ललिता निवास जग्गा प्रकरणः झन्डै २.५ करोड रुपैयाँ धरौटीमा रिहा भएका मीनबहादुर गुरुङ को हुन्

भाटभटेनी

तस्बिर स्रोत, FACEBOOK/BHATBHATENI

बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित झन्डै डेढ दर्जन आरोपितलाई आइतवार काठमाण्डू जिल्ला अदालतले धरौटी र तारेखमा छाड्ने आदेश दिएको छ। गुरुङ देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीका प्रबन्ध निर्देशक हुन्।

नेपाल सरकारका उच्च अधिकारीहरू समेत पक्राउ परेको उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसअघि सरकारी लिखतसम्बन्धी कसुरमा विभिन्न भूतपूर्व उच्चपदस्थ अधिकारीहरूसहित अन्यलाई मुद्दा चलाउन सिफारिस गर्दै तयार पारेको अन्तिम प्रतिवेदनका आधारमा गुरुङ पक्राउ परेका थिए।

अदालतको आदेशमा "निज कसुरदार रहेछन् भन्ने अवस्था तत्काल नदेखिएको हुँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई दुई करोड छयालीस लाख रुपैयाँ धरौटीमा छाड्न" भनिएको छ।

विगतमा पनि गुरुङविरुद्ध करिब ४० करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो र उनी धरौटीमा रिहा भएका थिए।

यसअघिको सरकारी लिखतसम्बन्धी मुद्दामा रिहा भएका गुरुङलाई सीआईबीले पुनः सरकारी कागजपत्र किर्ते मुद्दामा पक्राउ गरेको जनाएको थियो।

उनी पक्राउ परेको विषयबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा टीकाटिप्पणी हुने गरेको छ।

कतिपयले सरकारको कदमको प्रशंसा गरिरहेका छन् भने अन्य केहीले "सरकारी निकायबाट कानुनअनुरूप नै ललिता निवासको जग्गा खरिद गरेका प्रतिष्ठित व्यवसायीलाई" थुनामा राख्न हतार गरिएको टिप्पणी गरेका छन्।

उक्त प्रकरणमा राजनीतिक नेतृत्वलाई "चोख्याउँदै" सरकारी अधिकारी अनि व्यवसायीहरूलाई मात्रै मुछिएको भनाइ पनि व्याप्त छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा सार्वजनिक कार्यक्रममा बोल्दै गुरुङमाथि सरकारले द्वेष राखेको आरोप लगाए।

"भारी बोकेर आएको गुरुङको छोरोले कसरी गरिखायो? गरिखान दिनु हुँदैन," उनले कटाक्ष गर्दै भने।

सरकारले "राष्ट्रिय पुँजीपतिहरूलाई छानीछानी लखेटेको" आरोप पनि लगाएका थिए।

सबभन्दा पहिले काठमाण्डूको भाटभटेनी मन्दिरनजिकै स्थापना गरिएको एउटा सानो पसलबाट मुलुककै सबैभन्दा ठूलो सुपरस्टोरसम्मको यात्रा तय गरेका मीनबहादुर गुरुङ को हुन्? अनि भाटभटेनी सुपरमार्केटको विस्तारको पृष्ठभूमि कस्तो छ?

मीनबहादुर गुरुङ

सामान्य पृष्ठभूमि

अहिले नेपालको व्यावसायिक क्षेत्रमा गुरुङ स्थापित व्यक्ति हुन्। उनको व्यावसायिक यात्रालाई उदाहरणीय मान्नेको सङ्ख्या निकै छ।

उनले आफ्नै बलबुतामा स्थापना गरेको भाटभटेनी देशकै प्रमुख खुद्रा किनमेल केन्द्र, डिपार्टमेन्ट, स्टोरहरूको समूह बनेकोले गर्दा पनि उनी एक "उदाहरणीय व्यवसाय"का रूपमा स्थापित भएको जानकारहरू बताउँछन्।

