तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतमा विमान दुर्घटनाको ५६ वर्षपछि शव भेटिएपछि परिवारलाई राहत
- Author, इमरान कुरेशी
- Role, बीबीसी हिन्दी
- पढ्ने समय: ४ मिनेट
त्यो यस्तो टेलिफोन कल थियो, जसले ५८ वर्ष आठ महिना लामो प्रतीक्षालाई समाप्त गरिदियो।
दक्षिणी भारतीय राज्य केरलाको पथनमथिट्टा जिल्लास्थित एक प्रहरी चौकीबाट फोन गर्ने व्यक्तिले थोमस थोमसलाई एउटा अप्रत्याशित खबर दिए। खबरका अनुसार उनका दाजु थोमस चेरिअनको शव अन्ततः फेला परेको थियो।
सन् १९६८ मा गम्भीर मौसमी समस्याका कारण हिमाली क्षेत्रमा दुर्घटमा परेको इन्डियन एअर फोर्सको विमानमा सवार १०२ जना यात्रुमध्ये भारतीय सेनाका 'क्राफ्ट्सम्यान' चेरिअन पनि एक थिए।
भारतको उत्तरी राज्य हिमाञ्चललाई भारत प्रशासित काश्मीरसँग जोड्ने रोहताङ भञ्ज्याङ माथिबाट उड्ने क्रममा उक्त विमान सम्पर्कविहीन भएको थियो।
वर्षौँसम्म आईएएफ एएन–१२ नामको उक्त विमान बेपत्ताको सूचीमा रहनुका साथै कहाँ र कस्तो अवस्थामा छ भन्ने कुराको रहस्य खुलेको थिएन।
सन् २००३ मा पर्वतारोहीको एउटा समूहले यात्रुमध्येका एकजनाको शव फेला पार्यो।
त्यसपछिका वर्षहरूमा सेनाको खोजी दलले थप आठ शव फेला पार्यो भने सन् २०१९ मा पहाडमा विमानको भग्नावशेष भेटियो।
केही दिनअघि सेनाले चेरिअनसहित चारजनाको शव निकालेपछि सन् १९६८ को उक्त दुर्घटना पुन: चर्चामा आयो।
जब यो समाचार परिवारसम्म पुग्यो, तब "छपन्न वर्षदेखिको पीडा अचानक हराएजस्तो भयो," थोमसले बीबीसी हिन्दीसँग भने।
"मेरो त सासै फर्कियो," उनले भने।
पाँचमध्ये चेरिअन परिवारको दोस्रो सन्तान थिए र बेपत्ता हुँदा केवल २२ वर्षका थिए। उनी लेहको हिमाली क्षेत्रमा आफ्नो पहिलो 'फिल्ड पोस्टिङ'मा जान उक्त विमानमा सवार भएका थिए।
सन् २००३ मा पहिलो शव भेटिएपछि मात्रै चेरिअनको नाम बेपत्ताको सूचीबाट हटाएर मृतकको सूचीमा चढाइएको थियो।
"बुवा सन् १९९० मा र आमा १९९८ मा बित्नुभयो, बाँचुञ्जेल (चेरिअनको) खबर आउँछ कि भनेर कुरिरहनुभयो," थोमसले भने।
दुर्घटनास्थलबाट हालसम्म जम्मा १३ जनाको मात्रै शव भेटिएको छ।
खराब मौसमका साथै हिउँयुक्त भूभाग भएकाले खोजी समूहलाई त्यहाँ काम गर्न गाह्रो छ।
चेरिअनसहित नारायण सिंह, मल्कान सिंह र मुन्शिराम नाम गरेका अन्य तीनजनाको शव 'ढाका ग्लेसिअर' नजिकै समुद्री सतहबाट १६ हजार फिटको उचाइमा फेला परेको थियो।
'डोग्रा स्काउट्स' (भारतीय सेनाको डोग्रा रेजिमेन्टको एकाइ) र 'तिरङ्गा माउन्टेन रेस्क्यू'का सदस्यहरूले संयुक्त रूपमा यो पछिल्लो अभियान सञ्चालन गरेका थिए।
