अमरेश सिंह र गगन थापाको क्षेत्रको पछिल्लो अपडेट, माधुरी महतो, वीरगन्ज
दिउँसो ३ः४० को अपडेट -
- अमरेशकुमार सिंह (रास्वपा) - १९,२१३
- गगन थापा (कांग्रेस) - ११,११३
- अमनिशकुमार यादव (नेकपा एमाले) : ३,५२९
तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फागुन २१ गते भएको मतदानको हालसम्म प्राप्त मतपरिणाममा रास्वपाले अग्रता कायम गरेको छ। यसका सभापति रवि लामिछाने विजयी भएका छन् भने वरिष्ठ नेता बालेन शाह एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा धेरै अगाडि छन्। कांग्रेस सभापति गगन थापा पनि रास्वपाका अमरेशकुमार सिंहभन्दा पछाडि छन्।
दिउँसो ३ः४० को अपडेट -
प्रत्यक्षतर्फको मतगणनामा करिब तीन चौथाइ सिटमा जित या अग्रता हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि आधाभन्दा धेरै मत बटुलिरहेको देखिन्छ।
निर्वाचन आयोगले दिउँसो साढे ३ बजेसम्म राखेको विवरणमा करिब सवा ३ लाख मत गनिसक्दा रास्वपाले झन्डै पौने २ लाख पाइसकेको देखिन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५२ हजारभन्दा धेरै अनि तीन प्रतिशत कटाउनेहरूमा त्यसपछि क्रमश: नेकपा एमालेले ४० हजारभन्दा धेरै, नेपाली कम्युनिस्ट पार्टीले १६ हजारभन्दा धेरै र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजारभन्दा धेरै ल्याएको देखिन्छ। श्रम संस्कृति पार्टीले साढे ७ हजारभन्दा बढी मत ल्याएको देखिन्छ जुन करिब साढे दुई प्रतिशत जति छ।
राष्ट्रिय मान्यता प्राप्त दल बन्नका निम्ति समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत पाउनु पर्छ भने प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु पर्छ।
जाजरकोटमा तीन दशकपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको चुनाव जितेको छ।
कांग्रेसका खड्कबहादुर बुढाले पूर्वगृहमन्त्री तथा नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई हराउँदै तीन दशकपछि पार्टीलाई जित दिलाएका हुन्।
कांग्रेस जाजरकोटका उपसभापति समेत रहेका बुढाले तीन पटक चुनाव जितेका बस्नेतलाई २,७३५ मतान्तरले चुनाव हराएका हुन्।
स्रोत : निर्वाचन आयोग
भक्तपुर २ मा नेकपा एमालेका सचिव महेश बस्नेतलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री विजयी भएका छन्।
पूर्वपत्रकार खत्रीले पूर्वमन्त्री बस्नेतलाई ३१ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
चितवनको क्षेत्र ३ नम्बरमा रास्वपाकी साेबिता गौतम यस चुनावमा हालसम्मकै सर्वाधिक मत ल्याएर विजयी भएकी छिन्।
गौतमले ५९,२७७ मत प्राप्त गरेकी छन्। गौतमले भरतपुर महानगरपालिकाकी पूर्वमेअर रेणु दाहाललाई पराजित गरेकी हुन्। मेअरबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेकी दाहाललाई गौतमले ३८ हजार भन्दा धेरै मतान्तरले पछि पारेकी छन्।
दाहालले २०,६१५ मत प्राप्त गरेकी छिन्।
नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८,३४४ मत प्राप्त गरेका छन्। भने नेकपा एमालेका शंकर थपलियाले ५,००४ मत प्राप्त गरेका छन् ।
विसं २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा राप्रपाका विक्रम पाण्डेले ३५,०६० मतले जितेका थिए ।
चुनाव जितेपछि रास्वपा सभापति रवि लामिछानेले के भने?
