तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा आरोहण: आफ्नै कीर्तिमान तोडेका कामिरिता को हुन्?
५२ वर्षीय कामिरिता शेर्पाले यसपटक २६ औं पटक सगरमाथाको आरोहण गरेर आफ्नै यसअघिको कीर्तिमान तोडेको आधारशिविरमा रहेका सरकारी अधिकारी र उनीसम्बद्ध आरोहण कम्पनीले जनाएका छन्।
११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिवार साँझ ६ बजेर ५५ मिनेटमा उनको टोली चुचुरोमा पुगेको सगरमाथाको आधार शिविरमा रहेका नेपाल सरकारका एकजना सम्पर्क अधिकृत खिमलाल गौतमले बीबीसीसँग बताएका छन्।
"यसअघिको २५ औँ पटकको रेकर्ड उहाँ आफैँले तोड्नुभएको छ। उहाँहरू अहिले फर्किँदै हुनुहुन्छ। उहाँहरू सायद हिजो राति ८००० मिटरमा बस्नुभयो। त्यहाँबाट फर्किँदै हुनुहुन्छ भन्ने जानकारी आएको छ," गौतमले भने।
क्याम्प ३ फर्किँदै गरेका आरोहीहरूको स्वास्थ्य ठीक रहेको जानकारी आफूले पाएको गौतमले बताए।
टोलीमा उनीसहित सोना शेर्पा, निमा तासी शेर्पा, फुर्बा छिरिङ शेर्पा, तेन्जिङ ग्यालजेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्बा कुन्साङ शेर्पा, मिङ्मा दण्ढु शेर्पा, पास्तेनजी शेर्पा, तारेमन तामाङ र फुर्बा छोतर रहेका छन्।
अबको योजना?
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका शेर्पाले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थालेको तथ्याङ्क छ।
सगरमाथाको चुचुरोमा भने उनी पहिलोपटक सन् १९९४ मा २४ वर्षको हुँदा पुगेका थिए।
त्यसयता सन् २०२२ सम्ममा उनले २६ औँ पटक सगरमाथाको आरोहण गरिसकेका छन्। कुनै कुनै वर्षमा त दुईपटक सम्म पनि आरोहण गरेका छन्।
सगरमाथा आरोहणलाई आफ्नो रहर भन्दा बाध्यता र जीविकोपार्जनको माध्यम भएको बताउने कामिरिताले यसै वर्ष अर्को आरोहण गर्लान्?
यसअघि प्रत्येक पटक सगरमाथाबाट फर्किएपछि फेरि चढ्ने ईच्छाबारे सोध्दा उनी जीवनमा धेरै कुरा अनिश्चित हुने बताउने गर्थे।
यसपटक भने उनी आधारशिविर फर्किँदै गरेकाले उनीसँग सम्पर्क हुनसकेको छैन।
उनको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले टोली आइतवार बेलुकासम्म आधार शिविर आइपुग्ने बताए।
"आफ्नो रेकर्ड तोड्नुभन्दा पनि उहाँले आरोहण गरेर नेपाल र हिमाल क्षेत्रलाई निरन्तर योगदान पुर्याउनुभएको हो। उहाँले अझै धेरै चढ्नुहुन्छ। २६ होइन ३०औँ पटक चढ्न सक्नुहुन्छ," सेभेन समिट ट्रेक्सका अध्यक्ष शेर्पाले भने।
"उहाँले पहिला पनि एउटै सीजनमा दुईपटक आरोहण गर्नुभएको छ। त्यसैले यो पटक पनि गर्नुहोला। तर अब आधार शिविर आएर अनि योजना सुनाउनु होला।"
सामाजिक सञ्जालमा कामिरिताले यही वर्ष अर्को पनि आरोहण गर्नसक्ने भन्ने अभिव्यक्ति पनि व्यक्त भएका छन्।
ट्वीटर प्रयोगकर्ता सौरभ ढकालले अलि ठट्यौली शैलीमा लेखेका छन्, "फुत्त १/२ दिनमा फेरि चढ्न बेर छैन। यो त डोरी राख्न मात्रै गएको हो।"
चार वर्षदेखि आफ्नै कीर्तिमान तोड्दै
कामिरिताले सन् २०१८ देखि आफ्नै कीर्तिमान तोड्दै आएका छन्।
उनीपछि सबैभन्दा धेरै कीर्तिमान राख्नेमा आप्पा शेर्पा पर्छन्। सन् २०१८ को मे महिनामा २२ औँ पटक सगरमाथा आरोहण गरेसँगै कामिरिताले आप्पा शेर्पाको रेकर्ड तोडेका थिए।
कामिरिताले २८ वर्षको अवधिमा २६ पटक सगरमाथा आरोहण गरेका छन् र केही वर्ष त एक वर्षभित्रै दुई पटकसम्म पनि गरेका छन्।
पछिल्लोपटक सन् २०१९ मा उनले २३ औँ र २४ औँ पटक आरोहण गरेका थिए।
सन् २०१९ मा कामिरिताले राष्ट्रपति विद्या भण्डारीबाट सुप्रबल जनसेवाश्री विभूषण पाएका थिए।
त्योभन्दा अघिल्लो वर्ष उनले सर्वाधिक २२ पटक सगरमाथा आरोहण गरेको गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र पाएका थिए।
आरोहणसँगै पूजा
विगतमा जस्तै कामिरिताले सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान राख्दा यता काठमाण्डू बौद्धमा रहकी उनकी श्रीमती लाक्पा जाङ्मु शेर्पा भने पूजामै व्यस्त रहिन्।
श्रीमान्ले जतिपटक सगरमाथाको आरोहण गरे पनि मनमा उत्तिकै त्रास हुने बताउने लाक्पा आइतवार पूजाका लागि बौद्धमा रहेको उनको परिवार स्रोतले जनाएको छ।
कामिरिताले हरेकपटक चुचुरो टेक्नुअघिको आफ्नो शैलीबारे यसअघि बीबीसीसँग भनेका थिए, "तपाईँको शरीरमा पाइला टेक्नुपर्यो भनेर माफी माग्दै पूजा गर्छु। चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु।"
उनका दाजु लाक्पारिता शेर्पा सातै महादेशका अग्ला हिमालहरू चढ्ने पहिलो शेर्पा हुन्।
१७ पटक सगरमाथा आरोहण गरेका उनी सन् २०१४ र सन् २०१५ मा सगरमाथामा ठूला विपद् आएपछि आरोहणबाट सन्यास लिएर हाल आरोहण व्यवस्थापनको काम गर्छन्।
उनका बाबु मिङ्मा शेर्पा नेपालको सुरुवाती समयका आरोही हुन् जो एकजना प्रथम सफल आरोही तेञ्जिङ नोर्गे शेर्पासँग आरोहण सिकेका थिए।