सन् १९५८ मा खोटाङमा जन्मिएका गुरुङका बुवा कृषक थिए।

जन्मस्थलबाट काठमाण्डू आएर गुरुङले सुरुमा दैनिक ज्यालामा काम गर्ने कामदारहरूको हाजिरको विवरण राख्ने गरेको उनको अन्तर्वार्तामा आधारित रहेर उनीबारे लेखिएका आलेखहरूमा उल्लेख गरिएको छ।

तिनै लेखमा उल्लेख भएअनुरूप त्यसपछि उनले नेपाल ब्याङ्क लिमिटेडमा काम गरे। काम गर्दै उनले अर्थशास्त्रमा स्नातकोतर तहको अध्ययन पनि सम्पन्न गरेका थिए।

नेपालमा हालको समयमा समेत रोजगारीका लागि धेरैले आकर्षक मान्ने ब्याङ्किङ क्षेत्रमा काम गर्दा गर्दै सन् १९८४ मा भाटभटेनी सुपरमार्केटको जन्म भयो। त्यसमा सुरुमा ३५,००० रुपैयाँ लगानी गरिएको थियो।

भाटभटेनी

तस्बिर स्रोत, FACEBOOK/BHATBHATENI

भाटभटेनी

तस्बिर स्रोत, WEBSITE/BBSM

तस्बिरको क्याप्शन, सुरुवाती दिनहरूमा भाटभटेनी सुपरस्टोर

एक सय २० वर्ग फिट क्षेत्रफल रहेको खुद्रा पसल ३५,००० रुपैयाँको लगानीमा गुरुङ दम्पतीले सुरु गरेको भाटभटेनी सुपरमार्केटको वेबसाइटमा उल्लेख छ। त्यस बेला उनको पसलमा झन्डै २,००० रुपैयाँको दैनिक कारोबार हुने गरेको थियो।

सन् १९९२ तिर भाटभटेनी १२० वर्ग फिटको क्षेत्रफलबाट ३,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको दुईतले पसल बन्यो।

पच्चीस लाख रुपैयाँको लगानीमा विस्तार भएको भाटभटेनीमा त्यस बेला ५०,००० रुपैयाँको कारोबार हुने गरेको भाटभटेनीको वेबसाइटमा उल्लेख छ।

सन् २००८ मा भाटभटेनीको दोस्रो शाखा महाराजगन्जमा खुल्यो।

त्यसपछि क्रमिक रूपमा काठमाण्डूको कोटेश्वर, चुच्चेपाटी, पाटनको कृष्णगल्ली हुँदै चितवन, धरानदेखि नेपालगन्ज, वीरगन्ज र जनकपुरसम्म शाखाहरू खुले। अहिले देशभरि भाटभटेनीका २५ वटा सुपरस्टोर छन्।

प्रत्येक दिन एक लाखभन्दा धेरै मानिस भाटभटेनी सुपरमार्केटमा पुग्ने गरेको कम्पनीको दाबी छ। सुरुको २,००० रुपैयाँको दैनिक कारोबारको आकार करोडौँ पुगेको छ।

गुरुङमाथि तात्कालिक माओवादी नेताहरूको लगानी परिचालन गरेको आरोप पनि लाग्ने गरेको छ।

शान्ति प्रक्रियाको आरम्भसँगै सशस्त्र द्वन्द्वमा रहेको माओवादी सन् २००६मा मूलधारको राजनीतिमा प्रवेश गर्नु र सन् २००८ बाट भाटभटेनीले सुरु गरेको "आक्रामक व्यवसायिक विस्तार" लाई कतिपयले जोडेर हेर्ने गरेका छन्।

पछि माओवादी पार्टी फुटेसँगै विभिन्न पक्षका नेताहरूको कोपभाजनमा परेर गुरुङले "अप्रिय कदम चाल्ने प्रयास गरेका" विवरणहरू पनि सार्वजनिक भएका थिए।

यद्यपि त्यस्तो विवरण सार्वजनिक भएको केही समयमा गुरुङ एक टेलिभिजन अन्तर्वार्तामा देखा परेका थिए।

तर त्यस्ता कुनै पनि आरोप वा विवरणको स्वतन्त्र रूपमा पुष्टि भएको देखिएको छैन।

अन्य कुन क्षेत्रमा छ लगानी?