'डोग्रा स्काउट'का कमान्डिङ अफिसर कर्णेल ललित पलरियाका अनुसार अधिकारीहरूले शव पत्ता लगाउनका निम्ति 'स्याटेलाइट इमेजरी', 'रेक्को रेडार' र ड्रोनहरूको प्रयोग गरेका थिए।
लगभग २० मिटरको गहिराइसम्म हिउँमा गाडिएका धातुका वस्तुहरू पत्ता लगाउन सक्ने 'रेक्को रेडार'को मद्दतमार्फत् विमानका भग्नावशेषहरू पत्ता लगाइएको थियो।
त्यसपछि उक्त टोलीले भग्नावशेष भएको ठाउँमा हातैले खोतल्न थाल्यो र एउटा शव फेला पार्यो।
लगत्तै हिउँनदीका खोँचहरूबाट थप तीनवटा शव भेटिए।
चेरिअनको बर्दीमा नाम लेखेको 'ट्याग' थियो। 'थोमस सी' लेखिएकामा थर जनाउने 'सी' मात्रै बुझिने अवस्थामा थियो। तर उनको खल्तीमा भएको कागजातले अधिकारीहरूलाई उनको पहिचान गर्न सघायो।
परिवारका अनुसार चेरिअनलाई गुमाउनुको पीडा सधैँ यथावत् रहे पनि शव भेटिएको घटनाले केही हदसम्म राहत दिएको छ।
गत अक्टोबर ३ मा अधिकारीहरूले भारतीय झण्डा बेरिएको चेरिअनको कफिन उनको परिवारलाई सुम्पियो। अर्को दिन गाउँकै एउटा चर्चमा उनको अन्तिम संस्कार गरियो।
थोमसका अनुसार यत्रो वर्षको पर्खाइका क्रममा सेनाका अधिकारीहरूले खोजी कार्य अझै जारी रहेको र शव फेला पर्नासाथ परिवारजनलाई जानकारी दिने बताउँदै आएका थिए।
"यतिका वर्षसम्म हामीलाई जानकारी दिइराखेकोमा सेनाप्रति वास्तवमै अनुग्रहित छौँ," उनले भने। थोमसका अनुसार चेरिअन बेपत्ता भएपछि पनि परिवारका अन्य धेरै सदस्यहरू सशस्त्र बलमा सामेल भएका थिए।
उक्त परिवारजस्तै हालै शव भेटिएका अन्य सैनिकका आफन्तहरूले पनि एकैसाथ शोक र राहतको सामना गरिरहेका छन्। ती सैनिकहरूका आमाबुवा तथा पत्नीसहितका अन्य निकटस्थहरू उनीहरूको खबरको प्रतीक्षा गर्दागर्दै बितिसके।
भारतको उत्तरी राज्य उत्तराखण्डका जयवीर सिंह अझै पनि यो खबरसँग अभ्यस्त हुन खोज्दै छन्। उनले पनि काका नारायण सिंहको शव अक्टोबरको प्रारम्भमा पाएका थिए ।
नारायण सिंह बेपत्ता भएको वर्षौँ भइसकेकाले परिवारले आशा मारिसकेको थियो। त्यसैले परिवरजनको सहमतिमै नारायणकी श्रीमती बसन्ती देवीले नारायणकै दाजुभाइ (कजन) पर्ने एक जनासँग नयाँ जीवन सुरु गरिन्। त्यही पछिल्लो सम्बन्धबाट जन्मिएका सन्तानमध्येका हुन्, जयवीर सिंह।
जयवीरले वर्षौँसम्म पनि उनकी आमाले नारायण फर्किने आश गरेको र सन् २०११ मा बितेको बताए।
"मसँग त सम्झनाका निम्ति काकाको एउटा फोटोसम्म पनि छैन," उनले भने।
उत्तराखण्डबाट आशिफ अलीको अतिरिक्त रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।