तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बोलिभिआमा पैसा बोकेको सैनिक विमान दुर्घटना
दक्षिण अमेरिकी राष्ट्र बोलिभिआमा ब्याङ्क नोट बोकेको एउटा मालवाहक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले बताएका छन्।
उड्डयन अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार शुक्रवार साँझ सान्ताक्रुस सहरबाट उडेर पश्चिमी सहरको एल अल्टो विमानस्थलमा अवतरण गर्ने क्रममा बोलिभिअन एअर फोर्सको विमान दुर्घटना भएको थियो।
विमान धावनमार्गबाट चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको र कैयौँ सवारी साधनहरूसँग ठोक्किएको विवरण आएका छन्।
बोलिभिआको रक्षा मन्त्रालयले आफ्नो सी-१३० कल साइन भएको हर्क्यूलस विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार उक्त विमानले देशको केन्द्रीय ब्याङ्कका लागि नोटहरू ओसारिरहेको थियो।
मन्त्रालयले विमानमा कति व्यक्ति सवार थिए र कति जना हताहत भए भन्नेबारे केही उल्लेख नगरे पनि स्थानीय सञ्चार माध्यमहरूले विभिन्न स्रोतहरूलाई उल्लेख गर्दै १५ जना मारिएको जनाएका छन्।
पैसा टिप्नेको भीड रोक्न अश्रुग्यास
विमान दुर्घटना लगत्तै वरपर छरिएका ब्याङ्क नोटहरू टिप्न भीड जम्मा भएपछि मानिसहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो।
भिडिओ दृश्यहरूमा अश्रुग्यास प्रहारबाट मानिसहरू भागिरहेको र प्रहरीले लखेटिरहेको देखिन्छ। सुरक्षा ढाल सहित प्रहरीले विमान दुर्घटना भएको क्षेत्रलाई घेरा हालिरहेको र केही व्यक्तिहरूले प्रहरीमाथि ढुङ्गा हानिरहेको भिडिओ सार्वजनिक भएका छन्। केही व्यक्तिहरू पक्राउ समेत परेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त विमान सडकमा बज्रिँदा सवारी साधनहरू क्षतिग्रस्त भएका अन्य भिडिओहरू पनि देखिएका छन्।
"यो दुखान्तमा गरेको विमानबाट जजसले पैसा लिने प्रयास गरिरहनु भएको छ उहाँहरूलाई म यो स्पष्ट पार्न चाहन्छु कि यो पैसाको कुनै वैधता हुँदैन, केन्द्रीय ब्याङ्कले यो पैसा जारी गर्न बाँकी नै थियो र यसमा सिरिअल नम्बर पनि छैन। त्यसैले यो पैसा प्रयोग गर्ने प्रयास गर्दा अपराध ठहर्छ," रक्षा मन्त्री मार्सेलो सालिनासले भनेका छन्।
उनले तोडफोडमा संलग्न व्यक्तिहरूलाई कठिन समयमा देशले भोगिरहेको शोक र पीडा बुझेर त्यसो नगर्न अनुरोध गरेका छन्।
केन्द्रीय ब्याङ्कले ती नोटहरू जारी नभएका कारण काम नलाग्ने भन्दै पैसा फिर्ता गरिदिन मानिसहरूलाई आह्वान गरेको छ।
स्थानीय सञ्चार माध्यमले दुर्घटनास्थलमा खटिएका अग्नि नियन्त्रकहरूलाई उद्धृत गर्दै घटनामा कम्तीमा २० जना घाइते भएको बताएका छन्।
विमान दुर्घटनापछि एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
"मेरी दिदीले विमान दुर्घटना हुँदा आफू कार भित्र रहेको सुनाउनुभयो। विमानको पाङ्ग्रा उहाँको कारमा खस्दा त्यसको धक्काले उहाँको टाउकोमा चोट लागेपछि हामीले घाइते अवस्थामा अस्पताल दौडायौँ," एक जना घाइतेका आफन्तले समाचार संस्था रोएटर्ससँग भनेका छन्।
दुर्घटनाको कारण अहिले नै स्पष्ट हुन सकेको छैन। प्रत्यक्षदर्शीहरूले दुर्घटना भएको समयमा मौसम प्रतिकूल रहेको बताएका छन्।
"विमान दुर्घटना हुँदा असिना परिरहेको र बिजुली चम्किरहेको" दुर्घटना क्षेत्रमा रहेकी एक महिलाले एएफपी समाचार संस्थालाई बताएकी छन्। विमानबाट उछिट्टिएको टुक्रा उनको कारसम्म पुगेको थियो।
दुर्घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।