तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिल्लीका नेपाली मतदाता : कसैलाई भोटको चिन्ता, कसैलाई रोजगारीको
- Author, विष्णु पोखरेल
- Role, बीबीसी नेपाली सेवाका लागि, नयाँ दिल्ली, भारत
- पढ्ने समय: ८ मिनेट
भारतमा गत साता पीएचडी चेम्बर अफ इन्डस्ट्रिजमा आयोजित 'इन्डो-नेपाल ट्रेड फेअर'मा दिल्लीमा बसोबास गर्ने कैयौँ नेपालीहरू पुगेका थिए।
त्यहाँ नेपाली लोकगीत र नाचगानका साथै पञ्चेबाजा पनि घन्किरहेको थियो। अवलोकनका लागि त्यहाँ पुगेका अनि नेपाली उत्पादन तथा खानाका स्टल राखेका केही नेपालीहरूसँग कुरा गर्दा उनीहरूमध्ये धेरैले यस पटक चुनावमा भोट हाल्न स्वदेश फर्किने योजना सुनाए।
यद्यपि वर्षौँदेखि रोजगारी वा व्यवसायका सिलसिलामा दिल्लीमा बसोबास गरिरहेका कैयौँ नेपालीहरू नेपालमा मतदाता नामावलीमा नाम नभएकाले चुनावमा जानेबारे नसोचेको पनि बताइरहेका थिए।
भारतको राजधानी नयाँ दिल्लीस्थित किशनगढमा सिलाइको काम गर्दै आएका दीपक परियार (४०) प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्न जाने मनस्थितिमा छन्।
गत शनिवार दिल्लीको हौजखासस्थित पीएचडी चेम्बर एन्ड इन्डस्ट्रीको प्राङ्गणमा पञ्चेबाजामा पर्ने झ्याम्टा बजाइरहेको अवस्थामा भेटिएका उनले भने, "भरसक जाने भन्ने नै छ। जानै पर्छ। … आफ्नो काम पनि छ। यता (भोट) पनि भइहाल्छ।"
उनी दिल्ली आएको पाँच वर्ष भयो। उनको परिवारमा श्रीमती, कक्षा १० मा अध्ययनरत छोरा र कक्षा ११ मा अध्ययनरत छोरी छन्।
"छोरी नेपालमा पढ्दै छ। हामी तीन जना यताबाट जान्छौँ," उनले भने।
उक्त प्राङ्गणको एउटा कुनामा सेलरोटी पकाइरहेकी गुल्मी घुर्कोट नयाँगाउँकी सावित्रा जीसीले परिवारसहित नै मतदान गर्न नेपाल जाने योजना बनाएको बताइन्।
विगत ९ वर्षदेखि दिल्लीमा उनको परिवारले नेपाली खाजा पसल चलाइरहेको छ। वर्षौँदेखि भारतमै रोजगारी गर्दै आएका उनका श्रीमान् अहिले पनि एउटा कम्पनीमा काम गर्छन्।
नेपालमा हुँदा उनी तत्कालीन नेकपा माओवादी केन्द्रकी कार्यकर्ता थिइन्। दिल्ली आएपछि पार्टीमै आबद्ध नभए पनि उनी राजनीतिमा व्यापक चासो राख्छिन्।
"भोट हाल्नु भनेको हाम्रो अधिकार हो त्यसैले पनि जानुपर्छ," उनले भनिन्, "मलाई राजनीतिमा धेरै चासो पनि छ। यता हुँदा पनि म नेपालकै खबर हेरिरहेकै हुन्छु।"
भोट हाल्न 'उत्साहित'
जीसीलाई सेल रोटी बेच्न सघाइरहेका उनका २० वर्षे भान्जा अभिषेक रोका चाहिँ बालिग भएर पहिलो पटक भोट हाल्न गाउँ फर्कँदै छन्।
"चुनाव पनि आइसकेको छ। सबै जना जाने कुरा छ। पहिलोपल्ट भोट हाल्न जान लाग्दा म त उत्साहित छु," पाँच वर्षअघि रोजगारीका लागि भारत आएका रोकाले भने।
दिल्लीमै रहेका उनका बाबुआमा पनि यसपालि भोट हाल्न गाउँ जाने उनले बताए।
भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेस्ट चेम्बर अफ कमर्स भारतका 'कल्चरल सेक्रेटरी' घनश्याम शर्मा रोजगारीका लागि भारत आएको ३० वर्ष भयो। अहिलेसम्म नेपालमा भोट हाल्ने मेसो नमिलेका उनी यो पल्टको चुनावमा भोट हाल्न जाँदै छन्।
बाग्लुङका शर्माले भने, "पचास वर्षको भइयो तर अहिलेसम्म भोट हालेको छैन। अहिले माहौल त्यस्तै छ। वातावरण मिलेकाले जान्छु।"