भिडिओ : ईश्वर जोशी
मतगणनामा विवाद भएपछि डोल्पा जिल्लामा सात घण्टादेखि मतगणना स्थगित भएको छ।
काइके गाउँपालिकाको वडा नं ४ र ५ को मतगणनाका क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको तथा सात वटा मतपत्रका अर्धकट्टीमात्र भेटिएपछ विवाद भएको हो।
यस्ता मतपत्र भेटिएपछि नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले निर्वाचन रद्द गर्न माग गर्दै सामूहिक रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी दिएका छन्।
यहाँ जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा अरू उम्मेदवारहरूभन्दा धेरै अगाडि थिए।
उजुरी गर्ने उम्मेदवारहरूले केही व्यक्तिले पूरै मतपत्रको ठेलीमा स्वस्तिक छाप लगाई हतारहतार मत पेटिकामा खासालेको भन्दै उक्त केन्द्रमा पुनः मतदानको माग गरेका छन्।
मतदानस्थलमा रहेका पत्रकार रामचन्द्र न्यौपानेका अनुसार विवाद समाधान गर्न दिउँसो २ बजेतिर सर्वदलीय बैकठ बोलाइएको छ।
राजनीतिमा जोडिएपछिका तीनवटै निर्वाचनमा पराजय बेहोरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका छन्।
"विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु। सो परिप्रेक्ष्यमा मैले निम्न दुई निर्णय लिएको छु," उनले फेसबुकमा पोस्ट गरेका छन्।
मिश्रले "आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको" घोषणा गरेका छन्।
उनले राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा आफ्ना अडान यथावत् रहने र "तत्कालका लागि गैर दलीय (स्वतन्त्र) रूपमा विचार र अडानहरू मुखरित गरिरहने" घोषणा गरेका छन्।
काठमाण्डू क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका मिश्र यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनासँग पराजित भएका थिए।
यसअघिका दुई निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका मिश्र यो चुनावमा तेस्रो स्थानमा रहे। उनले चुनावी सफलताका लागि रास्वपालाई बधाई दिएका छन्।
पाँचथरमा श्रम संस्कृति पार्टीका उम्मेदवार हस्त राज शेर्मा र नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङबीच मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणाम अनुसार उनीहरूबीच मात्र ३ मतको अत्यन्तै नजिकको अन्तर रहेको छ।
हालसम्मको मत गणनाअनुसार:
नरेन्द्र कुमार केरुङ, नेपाली काँग्रेस : ५,७०५
हस्त राज शेर्मा, श्रम संस्कृति पार्टी : ५,७०२
हर्क बहादुर नेम्बाङ, नेपाली कम्युनिस्ट पार्टी : ४,५०३
अइन्द्र सुन्दर नेम्बाङ, नेकपा एमाले : ३,६३७
टेकबहादुर सुब्बा, राष्ट्रिय परिवर्तन पार्टी : १,३६२
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै मोरङ ४ बाट रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन्।
रास्वपा उम्मेदवार राजवंशीले २८ हजार बढीको मतान्तरले घिमिरेलाई पराजित गरेका हुन्। राजवंशी पूर्व पत्रकार हुन्। यो क्षेत्रबाट अघिल्लो पटक सांसद निर्वाचित भएका नेपाली कम्युनिस्ट पार्टीका अमनलाल मोदी तेस्रो स्थानमा छन्।
मोरङ ४ का १,१९,२५५मतदातामध्ये ८०,०८४ जनाले भोट हालेका थिए।
सन्तोष राजवंशी, रास्वपा : ४०,८३३
गुरुराज घिमिरे, कांग्रेस : १२,८१८
अमनलाल मोदी, नेकपा : १०,७६२
रुकुम पश्चिममा माओवादी सशस्त्र द्वन्द्वको समयका 'गुरु र चेला' बीचको चुनावी प्रतिस्पर्धामा हालसम्मको मतपरिणाममा गुरुभन्दा चेला अघि देखिएका छन्।
एउटै मोर्चामा रहेर सशस्त्र द्वन्द्वमा सहभागी भएका नेता जनार्दन शर्मा र गोपाल शर्माबीच यहाँ रोचक प्रतिस्पर्धा छ।
सुरुदेखि नै अग्रता हासिल गर्दै आइरहेका जनार्दन शर्मालाई गोपाल शर्माले पछिल्ला मतपरिणाममा पछाडि पारेका छन्।
पछिल्लो मत गणनाको परिणाममा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले ९,०६५ र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका जनार्दनले ६,७५३ मत पाएका छन् ।
शर्मा केही समयअघि मात्रै पुरानो पार्टी नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रलोपा गएका थिए।
यस्तै कांग्रेसका राजु केसीले ६,०७५ र रास्वपाका मानबहादुर शाहीले १,४९२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एउटै पार्टीमा हुँदा योजना बनाउने जनार्दन र जिल्लामा कार्यान्वयन गर्ने गोपालबीचको चुनावी प्रतिस्पर्धामा कसले बाजी मार्ला भनेर धेरैलाई कौतुहलता बढाएको छ।
नयाँ दल खोलेर चुनावमा होमिएका जनार्दनलाई आफ्नो उम्मेदवारी फिर्ता गरेर नेकपा एमालेले समेत समर्थन गरे पनि कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारसँग उनको कडा प्रतिस्पर्धा भइरहेको छ।
