सगरमाथाबाट मानवमल फिर्ता ल्याउन आरोहीले झोला किन्नुपर्ने, यी हुन् आरोहणका अन्य नयाँ नियम

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

सगरमाथाको आधारशिविरभन्दा माथि सरसफाइ कायम गर्न आरोहीहरूले खुम्बु पासाङल्हामु गाउँपालिकाको नियमानुसार आफ्नो मल फिर्ता ल्याउन प्रतिगोटा पाँच सय रुपैयाँको हाराहारीमा पर्ने विशेष झोला किन्नुपर्ने भएको छ।

उक्त गाउँपालिकाद्वारा हालै पारित आधार शिविर व्यवस्थापनसम्बन्धी संशोधित कार्याविधिले आरोहीहरूले प्रयोग गर्ने टेन्टदेखि लिएर शव एवं फोहरमैला व्यवस्थापनबारे कैयन् नयाँ नियमहरू ल्याएको छ।

मल ल्याउने झोला कस्तो?

आधार शिविरभन्दा माथिल्ला क्षेत्रहरूमा आरोहण दलका सदस्यहरूको दिसाले प्रदूषण बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न यसैपालीदेखि सबैले अनिवार्य रूपमा विशेष रसायन (रिएजेन्ट) भएका ‘पू ब्याग’ भनिने झोला लैजानुपर्ने र त्यसमै आफ्नो मल फिर्ता ल्याउनु पर्नेछ।

त्यस्ता रसायनले दिसा ठोस अनि गन्धरहित बनाउने बताइन्छ।

“तोकिएका मापदण्ड पुग्छ भने आरोही स्वयंले त्यस्ता झोला ल्याएपनि हुन्छ। हैन भने हामीले नै त्यस्ता झोला शुल्क लिएर उपलब्ध गराउनेछौँ,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बीबीसीलाई बताएका छन्।

गाउँपालिकाले त्यस्ता झोला उपलब्ध गराउन मागेको टेन्डरमा एउटा मात्र कम्पनीले निवेदन दिएपछि टेन्डर पुन: आह्वान गर्ने र आरोहण यामका निम्ति समय नपुगे गाउँपालिकाले प्रत्यक्ष किनेर भए पनि झोलाको नियम लागु गराउने योजना रहेको उनले बताए।

जसो गरे पनि प्रतिझोलाको मूल्य पाँच सयको हाराहारी रहने बताइएको छ।

हरेक आरोहण दलले सगरमाथा क्षेत्रमा भिन्नभिन्न समय बिताउने भएकाले प्रत्येक सदस्यलाई ८-१० गोटा झोला आवश्यक पर्ने आफूहरूले हिसाब गरेको भुसालले बताए।

सगरमाथाबाट फर्कँदा आरोहीले आठ किलोग्राम फोहर फर्काएर ल्याउनुपर्ने नियम पनि छ।

आरोहण सकिएपछि उनीहरूले फिर्ता ल्याएका फोहरमैला तथा मलको झोलाको अनुगमन गरिने र त्यसैअनुरूप 'गार्बेज क्लेरन्स सर्टिफिकेट' जारी गरिने बताइएको छ।

गाउँपालिका तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा यी कामहरू गरिने भुसालले बताए।

थप के छन् नयाँ नियम?

“नयाँ कार्याविधिमा खास गरी आधारशिविरमा राखिने पालहरूको आकारप्रकार अनि आधारशिविर र त्यहाँभन्दा माथि मानव मलमूत्र व्यवस्थापनका कुराहरू प्रस्ट्याइएका छन्,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताएका छन्।

“हिमाली क्षेत्रमा हुने प्रदूषण नियन्त्रणमा यो बढ्ता केन्द्रित छ। साथै यसअघि सगरमाथा आधारशिविरमा हाम्रो गाउँपालिकाको सरकारी उपस्थिति रहेको थिएन। अब यो वर्षदेखि आधारशिविरमै रहने गरी अनुगमन तथा समन्वय समिति भनेर एउटा कार्यालय नै खडा हुँदै छ।”

आधारशिविरको क्षेत्र निश्चित भएको तर आरोहण अभियानका आयोजकहरूले मानिसहरूलाई आकर्षित गर्न बढी क्षेत्र ओगट्ने प्रवृत्ति निरुत्साहित गर्न कार्याविधिले खोजेको उनले बताए।

“अनावश्यक तडकभडक नहोस् र न्यूनतम आवश्यकताअनुसार होस् भनेर नयाँ व्यवस्था गरिएको छ,” भुसालले भने।

अबदेखि सुत्ने प्रयोजनका लागि प्रतिव्यक्ति अधिकतम ८० वर्गफिटसम्मको क्षेत्रफल प्रयोग हुने गरी पाल राख्न पाइनेछ। त्यस्तै आधारशिविरमा भोजन कक्षको हकमा प्रतिव्यक्ति अधिकतम ६० वर्गफिटसम्मको क्षेत्रफल प्रयोग गर्ने गरी पाल राख्न पाइनेछ।

“सुत्ने पालमा अट्याच्ड टोइलेट राख्न पाइने छैन। प्रत्येक क्याम्पमा १५ जनासम्मको सामूहिक प्रयोगका लागि अधिकतम ४ वटा टोइलेट टेन्ट, दुई वटा शावर टेन्ट र पिसाब मात्र फेर्नका लागि छुट्टै दुईवटा युरिन टोइलेट टेन्टको व्यवस्था गर्न सकिनेछ,” कार्याविधिमा उल्लेख छ।

हिमालचुलीका आधारशिविरमा व्यावसायिक गतिविधि सञ्चालनका लागि स्थायी रूपमा टेन्ट वा अन्य कुनै संरचना बनाउन नपाइने पनि त्यसमा जनाइएको छ।

कार्याविधिमा “पर्वतारोहणका क्रममा कुनै पनि पर्वतारोही, पथप्रदर्शक र उचाइका कामदारको मृत्यु भएमा मृत शरीरको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित ट्रेकिङ एजेन्सी/ट्राभल एजेन्सीको हुने” उल्लेख छ।

साथै पर्वतारोहणका लागि नयाँ डोरी टाँग्ने बेला पुरानो डोरीहरू फुकालेर अनिवार्य रूपमा आधारशिविरमा फिर्ता ल्याउनुपर्ने भनिएको छ।

अनि उद्धार प्रयोजनबाहेक अन्य कार्यका लागि आधारशिविरभन्दा माथि हेलिकप्टर उडान र अवतरण गर्न नपाइने पनि त्यसमा उल्लेख छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।