एक महिला गर्भवती हुँदा उनले रुचाएको यो चक्लेट एकाएक 'भाइरल' बन्यो

तस्बिर स्रोत, Getty Images
- Author, एनबेल र्याकम
- Role, संस्कृति संवाददाता
गत साता संयुक्त अरब एमिरेट्स (यूएई)मा बिदा मनाउन गएका बेला मेरो दिमागमा एउटै कुरा थियो - 'भाइरल' "दुबई चक्लेट" खाने।
यदि तपाईँ टिकटक चलाउनुहुन्छ भने तपाईँले पक्कै चक्लेट, पिस्ता र तिलसहितको 'फीलो पेस्ट्री' भएको 'बार' देखेको हुनुपर्छ। यो अरेबिक मिठाइ 'क्यानफे'बाट प्रभावित भएर बनाइएको मानिन्छ।
'फिक्स चक्लेटिअर'को उत्पादन "कान्ट गेट क्यानफे अफ इट" नामक यो चक्लेट सन् २०२२ देखि यूएईमा मात्र बिक्री भइरहेको थियो।
यो सामाजिक सञ्जालमा यति चर्चित भएको थियो कि यो दिनको दुई घण्टा मात्र बिक्रीमा रहँदा पनि कहिलेकाहीँ केही मिनेटमै बिक्री भइसक्थ्यो।
तर "दुबई चक्लेट" नाम दिइएका नक्कल गरिएका चक्लेट बारहरू अब वेट्रोज, लिडल र मरिसन्सलगायत यूकेका सूपरमार्केटहरूमा पुगेका छन्। केही सूपरमार्केटहरूले त ग्राहकहरूलाई किन्न अनुमति दिइएका बारहरूको सङ्ख्या सीमित गरेका छन्।
मौलिक चक्लेटको ख्यातिसँगै 'नक्कली'को बिगबिगी

तस्बिर स्रोत, Sarah Hamouda/Yezen Alani
आफ्नी श्रीमती सारा हमौदासँग मिलेर फिक्स कम्पनी सुरु गरेका एजेन अलानीले बीबीसीसँग कुरा गर्दै दुबई चक्लेटले विश्वव्यापी रूपमा ध्यान खिचिरहेको बताए।
हमौदाले सन् २०२१ मा पहिलो पटक फिक्स चक्लेटको कल्पना गरेकी थिइन्। त्यति बेला उनी गर्भवती थिइन्।
अलानी र हमौदाले त्यसको एक वर्षपछि आफ्नो व्यावसायिक जागिरसँगै चक्लेटको व्यापार थाले।
"सारा र म यूकेमा हुर्किएका हौँ तर १० वर्षअघि दुबई सर्यौँ, त्यसैले हामी पश्चिमा र अरब दुवै हौँ।
"हामी त्यसैबाट प्रभावित भएर चक्लेटको स्वाद बनाउन चाहन्थ्यौँ," अलानीले भने।
यो चक्लेटप्रतिको मोहको कारण यो सहजै नपाइनु पनि हो। खाना 'डेलिभर' गर्ने एपमार्फत् मात्रै यो चक्लेट अर्डर गर्न सकिन्छ, सीधै सूपरमार्केटमा गएर किन्न पाइँदैन।
यो चक्लेटको मूल्य करिब १५ पाउन्ड पर्छ र दिनको विशेष समयमा मात्रै किन्न पाइन्छ। चक्लेटको माग पूर्ति गर्न कम्पनीले यस्तो गरेको हो।
तर मैले "दुबई चक्लेट" नाम लेखिएको उस्तै खाले चक्लेटहरू यो क्षेत्रका कयौँ पसलहरूमा बिक्रीमा राखेको देखेकी छु।
अलानी "मानिसहरूले नक्कल गर्ने प्रयास गर्दा हाम्रो ब्र्यान्डलाई हानि पुर्याउने हुँदा धेरै निराश भएको" बताउँछन्।
आकर्षणका कारण

तस्बिर स्रोत, Getty Images
यो चकलेटको चर्चा बढ्नुको एउटा कारण भनेको सन् २०२३ मा टिकटक प्रयोगकर्ता मारिया भेहेराको एउटा 'भाइरल' भिडिओ हो।
उक्त भिडिओमा भेहेराले क्यानफे खाइरहेको देखिन्छ। त्यहाँ चक्लेट बनाउने उही कम्पनीका अन्य कैयौँ चक्लेटहरू पनि छन्। उक्त भिडिओमा लगभग सात करोड 'लाइक' देखिन्छ।
यो चक्लेट बार सामाजिक सञ्जालका लागि बनाइएको हो जस्तो देखिन्छ - चक्लेट भाँच्दा आउने आवाज पनि ध्यान खिच्ने खालको छ र चिल्लो मिल्क चक्लेटको माथि सुन्तला रङ्ग र पिस्ताको हरियो रङ्ग आकर्षक देखिन्छ।
चक्लेटमा पिस्ता हुनु नयाँ कुरा होइन तर के कुराले यो अलग देखिएको छ भने चक्लेटभित्र हालिएको पेस्ट्रीले यो 'कुरुमकुरुम' र बाक्लो देखिन्छ।
आआफ्नै किसिम

