'माइती मान्ने' धोको पूरा गर्न पाँच दशकको पर्खाइ

- Author, प्रकाश पन्त
- Role, सुर्खेत
विवाहको पाँच दशकपछि जाजरकोट बारेकोटका ७३ वर्षीय करसिंह सार्की र ६८ वर्षीय कल्धरी सार्कीले वृद्धभत्ता जोगाएर बुढेसकालमा माइतीलाई कोसेली खुवाए जुन प्रचलनलाई स्थानीय भाषामा 'माइती मान्ने' भनिन्छ।
विवाहको ५१ वर्षपछि गत वर्ष माघ १६ गते फेरि नवविवाहित दुलाहा दुलहीको रूपमा सिँगारिएर उनीहरू जन्तीसहित कोसेली लिएर माइत/ससुराली गएका थिए।
उनका छोराहरू, छोरीज्वाइँ, नातिनातिनी र छिमेकीसहित २५ जना जन्तीको रूपमा थिए।
करसिंहले भने, "उतिबेला राम्रोसँग माइतीलाई कोसेली खुवाउने पैसा थिएन। तेल, चामल र चिनी पनि पाइँदैनथ्यो। गहुँका टाटे (पुरी) रोटीमै माइतीलाई पुजिएको थियो। राम्रोसँग माइतीमावली मान्न नपाएको पीर मनमा थियो। अहिले बुढेसकालमै भए पनि त्यो धोको पूरा भयो।"
करसिहंले मिस्त्री कामको कमाइ, सामाजिक सुरक्षा भत्ता सँगालेको, छोराहरूले कमाएर दिएको र नपुगेको रकम छिमेकीसँग सापट गरेर परम्परा धानेको बताए।
बुढेसकालमा 'मनको धोको पूरा'

आर्थिक कठिनाइले गर्दा सोचेअनुसार विवाह गरेको समयमै 'माइती मान्न' नपाएको बताउने करसिँहका दम्पतीले ६० वर्ष उमेर पुगेपछि सामाजिक सुरक्षा भत्ता बुझ्न थालेका थिए।
दुई जनाको गरेर हरेक महिना ८ हजार रुपैयाँ भत्ता जम्मा हुन्छ र अहिले तीन-तीन महिनामा उनीहरूले १२-१२ हजार रुपैयाँ भत्ता बुझ्ने गरेको बताउँछन्।
उनका अनुसार त्यो बेला पैसाको अभाव हुन्थ्यो। दुलाहादुलहीलाई टाउकोमा पाती टाँसिदिने चलन थियो।
कसैकसैले एक–दुई रुपैयाँ दुलाहादुलहीको ठाउँकोमा पातीसँगै टाँसिदिन्थे।
त्यो जमानामा कोसेलीमा करिब ८ सय रुपैयाँ खर्च भएको सम्झने करसिंहले अहिले अढाई लाख रुपैयाँ खर्चेको उल्लेख गरे।
यसपालि उनले एउटा ठुलो राँगो, एक डोको अर्सा रोटी र दुई डाला कसार कोसेली लगेका थिए।
त्यस्तै माइतीमावलीका महिलालाई धोती र चोली तथा पुरुषलाई पगरीको कपडा पनि लगेका थिए।
माइतीमावलीले पनि करसिँह र कल्धरी दम्पतीलाई पैसाको माला लगाइदिनुको साथै भाँडाकुँडा उपहार दिएका थिए।
करसिंह र कल्धरीको गाउँमा अझै सडक सुविधा छैन। त्यसैले उनीहरू लट्ठी टेकेर दिनभरिको बाटो हिँडेर माइती गाउँ जिरी पुगेका थिए।
सबै एकै ठाउँमा जम्मा भएर ४५ घर माइतीमावलीले चार (कोसेली) खाएको कल्धरीले बताइन्।
"फेरि नयाँ दुलहीको रूपमा सजिएर माइत जाँदा मर्ने बेला (बुढेस कालमा) जवानी फर्केर आए जस्तो लाग्यो," कल्धरीले भनिन्।
माइतीगाउँ भने करिब पाँच घण्टाको पैदल दुरीमा जाजरकोट नलगाडको गर्छिनामा पर्छ।

