हवाईयात्रा: विमान भित्र किन चुरोट खान हुँदैन, के के लैजान पाइँदैन?

उडिरहेको विमानमा चुरोट सल्काएको भनेर बुधवार पक्राउ परेका एक युवालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कसुर ठहर भएमा जरिवाना हुनसक्ने पनि कैलाली प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन्।

काठमाण्डूबाट धनगढीका लागि उडेको विमानमा चुरोट खाइरहेको पाइएपछि विमान चालक दलका सदस्यले उनलाई रोकेका थिए। विमान धनगढीमा अवतरण गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइयो।

उनको साथमा एउटा चुरोट र लाइटर भेटिएको बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए।

नेपालमा यस्ता घटना निकै दुर्लभ हुने गरेको विमान सञ्चालक र विमानस्थल कार्यालयका अधिकारीहरू बताउँछन्।

नागरिक उड्डयन प्राधिकरणले ती व्यक्ति कसरी लाइटर बोकेरै विमानसम्म पुगे भन्नेबारे अनुसन्धान गरिने जनाएको छ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्ने आन्तरिक हवाई यात्रुलाई पनि सुरक्षा जाँचका क्रममा पेटी, घडी र जुत्ता समेत फुकाल्न लगाइने गरिएको छ।

तर यति कडा सुरक्षा जाँचबाट कसरी ती व्यक्तिले लाइटर र चुरोट लिएर गए भन्ने प्रश्नमा त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने-"अन्तिम सुरक्षा जाँच हुँदा राम्रोसँग हेरिन्छ। तर यहाँ सुरक्षाकर्मीको तर्फबाट पनि केही कमजोरी भएको हो की भन्ने अनुमान गरिएको छ।"

नागरिक उड्डयन प्राधिकरणले तयार गरेको नागरिक उड्डयन सुरक्षा नियमावलीमा यात्रुको 'लगेज र ह्याण्ड ब्याग' सहित उनीहरूको शरीरको पनि सुरक्षा जाँच गर्नुपर्ने उल्लेख छ।

"सुरक्षाकर्मीले वायुयान वा विमानस्थलको निषेधित क्षेत्रभित्र यात्रु वा कुनै व्यक्तिलाई प्रवेश गर्न दिनु अघि यात्रु वा त्यस्ता व्यक्तिको शरीर र निजको ह्याण्ड व्यागेज तथा व्यागेजको सुरक्षा जाँच गर्नु पर्नेछ,"नियमावलीमा भनिएको छ।

विमानमा के के लैजान पाइँदैन

नेपालको गैर सैनिक हवाई उडान ऐन अनुसार यात्रु र चालक दुवैले विमानमा घातक हतियार, बन्दुक वा विस्फोटक पदार्थ लैजान नपाइने उल्लेख छ।

उक्त ऐनमा बन्दुक, तरबार, खुकुरी, छुरा, बम, ग्रिनेड, गोली, बारुद लगायत राख्न नपाइने भनिएको छ।

ऐनमा उल्लेख भएका घातक हतियार बाहेक चुरोट सल्काउन प्रयोग गरिने लाइटर,सलाई र विद्युतीय चुरोट (भेप) पनि लैजान पाइँदैन।

"हातहतियार बाहेक आगोमा जल्ने वस्तुहरू, अरूको स्वास्थ्यमा असर गर्ने कुराहरू, जहाजको सुरक्षामा असर गर्ने सामग्री र एसिड तथा रेडियो विकिरणयुक्त वस्तुहरू विमानमा लैजान पाइँदैन," सिटौलाले भने।

कतिपय यात्रुहरूले विमानमा घिउ पनि बोक्न नदिइएको गुनासो गर्ने गरेका छन्।

प्रज्वलनशील पदार्थमा पर्ने घिउले जोखिम बढाउने र अचारले समेत चुहिएको अवस्थामा विमानमा जोखिम पुर्‍याउने भएकाले राम्रोसँग प्याकिङ नभएको अवस्थामा लैजान रोक लगाइने गरिएको सिटौलाले जानकारी दिए।