तस्बिर स्रोत, Getty Images
'कान्ट गेट क्यानफे अफ इट' बार एउटा मात्रै देशमा पाइने भएका कारण अन्य ब्र्यान्डहरूले आफ्नैखाले चक्लेटहरू यूकेमा बेच्न थालेका छन्। त्यसमा स्विट्जरल्यान्डको लिन्ड्ट चक्लेट पनि रहेको छ र उसले सूपरमार्केटहरूमा दुबई चक्लेट १० पाउन्डमा बिक्री गरिरहेको छ।
वेट्रोजले आफूले उपभोक्ताका लागि दुई वटा बारको सीमा तय गरेको जनाएको छ। होम बार्गेन्सले पनि यस्तै तर अर्को चक्लेट बेच्न थालेको छ जबकि लिडल सूपरमार्केटले ४.९९ पाउन्डको आफ्नै संस्करण राखेको छ र बिक्री गर्ने सङ्ख्या सीमित पारेको छ।
एक जना इन्फ्लुअन्सरले कसरी त्यही कारण चक्लेटलाई पछाडि राखिएको छ भनेर पनि एक सामग्री बनाएका छन्।
लिन्ड्टको 'दुबई चक्लेट' र ससाना पसलहरूमा बेचिने अन्य केही चक्लेट हरू खाँदा भिन्नता स्पष्ट हुन्छ।
फिक्स चक्लेट "डिजर्ट बार" का रूपमा बिलिङ गरिन्छ र यसलाई फ्रिजमा राख्नुपर्छ। त्यसमा पनि अन्य दूधजन्य सामग्रीमा जस्तै प्रयोग गरिसक्नुपर्ने मिति नजिकै हुन्छ।
स्वाद र चक्लेटको बनोटमा पनि भिन्नता देख्न सकिन्छ - सक्कली चक्लेट बारको चौडाइ लिन्ड्ट चक्लेट बारको भन्दा करिब दोबर हुन्छ।
व्यापार वृद्धि
जब अलानी र हमौदाले व्यवसाय सुरु गर्दा दैनिक छसात वटा चक्लेटको माग पूरा गर्न एक जना मानिसलाई काम दिएका थिए। तर टिकटकमा देखा परेर चर्चा पाएसँगै उनीहरूको व्यापार अहिले बढेको छ र ५० जना मानिसहरू काम गर्छन् र उनीहरूले दैनिक ५०० वटा चक्लेटको माग पूरा गर्छन्।
यो चक्लेटबारे कुरा गरिने अर्को कारण भनेको यसको मूल्य हो। एउटा चक्लेट १५ पाउन्ड पर्छ।
"यो हातैले बनाइएको हो र प्रत्येक डिजाइन हातैले गरिएको हो," अलानीले भने।
"हामी उच्च स्तरका सामग्रीहरू प्रयोग गर्छौँ र उत्पादनपछिका अन्य काम पनि अन्य चक्लेटहरू बनाएजस्तो होइन - 'बेकिङ' गर्नुपर्छ, चक्लेटलाई आकार दिनुपर्छ र त्यो भर्नु पनि पर्छ। पिस्ता पनि हातैले टिपेर प्रशोधन गरिएको हो।"
गत वर्ष 'अरेबिअन बिज्निस' सँग कुरा गर्दै हमौदाले भनिन्, "मेरी आमाले क्यानफे बनाउने गर्नुहुन्थ्यो र त्यो म आफ्नै तरिकाले बनाउन चाहन्थेँ।
"हामीले पहिला राम्ररी बनाएको भनेको क्यानफे हो। त्यसका लागि पिस्ता पनि मात्रा मिलाएर हाल्नु थियो," उनले भनिन्।
चक्लेट एकदमै सफल भए पनि अलानी "यो यात्रा कठिन भएको" बताउँछिन्। उनीहरू दुई सन्तान हुर्काउँदै यसमा पूरै समय काम गरिरहेका थिए।
"कहिलेकाहीँ हामी यो छोड्न चाहन्थ्यौँ तर फेरि "भाडा तिर्न सकेसम्म हामीले काम जारी राख्नुपर्छ" भनेर आफैँलाई सम्झायौँ। अहिले हामीलाई कुनै पछुतो छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








