इरानी आक्रमणको मार अमेरिकाका खाडी सहयोगी राष्ट्रहरूमाथि

    • Author, फ्र्याङ्क गार्ड्नर
    • Role, बीबीसी सुरक्षा संवाददाता
  • पढ्ने समय: ४ मिनेट

आबुधाबीको सफा नीलो आकाशमा बालुवा रङ्ग पोतिएका भिला र रेखदेख पाएका बगैँचामाथि सेता धूवाँका मुस्लोहरू माथि उड्दै गरेका देखिन्छन्।

ती धुवाँका मुस्लाहरू पर्यटक र आगन्तुक श्रमिकहरूको अर्को समूह ल्याउने ड्रीमलाइनर वा एअरबसका त होइनन्। ती खाडीपारिस्थित एमिरेट्सको विशाल छिमेकी: इरानद्वारा प्रक्षेपण गरिएका बलिस्टिक क्षेप्यास्त्रहरू हुन्।

आइतवार दिउसोसम्ममा संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले १६५ बलिस्टिक क्षेप्यास्त्र, दुई क्रूज मिसाइल र ५४१ इरानी ड्रोनहरू "सामना" गरेको बताएको छ।

बहरीनस्थित एकजना साथीले आइतवार बिहान मलाई विमानस्थल आक्रमणमा परे पछिको कष्टकर रातबारे बताएका थिए।

"ठूला धमाका र चेतावनीयुक्त साइरनले ब्युँझिइयो," उनले टेक्स्ट गरे। "मलाई लाग्छ सायद लगभग २० बूम र धमाका भए। कम्तीमा दुई प्रहार लागे।"

ती यस ठाउँमा झेलिइरहने दृश्य होइनन्। तर शनिवार बिहान यस द्वन्द्व सुरु भएदेखि इरानले बहरीनमा रहेका अमेरिकी नौसेनाको पाँचौँ फ्लीट मुख्यालयजस्ता सैन्य निशानामा प्रहार गर्नेदेखि विमानस्थल र अन्य नागरिक स्थलहरूमा आफ्नो लक्ष्य विस्तार गरेको देखिन्छ।

यतिखेर खाडीमा विलासी होटल र शपिङ मल, अग्ला अपार्टमेन्ट ब्लक, अत्याधुनिक विमानस्थलका प्रस्थान टर्मिनलहरू छिटपुट रूपमा प्रभावित भइरहेका छन्।

अरब देशका हवाई प्रतिरक्षामा खाडल देखा पर्दै गर्दा ती निशाना देखा परेका हुन्।

ती ठाउँहरू कुनै दिन ड्रोन र बलिस्टिक क्षेप्यास्त्रका आक्रमणमा पर्नेजस्ता सम्भावनालाई ध्यानमा राखेर निर्माण गरिएका थिएनन्।

इरान के भन्छ?

इरानी विदेशमन्त्री अब्बास अराग्चीले छिमेकी देशहरूलाई लक्षित गरेको कुरा अस्वीकार गर्दै अल जजीरालाई भनेका छन्: "हामी पर्सिअन खाडी देशहरूमा हाम्रा छिमेकीहरूलाई आक्रमण गरिरहेका छैनौँ। हामी ती देशमा अमेरिकाको उपस्थितिलाई लक्षित गरिरहेका छौँ। छिमेकीहरूले आफ्नो गुनासो यस युद्धका निर्णयकर्ताहरूतिर सोझ्याउनुपर्छ।"

खाडी देशका नागरिक पूर्वाधारमा भएका केही क्षति त्रुटिवश भएको देखिन्छ। ती निस्तेज पारिएका क्षेप्यास्त्रहरूबाट खसेको भग्नावशेषको नतिजाका रूपमा देखिन्छ।

तर सबै होइन।

बहरीन र युएईका विमानस्थलमा भएका आक्रमणहरूको सङ्ख्याले संयोग मात्र होइन भन्ने कुरा देखाउँछ।

इरानले यसअघि नै यदि आफूमाथि आक्रमण गरिएमा त्यसमा संलग्न ठानिने जुन कुनै देशलाई बदला लिने बताएको थियो।

खाडी देशहरू केही हदसम्म आफूहरू, उनीहरूका दृष्टिमा, अमेरिकी-इजरेली आक्रमणको हिस्सा नभएको इरानलाई देखाउन खोजे।

तैपनि मुख्य रूपमा उनीहरूलाई वाशिङ्टनको दीर्घकालीन सैन्य साझेदार भएकामा सजाय दिइएको छ।

