मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदारहरू कुन मनस्थितिमा छन्

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

यूएईको आबुधाबीमा कार्यरत बुटवलका आकाश खनालले सोमवार मध्याह्न बीबीसीसँग कुराकानी गर्दा आफूले दुई मिनेटअघि विस्फोटनको ठूलो आवाज सुनेको बताए। उनका अनुसार बिहान पनि त्यस्तै आवाज सुनिएको थियो।

"धेरै आत्तिनुपर्ने अवस्था त छैन। किनकि यहाँको सरकारले इरानी प्रहारको प्रतिरक्षा गरेको बताउने गरेको छ," उनले भने, "तर जुनसुकै बेला त्यस्ता आवाज आउँदा डर लाग्छ, अरु नै आवाज आउँदा पनि आकाशतिर ध्यान जान्छ। यता खस्यो कि, उता खस्यो कि भन्ने चिन्ता हुन्छ।"

त्यहाँको सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ। तर चार वर्षदेखि सुरक्षागार्डको रूपमा कार्यरत उनी ड्यूटीमै रहेको बताए।

"यहाँको सरकारले देश र हाम्रो सुरक्षाको निम्ति गर्ने जति गरिरहेकै छ। तर प्राकृतिक विपद् भए त सुरक्षित ठाउँमा जान सकिन्थ्यो। यो त कहाँबाट कति बेला कहाँ आउँछ भन्ने थाहा हुँदैन," उनले भने, "नेपाली साथीबारे दुःखद खबर आयो। त्यसैले कतिपय साथीहरूमा चिन्ता र डर पक्कै छ।"

आबुधाबीमा मारिएका तीन विदेशीमध्ये एक जना नेपाली हुन् उनी जायाद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा कार्यरत थिए। मारिने अन्य दुई जनामा पाकिस्तान र बाङ्ग्लादेशका नागरिक छन्।

दुबईमा 'ढुक्क'

दुबईमा १० वर्षदेखि कार्यरत अमरगढी डडेलधुराका सिद्धार्थ खड्का पर्यटकीय आकर्षणको एउटा केन्द्र रहेको बुर्ज खलिफानजिकै बस्छन्।

उनका अनुसार इरानमाथिको आक्रमण र उसले गरेको प्रत्याक्रमणको दिन अब के हुन्छ, कसो हुन्छ भनेर मानिसहरू डराइरहेका थिए।

"सरकारले बुधवारसम्म सकेसम्म घरबाटै काम गर्न सूचना जारी गरेको छ। हवाई उडान बन्द छ," उनले भने।

"अहिले अरू सबै सामान्य छ। सूपरमार्केट, सार्वजनिक यातायात र रेस्टुराँहरू सबै खुला छन्। डराउनुपर्ने, आत्तिनुपर्ने केही पनि छैन।"

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सम्बोधन गर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताएकी छन्।

त्यहाँ रहेका नेपालीको सुरक्षा सरकारको ठूलो चासोको विषय भएको बताउँदै प्रधानमन्त्रीले मध्यपूर्वमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै भनेकी छन्, "हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।"

खड्काले स्वदेश फर्किन पाए हुन्थ्यो भन्ने अवस्था अहिलेसम्म दुबईमा नरहेको अनुभव सुनाए।

उनका अनुसार त्यहाँ मानिसहरू नियमित काममा जाने-आउने गरिरहेका छन्।

परिवारसँगै बस्ने चाहना कसको हुँदैन र?

यूएईको आबुधाबीस्थित नेपाली राजदूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रञ्जिता दाहालले त्यहाँ रहेका नेपालीहरूबाट विभिन्न सरोकार व्यक्त गर्दै २००-३०० फोन र सन्देश प्राप्त गरेको जानकारी दिइन्।

"कसैले सामान्य सोधपुछका निम्ति सम्पर्क गर्नुभएको छ। कोहीकोहीले आत्तिएर पनि फोन गर्नुभएको छ," उनले भनिन्, "यहाँको प्रतिरक्षा प्रणाली बलियो छ। त्यसैले धेरै त्रासदीपूर्ण अवस्था देखिएको छैन।"

प्रवक्ता दाहालका भनाइमा अहिलेसम्म कुनै नेपालीले ठूलै समस्यामा परेर राजदूतावासको सहयोग मागेका छैनन्।

तर आबुधाबीमा कार्यरत आकाश खनालका अनुसार खर्च गरेर भर्खरै पुगेका नेपालीलाई नफर्किँदा जोखिम हुने, फर्किँदा गरेको खर्चको सम्भावित चिन्ता भएकाहरू पनि छन्।

तर अहिले त्यहाँबाट स्वदेश फर्किन सक्ने वा सरकारले फर्काउन सक्ने सम्भावना उनले पनि देखेका छैनन्।

"तैपनि पहिलो प्राथमिकता त सुरक्षा हो। अहिले घर जान पाए, सामान्य अवस्था भएपछि काममा फर्किन पाए हुन्थ्यो भन्ने साथीहरू पनि हुनुहुन्छ," उनले भने, "त्यसैले सरकारले सक्ने जति गरिदिए हुन्थ्यो भन्ने पनि छ, किन कि यस्तो अप्ठेरो बेला परिवारसँगै बस्न पाए हुन्थ्यो भन्ने चाहना कसको हुँदैन र?"

उनका बुझाइमा यो लडाइँ कति लामो हुन्छ भन्ने अनिश्चितले चिन्ता थपिए हो।

"रुस र युक्रेनको लडाइँ अझैँ अन्त्य नभएकाले यो पनि कहिले समाधान हुन्छ भन्ने अनिश्चितताले चिन्ता थपिएको छ," उनले बताए।

एनआरएनएको चासो र कामदारको चिन्ता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतका अनुसार मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत नेपालीहरूमा एक खालको त्रास र संशय रहेको विवरण एनआरएनएका विभिन्न संयन्त्रबाट प्राप्त भएका छन्।

त्यसको निम्ति राष्ट्रिय समन्वय परिषद् पनि क्रियाशील छ।

"हामीले सरकार र हाम्रा संयन्त्रहरूसँग नेपालीहरूको चिन्ता र सरोकार सम्बोधनबारे समन्वय गरिरहेका छौँ," कार्यकारी अधिकृत राउतले बताए।

मध्यपूर्वका देशहरूमा ठूलो सङ्ख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन्।

पछिल्लो परिवर्तित अवस्थामा वैदेशिक रोजगार विभागले साउदी अरेबिया, यूएई, कुवेत, कतार, बाहरेन, ओमान, इराक, यमन, लेबनन, टर्की, जोर्डन र इजरेल समेतका देशहरूमा वैदेशिक रोजगारीका निम्ति दिइने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगित गरेको छ।

वैदेशिक रोजगार विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटी भन्छन्, "कसैले चिन्ता व्यक्त गर्दै अहिलेसम्म सीधै हामीलाई सम्पर्क गरिसकेका छैनन्।"

यूएईमा मृत्यु भएका नेपालीको परिचय खुल्यो

आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। उनी २९ वर्षका थिए।

यूएई सरकारले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई मृतकबारे जानकारी उपलब्ध गराएको हो।

आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको मृत्यु भएको बताइएको छ।

परिस्थिति सहज भएपश्चात् श्रेष्ठको शव स्वदेश फिर्ता पठाइने नेपाली राजदूतावासले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।