तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जब जितको प्रमाणपत्र लिन बालेन मतगणनास्थल पुगे
- Author, विक्रम निरौला
- Role, दमक, झापा
- पढ्ने समय: ३ मिनेट
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई करिब ५० हजारको मतान्तरमा पराजित गरेपछि विजयी भएपछि बालेन्द्र शाह 'बालेन' शनिवार साँझ दमकस्थित निर्वाचन कार्याल पुग्नुअघि नै बाहिर सडकमा समर्थकहरूको भिड थामिनसक्नु थियो।
कडा सुरक्षाबीच बालेन त्यहाँ पुग्दा समर्थकहरूले उनको पक्षमा नारा लगाउँदै नाचगान गरिरहेका देखिन्थे। त्यहाँ युवा समर्थकहरू निकै हर्षित मुद्रामा घण्टी बजाउदै नाचगान गदै "अबकी बार, बालेन सरकार" भन्ने नारा घन्काउँदै थिए।
स्वदेशी र विदेशी सञ्चारकर्मीहरूको बाक्लो घेरा झल्दै उनी मतगणना कक्षमा प्रवेश गरेका थिए।
गत फागुन २१ गतेको चुनावमा सबैभन्दा चर्चामा रहेको थियो झापा क्षेत्र नम्बर ५। कारण थियो चार पटक प्रधानमन्त्री बनिसकेका एमाले ओली र काठमाण्डूका निवर्तमान मेअर शाहको चुनावी प्रतिष्पर्धा।
उम्मेदवारी दर्तादेखि शनिबार अपराह्नसम्म अन्तिम मतगणना सकिँदासम्म पनि उक्त क्षेत्र त्यतिकै चर्चामा रह्यो।
मौनता
करिब ३० मिनेट उनी त्यहाँ बसेपछि निर्वाचन अधिकृतको कार्यालयले बालेन शाह निवाचित भएको औपचारिक घोषणा गर्यो। त्यसपछि मतगणना कक्षको बाहिर आँगनमा छोटो कार्यक्रम गरी निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र हस्तान्तरण गर्यो।
उनी त्यहाँ केही बोलेनन्। सञ्चारकर्मीको आग्रहमा तस्बिर खिच्न उनी केही बेर भने उभिए।
फेरि उही शैलीमा सुरक्षा घेरामा उनी फर्किँदा बाहिर समर्थकहरूले घेरेका थिए।
अन्तिम मतपरिणामअनुसार बालेनले ६८,३४८ मत ल्याएका छन् भने ओली १८,७३४ मतमा सीमित भएका छन्। उनीहरूबीच मतान्तर ४९,६१४ रहेको छ।
दुवैलाई आआफ्ना पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी अभियान गरेका थिए।
समर्थक के भन्छन्
बालेनको जितपछि उनका समर्थहरूले अब पुरानो शासन शैलीमा परिवर्तन आउने बताए। झापाको दमकका सरगम पौडेलले अब उनले सबैका लागि काम गर्नुपर्ने बताए। उनले भने, "हामी युवाका लागि मात्र होइन, सबै उमेरका मानिसका लागि काम गर्नुपर्छ।"
दमककै सरस्वती दाहालले युवायुवतीको विदेश पलायन रोक्नुपर्ने र स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउनुपर्ने सुझाव दिइन्।
उनले भनिन्, "अब भाषण मात्र होइन, काम गर्नुपर्छ, बाहरूले पनि आराम गर्नुपर्छ, युवाहरूलाई देश चलाउन दिनुपर्छ। बालेनले हाम्रो भावनाअनुसार काम गर्छन् भन्ने लागेको छ।"
तर कतिपयले भने बालेनको विगतको कार्यशैलीको स्मरण गर्दै भूमिहीन सुकुम्बासीहरूका पक्षमा उनले काम गर्नेमा शङ्का व्यक्त गरे।
एमालेको गढ मानिएको झापा ५ मा बालेनको जितले तरङ्ग उत्पन्न गराएको छ। विगतका चुनावमा पटकपटक ओलीलाई मत दिएर जिताएका झापा ५ का मतदाताले यसपटक मत परिवर्तन गर्दा बालेनले बाजी मारेको उनीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।