नयाँ वर्षको मुखमा युक्रेनमा 'रुसी स्यालड'बारे तर्कवितर्क हुनुको कारण

तस्बिर स्रोत, Getty Images
- Author, इलोना ह्रोम्लिक
- Role, बीबीसी युक्रेन
"रुसी" स्यालड अथवा "एन्स्यालड रसा" भनेर व्यापक रूपमा चिनिएको स्यालड तत्कालीन सोभियत सङ्घमा आबद्ध देशहरूमा "ओलिभिअर" भनेर चिनिन्छ।
पाकेको आलु, डिब्बाको मटरकोसा, अचार र मेइअनेइज (मायो) मिसाइएको यो स्यालड कुनै बेला नयाँ वर्षको पूर्वसन्ध्यामा तालिनदेखि भ्लादिभोस्टोकसम्मका टेबलमा हुने गर्थ्यो।
तर रुसले युक्रेनमाथि पूर्ण स्तरको अतिक्रमण गरेको तीन वर्ष पुग्दा अहिले उक्त स्यालडबारे सामाजिक सञ्जालमा विभिन्न तर्कवितर्क भइरहेको छ।
युक्रेनले 'डेड मोरोज' अथवा 'ग्र्यान्डफादर फ्रस्ट' भनेर चिनिने रुसी शैलीको स्यान्टा क्लाजलाई विद्यालयदेखि किन्डरगार्टेनहरूसम्ममा विस्थापित गरी सेन्ट निकोलास नाम राखेको छ। तर ओलिभिअरको हकमा चाहिँ अझ बढी जटिलता छ।
युक्रेनमा अझै ओलिभिअरको प्रचलनबारे फरक विचार राख्नेहरूले सोभियत सङ्घको "विरासत" र "सोभियत सङ्घको स्मारक आफ्नो टेबलमा राख्ने गरिएका" रूपमा व्याख्या गर्ने गरेका छन्।
तर अरू त्यसप्रति विमति राख्छन्। "किनकि त्यो केवल स्यालड हो र त्यो स्वादिष्ट हुन्छ," यसलाई निरन्तरता दिन चाहने एक युक्रेनीले भने।
"त्यससँग बाल्यकालदेखि जोडिएका यादहरू छन्।"
अरू मानिसहरू पनि त्यसलाई खान निरन्तरता दिन चाहन्छन्। तर त्यसको मुख्य हिस्सा हुने गरेको सोभियत मायोको सट्टा फरक किसिमका मासु अथवा च्याउ मिसाएर खाने पक्षमा उनीहरू छन्।
एउटा 'मिथक स्यालड'

तस्बिर स्रोत, Getty Images
कतिपय मानिसहरू ओलिभिअरको उत्पत्ति 'एकदमै रुसी' भएको बताउँछन्। तर अरू मानिसहरू त्यसमा विमति राख्छन् र भन्छन् - त्यसको आविष्कार त फ्रान्सका लुस्याँ ओलिभिअरले गरेका हुन्।
उनी जारिस्ट मस्कोमा जन्मिएका एक फ्रेन्च व्यक्तिको सन्तति भएको बताइन्छ र बाल्यकालमा उनको नाम निकोलाई थियो।
सन् १८६० को दशकमा उनले मस्कोमा प्रसिद्ध हार्मिटिज रेस्टुराँ चलाउँथे र व्यवस्थापनलाई प्रवर्द्धन गर्नका निम्ति उनले आफ्नो नाम लुस्याँ राखे।
एउटा विचारधाराका अनुसार फ्रेन्च परिकारहरूबारे ज्ञान भएका उनी एक अतिथि सेफ थिए, जुन कुरा जारिस्टकालमा चलनचल्तीमा थियो।
अर्को एउटा विचारका अनुसार ओलिभअरले वास्तविक रेसिपीबारे कसैलाई बताएनन्। यद्यपि त्यो सम्झनलाई सम्भवतः त्यति गाह्रो थिएन।
त्यो मूल रूपमा महँगो र विस्तृत स्यालड थियो। त्यसमा ग्राउस अर्थात् कालिजको मासु जुन त्यो परिकारको आधार हुन्थ्यो, आलु, पालुङ्गो, बट्टाईको अण्डा र झिँगे माछा, क्रेफिशको गर्धन, घिरौँला, जैतुन र जैतुनको तेलबाट बनेको प्रोभेनकल सस आदि मिसाइएको हुन्थ्यो।
सन् १९०५ मा हार्मिटिज रेस्टुराँ बन्द भयो र सन् १९१७ को रुसी विद्रोहपछि कालिज खानु बुर्जुवा हुनु जस्तो भयो।
ज्यानको खतरा महसुस गरेर धेरै मानिसहरू रुसी साम्राज्यबाट भागे। अनि उनीहरूले संयुक्त राज्य अमेरिका तथा युरोपमा ओलिभिअर बनाउन थाले, जहाँ उक्त स्यालडलाई अहिले पनि "रुसी" अथवा "मस्को" भनिन्छ।
कालिजको मासुको सट्टा सुँगुरको जिब्रो, चिकन अथवा मासु पनि स्यालडमा थपिन्छ, जुन कुरा लामो समयबाट अमेरिकामा प्रयोगमा रहेको छैन।
ओलिभिअर र सोभियत सङ्घ

