीतिक व्यवहार आवश्यक छ।

केपी ओली र गगन थापाको नेतृत्व:

पछिल्ला दिनहरूमा एमालेप्रति मानिसहरूमा जुन प्रकारको वितृष्णा नै देखियो, त्यसमा केपी शर्मा ओलीको नेतृत्वको शैली जिम्मेवार छ। त्यसबाट मतदाता आजित भएको भोटले देखायो। कार्यकर्ताले त्यो बुझेनन्, बुझेर पनि बुझ पचाए। रास्वपाले त्यसबाट पाठ सिक्नुपर्छ।

एमाले बढारिन्छ भन्ने अनुमान थियो तर जुन रूपमा कांग्रेस खुम्चिने देखिन्छ, जनताले अहिलेको कांग्रेस र पहिलेको कांग्रेसमा खास फरक छैन भन्ने बुझेको देखियो। गगन थापाले कांग्रेसमा विद्रोह गरे तर त्यो साँच्चिकै हो कि छिपछिपे हो भन्नेमा भयो। नेतृत्वमा गगन थापा आएर 'कांग्रेस फेरियो, देश फेर्छौँ' भन्ने नारालाई विश्वास गरेको देखिएन। मतदातामा 'आखिर उनै नेता हुन्, जो हिजोसम्म चुप लागेर बसेका थिए र मौका आउँदा उठे' भन्ने छाप परेको छ। प्रचण्ड वा केपीसँग मिल्दा उनीहरू पनि (सहमत) थिए। जेन जी आन्दोलन हुँदा पनि उनीहरूकै थिए। भित्रभित्र गुम्सिए पनि अर्थ भएन। राजनीतिक रूपमा बाहिर अभिव्यक्त हुनु पर्‍यो नि। त्यसैले यिनीहरू त्यतिकै सच्चिँदैनन्, राम्रै पाठ पढाउनु पर्छ भन्ने ढङ्गले जनता प्रस्तुत भएको देखियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।