भाटभटेनी सुपरमार्केटबाट सुरु भएको गुरुङको व्यवसायिक यात्राको दायरा पछिल्लो समय झन् फराकिलो भएको देखिन्छ।

ऊर्जादेखि ब्याङ्किङ अनि पर्यटन क्षेत्रमा समेत उनको लगानी छ।

चवालीस मेगावाट जडित क्षमता रहेको मिस्त्री खोला जलविद्युत् आयोजना, कुमारी ब्याङ्क अनि चन्द्रागिरि हिल्स उनको लगानी रहेका केही प्रमुख कम्पनीहरू हुन्।

किनमेल गर्ने संस्कार परिवर्तनको श्रेय

आर्थिक अभियान दैनिकका प्रकाशक तथा प्रधान सम्पादक मदन लम्सालका अनुसार नेपालीहरूको किनमेल गर्ने व्यवहारमा पूर्ण रूपमा परिवर्तन गर्ने जस केही हदसम्म गुरुङलाई जान्छ।

"किन्नेका लागि मात्र होइन उत्पादन बेच्ने/बनाउनेका लागि पनि। पछि त महिला उद्यमीका सेल, टपरीदेखि लिएर सारा कुरा उहाँले राख्नुभयो। हजारौँ युवायुवतीले रोजगारी पाएका छन्," लम्सालले भने।

गुरुङ सहरका मुख्य केन्द्रभन्दा टाढा जग्गा किनेर भाटभटेनी खोल्ने गर्छन्। त्यसैले लम्साल भन्छन्: ‘‘भाटभटेनी जहाँजहाँ खुलेको छ त्यहाँ सहर बनेको छ।… त्यो उहाँले गर्नुभएको हो।"

पछिल्ला वर्षहरूमा भाटभटेनीले आफैँ सामान उत्पादन गरेर पनि बेच्न थालेको छ।

मीनबहादुर गुरुङ

तस्बिर स्रोत, FACEBOOK/MINBAHADURGURUNG

कमजोर पक्ष

गुरुङलाई व्यावसायिक रूपमा विगत ३३ वर्षदेखि र नजिकबाट २२-२५ वर्षदेखि आफूले चिनेको बताउने पत्रकार लम्सालका अनुसार उनी त्यति धेरै "लाइमलाइट" मा आउन रुचाउँदैनन्।

गुरुङलाई केही हदसम्म नजिकबाट चिन्ने जानकारहरूका अनुसार उनको सबैभन्दा ठूलो कमजोरी "सहज रूपमा जोकोहीसँग सम्पर्कमा आउन नचाहनु" हो।

हत्तपत्त फोन नउठाउने वा मानिसहरूसँग भेटघाट गर्न नचाहने कुरालाई कमजोरीकै रूपमा लिन सकिने लम्साल पनि बताउँछन्।

"ठूलो व्यावसायिक सञ्जाल भएपछि मान्छेलाई समय दिनुपर्ने हुन्छ। कतिलाई दिने, कसलाई दिने? किनभने नेपालमा जागिरै लगाउनका लागि यति धेरै दबाव हुन्छ। त्यसकारण पनि नसकेको होला तर फोन नउठाउने मैले एउटा समस्या देखेको छु,’’ लम्सालले भने।