उनले आफ्नो घरायसी काम पनि परेको र त्यसै बेला चुनाव भएकाले भोट हाल्ने गरी नेपाल फर्किन लागेको बताए।
'जान मन छ, बिदा मिलेन'
झापाकी रिना लिम्बु रोजगारीका लागि दिल्ली आएको चार वर्ष भयो। उनी मतदाता रहेको झापा निर्वाचन क्षेत्र नम्बर- ५ अहिले व्यापक चर्चामा छ।
त्यहाँ नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाण्डू महानगरपालिकाका भूतपूर्व मेअर बालेन्द्र शाह चुनावी प्रतिस्पर्धामा रहेकाले चर्चा चुलिएको हो।
तर देशकै सबैभन्दा चर्चामा रहेको क्षेत्रकी मतदाता लिम्बु भने भोट हाल्न जान नपाउने भएर निराश बनेकी छन्।
"अफिसबाट छुट्टी मिलेन त्यसैले नजाने भएँ," उनले भनिन्, "जानु त मन लागेको थियो। आबो परिवारलाई भनिरहेको छु यहाँबाट भोट हाल्नु भनेर।"
कपिलवस्तुकी रिता सुनारको पनि लिम्बुकै जस्तो अवस्था छ। गत आइतवार दिल्लीको नौरोजी नगरमा आफ्ना पति गोपाललाई नेपाल जाने गाडी चढाउन आएकी सुनारले छुट्टी नमिलेकाले आफूले भोट हाल्न जान नपाउने अवस्था बनेको बताइन्।
एउटा कुरिअर कम्पनीमा कार्यरत उनले भनिन्, "अफिसबाट बिदा पाइएन। सरले छुट्टी मिल्दैन भन्नु भयो। छुट्टी मिलेको भए जान्थेँ।"
चार छोराछोरीका अभिभावक सुनार दम्पतीमध्ये एकले चुनावमा भोट हाल्न पाउने भए भने एकले नपाउने भए।
उनका श्रीमान् गोपाल पनि छोरी बिरामी भएकाले नेपाल जान लागेको बताउँदै थिए।
गोपालले भने, "छोरीका लागि जानु पर्ने भइहाल्यो। गाउँ गएका बेलामा भोट हालेर आइन्छ।"
तन दिल्लीमा, मन गाउँमा
लहरै बसका टिकट काउन्टर, गल्लीभित्र नेपाली भान्छा घर र नेपाली भाषामा लेखिएका पसलहरूका बोर्ड अनि नेपालीमै कुराकानी गरिरहेका मानिस। दक्षिणी दिल्लीस्थित नौरोजी नगर पुग्दा काठमाण्डूकै कुनै बसपार्क वा आसपास पुगेको भान हुन्छ।
गत आइतवार सोही स्थानको एउटा गल्लीभित्र ठूलो आवाज बनाएर नेपालको चुनावी कार्यक्रमका भिडिओहरू हेर्दै गरेको अवस्थामा भेटिए, कञ्चनपुरको महेन्द्रनगरका अजित जैरू।
उनी रोजगारीको सिलसिलामा भारत आएको आठ महिना भयो। नौरोजी नगरको सोही गल्लीस्थित एक पसलमा सहयोगीको काम गर्ने उनको परिवारमा तीन छोराछोरी र श्रीमती छन्।
श्रीमती र काखे बालकसहित दिल्लीमा बस्ने उनका दुई सन्तान भने नेपालमै छन्। समयअघि नै हुन लागेको यसपालिको चुनावमा उनी भोट हाल्न जाने मनस्थितिमा छन्।
"समय भयो भने एक दिनका लागि भए पनि जान्छु। यहाँ बसेर पनि नेपालकै भिडिओ त हेर्दै छु," उनले भने।
जैरू रोजगारीका लागि भारत आए पनि आफ्नो मन नेपालमै भएको र यो चुनावमा गएर पनि भोट हाल्ने बताउँछन्।
सबैको चिन्ता रोजगारी
भोट हाल्न नेपाल फर्किँदै गरेका, जान लागेका वा जान नपाउने अवस्था भएका सबै नेपाली मतदाताको मुख्य सरोकार भने एकै खालको छ।
त्यो हो- उम्मेदवारहरूले रोजगारीलाई प्राथमिकता दिए हुन्थ्यो र अब आउने सरकारले त्यसलाई सम्बोधन गरिदेओस्।
अर्घाखाँचीका परियारले भने, "हामीलाई देश बनोस् भन्ने छ। भड्केर परदेशमा हिँड्नु नपरोस्। रोजगारीको चिन्ताले बिदेसिनु पर्छ। … रोजगारी मिल्यो भने किन आउनु?"
