तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पहिलो पटक भोट खसालेका 'जेनजी युवा'हरू के भन्छन्?
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ५ मिनेट
काठमाण्डू वसन्तपुरकी एलिशा महर्जन केही महिनाअघि सम्म पनि 'भोट हालेपनि नहालेपनि के नै हुन्छ होला' भनेर सोच्ने गर्थिन्।
तर गएको भदौमा भएको 'जेन जी आन्दोलन' पछि यी १९ वर्षकी किशोरीको बुझाइ बदलियो। बिहीबार आफ्नो टोलमा रहेको मतदान केन्द्रमा पुगेर उनले पहिलो पटक भोट खसालिन्।
बीबीसीसँग कुरा गर्दै उनले भनिन्, "जेन जी आन्दोलनकै कारण उत्प्रेरित भएर हामीले पनि भोट हाल्नुपर्छ भन्ने सोचेर मैले मतदान गरेँ।"
गएको भदौमा नव युवा पुस्ताका तन्नेरीहरूले देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको भन्दै राजधानीमा प्रदर्शन गरेका थिए।
कम्तीमा ७७ जनाको ज्यान गएको उक्त प्रदर्शनपछि गठन गरिएको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आम चुनावको घोषणा गरेको थियो।
त्यसरी हुन पुगेको आम चुनावमा आफ्नो अभिमत व्यक्त गरेपछि महर्जनले भनिन्, "पहिलो पटक भोट खसाल्दा हाम्रो जीवनमा केही राम्रै परिवर्तन आउला भन्ने अपेक्षा राखेकी छु। देश पनि थप विकास होला भन्ने सोचेर नै मैले भोट गरेकी हुँ।"
राम्रो व्यक्ति राजनीतिमा आएको हेर्ने चाहना
नेपालको कूल जनसङ्ख्याको झन्डै ४६ प्रतिशत युवाहरू रहेको राष्ट्रिय जनगणनाले देखाउँछ। कूल जनसङ्ख्याको झन्डै १९.७ प्रतिशत व्यक्तिहरू १५ देखि २४ वर्षको उमेरका रहेका पछिल्लो जनगणनाले देखाएको थियो।
यो चुनावमा भाग लिन योग्य रहेका करिब १ करोड ९० लाख मतदाता मध्ये झन्डै १० लाख मतदाता पहिलो पटक भोट खसाल्ने समूहका रहेका विवरणहरू आएका थिए।
राजधानी काठमाण्डूको बसन्तपुर क्षेत्रमा पहिलो पटक मतदान गर्नेमा १९ वर्षका विद्यार्थी सृजल श्रेष्ठ पनि थिए।
भ्रष्टाचार र देश विकासका लागि आफू मतदान गर्न उपस्थित भएको उनी बताउँछन्।
"मेरो आफ्नै उमेरका साथीहरूले ज्यान गुमाए। राम्रो व्यक्ति राजनीतिमा लिएर आएर काम गर्नुपर्छ भन्ने मेरो भावना हो। भ्रष्टाचारहरू धेरै बढी रहेको छ। त्यो कम गरिओस् र नेपाल विकास होस् भनेर म भोट हाल्न आएको हुँ।"
१९ वर्षकी सर्वश्री गर्तौला पहिलो पटक मतदान गर्दा आफू 'आत्तिएको' भएपनि राम्रोसँग भोट हालेको बताइन्।
ज्ञानेश्वरको बुथमा भोट हालेपछि उनले भनिन्, "यसपालि हामी जस्तो युवाहरूले मतदान गर्नैपर्ने थियो। हामीले आफ्नो कर्तव्य पुरा गर्यौँ। जनताको समस्याहरू समाधान होस् भन्ने अपेक्षा छ। अवसरहरू देशभित्रै होस्। रोजगारीको अवसर यहीँ मिलोस् भन्ने आशा गरेको छु।"
भ्रष्टाचारकै कारण जेन जीहरू सडकमा उत्रिएको भन्दै आउने सरकारले त्यसलाई रोक्नुपर्ने बताइन्।
कौतूहल, डर र रमाइलो
मतदाता सूचीमा नाम दर्ता गराएका मध्ये फागुन २० गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिहरूलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
सुनसान सडक, मतदाताको लाइन, सुरक्षाकर्मीको बाक्लो उपस्थिति, विभिन्न किसिमका सङ्केत चिन्हहरू र कर्मचारीहरूलाई पार गर्दै मतपत्र लिएर मतपेटिकासम्म पुग्नु कतिपय युवा मतदाताहरूका लागि एउटा कौतूहलको विषय समेत बनेको पाइएको थियो।
त्यस्तै अनुभव गर्ने मध्ये एक हुन् चितवनका २३ वर्षका रोनिश कर्माचार्य। उनी भन्छन्, "पहिला ममी बुवाले भोट हाल्नुभएको देखेको मात्रै थिएँ। पहिलो पटक आफै जाँदा सुरुमा अलिकति गाह्रो हुँदो रहेछ। के हो थाहा थिएन। तर अरूले गरेको देखेपछि सजिलै रहेछ।"
