तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा: कामीरिता शेर्पाको नयाँ कीर्तिमान
नेपाली पर्वतारोही कामीरिता शेर्पा बुधवार बिहान सगरमाथाको चुचुरोमा पुगेको नेपाल सरकारले खटाएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएका छन्।
अठचालीस वर्षीय शेर्पाको बाइसौँ आरोहणसँगै सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमान स्थापित भएको छ।
यसअघि आप्पा शेर्पा, फुर्वाटासी शेर्पा र उनले २१ पटक सगरमाथा चढेको कीर्तिमान थियो। तर आप्पा र फुर्वाटासीले पर्वतारोहणबाट यसअघि नै अवकाश लिइसकेका छन्।
श्रेष्ठका अनुसार कामीरिता अहिले तल्लो शिविरतिर ओर्लिँदै छन्।
एकै दिन ४० जना
अधिकारीहरूका अनुसार बुधवार ४० भन्दा बढी पर्वतारोहीले सगरमाथाको आरोहण गरेका छन्।
योसँगै यो याममा झन्डै एक सय जना आरोहीहरू सगरमाथाको शिखर पुग्न सफल भएका छन्।
यो याममा झन्डै पाँच सय गाइड र शेर्पाहरूको सहयोगमा तीन सयभन्दा बढी पर्वतारोहीहरूले सगरमाथा आरोहणको प्रयास थालेका थिए।
मौसम
तर आरोहणका लागि मौसम अनुकूल हुन नसकेको अधिकारीहरू बताउँछन्।
सगरमाथाको शिखरतिर हिँडेका एक सयभन्दा बढी पर्वतारोहीहरू प्रतिकूल मौसमका कारण मङ्गलवार राति बाटोमै अड्किएको बताइएको छ।
श्रेष्ठ भन्छन्, "तर आज बिहान राम्रो मौसम भएका कारण धेरै आरोहीहरूले शिखरसम्म पुग्ने मौका पाए।"
२५ पटकको लक्ष्य
एप्रिलको पहिलो साता आधार शिविर पुगेका कामीरिताले मे २९ मा सगरमाथा आरोहण गर्ने लक्ष्य बनाएका थिए।
यस पटकको अभियान थाल्नुअघि एउटा विदेशी समाचार संस्थासँग कुरा गर्दै २५ चोटि सगरमाथाको चुचुरोमा पुग्ने इच्छा व्यक्त गरेका थिए।
उनले ईएफईलाई भनेका थिए, "यो वर्ष कीर्तिमान राख्न सफल भए पनि म सगरमाथा चढिरहनेछु। म २५ पटक सगरमाथाको आरोहण गरेर इतिहास बनाउन चाहन्छु।"
कामीरिताले सन् १९९४ मा सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए।