तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'आत्तिएर अधिक तेल भण्डारण गर्नुपर्ने अवस्था छैन', मध्यपूर्व तनावमाझ के नेपाल ढुक्क हुन सक्ने अवस्थामा छ?
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
मध्यपूर्वमा तनाव चर्किएसँगै विश्व बजारमा तेलको आपुर्तिलाई लिएर चिन्ता बढिरहँदा नेपालले भारतबाट नियमित आपूर्तिमा असर पर्न नदिने आश्वासन पाएको नेपाल आयल निगम (एनओसी)ले जनाएको छ।
बीबीसीसँग कुरा गर्दै निगमका प्रवक्ताले उपभोक्ताहरू "आत्तिनु पर्ने अवस्था नरहेको" बताएका छन्।
मङ्गलवार एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क 'ब्रेन्ट क्रूड'को मूल्य ३.२ प्रतिशतले बढेर प्रति ब्यारल ८० अमेरिकी डलर पुगेको छ भने ग्यासको मूल्य ३० प्रतिशतले बढेको छ।
"सामान्य हुन केही समय लाग्ला, विकसित हुने अवस्था अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य केही माथि जाला। तर मार्च १५ सम्मका लागि हाम्रो मूल्य स्थिर छ," प्रवक्ता मनोजकुमार ठाकुरले भने। "त्यसपछिको मूल्य निगमले अँगालेको स्वचालित मूल्य प्रणाली अनुसार हुन्छ।"
एनओसीले पूर्ण रूपमा नेपालमा पेट्रोलियम पदार्थको आयात इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट गर्ने गर्छ।
नेपालमा प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतको आईओसीले पठाउने मूल्यसूचीका आधारमा मूल्य निर्धारण हुने गर्छ।
"हालसम्म आयातमा कुनै किसिमको अवरोध छैन। हामीले बजारको मागभन्दा बढ्ता नै आयात गरिरहेका छौँ," ठाकुर भन्छन्। "हामीले पाइपलाइनबाट चौबिसै घण्टा तेल ल्याइरहेका छौँ।"
तर एकजना पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले मूल्य द्रूत गतिमा बढ्न थालिसकेको र अवस्थामा सुधार नभएमा आपूर्ति पनि प्रभावित हुने अवस्था सम्मुख हुन सक्ने बताउँछन्।
पूर्वसचिव ओझा भन्छन्: "किनकि भारतमा त्यसलाई लिएर चिन्ता र परिस्थितिको मूल्याङ्कन गर्ने काम सुरु भइसकेको छ। चीनले त झन् धेरै सिधै इरानबाटै तेल किन्छ र त्यहाँबाट तेल ल्याउने भरपर्दो पुर्वाधारसमेत हामीसँग छैन।"
भण्डारण क्षमता कति
नेपालको हालको भण्डारण क्षमता अनुसार पूरै आपूर्ति रोकिँदाको अवस्थामा समेत १० दिनको माग थेग्न सक्ने अवस्था रहेको निगम प्रवक्ता ठाकुर बताउँछन्।
प्रवक्ता ठाकुरले भारतले इरानबाट तेल नकिन्ने गरेको बताउँछन्। उनका अनुसार दिल्लीले मुख्य रूपमा रुस, साउदी अरब, इराक लगायतका देशबाट कच्चा तेल खरिद गर्छ र साढे दुईदेखि तीन महिनासम्मको मौज्दात राखेर प्रशोधन गर्ने गर्छ।
नेपालको खपत पेट्रोलका हकमा दैनिक २०-२५ लाख लिटर एवं डिजलका हकमा ४०-४५ लाख लिटर रहने गरेको नियमले जनाएको छ।
खाना पकाउने ग्यासको माग भने मासिक रूपमा ४५ हजार मेट्रिक टन रहेको बताइन्छ।
नेपालको ७० देखि ७५ प्रतिशतसम्म पेट्रोलियम पदार्थ पाइप लाइनमार्फत् आउने गरेको छ। त्यस्तो अवस्था डिजल, पेट्रोल र मट्टितेल सबैका हकमा लागु छ।
नेपालले आयात गर्ने पेट्रोलियम पदार्थमध्ये आधाभन्दा धेरै भाग डीजलको हुन्छ। त्यसपछि पेट्रोल र एलपी ग्यासको हुन्छ। मट्टितेलको हिस्सा निकै न्यून छ।
