भोट हाल्न कैयौँ नेपाली स्वदेश फर्कँदै, चुनावकै मुखमा हजारौँ बिदेसिँदै

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ७ मिनेट

कुवेतमा भेटरनरी प्राविधिकको काम गर्ने झापाका सन्तोष अधिकारी चुनावमा भोट हाल्नकै लागि बिदा लम्ब्याएर घरमा बसिरहेका छन्।

उनी झापा २ का मतदाता हुन्। उनले दुई महिनाअघि आफू नेपाल आएको तर चुनावमा मत हालेर मात्रै कर्मथलो फर्कने मनस्थिति बनाएको बताए।

"चुनावबाट एउटा सक्षम नेतृत्व आएर देश एउटा प्रणालीबाट चलोस् भन्ने मेरो चाहाना छ। सेवाग्राही र सेवा प्रदायकहरूलाई प्रणालीले जोड्नुपर्छ। लाइन, भिडभाड र भनसुन अन्त्य हुनुपर्‍यो र काम सहजै हुने वातावरण बन्नुपर्छ," उनी भन्छन्।

उनले रोजगारी सिर्जना र श्रमिकका विषयहरूलाई प्राथमिकता दिने सरकार निर्माण हुने अपेक्षा आफूले राखेको बताए।

उनी थप्छन्, "बीस-तीस हजार रुपैयाँ कमाउनकै लागि नेपालीहरूले विदेश जानु नपरोस्। घर चलाउनकै लागि त्यसरी बाहिर जानु नपरोस् त्यत्तिको रोजगारी नेपालभित्रै प्रत्याभूत गराउने नेतृत्व आउनुपर्‍यो भन्ने हाम्रो अपेक्षा हो।"

भोट खसाल्न फर्केकाहरू के भन्छन्?

गएको भदौमा भएको जेन जी आन्दोलनपछि उत्पन्न राजनीतिक सङ्कटमाझ प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको थियो। निर्वाचनको मिति नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा गएका युवाहरू ठूलो सङ्ख्यामा घर फर्किरहेका देखिन्छ।

बिर्तामोडका सन्तोष अधिकारी आफ्ना कतिपय साथीहरू भोट खसाल्न कुवेतबाट नेपाल आइसकेको र कतिपय अर्को हप्ताको सुरुमा आउने तयारीमा रहेको बताउँछन्।

उनले भने, "म सँगै कुवेतमा भएका साथीहरूमध्ये कतिपय मार्च १ मा आएर सिधै घर पुग्ने अनि मतदानमा सहभागी हुने भनीरहनु भएको छ। बीचमा आएकाले पनि मतदान सकेर मात्रै जाने भनेर टिकट सारिरहनुभएको छ।"

कुवेतमा रेस्टुराँ सञ्चालन गर्दै आएका राजु कार्की डेढ महिनादेखि गुल्मीमा चुनावी गतिविधिहरूमा सहभागी भइरहेका छन्।

उनले बीबीसीसँग कुरा गर्दै भने, "अहिले विशेष परिस्थितिमा चुनाव भइरहेको छ। हामीले सुशासन र भ्रष्टाचारको अन्त्य बाहेक प्रवासमा रहेका नेपालीहरूको मुद्दा र उहाँहरूको मतदानको अधिकारलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने नै मुख्य सरोकार हो।"

कार्कीका अनुसार 'धेरै जना निर्वाचनमा मतदान गर्नका लागि आएका छन्' र कतिपय ठाउँमा त्यसका लागि नै अभियानहरू पनि चलाइएको छ।

जसले मत हाल्न पाउने छैनन्

तर पछिल्ला दिनमा श्रम गन्तव्यहरूबाट घर आइरहेका सबै नेपालीहरूले निर्वाचनमा मतदान भने गर्न पाउने छैनन्।

सिराहाका वैजनाथ यादव त्यस्तै एक प्रतिनिधि पात्र हुन्। पछिल्ला महिनाहरूमा उनी र उनका साथीहरूले कतारमा नेपालको चुनाव र यसले ल्याउनुपर्ने राजनीतिक परिवर्तनबारे खुबै चर्चा गरे।

डकर्मीको काम गर्ने उनी आफ्ना ८ जना साथीहरूसहित केही दिनअघि मात्रै काठमाण्डू आइपुगेका हुन्। उनी सवार विमानमा रहेका अधिकांश नेपाली यात्रुहरूले फाल्गुन २१ को चुनावबारे छलफल गरिरहेका थिए।