जवानीको सम्झना
जाजरकोटकै परशुराम थापा र बेलमति थापा दम्पतीले पनि बिहेको २० वर्षपछि 'माइती मानेका' छन्।
२०५९ सालमा मागी विवाह गरेका उनीहरूले २०७९ सालमा माइतीलाई कोसेली खुवाएको बताए।
जेठी छोरी जन्मिँदा २०६१ सालमा एउटा खसी लिएर माइती गएका थापा दम्पतीले पछिल्लो पटक एउटा राँगो, दुई डोका अर्सा रोटी, एउटा खसी कोसेलीको रूपमा लगेका थिए।
परशुराम रोजगारीको सिलसिलामा लामो समय विदेश बसेका थिए।
आर्थिकलगायत विविध कारणले विवाह भएको २० वर्षसम्म 'माइती मान्न' नसकेको बताउने उनले यसपालि खर्च भएको तीन लाख रुपैयाँ विदेशमा कमाएको उल्लेख गरे।
उनले भने, "माइती मान्दा ऋण सापट गर्नु परेन। विदेशको कमाइबाटै कोसेली खर्च टारियो।"
माइतीको लगनअनुसार ३० जना जन्ती र कोसेलीसहित उनीहरू माइत गएका थिए। छिमेकी, इष्टमित्र र आफ्नै छोराछोरी पनि जन्तीको रूपमा थिए।
माइतीले उनीहरूलाई नयाँ दुलाहादुलहीलाई जस्तै गरी भित्र्याएका थिए।
१७ वर्षको उमेरमा विवाह गरेकी बेलमतिले २० वर्षपछि फेरि दुलहीको रूपमा सिँगारिएर माइतीघर जाँदा विगतको सम्झना आएको बताइन्।
उनले भनिन, "आफ्नै छोराछोरी जन्ती आफू दुलही बनेर माइती घरमा जाँदा बेग्लै खालको खुसी र आनन्द भयो।"
"यो उमेरमा बोलाएर कोसेली खुवाउने अवसर दिने माइतीप्रति धेरै नै आभारी छु", परशुराम भन्छन्, "उति बेला केटाकेटीमै बिहे भयो। बिहे भनेको के हो नै थाहा थिएन। अहिले साँच्चिकैको विवाह भएजस्तो अनुभव भयो। एकदमै खुसी छु।"

दक्षिणको रूपमा पैसाको माला
सार्की र थापा दम्पती मात्रै होइनन्, बुढेसकालमा कर्णालीका विभिन्न ठाउँहरूमा 'माइती मान्ने' अर्थात् कोसेली खुवाउने र माइतीले पनि छोरी बहिनीलाई आफ्नो क्षमताअनुसार उपहार दिने चलन छ।
वर्षौँदेखि चल्दै आएको माइतीलाई कोसेली खुवाउने चलनलाई बुढेसकालको बिहे पनि भन्ने गरिन्छ।
आफ्ना माइती खलक र मावलीसँग चिनजान र बलियो सम्बन्ध स्थापित गर्न साइनो अनुसार दौरा सुरुवाल, धोती चोली र पगरी राखेर ढोग गर्ने गरिन्छ।
जाजरकोटका नारायणप्रसाद शर्माका अनुसार कोसेली खाएपछि माइती र मावली पक्षले छोरी र भाञ्जीलाई गच्छे अनुसारको दान दक्षिणा समेत दिने चलन छ।
तर बुढेसकालमा माइतीलाई कोसेली खुवाएकाहरू आफूहरूको अधुरो चाहना पूरा गर्न 'माइती मान्ने' गरेको बताउँछन्।
पहिला छोरीलाई गाग्रा, ताउलाजस्ता एकसरो भाँडाकुँडा र गाई, भैँसी, भेडा, बाख्रा दिने गरिन्थ्यो भने अहिले माला बनाएर नगद दिने चलन बढ्दै गएको उनीहरू बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








