तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'थुनुवाको अधिकार हनन': लामिछानेलाई किन रातारात पोखरा लगियो
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
सहकारी प्रकरणमा अनुसन्धानका लागि दुई महिनादेखि थुनामा रहेका भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आराम गर्न नदिई बुधवार मध्यराति चितवनबाट पोखरा लगिएको विषयमा उनको पार्टीका नेता तथा समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहकोषाध्यक्ष दीपक बोहराले लामिछानेमाथि सरकारले “ज्यादती गरेको” आरोप लगाउँदै यो विषय अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूसमक्ष उठाइने बताए।
लामिछानेका वकिल सुशील पन्तले लामिछानेको मानवअधिकार प्रशासनले हनन गरेको विषयमा छानबिन हुनुपर्ने र त्यसका लागि समिति गठन हुनुपर्ने माग गरेका छन्।
जिल्ला अदालत कास्कीले अन्तिम पटक लामिछानेलाई हिरासतमा राख्न थप गरेको अवधि शुक्रवार साँझबाट सकिने छ।
कानुनविद्हरूका अनुसार लामिछानेलाई थप समय हिरासतमा राख्न प्रहरीले आइतवार फेरि म्याद माग गर्नुपर्छ।
राति सार्नुपर्ने बाध्यता कस्तो
रास्वपा नेताहरूले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अवधि बाँकी छँदै उनलाई अस्वाभाविक रूपमा रातारात पोखरा पुर्याइएको आरोप लगाएका छन्।
चितवन प्रहरीका प्रमुख गौतम मिश्रले "शान्ति सुरक्षाका कारणले मात्रै" रातको समयमा लामिछानेलाई पोखरा सारिएको बताए।
“यहाँको काम सकिएपछि उहाँको म्याद थप गर्नुपर्ने पोखरा नै हो। बयान हिजो सकियो, त्यसपछि राख्न उपयुक्त भएन। त्यस कारण पठाएको हो,” उनले भने।
रास्वपा नेताहरूले राति ११ बजे चितवनबाट पोखरा हिँडाइएको दाबी गरेका छन्। तर प्रहरीका अनुसार उनलाई १ बजेतिर चितवनबाट पोखरा पठाइएको हो।
मध्यरातमा लैजानुपर्ने बाध्यता के थियो भन्ने प्रश्नमा मिश्रले भने, “अलिकति शान्ति सुरक्षाको कुरा पनि छ। सुरक्षा कमजोरी पनि रातिको समयमा कम हुन्छ।"
"बाटोमा अवरोध हुन सक्ने कुरा पनि ध्यानमा राखेर उहाँकै राम्रोका लागि पनि पठाइएको हो।”
बुधवार चितवनमा बयान सकिएपछि लामिछानेलाई बिहीवार बिहान नियमित उडानमार्फत् पोखरा लैजाने अनुमान गरिएको थियो।
उनलाई यसअघि विमानबाटै पोखराबाट भैरहवा र काठमाण्डू अनि काठमाण्डूबाट पोखरा पठाइएको थियो। गत कात्तिक महिनाको पहिलो साता काठमाण्डूमा पक्राउ परेपछि उनलाई पोखरा लैजाँदा भने स्थलमार्ग प्रयोग गरिएको थियो।
रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई विमानस्थल बाहिर बिहीवार भेला हुन आह्वान गरेको थियो।
बुधवार पनि चितवनमा लामिछानेका समर्थक र प्रहरीबीच झडप भएपछि तनाव बढ्न सक्ने आकलन गरेर प्रहरीले राति नै उनलाई पोखरा पठाएको सङ्केत जिल्ला प्रहरी कार्यालयका प्रमुख मिश्रले गरे।
मानवअधिकार हननको प्रश्न उठाउँदै रास्वपा
वरिष्ठ अधिवक्ता सुशील पन्तले रास्वपा सभापति लामिछानेलाई उनको इच्छाविपरीत रातारात पोखरा लगिएको दाबी गरे।
चितवनको सहारा सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको दाबी गरिएको ऋण परिचालनमा लामिछानेको संलग्नताबारे अनुसन्धान गर्न उनलाई मङ्गलवार चितवन पुर्याइएको थियो।
बुधवार बिहान करिब ८ बजेदेखि बेलुका करिब ९ बजेसम्म लामिछानेको बयान लिइएको उनीसँगै चितवन पुगेका रास्वपाका सहकोषाध्यक्ष बोहराले बताए।
उनका अनुसार लामिछानेले बुधवार बिहानको खाजादेखि बेलुकाको खानासम्म सरकारी वकिलको कार्यालयमै खाएका थिए।
दिनभरि बयान दिएर थकित भएका लामिछानेलाई "आरामको मौका पनि नदिई" राति नै पोखरा पठाउँदा गर्दा थुनुवाको मानवअधिकारको हक हनन हुने अधिवक्ता पन्तको दाबी छ।
“यो अमानवीय क्रिया यहाँको प्रहरीले गर्यो कि प्रहरी महानिरीक्षकको निर्देशनमा भयो कि? गृहमन्त्री स्वयं वकिल हुनुहुन्छ। उहाँको निर्देशनमा भएको हो भने राज्य कुनै व्यक्तिविरुद्ध कुन हदसम्म लाग्छ भन्ने योभन्दा अर्को उदाहरण हुन सक्दैन।"
"उहाँको निर्देशनमा भएको होइन भने उहाँले यो विषयमा छानबिन समिति बनाउनुहोला,” पन्तले भने।
उनले लामिछानेको सचिवालयले मानवअधिकार आयोग लगायतका निकायमा पनि यो विषय उठाउनेबारे आफूसँग छलफल गरेको बताए।
“मैले उहाँहरूलाई यो विषय राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उठाउनुहोस्, जानकारी दिनुहोस्। को कति प्रजातान्त्रिक छ भन्ने अभिलेखमा राख्ने कुरा हो भनेको छु,” पन्तले भने।
कानुन व्यवसायी पन्तका अनुसार रवि लामिछानेले हिरासतमा रहँदा टिपोटका लागि प्रयोग गरेको डायरी पनि पोखरा प्रहरीले लिएको दाबी गरेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख समेत भइसकेका अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदी प्रहरीले शान्ति सुरक्षासँगै थुनुवाको मानवअधिकारको पक्षमा पनि ध्यान दिनुपर्ने बताए।
“विशेष गरी उच्चपदस्थ आरोपितहरू अनुसन्धानको सिलसिलामा हुँदा उहाँका समर्थकहरू विभिन्न स्थानमा प्रदर्शन गर्ने, घेराउ गर्ने र रिहाइको मागहरू राखेर ठूलो जमात भेला हुने प्रवृत्ति अहिलेबाट होइन, पहिल्यैबाट चलेको छ,” सुवेदीले भने।
“तर अनुसन्धानको सिलसिलामा रहेको कुनै पनि व्यक्तिको मानवअधिकारको सम्मान पक्कै पनि गर्नुपर्छ।”
अरू विकल्प हुँदाहुँदै रातारात थुनुवालाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने कुरा मानवअधिकारका दृष्टिले "राम्रो भने मान्न नसकिने" सुवेदीले बताए।
तर पनि समर्थकहरूले प्रदर्शन गर्दा झडपको अवस्था आउन सक्ने अवस्था भए प्रहरीले त्यसलाई रोक्न कहिलेकाहीँ अनुसन्धान अधिकारीले यस्ता किसिमका निर्णय लिन सक्ने सुवेदीको भनाइ छ।
बुधवार चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा तीन दर्जन जनाभन्दा धेरै घाइते भएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।