सिराहाको बरियारपट्टी शिवनगरका यादव मतदाता नामावलीमा आफ्नो नाम नभएकाले आफूले भोट खसाल्न नपाउने तर आफ्ना साथीहरूले यो चुनावमा मत हाल्ने बताउँछन्।

उनले बीबीसीसँग भने, "भर्खरै घर आएको छु। चुनावबारे यहाँ पनि सल्लाह हुँदैछ। मैले एकचोटी पनि भोट हालेको छैन। मतदाता सूचीमा नै नाम राख्न बाँकी छ। मसँगै आठ जना आएका थिए। अरू सबैले भोट खसाल्छन्।"

उनले मत हाल्न नपाउँदा आफूलाई खासै दुखेसो नरहेको उल्लेख गर्दै भने, "भोट हाल्ने समयमा म प्रायः नेपालमा नै हुँदिन, अनि कसरी भोट हाल्ने? नेताहरू जितेर जान्छन् तर गाउँमा केही सुविधा छैन। रोजगार भए न नेपालमा बस्ने अनि नेपालमा नै भोट दिने?"

३२ वर्षका वैजनाथले तीन पटक गरेर ११ वर्ष कतारमा वैदेशिक रोजगारीमा बिताएका छन्। त्यहाँ निर्माण मजदुरको काम गर्दा मासिक झन्डै ५५ हजार रुपैयाँ कमाउने गरेको उनले सुनाए।

तर यसपालि नेपालमा चुनावको तयारी चल्दै गर्दा पछिल्ला केही महिना उनी र उनका साथीहरूका लागि कष्टपूर्ण रहे। "हाम्रो कम्पनीले आठ नौ महिनाको तलब पनि दिएन। कम्पनीसँगको सम्झौता टुट्यो। चार महिना केश लड्यौँ। केही भएन। अनि आफ्नो टिकट आफैँ कटाएर घर फर्किएका हौँ।"

तर त्यस्तो बेला पनि साथीहरूसँग भेट हुँदा नेपालको राजनीति र परिवर्तनबारे छलफल गर्ने गरेको उनी सम्झन्छन्।

अल अरेबिया र ग्रान्ड मल कहिलेकाहीँ घुम्न जाँदा पनि राजनीतिबारे कुरा गर्ने गरेको बताउँदै उनले थपे, "कसरी नेपालमा परिवर्तन हुनसक्छ र कसलाई भोट हाल्यो भने राम्रो हुन्छ त्यसबारे छलफल हुन्थ्यो।"

"विदेशबाटै मत हाल्ने एउटा व्यवस्था हुनुपर्‍यो। त्यसो हुँदा युवाहरू सबैले भोट हाल्न मिल्थ्यो र देशमा परिवर्तन हुन्थ्यो। अहिलेको नयाँ युवाहरू पढेलेखेका छन्, उनीहरू आफ्नो दिमागको प्रयोग गर्छन्।"

कति कामदार फर्किरहेका छन्? कतिले भोट खसाल्न पाउँछन्?

आप्रवासी कामदारहरूको हक हितको पक्षमा काम गर्दै आएको एउटा संस्था श्रमिक सञ्जालका कार्यकारी निर्देशक भीम श्रेष्ठका अनुसार निर्वाचनबाट आउने नेतृत्वले वैदेशिक रोजगारीका क्षेत्रमा पनि राम्रो काम गरोस् भन्ने अपेक्षा कैयौँ श्रमिकहरूले राखेका बताए।

निर्वाचन अघि नेपाल फर्किएका कैयौँ कामदारहरूले मत खसाल्ने अवस्था आफूले देखेको बताउँदै उनले भने, "विदेशबाटै मत हाल्न पाउने व्यवस्था भए मत खस्ने दरमा उल्लेख्य वृद्धि नै हुन्थ्यो होला। मत नै खसाल्न भनेर फर्किनेहरूको सङ्ख्या जति हुनुपर्ने त्यो पक्कै छैन।"

उनले थपे, "तर फर्कनेमध्ये धेरै जना मत हाल्न सक्ने अवस्थामा नै हुनुहुन्छ। जसको मतदाता सूचीमा नाम छैन, उहाँहरूमा निर्वाचनलाई लिएर त्यो तहको उत्साह भने हुनेछैन।"

