तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आवश्यक परे ओमान हुँदै 'पानीजहाजमार्फत् नेपाली कामदारलाई उद्धार गरिने'
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ६ मिनेट
नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धको मारमा परेको मध्यपूर्व र खाडी देशहरूमा ठूलो सङ्ख्यामा रहेका नेपालीहरूको उद्धार गर्नु पर्ने परिस्थिति आएमा समुद्री मार्गबाट घर फर्काउने विकल्पमा समेत विचार गरेर पूर्व तयारी भइरहेको बीबीसीलाई बताएका छन्।
तर अहिले नै खाडी देशमा रहेका नेपाली कामदारहरूलाई "तत्कालै उद्धार गरिहाल्नु अवस्था नदेखेको" परराष्ट्र मन्त्रीको विश्लेषण छ।
खाडीका मुलुकहरूमा रहेका नेपालीहरूलाई ओमान ल्याइ पुर्याउने र त्यहाँबाट जलमार्ग हुँदै भारत र त्यसपछि स्वदेशसम्मको यात्राको मार्गबारे विचार गरिएको उनले जानकारी दिए।
मन्त्री शर्माले ती देशहरूमा वैध ढङ्गले झन्डै २० लाख नेपाली कार्यरत रहेको भन्दै परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समन्वयात्मक रूपमा उद्धार योजना बनाइरहेको बताए।
दक्षिण एशियाका भारतसहित अन्य देशका श्रमिकहरू पनि ठूलो सङ्ख्यामा खाडी र मध्यपूर्वका देशमा रहेकाले आवश्यक पर्दा संयुक्त ढङ्गले उद्धार अभियान सुरु गर्नसकिने सम्भावनातर्फ पनि कूटनीतिक माध्यमबाट छलफल भएको उनले सुनाए।
युद्ध चर्कँदै गर्दा कतिपय देशहरूका विमानस्थल सञ्चालनमा रहेको उल्लेख गर्दै आवश्यक पर्दा तिनलाई पनि प्रयोग गर्न सकिने उनले बताए।
सरकारले सोचेका दुई विकल्प
सप्ताहान्तमा अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि तेहरानले खाडी क्षेत्रमा विशेष गरी अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाउँदै प्रत्याक्रमण जारि राखेको छ।
ती हमलामा अहिलेसम्म कम्तीमा एक जना नेपाली मारिएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्री शर्माले खाडी र मध्यपूर्वका सबै देशका राजदूतावासहरूलाई त्यहाँ रहेका नेपाली समुदायसँग सम्पर्कमा रहन निर्देशन दिइएको उल्लेख गर्दै 'समन्वयात्मक ढङ्गले उद्धार योजना' बनाउन खोजेको बताए।
उनी भन्छन्, "युद्धग्रस्त क्षेत्रबाटै (ल्याउन) शायद गाह्रो होला। धैरै मुलुक भएपनि भौगोलिक क्षेत्रफल हेर्दा लामो दुरी होइन। अहिले पनि साउदी अरेबिया र ओमानको विमानस्थल खुला छन्। र बाहरेन, कुवेत, यूनाइटेड अरब एमिरेट्स, कतार काहीँबाट पनि यी ठाउँमा चार घण्टामा जहाँ पनि पुग्न सकिन्छ। आन्तरिक बाटोहरू सुचारु छन्। आवश्यक पर्यो भने हामीहरू आन्तरिक बाटोबाट सम्बन्धित व्यक्तिहरूलाई ओसारेर यी विमानस्थलहरूमा लिएर आएर नियमित उडानहरूबाट पनि ल्याउने हाम्रो योजना छ।"
तर ठूलो सङ्ख्यामा दक्षिण एशियाली श्रमिकहरू ती देशमा रहेको उल्लेख गर्दै उनी भन्छन्, "हामीले एक्लै उद्धार गर्ने योजना बनाउने कि सामूहिक ढङ्गले उद्धार गर्ने भन्नेबारेमा पनि हाम्रो छलफलहरू भइरहेको छ। (भारतसँग) पनि प्रारम्भिक छलफलहरू हामीले गरिसक्यौँ। उहाँहरूको ठूलो सङ्ख्यामा छ। हवाई भन्दा पनि शायद पानीजहाज पो पठाउने हो की भन्ने कुराहरू भइरहेको छ। हामी सबै जना योजनाकै चरणमा छौँ।"
नेपालीको मृत्यु
आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले यसअघि बताएका थिए।
२९ वर्षका श्रेष्ठको शवलाई यूएईको सरकारले सुरक्षित राखेको उल्लेख गर्दै परराष्ट्र मन्त्री शर्माले भने, "हाम्रो राजदूतावासलाई पूर्ण रूपमा ज्ञान छ र यस सम्बन्धमा परिवारको नजिकका व्यक्तिहरूले मसँग सम्पर्क गर्नुभएको थियो, मैले आफूसँग भएको जानकारी दिएको छु। अहिले सबैतिर उडान बन्द भएकाले उहाँको (शवलाई) ल्याउन सम्भव छैन। परिस्थिति हेरेर हामी शव ल्याउने प्रक्रिया थाल्छौँ।"
पानीजहाजबाट कामदारहरूलाई उद्धार गर्न सम्भव छ?
