मध्यपूर्वमा जारी तनावबीच नेपालीहरूको पछिल्लो अवस्था के छ

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

अमेरिका र इजरेलले इरानमाथि हमला गरेपछि उसको प्रत्याक्रमणसँगै मध्यपूर्वमा शुरू भएको तनाव बुधवार पाचौँ दिनमा प्रवेश गरेको छ।

इरानले इजरेलका साथै खाडी देशमा रहेका अमेरिकी सैनिक अखडाहरूमाथि हमला थालेपछि ती मुलुकमा ठूलो सङ्ख्यामा कार्यरत नेपालीहरू चिन्तित बनेका अधिकारीहरूले बताएका छन्।

आक्रमणमा आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई गुमाएको इरानले त्यसयता कतार, साउदी अरब, संयुक्त अरब एमिरेट्स, बाहरेनलगायत देशमा अवस्थित अमेरिकी सैनिक अखडाहरूलाई निशाना बनाउँदै आएका विवरणहरू आइरहेका छन्।

यो समाचार तयार पारुन्जेलसम्म मध्यपूर्वमा जारी तनावबीच ड्रोन आक्रमणमा परी यूएईमा गोरखाका एक नेपालीले ज्यान गुमाएका आधिकारिक विवरण छ।

खाडी मुलुकहरूमा दक्ष तथा अदक्ष गरी विभिन्न क्षेत्रमा अनुमानत: २० लाख नेपाली कामदारहरू कार्यरत रहेको बताइन्छ।

यूएई नियोगको प्राथमिकता

संयुक्त अरब एमिरेट्समा सबैभन्दा बढी नेपालीहरू रहेका तथ्याङ्क छ। दूतावास अधिकारीहरूका अनुसार त्यहाँ सात लाख नेपालीहरू रहेका अनुमान छ।

दूतावासले बुधवार एउटा सूचना निकाल्दै पर्यटक/भिजिट भिसा तथा ट्रान्जिटमा रहेका, भिसा समाप्त भएका र तत्काल नेपाल फर्कन चाहने विद्यार्थीहरूलाई यथाशीघ्र विवरण उपलब्ध गराउन भनेको छ।

"उहाँहरूमध्ये नेपाल फर्किन इच्छुकहरूलाई शुरूमा फिर्ता पठाउने हाम्रो पहिलो प्राथमिकता छ," दूतावास स्रोतले बीबीसी न्यूज नेपालीसँग भन्यो।

दूतावास अधिकारीहरूका अनुसार लडाइँ शुरू भएयता दैनिक दुई सयभन्दा बढी फोनहरू आउने गरेको छ।

"लडाइँ चलिरहँदा अलिअलि आत्तिनु स्वाभाविक नै हो। कोहीकोहीलाई तत्कालै फर्किन पाए हुन्थ्यो भन्ने छ, तर त्यो सङ्ख्या एकदमै कम छ," एक अधिकारीले भने। टेलिफोन गर्नेहरूलाई आवश्यक पर्ने सल्लाह सुझाव दिने गरिएको अधिकारीले बताएका छन्।

यसअघि नेपाल फर्कने वा तेश्रो मुलुक जाने क्रममा वर्तमान परिस्थितिका कारण यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल फर्कने क्रममा असहज परिस्थितिमा परेका नेपालीहरूलाई कन्सुलर सेवा विभाग काठमाण्डूको पोर्टलमा रजिस्टर गर्न मङ्गलवार अधिकारीहरूले सूचना जारी गरेका थिए।

साउदीमा सामान्य सोधखोज

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबमा चार लाखको हाराहारीमा नेपालीहरू रहेका छन्।

त्यहाँ समस्यामै परेर सम्पर्क गर्ने अहिलेसम्म कोही नदेखिएको कार्यवाहक राजदूत सिर्जना अधिकारीले बताइन्।

"के छ कस्तो छ अनि भोलि गएर उद्धार नै गर्नुपर्ने भए कसरी उद्धार हुन्छ भनी सामान्य सोधखोज गरिरहनुभएको छ। समस्यामै परेको कसैले भन्नुभएको छैन," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

"हामी आफैँ पनि बाहिर निस्कँदा पसलहरू खुलेका र ट्राफिक पनि सामान्य नै देखिन्छ।"

आफूहरू परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहेको भन्दै कार्यवाहक राजदूत अधिकारीले मन्त्रालयको निर्देशनअनुसार अगाडि बढ्ने बताइन्।

बाहरेनमा कर्मचारीहरूलाई सारियो

अर्को खाडी मुलुक बाहरेनमा ३० हजारको हाराहारीमा नेपालीहरू कार्यरत रहेका राजदूतावासका अधिकारीहरू बताउँछन्।

नेपाली दूतावासका तृतीय सचिव दीपराज जोशीका अनुसार बाहरेनमा शुरूका दिनभन्दा आक्रमण कम भएको छ।

"मध्यपूर्वमा अहिले देखिएको तनाव कहिलेसम्म जान्छ भन्ने चिन्ता नेपालीहरूमा छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

जोशीका अनुसार एउटा हवाई अखडानजिकै रहेको नेपाली राजदूतावासबाट कर्मचारीहरूलाई अन्यत्र सारिएको छ।

"मनामाको जुफेर भन्ने ठाउँमा एउटा एअरबेसनजिकै दूतावास भएर हामीलाई इभाकुवेट गरिएको छ। हामीले अहिले रिमोट्ली काम गरिरहेका छौँ," उनले अगाडि थपे।

"हिजो [मङ्गलवार।] मात्र दूतावासबाट केही सामान लिएर फर्कँदै गर्दा बाटोमा एउटा ड्रोन खस्यो।"

नेपाली नियोगहरूले प्रायःजसो ह्वाट्सएप, फेसबुकमार्फत्‌ नेपाली समुदायसँग सम्पर्क कायम गर्ने गरिएको बताएका छन्।

मस्कटबाट फर्कन कति सजिलो?

ओमानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ २५ हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन्।

तीमध्ये ४०-५० प्रतिशत घरेलु कामदार रहेका दूतावासका प्रथम सचिव विशेषकुमार साह बताउँछन्।

उनका अनुसार त्यहाँ तनावको असर देखिएको छैन र नेपालीहरू सुरक्षित रहेका छन्।

"अहिलेसम्म कोही नेपाली कुनै किसिमको समस्यामा परेको हामीलाई जानकारी आएको छैन," बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा साहले भने।

"बरु दुबईबाट केही नेपालीले फोन गरी मस्कट आएर नेपाल फर्किन के कति सहज होला भनेर सोध्ने गर्नुभएको छ।"

कतिपय खाडी देशमा उडानहरू स्थगित भइरहेका बेला उनका अनुसार ओमानमा चाहिँ आंशिक उडानहरू भइरहेका छन्।

यसअघि मङ्गलवार परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धको मारमा परेको मध्यपूर्व र खाडी देशहरूमा ठूलो सङ्ख्यामा रहेका नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएमा समुद्री मार्गबाट नेपाल फर्काउने विकल्पमा समेत विचार गरेर पूर्वतयारी भइरहेको बीबीसीलाई बताएका थिए।

खाडीका मुलुकमा रहेका नेपालीहरूलाई ओमान पुर्‍याएर त्यहाँबाट जलमार्ग हुँदै भारत र त्यसपछि स्वदेशसम्मको यात्राको मार्गबारे विचार गरिएको उनले जानकारी दिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।