फेब्रुअरी महिनामा मात्रै मङ्गलवार अपराह्नसम्म १ लाख ३६ हजार नेपाली देश भित्रिएको सरकारी आँकडाले देखाउँछ।

अध्यागमन विभागका अनुसार संयुक्त अरब एमिरेट्सबाट २४ हजार भन्दा बढी, भारतबाट १८ हजारभन्दा बढी, कतारबाट १६ हजार, मलेशियाबाट १६ हजार र साउदी अरेबियाबाट ११ हजार भन्दा बढी नेपालीहरू उक्त तथ्याङ्कमा समेटिएका छन्।

यो महिनामा १ लाख ३७ हजार नेपालीले देश छाडेका छन्।

त्यसअघि ज्यानुअरी महिनामा १ लाख ५८ हजार नेपाली स्वदेश फर्किएका थिए भने १ लाख ४७ हजार बाहिरिएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

उक्त महिनामा पनि संयुक्त अरब एमिरेट्स, भारत, कतार, साउदी अरेबियाबाट उल्लेख्य सङ्ख्यामा नेपालीहरू फर्किएको तथ्याङ्कले देखाउँछ।

पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा ७ लाख नेपाली देश भित्रिएको र झन्डै ७ लाख ६० हजार नेपाली विभिन्न देशहरू गएका तथ्याङ्कले देखाउँछ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले पछिल्लो एक महिनाको अवधिमा ८४ हजार भन्दा बढी नेपाली रोजगारीका लागि बिदेसिएको बताए। त्यसको अर्थ अघिल्लो महिना औसतमा २,९०२ जना नेपालीले प्रत्येक दिन रोजगारीका लागि नेपाल छाडेका थिए।

घटेको छैन वैदेशिक रोजगारीमा जाने क्रम

वैदेशिक रोजगार विभागका उप महानिर्देशक चन्द्रबहादुर सिवाकोटीका अनुसार यो महिना सुरुदेखि यता फागुन १३ गतेसम्म ३१ हजार ८ सय ७२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको बताए।

विभिन्न वैदेशिक रोजगारीमा पठाउने संस्थाहरूमार्फत १३ हजार भन्दा बढी, व्यक्तिगत रूपमा ४ हजार ४ सय भन्दा बढी र ३०० भन्दा बढी सरकार-सरकारबीचको सम्झौता अन्तर्गत विदेशमा रोजगारीमा गएको उनले जानकारी दिए।

अधिकारीहरूले उक्त अवधिमा १५ हजार भन्दा बढी 'रि ईन्ट्री' मा वैदेशिक रोजगारीमा गएको बताएका छन्।

सन् २०२१ को जनगणनाले २१ लाख नेपाली नागरिकहरू देशभित्र नरहेको देखाएको थियो र त्यसमध्ये ७७ प्रतिशत रोजगारीका कारणले देशबाहिर रहेको उल्लेख गरेको छ।

वैदेशिक रोजगार विभागले सन् २०१४/१५ र सन् २०२३/२४ को बीचको एक दशकमा ३४ लाख नयाँ श्रम स्वीकृति जारी गरेको थियो। उक्त अवधिमा झन्डै ६ लाख ४० हजार युवाहरूले उच्च शिक्षा अध्ययनका लागि 'नो अब्जेक्शन लेटर' लिएका थिए।

यसपटक आफ्ना चुनावी घोषणापत्रमा प्रमुख दलहरूले देशभित्रै रोजगारीका अवसरहरू तयार पार्ने वाचा गरेका छन्।

तर वैजनाथ यादव त्यसलाई लिएर खासै उत्साहित छैनन्। अबका केही महिना गाउँमा आफ्नो घर बनाउन उनी केन्द्रित हुने उनले बताए।

त्यसपछि नयाँ पासपोर्ट लिने र फेरी वैदेशिक रोजगारीमा जाने सोचमा रहेको उनी भन्छन्।

यादवले भने, "घर बनाइसक्छु। दुई चार महिना बस्छु अनि फेरी विदेश जाने हो। यहाँ हामीलाई केही छैन। जम्मा १० क्लास पढेको छु, रोजगारी पाउँदैन। त्यही भएर विदेश नै जानुपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।