तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'विस्फोट भएको सुन्दा डर लाग्छ': लडाइँ चर्किएपछि खाडीमा रहेका नेपालीहरू चिन्तित
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
रबिन मगर अहिले कतारको राजधानी दोहामा बस्छन्। कतारको निम्ति गैरआवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष समेत रहेका उनी आइतवार साविकजस्तै काममा गएको बताउँछन्।
"बाटोमा गाडीहरू चलेकै छन्। सुपरमार्केट, ब्याङ्कहरू खुलेकै छन्। स्कूलहरू चाहिँ बन्द छन्। सकिन्छ भने घरबाटै काम गर्न भनिएको छ," उनले दिउँसो बीबीसी नेपालीसँग भने।
संयुक्त अरब एमिरेट्स (यूएई)को दुबईमा बस्ने विकास शाही अहिले त्यहाँको अवस्था सामान्य सरह नै भएको बताउँछन्।
"यहाँ प्रहार भएका क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक आकाशमा नै खसाइँदो रहेछ। त्यसैले स्थिति नियन्त्रणमै भएको देखिन्छ," विगतमा यूएईको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष रहिसकेका शाहीले भने।
बाहरेनमा बस्ने भुवन बिमलीले पनि त्यहाँ स्थिति ठिकै रहेको बताए। "अहिलेसम्म स्थिति ठिकै छ," उनले भने।
विस्फोटनको आवाजले त्रास
इजरेल र अमेरिकाले शनिवार इरानमा हमला गरेपश्चात् इरानले इजरेलका अतिरिक्त कतार, यूएई, बाहरेनसहित वरपरका देशहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमला गरेका विवरण आएका थिए।
कतारमा सो क्षेत्रकै ठूलो भनिएको अमेरिकी सेनाको अल उदैद हवाई अखडा छ भने यूएईमा पनि अमेरिकी सेनाको अखडा छ। बाहरेनमा अमेरिकी जलसेना यूएस फिफ्थ फ्लीटको मुख्यालय छ।
इरानले तिनलाई लक्षित गरी प्रत्याक्रमण गरेको जनाएको छ। तर धेरैजसो आक्रमणलाई प्रतिरोध गरेर निस्तेज पारिएको जनाइएको छ।
आकाशमै क्षेप्यास्त्र निष्क्रिय बनाउँदा पनि विस्फोटनका आवाज आउने अनि टुक्राटाक्री खस्ने जोखिम रहने बताइन्छ।
शनिवार दिउँसो र राति अनि आइतवार बिहान पनि आफूहरूले कैयौँ पटक विस्फोटनको आवाज सुनेको दोहाबाट रबिन मगरले बताए।
"हिजो दिउँसो विस्फोटनका आवाजहरू एकदम सुनियो। राति चाहिँ मिसाइलहरू झरेको र यहाँको सुरक्षा निकायले प्रतिरोध गरेको पनि आकाशमा देखियो। आइतवार बिहान पनि विस्फोटनका आवाज सुनिएको थियो," उनले भने।
त्यस्ता आवाज सुन्दा थोरै डर त लागिहाल्ने बाहरेनका भुवन बिमलीले बताए। "तैपनि हामी आफ्नो काममा लागिरहेका छौँ। मैले चाहिँ आज घरबाटै काम गरेँ," उनले भने।
"अहिले त ठिकै छ। तर योभन्दा अवस्था खराब चाहिँ हुनु भएन। नत्र त फेरि भद्रगोल हुन्छ," दुबईबाट विकास शाहीले भने।
'सावधान सन्देश'
आफूहरूको मोबाइलमा चेतावनीमूलक सन्देश आउने गरेको र त्यसका आधारमा मानिसहरूले सावधानी अपनाउने गरेको उनले बताए।
"कुनै घटना हुन आँटेको छ भने त्यस्तो सूचना आउने रहेछ। कुनैमा सचेत रहन भनिएको हुन्छ त कुनैमा बाहिरै ननिस्कन भनिएको हुन्छ। त्यो सूचना आएको केही बेरमा मात्र बम पड्केको वा मिसाइलको आवाजहरू सुनिन्छ," उनले भने।
बाहरेनमा पनि मोबाइलमा त्यस्ता सन्देशका साथै बाहिर पनि सुनिने साइरन बजाएर मानिसहरूलाई सुरक्षित रहन भन्ने गरिएको भुवन बिमलीले बताए।
आक्रमण हुन लागेमा बाहिर ननिस्कनु भन्ने सन्देश मोबाइलहरूमा आइरहेको दुबईका विकास शाहीले पनि बताए।
नेपालीहरूको अवस्था कस्तो?
