जहाँ मृतकले स्वर्गमा बास पाउने आशमा रातभरि मसानघाटमा जाग्राम बसिन्छ

मसानघाट
    • Author, प्रकाश पन्त
    • Role, सुर्खेत

मृतकले स्वर्गमा बास पाउने आशमा पश्चिम नेपालको जाजरकोट जिल्लाको गाउँमा रातभरि मसानघाटमा जाग्राम बसेर दुःख फाल्ने चलन छ।

नलगाड नगरपालिका-१ मा पर्ने चिउरी गाउँमा केही दिन, केही महिना र वर्ष दिनसम्म आफन्तले दुःख बोक्ने चलन रहिआएको गाउँलेहरू बताउँछन्।

दाहसंस्कार गर्ने मसानघाटमा गएर रातभरि जाग्राम बसी दुःख फाल्ने चलन सम्भवतः आफ्नो गाउँमा मात्र रहेको चिउरीवासीहरू दाबी गर्छन्।

एक सय ८२ घरधुरी रहेको चिउरी गाउँमा दलित समुदायको मात्र बसोबास छ।

दुःख नबोके घृणामा पर्ने डर

मृत्यु भएका व्यक्तिको काजकिरिया सकेर दुःख बोक्ने र त्यसलाई २५, ३५,४५ र वर्ष दिनमा फालेर सुखमा फर्कने गरेको चिउरी गाउँका अगुवा धनवीर चनारा बताउँछन्।

“मृतकले स्वर्गमा बास पाऊन् भन्ने विश्वासमा दुःख बोकिन्छ,”बीबीसी न्यूज नेपालीसँग उनले भने।

“दुःख बोकेन भने समाजले घृणा गर्छ। त्यसैले बाध्य भएर पनि दुःख बोक्ने गरिएको हो।”

गाउँभरिका मानिसहरू मसानघाट पुगेर रातभरि जाग्राम बस्ने र बिहानै पञ्चबत्ती बालेर, वरपीपल दान गरी छोरी, बहिनी र इष्टलाई टीकाटालो गरी दानदक्षिणा दिएर दुःख फालिन्छ।

वरपीपल

बारेका खानेकुरा खोल्ने, एकसरो भाँडाकुँडा, गाई दान गर्ने, आगोको धुनी बालेर रात कटाउने, टाउकामाथि पिण्ड र बत्ती राखी बिहानै नदीमा डुबुल्की मारी दुःख बगाउने चलन रहेको अर्का स्थानीयवासी दलबहादुर महरा बताउँछन्।

उनका अनुसार दुःख फालेर घरमा आइसकेपछि भोजभतेर गर्ने चलन छ।

दुःख फाल्दा मसानघाटमा गाउँका महिला, पुरुष, केटाकेटी र बूढाबूढी आउँछन्।

आफन्तजनले उनीहरूलाई फलफूल, चिल्ला रोटी, खिरलगायत खानेकुरा खुवाउँछन्।

तोड्न नसकिएको परम्परा

विगतमा खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता रहेकोमा अहिले धर्मशाला बनेपछि सजिलो भएको तुल्सा सुनार बताउँछिन्।

दुःख नबोके मृतक स्वर्ग पुग्दैनन् भन्ने विश्वास राख्ने गाउँलेहरू प्रायःजसो अन्तिम संस्कार गरिएकै दिन मसानघाटमा भेला भएर रातभरि जाग्राम बस्छन्।

किरिया बसेकाले बिहान घाम झुल्किनुभन्दा अघि नै पूरै शरीर नदीमा डुबाएर दुःखलाई बगाउँछन्।

त्यसै दिनबाट मृतकका नाममा वर्ष दिनसम्म बारेका खाने कुरा पनि खुल्छन्।

कसैले वर्ष दिनसम्म रातो टीका, दशैँतिहारको टीका बारेका हुन्छन् भने कसैले माछामासु, दहीदूध खान बारेका हुन्छन्।

नदीमा

कोहीकोही वर्ष दिनसम्म आमाको निधन भएको भए दूध र बुवा गुमाएको भए दही बार्छन्।

धेरैजसोले ४५ दिनसम्म दुःख बोकेर खुलाउँछन्।

गत कार्तिक १७ गते भूकम्पमा परेर ज्यान गुमाएका चिउरी गाउँमा १३ जनाका आफन्तले भने २५ दिनसम्म दुःख बोकेको एक आफन्त पटवीर बिकले बताए।

“जस्तो अवस्था आइपर्दा पनि पुरानो रीतिरिवाज छोड्न सकेका छैनौँ,” उनले भने।

गाउँदेखि तल भेरी नदीको किनारमा चिउरीवासीको मसानघाट रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।