इस्लामिक क्रान्तिअघि शाहको समयमा इरानलाई "खाडीको प्रहरी" भनेर चिनिन्थ्यो।

क्रान्तिपछि उसले आफ्ना छिमेकीहरूलाई सधैँ त्यो भूमिका पुनः बहन गर्ने भनेर विश्वस्त पार्ने प्रयास गरेको छ। तेहरानले खलीज-ए-फार्स भनेर फारसी खाडी (अरबहरूले यसलाई अरबी खाडी भन्छन्) मा "सुरक्षाको जिम्मा लिँदै" त्यसो गर्ने बताउँछ।

इरानी नेताहरूले खाडीमा रहेका अरब देशहरूलाई अमेरिकी नौसेनालाई निकाल्न र उनीहरूलाई आफ्नो संरक्षकत्व अपनाउन मनाउने असफल प्रयास गरेका छन्।

तर खाडी देशका शासकहरू परम्परावादी, वंशवादी राजतन्त्रहरू जसका लागि इस्लामिक गणतन्त्रको क्रान्तिकारी जोस अभिशाप मान्छन्। उनीहरू त्यसले त्यहाँ एउटा रेखा पार सकेको ठान्छन्।

उनीहरू वर्तमान इरानी नेतृत्वसँग, अर्थात्, यदि यो युद्ध सहन सके भने फेरि सामान्य सम्बन्धको नजिक कसरी पुग्न सक्छन् भन्ने देख्न गाह्रो छ।

अहिले र पहिलेका हमला

लामो समयदेखि अमेरिकी र पश्चिमी सैन्य शक्तिहरू राखिराखेका दुई देश साउदी अरब र ओमान अन्य चार खाडी अरब राष्ट्रभन्दा निकै हल्का रूपमा असर झेलेका छन्।

इस्लामिक गणतन्त्रसँग राम्रो सम्बन्ध रहेको एवं अमेरिका र इरानबीचको परमाणु वार्तामा मध्यस्थता गरिरहेको ओमानले अरब सागरको तटमा रहेको डुक्मको व्यावसायिक बन्दरगाहमा ड्रोन आक्रमणको सामना गर्नुपरेको छ।

शनिवार साउदी राजधानी रियादलाई निशानामा पारेको देखिन्छ। जसले गर्दा त्यहाँको सरकारबाट क्रुद्ध अभिव्यक्ति आएको छ।

"साउदी अरब राज्यले रियाद क्षेत्र र पूर्वी प्रान्तलाई लक्षित गरी गरिएको स्पष्ट र कायरतापूर्ण इरानी आक्रमणको कडा शब्दमा अस्वीकार र निन्दा गर्छ जुन सफलतापूर्वक रोकिएको थियो। ती आक्रमणलाई कुनै पनि बहानामा जायज ठहराउन सकिँदैन," उसको विज्ञप्तिमा भनिएको छ।

इरानले खाडीस्थित आफ्ना अरब छिमेकीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आक्रमण गरेको यो पहिलो पटक होइन। तर यस स्तरमा यसअघि कहिल्यै यस्तो भएको थिएन।

सन् २०१९ मा इराकस्थित इरान-समर्थित मिलिशियाले अब्काइक र खुरैसमा रहेका साउदी अरामकोको पेट्रोकेमिकल केन्द्रमा ड्रोनहरूको समूहमार्फत् हमला गरेको थियो। जसले गर्दा उसको दैनिक निर्यात क्षमता अस्थायी रूपमा आधाले बन्द भएको थियो।

गत जुनमा इरानले कतारको अल-उदैद हवाई अड्डामा बलिस्टिक मिसाइलहरू प्रहार गरेको थियो। तर त्यसलाई अमेरिकाको अपरेशन मिडनाइट ह्यामर हवाई आक्रमणको प्रदर्शनकारी प्रतिक्रियाको रूपमा हेरिएको थियो।

त्यसबेला इरानको इस्फहान, नातान्ज र फोर्डोमा रहेका परमाणुस्थलहरू नष्ट गर्नेगरी हमला भएपछि तेहरानले अग्रिम चेतावनी दिएको थियो।

ठूलो एवं अशान्त शिया जनसङ्ख्या भएको बहरीनले कहिलेकाहीँ इरानलाई आफ्नो देशका विद्रोहीहरूलाई आर्थिक सहयोग, तालिम र हतियार प्रदान गरेको आरोप लगाउँदै आएको छ।

यद्यपि यी सबै कुरा खाडीका अरब देशहरूले अहिले अनुभव गरिरहेको अवस्थाको तुलनामा फिक्का छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।