तस्बिर स्रोत, Getty Images
ओलिभिअरका पूर्वविद्यार्थीमध्ये एक व्यक्तिको सुझावपछि सन् १९३९ मा सोभियत सङ्घमा फेरि टेबलहरूमा उक्त स्यालड फर्किन थाल्यो र द्वितीय विश्वयुद्धपछि लोकप्रिय भयो। त्यसको मुख्य हिस्सा अझै पनि मासु रह्यो।
तर सन् १९६० को दशकमा रेसिपीमा आमूल परिवर्तन भयो। चिकनको सट्टा प्रशोधित 'कोल्ड मीट' (जसको असामान्य नाम "डक्टर्स ससेज" हो), सबैभन्दा सजिलो र सबैले धान्न सक्ने चीजबीज बाँकी रहे- आलु, गाजर, प्याज, काँक्रोको अचार, अण्डा, डिब्बाको मटरकोसा र निश्चित रूपमा विलासी ठानिने मायो।
तर ती सामानहरू समेत सोभियत सङ्घमा सधैँ पाउन कठिन भएपछि विशेष अवसरमा मात्रै ओलिभिअर बनाउन थालियो।
(विन्टर, क्यापिटल अथवा मासु आदि विभिन्न नाम रहेको) यो परिकार जन्मदिन, वैवाहिक समारोह र जागिरमा बढुवा भएको बेला खाइन्छ।
परम्परागत रूपमा ओलिभअर चाहिँ रुसी क्रान्तिको वार्षिकोत्सवमा र नयाँ वर्षको दिन खाइन्थ्यो, जुन सोभियत सङ्घमा लामो बिदा दिइनेमध्येको समय थियो।
क्रिस्मसजस्ता धार्मिक तथा परम्परागत बिदाहरूमाथि प्रतिबन्ध लगाएर सोभियत सङ्घले चाडपर्वका नयाँ मितिहरू तोक्ने प्रयत्न गर्यो। जुन समय वरपर अरू गणतन्त्रका मानिसहरू "सोभियत नागरिकहरूसँग" भेटघाट गर्न सकून्, त्यस्तो बेला चाडपर्व तोक्ने प्रयत्न भयो।
सोभियत सङ्घ ढलेपछि जब खानेकुराहरू प्रचुर र परिकारहरू अझ विविधतायुक्त भए, तब नयाँ वर्षका बेला टेबलमा ओलिभिअरको स्थान म्याद गुज्रेका सामानको जस्तो भयो।
तर बिस्तारै पुराना यादहरू हावी हुँदै गए र उक्त परिकार पुनः अस्तित्वमा आयो।
पाककलासम्बन्धी एउटा रुसी वेबसाइटमा लेखिएको छ : यो स्यालड रुसमा चिसोको चाडबाडका बेला एउटा शक्तिशाली प्रतीक बनेको छ, "हाम्रो अगाडि यो एउटा स्यालड मात्रै होइन, बरु एउटा मिथक पात्र हो।"