गत वर्ष जुनमा पनि इरानमा आक्रमण भएपछि कतारस्थित अमेरिकी हवाई अखडामा इरानले प्रत्याक्रमण गरेको थियो।
"लामो समयदेखि यहाँ बसेकाहरू अलिकति जानकार हुन्छन्। तर भर्खर भर्खर यहाँ आएका नेपालीहरू भने अलि बढी त्रसित भएको पाइएको छ," दोहाका रविन मगरले भने।
दुबईका विकास शाहीले पनि नेपालीहरू चिन्तित र हतोत्साह त भएको तर कुनै समस्या भने आइपरेको खबर नभएको बताए।
"यस्तो बेला डर त अलिअलि लागिहाल्छ," बाहरेनका भुवन बिमली बताउँछन्।
बीबीसी नेपालीले सामाजिक सञ्जालमा खाडी क्षेत्रमा भएका नेपालीहरूलाई उनीहरूले कस्तो अवस्था भोग्नुपरेको छ भनेर सोधेको प्रश्नमा धेरैले अहिलेसम्मको अवस्था ठिकै भए पनि चिन्ता बढेको अनि सजगता अपनाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
'सुरक्षा पहिलो प्राथमिकता'
हालसम्म खाडीमा नेपालीहरू कुनै गम्भीर समस्यामा परेको भन्ने जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसीलाई बताएका छन्।
जारी तनावबीच नेपाली नागरिकहरूको सुरक्षा प्रमुख प्राथमिकता रहेको उनले बताएका छन्।
"अवस्था बिग्रिएर भोलि उद्धार नै गर्नुपर्ने स्थिति आयो भने त्यो तहमा पनि हाम्रो कुरा हुन्छ। अहिले चाहिँ सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका छौँ," प्रवक्ताले भने।
खाडी क्षेत्रमा झन्डै २० लाख नेपालीहरू रहेका भन्दै उनले तिनको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताए। "त्यो भएको हुनाले हाम्रा सबै मिशन (नियोग)हरूलाई नजिकबाट सम्पर्कमा रहन भनेका छौँ," क्षेत्रीले अगाडि थपे।
काठमाण्डूबाट पनि शनिवारदेखि नै आवश्यक काममा लागिपरेको उनले जानकारी दिए।
"नजिकबाट त्यहाँको स्थितिको मूल्याङ्कन गरेर हामीलाई जानकारी गराउन मिशनहरूलाई भनेका छौँ। हामीले यहाँबाट पनि जे समन्वय गर्न सकिन्छ, त्यो गरिरहेका छौँ। मन्त्रालय एक किसिमले हिजैदेखि लागिपरेको छ।"
सम्बन्धित देशहरूमा रहेका दूतावासहरूमार्फत् नेपालीहरूलाई घरभित्रै रहन र बाहिन ननिस्कन अनुरोध गरिएको प्रवक्ता क्षेत्रीले बताए।
"सम्बन्धित सरकारहरूले सुरक्षाबारे दिएका निर्देशनहरूलाई अक्षरशः पालना गर्न, एकअर्काको र दूतावासको सम्पर्कमा रहन अनि कुनै खालको समस्या भए तुरुन्त दूतावास अथवा तत् विषय हेर्ने निकायसँग सम्पर्क गर्न हामीले भनेका छौँ," उनले थपे।
राष्ट्रिय मानव अधिकार आयोगले आईतवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यक अनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने भन्दै सरकारले तथ्याङ्क सङ्कलन गर्ने, जानकारी लिने अनि जोखिममा रहेकाहरूलाई उद्धार गर्नाका लागि पहलकदमी लिन आह्वान गरेको छ।
मन्त्रालयले इजरेल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म आफ्नो योजना स्थगित गर्ने सुझाव पनि दिएको छ।
मध्यपूर्वका अन्य देशमा भएका नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न भनेको छ।
आवश्यक परे तल उल्लिखित माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
काठमाण्डूस्थति परराष्ट्र मन्त्रालय
फोनः +977-9862678437
इमेलः waa@mofa.gov.np
तेल अभिभस्थित नेपाली दूतावास
फोनः +972-545582077
इमेलः telaviv@nepalembassyil.com
दोहास्थित नेपाली दूतावास
फोनः +974-66214419
इमेल: eondoha@mofa.gov.np
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।