विसं २०६४ सालबाट लगातार चुनाव जित्दै आएका जनार्दन पटक पटक मन्त्री भएका व्यक्ति हुन् भने गोपालले २०७४ मा प्रदेश सभा सदस्य जितेर एक पटक प्रदेश मन्त्री भएका छन्।
धरान उपमहानगरपालिकाका पूर्व मेअर हर्कराज साम्पाङ राईले सुनसरी १ मा अग्रता बढाएका छन्।
नगर प्रमुखबाट राजीनामा दिएर उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई करिब २ हजार मतले पछि पारेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई तेस्रो स्थानमा छन्।
हर्कराज राई, श्रम संस्कृति पार्टी : ७,८१३
गोमा तामाङ, रास्वपा : ५,८७१
सूर्यबहादुर भट्टराई, नेकपा : १,४७३
सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा करिब छ हजार मतले पछाडि परेका छन्।
बिहान ११ बजेसम्मको मतगणनामा उनलाई रास्वपाका अमरेशकुमार सिंहले ५,९७२ मतले पछाडि पारेका छन्।
यो निर्वाचन क्षेत्रमा विसं २०७९ सालको अघिल्लो संसदीय निर्वाचनमा सिंह निर्वाचित भएका थिए। उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका सिंह अहिले रास्वपाबाट उम्मेदवार छन्।
चार पटक संसद् बनेका कांग्रेस सभापति थापा काठमाण्डूको पुरानो क्षेत्र छोडेर सर्लाही गएका हुन्।
अमरेश कुमार सिंह (रास्वपा) :- १४,४३४
गगन थापा (कांग्रेस) :- ८,४६२
अमनिशकुमार यादव (नेकपा एमाले) :- २,२६१
राकेश मिश्र (जनमत) :- ९९१
डा. रजनिश राय (नेकपा) :- ६५६
चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाकी पूर्वमेअर रेणु दाहाल फराकिलो मतान्तरले पछि परेकी छन्।
मेअरबाट राजीनामा दिएर नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी दाहाललाई रास्वपाकी सोविता गौतमले ३० हजार भन्दा धेरै मतान्तरले पछि पारेकी छन्। गौतम यसअघि काठमाण्डू २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।
सोविता गौतम : ४७,३०५
रेणु दाहाल : १७,४८९
जुम्लामा २९,११५ मतगणना गर्दा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अग्रता लिएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारसँग ४ हजार १ ५६ मतान्तर कायम गरेका छन् । जसमा जुम्लाका पाँच वटा पालिका र चन्दननाथ नगरपालिकाको ८ वटा वडाको मतगणना गर्दा अहिले सम्मको मत परिणाम यस प्रकार छ:
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार ऐन महर विजयी भएका छन्। उनी एमालेबाट हालसम्म निर्वाचित दोस्रो सांसद हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनी १८ हजार ५४३ मत ल्याएर विजयी भएका हुन्।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४मत पाए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महर भानुभक्त जोशीसँग ९९८ मतको झिनो अन्तरले पराजित भएका थिए।
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य निर्वाचित भएकी छिन्।
उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई ४२ हजार बढी मत अन्तरले पराजित गरेकी हुन्।
निर्वाचन आयोगका अनुसार आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन्। कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन्।
लामो समयदेखि नेपाल मजदुर किसान पार्टीले निर्वाचन जित्दै आएको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्।
रास्वपाका रुकेश रन्जितले पाँच हजार मत अन्तरले नेमकिपाका पूर्व सांसद प्रेम सुवाललाई पराजित गरेका छन्।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका समेटिएको यो निर्वाचन क्षेत्रलाई 'नेमकिपाको गढ' भन्ने गरिएको थियो।
यहाँ कांग्रेस उम्मेदवार किरण न्यौपाने तेस्रो र नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्र चौथो भएका छन्।
यो चुनावमा धेरैको चासोको केन्द्रमा रहेको झापा निर्वाचन क्षेत्र नं ५ को मतगणनाको पछिल्लो विवरणका अनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा करिब ४ गुणा मतले अगाडि देखिएका छन्।
शाहले ३९,२८४ मत ल्याएर मतान्तर बढाउँदै गएका छन्।
एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो स्थानमा छन् । उनले १०,२८४ मत पाएका छन् ।
एक लाख बढी मत खसेको उक्त क्षेत्रमा हालसम्म ६२,१०० मत गणना भएको बताइएको छ । शाह र ओली दुवै आआफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार हुन्।
म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई करिब १५ हजार मतले पछि पारे।
पुनले २२,८५० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेको थियो।
एमालेका श्रेष्ठले ७९१९ मत पाए। नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी ६६७६ मत ल्याउँदै तेस्रो स्थानमा रहे।