तस्बिर स्रोत, Unian
सबैको टेबलमा हुँदैन
युक्रेनमा ओलिभिएर तुलनात्मक रूपमा लोकप्रिय रहिआएको छ। पारम्परिक रूपमा यसबारेका छलफलहरू स्यालडका लागि डिब्बाका मटरकोसा अथवा 'स्वीट्कर्न' के राम्रो हुन्छ भन्ने कुरामा सीमित रहे।
तर सन् २०१८ मा यो बदलिन थाल्यो, जब चर्चित युक्रेनी शेफ येभ्हेन क्लोपोटेन्कोले उक्त स्यालडलाई "एउटा सोभियतकालीन विरासत" भन्न थाले।
आफ्नो थालीमा "सोभियत सङ्घ" हेर्न नचाहेको भन्दै क्लोपोटेन्कोले नयाँ वर्षको पूर्वसन्धन्यामा उक्त स्यालड बनाउन अस्वीकार गरे।
"त्यो त जेलबाट निस्कने तर जेलको खाना खाइरहने जस्तै भयो," उनले भने।
रुससँग जारी युद्धका कारण विस्थापित हुन बाध्य भएका युक्रेनीहरू युक्रेनबाहिर ओलिभिअर अझै पनि रुसी स्यालड भनेर चिनाउने गरिएको देखेर आश्चर्यचकित हुन्छन्।

तस्बिर स्रोत, YouTube
ओलिभिअरविरुद्ध बोल्नेमध्ये ज्यापोरिज्याका यूट्युबर एन्टोन नाजारेन्को एक हुन्।
पूर्ण स्तरको अतिक्रमणका बेला उनले रुसी भाषामा सामग्री बनाउन छोडे र त्यसपछि उनको ध्यान स्यालडतिर गयो।
तर कतिपयका लागि यो कुरा कत्तिको गाह्रो हुन सक्छ भन्ने कुरा उनी स्वीकार्छन्।
"तपाईँले हेर्दै नहेर्नुभएको रुसी ओपरा अथवा तपाईँले नहेर्नुभएका रुसी चलचित्रहरू छोड्न सजिलो हुन्छ। तर जब ओलिभिअर जस्तो चिरपरिचित कुरा आउँछ, त्यससँग जोडिएर आउने भावनात्मक कुरा अझ ठूलो हुन्छ," बीबीसीसँग उनले भने।
अरू के छ त्यहाँ?
चेर्निभ्त्सीकी तेत्याना मार्ट्सेन्युक ओलिभिअरले आफूमा नकारात्मक भावहरू जगाउने गरेको बताउँछिन्।
उनको जन्म सन् १९९३ मा भएको हो र उनका लागि यो स्यालड पुराना यादहरूसँग जोडिएको परिकार भएन, जति सन् १९९० को दशकको तथाकथित भोकमरीले सोभियतकालपछिको याद दिलाउँछ।
"यो कुरा त्यस बेला थियो जति बेला जनसङ्ख्याको एउटा हिस्साले मानसिक रूपमा अतीतसँग सम्बन्ध तोड्न सकेको थियो," बीबीसीसँग उनले भनिन्।

तस्बिर स्रोत, Getty Images
तर समस्या के छ भने जब मार्ट्सेन्युक हुर्किइन् र नयाँ वर्ष मनाउने बेला ओलिभिअर बनाउन छोडिन् तब त्यसलाई के कुराले विस्थापित गर्ने भन्ने कुरा उनले थाहा पाइनन्।
क्रिस्मसमा युक्रेनीहरूकै आफ्नै कैयौँ परम्परालाई चर्चित बनाउन सकिन्छ। उदाहरणका लागि टेबलमा लेन्टेनका १२ वटा परिकारहरू सजाउन सकिन्छ, अथवा पहिलो तारा देखिने बेला खानका लागि बस्न सकिन्छ।
के अरूलाई सम्झाउनुको अर्थ छ?

तस्बिर स्रोत, ВВС
खाद्यसंस्कृतिसम्बन्धी अध्येता ओलेना ब्रायचेन्कोको विचारमा ओलिभिअरबारेका तर्कवितर्क प्रत्युत्पादक हुन सक्छन्।
नयाँ पुस्तामा ओलिभिअरप्रति "एकदमै राम्रो" धारणा छ, टेलिग्राममा उनले लेखेकी छन्। "र हामीले केही नयाँ अनि आधुनिक दिनुको सट्टा उनीहरूलाई अतीत सम्झाउँछौँ।"
'हाउ वी ईट' पड्कास्टमा ब्रायचेन्कोले सोभियत सङ्घकालीन स्यालड अब पहिचानयोग्य नरहेको भनेकी छिन्। हिजोआज ओलिभिअर जुनसुकै सूपरमार्केटमा बिक्री हुन्छ।
"खास गरी ओलिभिअरका लागि किनिएको डिब्बाको मटरकोसाले… यो स्यालडलाई विशेष कुरामा परिणत गर्यो। हिजोआज डिब्बाको मटरकोसा जहाँ पनि किन्न सकिन्छ। अतः यो परिकारको कुरा होइन, बानीको कुरा हो," उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