हाल नेपालको पूर्वमा झापामा र पश्चिमी भेगमा भैरहवा, नेपालगञ्ज र धनगढीमा मात्र ट्याङ्करबाट तेल ल्याउने गरिएको छ।
"तीन महिनाका लागि पेट्रोलियम भण्डारण गर्न सक्ने पूर्वाधारबारे नेपालमा वर्षौँअघिदेखि चर्चा भए पनि त्यो मुद्दा जग्गा खरिदलाई लिएर विवादमा परेपछि अल्झिएको अल्झियै छ," पूर्वसचिव ओझा भन्छन्।
"हुन त अहिले नेपालमा विद्युतीय सवारी र भान्छाका उपकरण धेरै बढेका छन्। तर पेट्रोलियम पदार्थलाई बिर्सेर चल्न सक्ने अवस्था छैन।"
त्यसको अभाव हुँदा हाम्रो समग्र "महँगी, आवागमन र भान्छा" एकसाथ प्रभावित हुन्छ।
निगमले आवश्यक मात्रामा मात्र तेलको खरिद तथा उपभोग गर्न सचेत गराउँदै अहिले "अधिक र अनावश्यक" तेल भण्डार नगर्न भनेको छ।
"यो अति प्रज्ज्वलनशील पदार्थ हो र गर्मी याम सुरुवात भइसकेको अवस्था रहेकाले घरमा राख्दा त्यसले दुर्घटना निम्त्याउन सक्ने जोखिम हुन्छ," प्रवक्ता ठाकुर भन्छन्।
"ग्यासकै हकमा समेत हामीले आवश्यक मात्रामा भित्र्याइरहेका छौँ र उद्योगीका डिलरहरूमार्फत् बजारमा पठाइरहेका छौँ। तर अहिले कतिपय नामका ग्यास सिलिन्डर बजारमा नपाउने अवस्था छ।"
उनले त्यस समस्या "उपभोक्तामा रहेको मनोवैज्ञानिक त्रास"का कारण मात्र भइरहेको भन्दै जनमानसमा पेट्रोलियम पदार्थलाई लिएर त्यस्तो अवस्था सिर्जना हुन नदिन आग्रह गरे।
पेट्रोलियमबारे किन चिन्ता बढ्यो?
मध्यपूर्वमा जारी द्वन्द्वले तेल उत्पादक क्षेत्रबाट आपूर्ति प्रभावित हुने खतरा बढेसँगै विश्वव्यापीरूपमा ऊर्जाको मूल्य बढ्दै गएको छ।
यदि खाडीको स्ट्रेट अफ हर्मुज भनिने समुद्री जलमार्ग मिसिने क्षेत्र बन्द गरिएको पुष्टि भएमा र तेल तथा ग्यास पूर्वाधारमा हमला हुने क्रम जारी रहेमा एसिया र युरोप सबैभन्दा बढ्ता प्रभावित हुने विश्लेषकहरू बताउँछन्।
निगमका प्रवक्ता ठाकुरले अवस्था निकै नै बिग्रिएको समयमा सरकारले नै यसबारे आवश्यक निर्णयहरू गर्ने बताउँछन्।
"आउँदा दिनका अवस्थाको मूल्याङ्कन गरेर त्यसबेला नेपाल सरकारसहितका सरोकारवाला मिलेर रणनीति तय गरिन्छ," मनोजकुमार ठाकुर भन्छन्।
"तर अहिले माग अनुसार आयात भइरहेको छ। भारतबाट आपूर्तिमा अवरोध नहुने आश्वासन छ।"
इरानले विश्वको २० प्रतिशत तेल र ग्यासको पारवहन हुने स्ट्रेट अफ हर्मुज जलमार्ग प्रयोग नगर्न चेतावनी दिएका विवरण आएका छन्।
सप्ताहान्तमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता तेल र ग्यासको मूल्य लगातार बढिरहेको छ।
सोमवार विश्वको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक 'कतार इनर्जी'ले आफ्ना केन्द्रमा "सैन्य आक्रमण" भएर उत्पादन बन्द गरेपछि प्राकृतिक ग्यासको मूल्य बढेको छ।
पूर्वसचिव पुरुषोत्तम ओझाले यस मामिलामा नेपालले गर्न सक्ने कुरा निकै कम रहेको औँल्याउँदै तनाव मत्थर नभए निकै कठिन दिन आउन सक्ने चेतावनी दिन्छन्।
"नेपालको खपत भारतका लागि ठूलो हिस्सा त होइन। तर भारतले धेरैजसो तेल बाहिरबाटै ल्याउँछ। उसलाई सङ्कट पर्न थाले नेपाललाई दिइरहने भन्ने अवस्था नहुन सक्छ," ओझा थप्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।