तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'कसैको काम, कसैको सपना': कामिरिता शेर्पा २९औँ पटक सगरमाथाको चुचुरोमा
नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन्। आइतवार सर्वोच्च शिखरमा पुगेर उनले आफ्नै कीर्तिमान भङ्ग गरेका हुन्।
आइतवार नै एक ब्रिटिश पर्वतारोहीले पनि सर्वाधिक पटक सगरमाथा पुग्ने विदेशी नागरिकको कीर्तिमान बनाए। केन्टन कुल १८औँ पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।
चवन्न वर्षीय शेर्पा दुई दशकदेखि पर्वतारोहीका लागि पथप्रदर्शक बनेर काम गर्दै आएका छन्।
उनले सन् १९९४ मा पहिलो पटक सगरमाथा चढेका थिए।
त्यसपछि उनी प्रत्येक वर्ष सगरमाथाको चुचुरोमा पुग्दै आएका छन्।
सगरमाथा चढ्न आधारशिविरमा घुइँचो
सगरमाथा आरोहण गर्ने याम सुरु भएको छ। यसपालि झन्डै ४०० जनाले सगरमाथा चढ्ने अनुमति लिएका छन्।
अहिले धेरै पर्वतारोही सगरमाथाको आधारशिविरमा अनुकूलनका लागि पुगेका छन्। त्यहाँ पर्वतारोही र तिनका सहयोगीको घुँइचो लागेको छ।
गत वर्ष ६०० जना सर्वोच्च शिखरमा पुगेका थिए।
सगरमाथा आरोहण गर्ने क्रममा पोहोर सर्वाधिक १८ जनाको ज्यान गएको थियो।
कामिरिता शेर्पा किन सगरमाथा चढ्छन्
शेर्पा आइतवार बिहान स्थानीय समयानुसार ७ः३० बजे पुगेका हुन्।
सगरमाथाको आधारशिविरबाट गत साता इन्स्टाग्र्याममा लेख्दै शेर्पाले फेरि सगरमाथा चढ्न लागेको जानकारी दिएका थिए। "एउटा मान्छेको काम, अर्को मान्छेको सपना," उनले लेखेका थिए।
शेर्पाले सगरमाथा आरोहण आफ्नो जीविकोपार्जनको माध्यम भएको बताउँदै आएका छन्।
गत वर्ष दुई पटक सगरमाथा पुगेर उनले पासाङ दावा शेर्पाले बनाएको कीर्तिमान आफ्नो नाममा पारेका थिए।
केन्टन कुलले पनि बनाए कीर्तिमान
स्थानीय अधिकारीहरूका अनुसार केन्टन कुलले पनि आइतवार नै सगरमाथाको सफल आरोहण गरेका हुन्।
उनी पनि पर्वतारोहणमा पथप्रदर्शक हुन्।
यसअघि सन् २०२२ मा उनले शेर्पाहरूको प्रशंसा गर्दै आफ्नो उपलब्धि त्यति ठूलो नभएको टिप्पणी गरेका थिए।
ल्हाक्पा शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने महिला हुन्।
सन् २०२२ मा उनले दसौँ पटक सगरमाथा चढेकी थिइन्। त्यसका लागि खर्चको जोहो गर्ने उनले 'क्राउड-फन्डिङ' गरेकी थिइन्।
कामिरिता शेर्पा को हुन्
शेर्पाको जन्म सोलुखुम्बुको थामेमा सन् १९७० मा भएको हो। उनले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थालेका हुन्।
सगरमाथाको चुचुरोमा पहिलो पटक पुग्दा उनी २४ वर्षका थिए।
यसअघि प्रत्येक पटक सगरमाथाबाट फर्किएपछि फेरि चढ्ने उनको इच्छाबारे सोध्दा उनी जीवनमा धेरै कुरा अनिश्चित हुने बताउने गर्थे।
उनले सन् २०१८ देखि आफ्नै कीर्तिमान तोड्दै भङ्ग गर्दै आएका छन्।
सन् २०१८ को मे महिनामा २२औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले आप्पा शेर्पाको कीर्तिमान भङ्ग गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।