तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सगरमाथा आरोहणकालागि ३०० बढीलाई अनुमति'
यसपालिको वसन्त याममा सगरमाथा आरोहणका लागि गत वर्षकै हाराहारीमा पर्वतारोहण टोलीहरुले अनुमति पाएको पर्यटन विभागले जनाएको छ।
हाल सम्म ३८ वटा टोलीका करिब ३ सय ५० जनाले दिएका निवेदन स्वीकृत गरिएको विभागका अधिकारीहरुको भनाइ छ।
सगरमाथा बाहेकका ६ हजार मिटर भन्दा अग्ला अन्य २१ वटा हिमाल आरोहणका लागि निवेदन दिनेहरुको संख्या पनि साढे ३ सय जति रहेको बताइएको छ।
आरोहणको मौसम
विश्वकै अग्लो हिमालका रुपमा रहेको सगरमाथा आरोहणको मौसम शुरु हुन लाग्दै गर्दा त्यसका लागि निवेदन दिनेको संख्या पनि दिन दिनै बढ्दै गएको छ।
सरकारबाट अनुमति लिएर मात्रै आरोहण गर्न पाउने उक्त हिमाल चढ्न वर्षेनी स्वदेशी र विदेशी नागरिकहरुले रुची देखाउँदै आएका छन्।
यस वर्ष पनि ३४ वटा विदेशी र ४ वटा नेपाली टोलीले आवेदन दिएको र उनीहरुलाई अनुमति दिइसकिएको पर्यटन विभागले जनाएको छ।
चासो
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने, "विशेष चासो सगरमाथाकै हुने गर्दछ। सगरमाथामा पनि गत वर्ष ४० वटा जति टोली थियो, यो वर्ष अहिले सम्म ३८ वटाले अनुमति पाइसकेका छन्। अझै १/२ वटा जति आउन सक्छ, यो संख्या गत वर्षको तुलनामा कम हुने देखिंदैन।"
समुद्र सतहभन्दा ८ हजार मिटर अग्ला हिमाल आरोहणका लागि थप निवेदन आउने सम्भावना न्यून भए पनि अन्तिम समयमा पनि केही थपिन सक्ने बताइएको छ।
सगरमाथा बाहेकका अन्य हिमाल चढ्ने रुचि देखाउने विदेशीहरुको संख्या कम रहेको विभागले जनाएको छ। सगरमाथा पछि यो याममा धेरैले रुचि देखाएको हिमालमध्ये ८ हजार ५ सय १६ मिटर अग्लो लोत्से हिमाल परेको छ।
आवेदन
सो हिमाल चढ्नका लागि हाल सम्म ९ वटा टोलीका ९६ जनाले आवेदन दिएको विभागले जनाएको छ।
त्यस बाहेक अन्य हिमाल आरोहणका लागि आवेदन पर्ने क्रम जारी रहेको महानिर्देशक भट्टराईले बताए।
उनले भने, "वसन्त याम अझै जेठ १५ सम्मै हुन्छ। हिमाल चढ्ने मानिसहरु र उनीहरुका आवेदन अझै आउदैछन् संख्या बढदै जाने छ ।"
यस वर्ष कुल एक हजारको हाराहारीमा आरोहीहरुले नेपालका विभिन्न हिमालको आरोहणको प्रयास गर्ने देखिएको अधिकारीहरूको भनाइ छ।