तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समुद्री किनारमा सोमाली यात्रुवाहक विमान आपत्कालीन रूपमा उतारेका पाइलटको प्रशंसा
- Author, अब्दिनसिर अली
- Role, बीबीसी सोमाली
- पढ्ने समय: २ मिनेट
सोमालियाको एक एअरलाइन्सले प्राविधिक समस्या देखा परेको आफ्नो एक यात्रुवाहक विमानलाई राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा किनारमा 'क्र्याश ल्यान्डिङ' गराउन सफल भएका आफ्ना एकजना पाइलटको प्रशंसा गरेको छ।
उक्त विमानमा ५५ जना मानिसहरू सवार थिए।
स्टारस्काई एभिएसनले ५० यात्रु र पाँच चालक दलका सदस्यहरूलाई बचाउन पाइलटले द्रुत गतिमा गरेका निर्णय महत्त्वपूर्ण रहेको बताएको छ।
सोमालियाको नागरिक उड्डयन प्राधिकरण (सीएए)का अनुसार मङ्गलवार बिहान मोगादिशुबाट उडेको केही समयपछि फोकर ५० विमानका चालक दलले समस्या थाहा पाएर विमानलाई फिर्ता उतार्न अनुरोध गरेका थिए।
त्यसपछि उक्त विमान अवतरण भए तापनि धावनमार्गमा रोकिन सकेन।
पानीमा अडिनुअघि टार्माकबाट बाहिरको भागमा पुगेको सीएएका निर्देशक अहमद म्याकालिन हसनले भने। उक्त समस्या के थियो भन्ने कुरा अझै स्पष्ट छैन।
एक्समा पोस्ट गरिएको एक फुटेजमा यात्रुहरू विमानबाट निस्केर हिन्द महासागर किनारमा रहेको दुर्घटनाग्रस्त विमानबाट भागिरहेको देखिएको छ।
कोही कुनै गम्भीर घाइते भएको विवरण छैन।
सोमालियास्थित अफ्रिकी सङ्घ (एयू) को मिसनले उद्धार प्रयासमा मद्दत गर्न संयुक्त राष्ट्र सङ्घ र एयूका सेनालाई "तत्कालै तैनाथ" गरिएको जनाएको छ।
सोमालियाका यातायात मन्त्री पनि घटनास्थलमा पुगेको बताइएको छ।
"सबै यात्रु र चालक दल सुरक्षित छन् भन्ने पुष्टि गर्न पाउँदा हामी राहत महसुस गरिरहेका छौँ। आपत्कालीन अवतरण हुनुपर्ने गरी आएको प्राविधिक समस्या के हो भनेर अनुसन्धान भइरहेको छ," स्टारस्काईका प्रवक्ता हसन मोहम्मद अदनले भने।
"पाइलटको द्रुत र धैर्ययुक्त निर्णय लिने कार्यले जहाजमा रहेका सबैको सुरक्षा सुनिश्चित गर्न निर्णायक भूमिका खेलेको थियो र उनले परिस्थितिलाई कसरी सम्हाले भन्ने कुराका लागि हामी उनको प्रशंसा गर्छौँ," उनले थपे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।