कपिलवस्तुकी सुनारलाई पनि त्यस्तै लाग्छ। उनी भन्छिन्, "मजबुरी बुझेनन्। नेपालमा रोजगारी भए भारतमा आउनु पर्थेन होला।"
उनका पति गोपालले चाहिँ नेपालमा बढीभन्दा बढी कम्पनी खोलेर रोजगारी सिर्जना गर्नुपर्ने बताए।
उनले भने, "देशमा सुशासन होस्। भ्रष्टाचार नहोस् भन्ने हाम्रो चाहना हो।"
महेन्द्रनगरका जैरू पनि रोजगारीको वातावरण भए बिदेसिनु नपर्ने ठान्छन्।
"जस्तो भए पनि राम्रो गरिदिनु पर्यो। देशमा रोजगारी हुनुपर्यो," उनले भने।
खर्चको पिरलो, दलको उधारो
जानकारहरूका अनुसार विशेष गरी दिल्लीमा रोजगारीका लागि आएका नेपालीहरू चुनावमा भोट हाल्न जाँदा लाग्ने खर्चका कारण नेपाल जान चाहँदैनन्।
एभरेस्ट चेम्बरका शर्मा भन्छन्, "सामान्य मान्छेले ८/१० हजार खर्च गरेर जाने सक्ने कुरा पनि भएन।"
तर दिल्लीमा सक्रिय विभिन्न राजनीतिक दलबद्ध सङ्घ/संस्थाहरूले मतदाताहरूलाई सित्तैमा लैजाने व्यवस्था गर्ने गरेका छन्।
नेपाली कांग्रेसमा आबद्ध नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रकी अध्यक्ष सरिता न्यौपाने त्यस्तो व्यवस्था गरिएको तर त्यो पार्टीबाट रकम लिएर नभइ व्यक्तिगत रूपमा गर्ने गरिएको बताइन्।
उनले भनिन्, "हामीले गाडीको व्यवस्था गरिरहेका छौँ। कतिपयलाई पठाइसक्यौँ। जिल्लासँग समन्वय गरेर पठाउँछौँ।"
पहिले माओवादी सक्रिय रहेकी तर अहिले नेपाली कम्युनिस्ट पार्टी निकट रहेकी जीसीले पनि आफ्नो दल सम्बद्ध संस्थाले त्यस्तो व्यवस्था गरेको र आफूलाई पनि सम्पर्क गर्ने व्यक्तिका रूपमा राखेको बताइन्।
पाल्पाका अनिल रुचाल रोजगारीका लागि भारत आएको २७ वर्ष भयो। उनी अहिले दिल्लीमा होटेल व्यवसाय गर्छन्।
हालै नेपाल-भारत बस सेवा पनि सुरु गरेका उनले पनि चुनावका लागि एक पटकका लागि एउटा गाडीमा सित्तैमा नेपालीहरूलाई लगिदिन दल सम्बद्ध संस्थाहरूले आग्रह गरेको बताए।
"एउटा गाडी फ्रि गराइदिम् भनेर भन्नु भएको थियो," उनले भने। यद्यपि हालसम्म कसैले फेरि त्यसका लागि नभनेको रुचालले बताए।
दलहरूले त्यसरी लिएर गएपछि मतदातालाई लैजाने दललाई नै भोट हाल्ने दबाव हुन सक्ने कतिपयको बुझाइ छ।
शर्मा भन्छन्, "राजनीतिक पार्टीबाट … कार्यकर्ताहरू जानु भएको छ। 'ग्रास रुट'बाट गएका छैनन्। यहाँ जागरूकता कम छ। राम्रो/नराम्रो छुट्टाएर एक भोटको पनि महत्त्व छ भन्ने धेरैलाई थाहा छैन।"
उनले खर्च र चेतनाको कमीले गर्दा दिल्लीमा रहेका नेपालीमध्ये केही मात्र भोट हाल्न स्वदेश फर्कने गरेको आफूहरूको अनुभव रहेको बताए।
नेपाल-भारत बस सेवा सञ्चालन गरिरहेकाहरू चुनावको बेलामा स्वदेश फर्कनेहरूको सङ्ख्या बढेको बताउँछन्।
यद्यपि त्यो एकदमै धेरै पनि नभएको उनीहरूको भनाइ छ।
रुचाल भन्छन्, "अहिले चुनावको चक्करमा मानिसहरू गाउँ गइरहेका छन् तर हामीले सबैलाई भोट हाल्न जान लाग्नु भएको हो भनेर सोध्न पनि त मिल्दैन नि!"