'मनकारी व्यवसायी'को छवि

तर आवश्यक पर्दा उनले सरसहयोग भने खुलेरै गर्ने गरेको बताइन्छ।

"कोभिड महामारीका बेला आफैँ फोन गरीगरी अप्ठ्यारो परेको होला सामान लानूस् भन्ने, पैसा दिने गरेको मैले थाहा पाएको थिएँ,’’ लम्सालले भने।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सञ्चालन भइरहेको भवन १० करोडको लगानीमा गुरुङले निर्माण गरिदिएको भाटभटेनीको वेबसाइटमा उल्लेख छ। हाल उक्त भवन थप विस्तार भइरहेका विवरणहरू सार्वजनिक भएका छन्।

त्यस्तै भाटभटेनी समूहले प्रत्येक वर्ष दुर्गम क्षेत्रका दुई जना विद्यार्थीलाई पाँच वर्ष लामो एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने गरेको उल्लेख छ।

विभिन्न सङ्घसंस्थालाई एम्बुलेन्स दिने, मठमन्दिर निर्माण र पुनर्निर्माणजस्ता सामाजिक र परोपकारी कार्यमा पनि उनको योगदान रहने गरेको बताइन्छ।

‘समयमा पैसा नदिने’ आरोप

भाटभटेनी सुपरमार्केटमाथि उधारोमा सामान बेच्ने अनि बिक्री भएको लामो समयसम्म पनि त्यो रकम सम्बन्धित उद्यमी र व्यवसायीलाई चुक्ता नगर्ने आरोपका विवरणहरू बेलाबेलामा प्रकाशमा आउने गरेका छन्।

गत वर्ष माघ महिनामा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि प्रहरीले गुरुङको बयान लिएको थियो।

सङ्घीय संसद् भवननजिकै आफैलाई पेट्रोल छर्केर आत्मदाह गरेका आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो।

इलाम घर भएका आचार्यले व्यावसायिक कारोबारमा आफूले प्राप्त गर्नुपर्ने रकम नदिएर मर्न बाध्य पारिएको आशय व्यक्त गरेका थिए जसमा भाटभटेनी सुपरमार्केटको नाम पनि जोडिएको थियो।

भाटभटेनी

तस्बिर स्रोत, FACEBOOK/BHATBHATENI

'व्यवसायको मोडल'

पत्रकार लम्सालका अनुसार भाटभटेनी सुपरमार्केटको व्यवसायको दुईवटा 'मोडल' छ।

पहिलो, व्यवसायीले त्यहाँ सामान राख्ने र त्यो सामान बिकेको केही समयपछि पैसा बुझ्ने।

त्यस्तो पैसा कहिले फिर्ता हुन्छ भन्ने कुराबारे पहिले नै दुवै पक्ष जानकार हुने हुँदा रकम ढिला दिने गरेको भन्न नमिल्ने तर्क कतिपयको छ।

रकम बुझ्ने विषय ब्र्यान्डमा पनि भर पर्ने लम्साल बताउँछन्।

‘‘तपाईँको सामान आकर्षक भए भाटभटेनीले बाध्य भएर राख्नुपर्ने हुन्छ। उदाहरणका लागि, कतिपय बहुराष्ट्रिय कम्पनीहरूका सामान भाटभटेनीले राख्न सक्दिनँ भन्न सक्दैन, पाउँदैन। किनभने त्यो त्यहाँ नराख्दा निश्चित ग्राहक उहाँले गुमाउनुपर्ने हुन्छ। यो त व्यवसायको सामान्य सिद्धान्त हो,’’ लम्साल भन्छन्।

यसबारे भाटभटेनी सुपरस्टोरका प्रतिनिधिहरूसँग कुराकानी गर्ने बीबीसीको प्रयास सफल हुन सकेन।

दोस्रो, भाटभटेनीले निश्चित रकम लिएर सामान राख्नका लागि स्थान उपलब्ध गराउने गरेको बताइन्छ।

समयमा पैसा नदिनेबाहेक भाटभटेनीमाथि बेलाबखत कर छलेको अनि म्याद गुज्रेको सामान बेचेको लगायतका आरोप पनि लाग्ने गरेको छ। अनि कतिपय अवस्थामा जरिवाना पनि गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।