बुद्ध एअरका सूचना अधिकारी कर्ण राम्रोसँग प्याकिङ गरिएको घिउ बोक्न उक्त एअरले रोक नलगाएको बताउँछन्।

"पोखिने वा चुहिने जोखिम भएको अवस्थामा मात्रै हामीले घिउ लैजान रोक्छौँ। तर राम्रोसँग प्याकिङ गरिएको छ भने रोक्ने गरेका छैनौँ," उनले भने।

विमानमा चुरोट बोक्नै नपाइने चाहिँ होइन। तर त्यसलाई झोलामा बोक्नुपर्ने र सल्काउन प्रयोग गरिने कुनै पनि सामग्री बोक्न नपाइने व्यवस्था छ।

बुद्ध एअरका सूचना अधिकारी कर्णका अनुसार विमानबाट साइकल ओसारपसार गर्दा साइकलका चक्कामा भएको हावा समेत निकालेर मात्रै विमानमा राख्ने गरिन्छ।

बन्दुक लैजाँदा गोली अरूलाई राख्न दिनुपर्ने

नेपालमा स्वीकृति प्राप्त हात हतियार वायुयानबाट लैजान पाइने व्यवस्था पनि छ।

उड्डयन सुरक्षा नियमावलीको नियम ३४ मा भनिएको छ- "व्यक्तिले वायुयानबाट हातहतियार लैजान चाहेमा गृह मन्त्रालयबाट इजाजत लिनु पर्नेछ।"

सुरक्षाकर्मी वा हतियारको अनुमति प्राप्त व्यक्तिले आफूले लैजान चाहेको हतियारबारे नागरिक उड्डयन कार्यालय र वायुयान सञ्चालकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

"त्यस्तो हातहतियार कुनै पनि अवस्थामा वायुयानभित्र प्रयोग हुन नपाउने गरी हातहतियारबाट गोली निकाली वा अन्य आवश्यक व्यवस्था गरी वायुयानका मुख्य चालक वा निजले तोकेको वायुयान कर्मचारीको जिम्मामा रहने व्यवस्था गर्नु पर्ने" उपनियममा उल्लेख छ।

विमानस्थल कार्यालयका प्रवक्ता सिटौलाले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी तथा सैनिकले बोक्ने हतियारको गोली समेत विमानको चालकदलका सदस्यलाई बुझाउने गरिएको बताए।

नियमावली अनुसार वायुयानभित्र कसैले नियम विपरीतको कार्य गरेमा तीन महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ।

चुरोट प्रयोग गर्दा कस्तो जोखिम

विमानस्थल कार्यालयका प्रवक्ता सिटौलाका अनुसार विमानमा कुनै पनि प्रज्वलनशील बस्तुले ठूलो जोखिम निम्त्याउन सक्छ।

"विमानमा तारहरूको ठूलो सन्जाल हुने र तिनमा विद्युत् प्रवाह भइरहने कारण सानो आगोको झिल्काले पनि यसलाई खतरा पुर्‍याउन सक्छ।

"हजारौँ फिट माथि उड्ने त्यसमाथि धेरै तेल बोकेर उड्ने विमानमा आगलागी भयो भने के हुन्छ हामी कल्पना पनि गर्न सक्दैनौँ," उनले भने।

विमानमा हावा आवतजावत कम हुने भएका कारण चुरोटको धुवाँले अरूको स्वास्थ्यमा असर गर्ने जोखिम पनि खुला स्थानमा भन्दा बढी हुने जानकारहरू बताउँछन्।

बुद्ध एअरका सूचना अधिकारी कर्णले अत्यधिक मादक पदार्थ सेवन गरेर पनि हवाई यात्रा गर्न नपाइने बताए।

तर विमानस्थलको सुरक्षा जाँचमा मादक पदार्थ वा नशालु पदार्थ सेवन गरे वा नगरेको जाँच गर्ने गरेको पाइँदैन।