"तर पहिलेभन्दा यो पल्ट बढी मानिसहरू गएका छन्।"
तेस्रो मुलुक जान चाहनेको आफ्नै चिन्ता
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका कुमार कार्की १० वर्षदेखि नेपाल-भारत बस सेवा सञ्चालनमा रहेका छन्।
उनी पनि यसपालि चुनावमा भोट हाल्न गाउँ जाने योजनामा रहेका छन्।
यद्यपि उनी भोट हाल्नका लागि दिल्लीबाट नेपाल फर्कनेको सङ्ख्या खासै धेरै नरहेको बताउँछन्।
बरु आफूलाई वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने नेपालीहरूले लगातार फोन गरेर चिन्ता व्यक्त गरिरहेको कार्कीको भनाइ छ।
"नेपालबाट लगातार फोन आइरहेको छ। दिल्ली आउँदा सीमा बन्द भएर समस्या हुने हो कि? भन्ने चासो धेरैको छ," उनले भने।
फागुन २१ मा हुने चुनावका लागि अन्तर्राष्ट्रिय सीमा ७२ घण्टाका लागि बन्द हुने भएकाले धेरैले त्यस्तो चासो व्यक्त गरेका हुन्।
नेपाली यातायात व्यवसायीहरूका अनुसार अचेल नेपाल-भारत बस सेवा मुख्य रूपमा तेस्रो मुलुकका लागि दिल्लीमा भिसा आवेदन गर्न वा अन्तर्वार्ता दिन आउने नेपालीहरूका कारण चलेको छ।
"अहिले विदेश जानेको लर्को छ। विदेश जान एप्लाइ गर्न आउनेको चाप धेरै छ," कार्की भन्छन्।
उनका अनुसार चुनावका दिन वा एकाध दिन अघि वा पछि भिसाका लागि अन्तर्वार्ता वा भिसा आवेदनको मिति भएका नेपालीहरूले व्यवसायीहरूसँग सीमा बन्द हुने अवस्थाबारे चासो राख्ने गरेका हुन्।
भारतमा नेपालीको सङ्ख्या
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा कति नेपाली नागरिक छन् भन्ने यकिन तथ्याङ्क पाउन मुस्किल छ।
दुई देशबीच खुला सीमा र सन् १९५० को सन्धिले आवतजावत र बसोबासका सम्बन्धमा दुवै देशका नागरिकलाई आफ्नै नागरिक सरह व्यवहार गर्ने भएकाले पनि यकिन तथ्याङ्क पाउन गाह्रो भएको हो।
पछिल्ला वर्षहरूमा भारतमा रहेर काम गर्ने तथा व्यवसाय गर्ने नेपालीहरूका लागि कैयौँ प्रावधानहरू कसिलो पारिँदै लगिएपछि धेरै नेपालीले आफूलाई भारतीयकै रूपमा चिनाउन थालेको पनि कतिपय जानकारहरू बताउँछन्।
त्यस्तै कैयौँ नेपालीहरू भारतीय नागरिक बनेको तर नेपालको नागरिकता पनि नत्यागेको तथा दुवै देशको नागरिकको रूपमा रहेको अवस्था पनि देखिएको छ।
यद्यपि नेपालीहरू सम्बद्ध सङ्घ संस्थाहरूको तथ्याङ्कका आधारमा भारतभरि ४० लाख हाराहारीमा नेपाली नागरिक रहेको ठानिएको दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापा बताउँछन्।
उनले भने, "यकिन सङ्ख्या नै भन्न गाह्रो छ तर नेपाली आबद्ध संस्थाहरूबाट आएको विवरणमा यो भनिएको हो।"
त्यस्तै भारतभरि दुई करोडभन्दा बढी सङ्ख्यामा नेपालीभाषीहरू रहेको विवरणहरू सार्वजनिक भएका छन्। कतिपय विवरणमा दिल्लीमा मात्र ७/८ लाखको सङ्ख्यामा नेपाली वा नेपालीभाषी रहेको बताइन्छ।
छैन सरकारी पहल
गत भदौको जेनजी प्रदर्शनपछि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार दिनेबारे फेरि एक पटक चर्चा भएको थियो।
अहिलेसम्म नेपालले त्यस्तो व्यवस्था गर्न सकेको छैन।
विदेशबाट भोट हाल्ने वातावरण नभए पनि भारतलगायत छिमेकी देशहरूमा रहेका नेपालीलाई मतदानका लागि एकाध दिनका लागि स्वदेश फर्कन प्रोत्साहित गर्नु पर्ने कतिपयको मत रहने गरेको छ।
यद्यपि हालसम्म सरकारीस्तरबाट त्यस्तो काम नभएको अधिकारीहरू बताउँछन्।
"हालसम्म त्यस्तो अभ्यास छैन र यसपालि पनि गरिएको छैन," नियोग उपप्रमुख थापाले भने, "तर ठूलो सङ्ख्यामा नेपालीहरू स्वतः स्फूर्त रूपमा गइरहनु भएको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।