सिङ्गापुर एअरलाइन्सको विमान 'ठूलो टर्ब्युलन्स' मा पर्दा यात्रुले के-कस्तो सकस बेहोर्नु पर्यो?

सिङ्गापुर एअरलाइन्सका प्रमुखले मङ्गलवार एक जनाको मृत्यु र दर्जनौँ घाइते हुने गरी भएको "ठूलो टर्ब्युलन्स" घटनामा माफी मागेका छन्।

गो चुन फोङले आफ्नो एअरलाइन्सको "निकै पीडादायी अनुभवका लागि दुःख" व्यक्त गरेका छन्। उक्त विमान सेवाको एसक्यू ३२१ उडान लण्डनबाट सिङ्गापुरका लागि उडेको थियो।

सो विमान थाईल्याण्डको राजधानी ब्याङ्ककमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो।

७९ जना यात्रु र छजना चालक दल अझै ब्याङ्ककमा रहेर चोटपटकको उपचार गराइरहेका बताइएको छ।

बाँकी यात्रु र चालक दललाई बोकेको उद्धार उडान बुधवार सबेरै सिङ्गापुर आइपुगेको छ।

२११ जना यात्रु र १८ जना चालक दलका सदस्य रहेको उक्त विमान हिन्द महासागरमाथि हुँदा ठूलो 'टर्ब्युलन्स' महसुस भएको थियो। जतिखेर तीन मिनेटभित्रै सो विमान ६ हजार फिट तल झरेको थियो।

आकाशमा वायुको प्रवाहमा उथलपुथल हुँदा विमान हल्लिनुलाई 'टर्ब्युलन्स' भनिन्छ।

विमान कम्पनीले के भन्यो?

बुधवार जारी भिडिओ वक्तव्यमा गो ले विमान सेवाले "छानबिनका लागि सम्बन्धित अधिकारीहरूलाई पूर्ण रूपमा सघाउने" बताएका छन्।

उनले पीडितका परिवारप्रति समानुभुति व्यक्त गर्दै प्रभावित यात्रु र चालक दलका सदस्यलाई "आवश्यक सबै खाले सहायता दिन" तयार रहेको बताएका छन्।

गो का अनुसार उक्त विमानमा त्यस्तो अवस्था सामना गर्दा उडानको १० घण्टा भएको थियो र 'टर्ब्युलन्स' महसुस हुँदा त्यो ३७ हजार फिट उचाइमा थियो।

जसका कारण एकजना ७३ वर्षीय ब्रिटिश नागरिक जेफ किचेनको हृदयाघातका कारण ज्यान गएको हुनसक्ने ठानिएको छ भने अन्य केही गम्भीर घाइतेअवस्थामा छन्।

विवरणहरूका अनुसार उनी आफ्नी श्रीमतीका साथ उक्त उडानमा रहेको ठानिएको छ जो छ साताको विदा मनाउन सिङ्गापुर जाँदै थिए।

उक्त बोइङ ७७७-३००इआरमा रहेका एकजना ब्रिटिश यात्रु एन्ड्रु डेभिसलले बीबीसी रेडिओ फोरलाई बताए अनुसार उक्त विमान "पर्याप्त चेतावनीबिनै... अचानक तल झरेको" थियो।

उनले एकजना महिलाको "टाउकोमा डरलाग्दो घाउ" देखेको र अर्को "पीडाले चिच्याएको" सुनाए।

अर्का यात्रुले सीटबेल्ट नलगाएकाहरू "तत्कालै सिलिङमा ठोक्किएको" बताए।

जाफ्रान अज्मिरले रोयटर्ससँग भने: "म अब केही होला भनेर सिट समातेर बसेको थिएँ एक्कासी विमान स्वात्तै तल झर्यो र जो जो सिट बेल्न नलगाइकनै सिटमा बसिरहेका थिए तिनीहरू तुरून्तै उचालिएर सिलिङ्गमा ठोक्किन पुगे। मानिसहरूको टाउकोमा गहिरो चोट लागेको छ।"

क्षतिपूर्ती र अनुसन्धान

गम्भीर टर्ब्युलन्सबाट घाइते भएकाहरू क्षतिपूर्ति दाबी गर्नका लागि योग्य हुन सक्छन्।

तर उनीहरूले पाउने रकम भने उल्लेख्य रूपमा भिन्न भिन्न हुनसक्ने रोयटर्सले जनाएको छ।

मोन्ट्रिओल महासन्धीका अनुसार सबै एअरलाइन्सहरूसँग यात्रुहरूको मृत्यु र चोटपटकको अवस्थाका सम्बन्धमा कडा प्रकृतिको दायित्व हुनेगर्छ।

यद्यपि विमान कम्पनीले आफ्नो दायित्व सीमित गर्न सक्छन्।

जसक्रममा यात्रुहरूले सीट बेल्ट लगाउने निर्देशनहरू बेवास्ता गरेको हुनसक्ने जस्ता कारण उल्लेख हुनुपर्ने क्यालिफोर्नियास्थित वकिल माइक डान्कोले भने।

सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वङ्गले मृतकका परिवार र प्रियजनलाई "गहिरो समवेदना" व्यक्त गर्दै सिङ्गापुरले थाई अधिकारीहरूसँग निकट रूपमा काम गरिरहेको" जनाएका छन्।

उनले सिङ्गापुरको यातायात सुरक्षा सम्बन्धी अनुसन्धान ब्युरोले घटनाको मिहिन अनुसन्धान गर्ने बताएका छन्।

सिङ्गापुर एअरलाइन्स जोडिने दुर्घटनाहरू निकै दुर्लभ मानिन्छ। उक्त विमान सेवा विश्वको सबैभन्दा सुरक्षितमध्येमा गनिन्छ।

पछिल्लो घातक दुर्घटना सन् २००० मा भएको थियो जतिखेर ताइवान विमानस्थलमा गलत धावनमार्गबाट उडान गर्न खोज्दा एउटा बोइङ ७४७ दुर्घटना भएको थियो।

विमानमा रहेका १७९ मध्ये झण्डै ८३ जनाले ज्यान गुमाएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।