चार्टर उडानहरू गर्नका लागि नेपालको आफ्नै ध्वजावाहक वायुसेवा भएपनि समुद्रबाट मानवीय उद्धारहरू गर्दा उसले अरू देशहरू वा व्यावसायिक सेवा प्रदायकहरूमा भर पर्नुपर्ने अवस्था छ।
परराष्ट्र मन्त्री शर्माले नेपाली श्रमिकहरूलाई समुद्रको माध्यमबाट स्वदेश फर्काउन सम्भव रहेको उल्लेख गर्दै थपे, "पानीजहाज मस्कटसम्म जान सक्छ किनभने त्यहाँसम्म वायुसेवा पनि खुला छ। खाली स्ट्रेट अफ हर्मुज बन्द भएको हो। खाडी देशहरू र इरानबीचको जल क्षेत्रमा समस्या देखिएको हो। हिन्द महासागर खुला छ त्यहाँबाट उद्धार गरेर ल्याउन सकिन्छ।"
समुद्रमार्गबाट कामदारहरूलाई भारत र त्यहाँबाट नेपाल फर्काउनसकिने अवस्था देखेको बताएका परराष्ट्रमन्त्री शर्माले अहिले नै घर फर्कने मनस्थितिमा नेपाली कामदारहरू नरहेको र त्यस्तो सुरक्षा चुनौती पनि देखा नपरिसकेको जनाए।
इरानमा रहेका नेपाली सुरक्षित, अन्यको अवस्था के?
उनले इरानमा रहेका १० नेपालीमध्ये ६ जना त्यहाँबाट बाहिर निस्किसकेको उल्लेख गर्दै चार जना सम्बन्धित राजदूतावासमा काम गरेर बसिरहेको र उनीहरू सुरक्षित रहेको सुनाए।
पछिल्लो द्वन्द्व सुरू भए यता नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य रहेका खाडी तथा मध्यपूर्वका देशहरूमा उडानहरू स्थगित भएका छन् भने सरकारले ती देशहरूमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पनि बन्द गरेको छ।
यसै साता परराष्ट्र मन्त्रालयले १७ लाख २९ हजार भन्दा बढी नेपालीहरू मध्यपूर्वका विभिन्न देशहरूमा बसिरहेको र काम गर्दै आएको तथ्याङ्क सार्वजनिक गरेको थियो।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले खाडी तथा मध्यपूर्वका नेपाली कूटनीतिक नियोगहरू र नेपालमा रहेका खाडी तथा मध्यपूर्वका देशका राजदूतावासका अधिकारीहरूसँग आफूहरू नजिकबाट सम्पर्कमा रहेको उल्लेख गरेका छन्। परराष्ट्रमन्त्री शर्माले नेपाली कामदारको सुरक्षाका बारेमा विभिन्न मुलुकका राजदूतहरूसँग आफूले छलफल गरेको उल्लेख गर्दै आवश्यक परे उच्च तहमा पनि कुराकानी गर्ने योजना रहेको बताउँछन्।
ती देशमा रहेका कामदारहरूको पछिल्लो अवस्थाबारे उनी भन्छन्, "आज बिहानसम्म पनि हामी सम्पर्कमा नै छु, फर्कन्छौँ भनेर कसैले पनि भनिसक्नु भएको छैन। धेरैको आकलन हामीलाई निशाना बनाइएको छैन भन्ने छ। यो छिट्टै साम्य हुन्छ भन्ने बुझाइ छ।"
नेपाली कामदारहरूलाई सरकारको सुझाव के छ?
अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरे लगत्तै शनिवार नेपालको परराष्ट्र मन्त्रालयले एउटा ट्राभल एड्भाइजरी जारी गरेको थियो। त्यसमा दुवै देशका सरकारी निकायहरूले जारी गर्ने निर्देशनहरू पालना गर्न र आवश्यक सुरक्षा सावधानी अपनाउन भनिएको थियो।
नेपालको परराष्ट्र मन्त्रालयले नेपाली समुदाय र सरकारी निकायहरूसँग सम्पर्कमा रहन भन्दै तेल अभिभ, दोहा र परराष्ट्र मन्त्रालयका केही सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।
त्यहाँ रहेका कामदारहरूलाई सुरक्षित रहन सुझाव दिँदै उनले भने, "आफू जोगिनका लागि जुन ठाउँमा रहिरहनुभएको छ त्यही बस्नुहोस्। किनभने बाहिर जाने बित्तिकै पनि समस्या पर्नसक्छ। हाम्रो यात्रा सम्बन्धी सूचनाहरूलाई पालना गर्नुहोस् र कुनै नेपाली समस्यामा परेको छ भने तपाईँले भएपनि रिपोर्ट गरिदिनुहोस्।"
बीबीसीसँग कुरा गर्दै खाडी तथा मध्यपूर्वका कतिपय देशमा कार्यरत नेपालीहरूले डर र असुरक्षाको वातावरण रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
दैनिक २९ सय भन्दा बढी नेपालीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि बाहिरिने गरेको अध्यागमन विभागको एउटा पछिल्लो आँकडाले देखाउँछ। त्यसमध्ये धेरै जना खाडी तथा मध्यपूर्वका देशहरूमा रोजगारीमा जाने गरेको पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।