मतदानलाई 'गाह्रो ठानेका' रोनिश चुनावमा भित्र निर्वाचन कर्मचारीहरूले आफ्नो परिचयपत्र जाँचेको र सहजीकरण गरिदिएको सुनाउँछन्। "त्यहाँ गएर छाप मात्रै लगाउनुपर्ने रहेछ खासै डराउनुपर्ने रहेनछ। डराउने टाउको दुखाउने कुरा केही रहेनछ। रमाइलो लाग्यो। छिट्टै हुने रहेछ।"
नागरिक बनेको अनुभव गर्न पाएकोमा गर्व
नुवाकोट क्षेत्र नम्बर २ म्यगाङकी पुष्पा रिमालले बिहानै भोट हालेकी थिइन्। पहिलो पटक मताधिकार प्रयोग गर्दा आफू निक्कै खुसी भएको र गर्वको महसुस गरेको उनले सुनाइन्।
उनी भन्छिन्, "सुरु-सुरुमा कसरी भोट गर्ने होला जस्तो भइरहेको थियो। त्यहाँ गएपछि सहजै लाग्यो। म आफूचाहिँ नेपालको नागरिक भएँ भनेर मैले महसुस गर्न पाएँ। र म निक्कै खुसी छु।"
जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक सङ्कटलाई पार लगाउन अहिले भइरहेको यो चुनावबाट उनका अपेक्षाहरू आम सर्वसाधारणका जस्तै छन्।
उनले भनिन्, "खाडीमा गएर नेपालीहरूले पसिना चुहाउन नपरोस्। नेपाल प्राकृतिक सम्पदाले धनी देश हो। हामी सबैलाई थाहा छँदैछ। यहाँको स्रोतहरूलाई राम्रोसँग उपयोग गर्न सक्यौँ भने यहाँ नै रोजगारी पनि छ।
नेपालमा आन्दोलनहरू नभईकन कुनै मानिसहरू डर त्रास नभईकन खुल्लासँग बस्न सकिने परिस्थिति होस्। हामी सबै नेपाली भनेर गर्व गर्छौँ। हाम्रो देशको प्रधानमन्त्री वहाँ हुनुहुन्छ भन्दा छुट्टै जोस आओस्," उनले थपिन्।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गएको मङ्सिर महिनामा जेनजी प्रदर्शनकारीहरूसँग सम्झौता गरेको थियो जसमा जेन जी आन्दोलनमा भएको मानवअधिकार उल्लङ्घन र हिंसाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ।
उक्त सम्झौतामा संविधान संशोधन सुझाव आयोग गठन गर्नेदेखि लिएर भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विभिन्न सुधारहरू गर्ने वाचा गरिएको छ।
'भदौ २३ र २४ फेरी कहिल्यै नआओस्'
जेन जी आन्दोलनमा सक्रिय रहेका कतिपय युवाहरू पनि यस पटक पहिलो पटक भोट खसाइरहेका छन्।
त्यसमध्येकी एक २४ वर्षकी तनुजा पाण्डेले आजको दिनलाई आफूले एउटा 'भावनाले भरिएको क्षण' का रूपमा लिएको बताइएकी छन्। उनी झापा निर्वाचन क्षेत्र पाँच की मतदाता हुन् जहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रतिस्पर्धामा छन्।
उनी भन्छिन्, "आन्दोलन पश्चात् निर्वाचन हुन्छ कि हुँदैन् भनेर एउटा दुबिधा भइरहेको थियो। यत्रो शङ्का उपशङ्काबिच समयमा निर्वाचन भयो। हाम्रो झापा पाँचमा अझ हिंसा हुनसक्छ भनेर कति हल्ला पनि फैलिरहेको थियो। महिलाहरूको पनि राम्रो सहभागिता भइरहेको देखे, त्यो हिसाबले राम्रो लाग्यो।"
तर अपेक्षा गरेभन्दा कम सङ्ख्यामा आफूले युवाहरू दमकस्थित दिपेनी चोकमा रहेको मतदान केन्द्रमा देखेको भन्दै उनले सुनाइन्।
उनले अब सत्तामा को आउँछ त्यो महत्त्वपूर्ण हुने उल्लेख गर्दै भनिन्, "सबै जना अहिले परिवर्तन भन्दै आइराख्नुभएको छ। राजनीतिक संस्कार बोकेकै व्यक्ति आउनुहोस् भन्ने हाम्रो पनि आशा हो। जो जितेपनि जेन जी आन्दोलनले बोकेको मर्मलाई संस्थागत गर्ने हिसाबले लिएर जाने व्यक्ति आउनुहोस् भन्ने लाग्छ।"
उनले सरकार र जेन जीबीच भएको सम्झौतालाई नयाँ सरकारले कार्यान्वयन गर्ने विश्वास आफूले लिएको पनि उल्लेख गरिन्।
थप रिपोर्टिङ: कमल परियार र विजय गजमेर (काठमाण्डू), ईश्वर जोशी (चितवन) र शक्तिमाया तामाङ (नुवाकोट)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।