प्रतिबन्धबीच रुसलाई 'प्रविधि' बेच्दै चिनियाँ कम्पनीहरू

तस्बिर स्रोत, Getty Images
- Author, ज्याक लाऊ
- Role, बीबीसी ग्लोबल चाइना यूनिट
बीबीसी विश्व सेवाको एउटा विश्लेषणले चिनियाँ कम्पनीहरूले सैन्य हतियार बनाउन आवश्यक पर्ने संवेदनशील प्रविधिहरू रुसलाई बेच्न प्रतिबन्धहरूलाई छलिराखेका पत्ता लगाएको छ।
तीमध्ये एउटा 'सिनो इलेक्ट्रोनिक्स'ले सन् २०२२ को सेप्टेम्बरमा अमेरिकाले आफूलाई प्रतिबन्धको सूचीमा राखेयता मात्रै झन्डै २० करोड डलरबराबरको सामग्री रुस पठाएको छ।
'सिनो नेटवर्क'ले पठाएका 'माइक्रोचिप्स','क्यामेरा' र 'न्याभिगेशन उपकरण' जस्ता प्राविधिक सामग्रीहरू युक्रेनको युद्धमा प्रयोग हुने रुसी हतियारहरूका निम्ति महत्त्वपूर्ण छन्।
अमेरिकी प्रतिबन्धको प्रभावकारितामा प्रश्न
बीबीसीको निष्कर्षले आफ्ना हतियारका निम्ति आवश्यक पर्ने सामग्रीहरू सुनिश्चित गर्ने रुसको क्षमतालाई सीमित गर्ने योजनासहित लगाइएको अमेरिकी प्रतिबन्धको प्रभावकारिताबारे प्रश्न उठाएको छ।
यस्ता प्रतिबन्धहरूको उद्देश्य रुससँग काम गरिरहेका कम्पनीहरूलाई निरुत्साहित गर्नु र गरिराखेकालाई दण्डित गर्नु हो। त्यसका निम्ति यसले उनीहरूलाई अमेरिकी वित्त प्रणालीबाट निकालेर विश्वस्तर र चीनमा व्यापार गर्न गम्भीर कठिनाइ उत्पन्न गराउने उद्देश्य राख्दछ।
तर बीबीसीले केही प्रतिबन्धित कम्पनीहरूले रुससँग ठूलो स्तरमा व्यापार गर्नका निम्ति कसरी सजायलाई छलिराखेका छन् भन्ने पत्ता लगाएको छ।
'इम्पोर्ट-जीनिअस' नामक व्यापारको तथ्याङ्क राख्ने एक अमेरिकी संस्थामार्फत् प्राप्त रुसको भन्सार विवरणहरूबारे बीबीसीले गरेको विश्लेषणले सन् २०२२ को अक्टोबरदेखि २०२४ को एप्रिलका बीचमा 'सिनो नेटवर्क'ले संवेदनशील वस्तुका करिब २५,००० खेप रुस पठाएको देखाएको छ।
उच्चस्तरका क्षेप्यास्त्र तथा ड्रोनसहितका विभिन्न किसिमका हतियारहरूमा प्रयोग गरिने 'माइक्रोचिप्स'हरूले ती खेपका ७६ प्रतिशत हिस्सा ओगटेका छन्।
घरेलु उत्पादनको सीमितताका कारण रुस 'माइक्रोचिप्स' का निम्ति आयातमा निर्भर छ। 'माइक्रोचिप्स'का ठूला उत्पादकहरू ताइवान, दक्षिण कोरिया, चीन र अमेरिकामा छन्।
'सिनो नेटवर्क'ले रुस पठाएका करोडौँ डलर बराबरका 'चिप्स'हरू अमेरिकी उत्पादन भएका बीबीसीले पत्ता लगाएको छ। रुसी ड्रोन तथा 'क्रुज' क्षेप्यास्त्रहरूमा युक्रेनी सेनाले 'टेक्सस इन्स्ट्रमन्ट्स' र 'एनलग डिभाइसेस' सहितका ब्र्यान्डहरू फेला पारेको छ।
यसअघि ती कम्पनीहरूले आफूद्वारा निर्मित 'चिप्स'हरू धेरै पटक बिक्री र पुन:बिक्री भएका कारण अन्तत: कहाँ पुग्यो भनेर अनुगमन गर्न कठिन हुने बताएका थिए। तर यी दुवै कम्पनीले आफ्ना प्रविधिहरू रुसी अस्त्रहरू बनाउने ठाउँसम्म नपुगून् भन्ने सुनिश्चित गर्न पर्याप्त कार्य नगरेको भन्दै अमेरिकी सांसदहरूको आलोचनाको सामना गरेका छन्।
'टेक्सस इन्स्ट्रमन्ट्स' र 'एनलग डिभाइसेस'ले बीबीसीसँग आफूहरू आफ्ना उत्पादनहरू "अवैध तवरले रुस पठाउने" र त्यसको "दुरुपयोग" गर्ने कार्यको कडा विपक्षमा रहेको बताएका छन्।
'सिनो' हाँक्ने श्रीमान्श्रीमती
लिन चिङ र उनकी पत्नी पेङ मिन्बोले 'सिनो इलेक्ट्रोनिक्स' हाँक्छन् र 'सिनो नेटवर्क'मा उनीहरूको नाम प्रमुखताका साथ आउँछ।
लिन 'सिनो नेटवर्क' अन्तर्गतका तीनवटा कम्पनीका निर्देशक तथा शेअरधनी हुन् भने उनकी पत्नी पेङ अन्य दुई कम्पनीको शेअरधनी भएको बीबीसीको विश्लेषणले पत्ता लगाएको छ।
यीमध्ये केही कम्पनीहरूका कार्यालयका ठेगाना एउटै छ भने नाम पनि उस्तै छन्। 'सिनो इलेक्ट्रोनिक्स' प्रतिबन्धमा परेयता मात्रै पेङले आफ्नै वा सञ्जालका अन्य कम्पनीहरूको नामबाट करिब २ करोड साठी लाख डलर मूल्यबराबरका अमेरिकामा उत्पादित 'चिप्स' तथा अन्य प्रविधि रुस पठाएकी छन्।
'सिनो इलेक्ट्रोनिक्स'ले यसै वर्षको एप्रिलमा रुसमा भएको एउटा ठूलो 'इलेक्ट्रोनिक प्रदर्शनी'लाई पनि प्रायोजन गरेको थियो। उक्त प्रदर्शनीमा यी पतिपत्नी पनि सामेल भएका थिए।
बीबीसीले अनेक उपाय अपनाएर लिन र पेङ तथा अन्य कम्पनीहरूसँग सम्पर्क गर्ने कोसिस गर्यो, तर कुनै जबाफ प्राप्त भएन।
अलेक्जेन्डर डिमित्रेन्को बहुराष्ट्रिय कानुनी सेवा प्रदायक 'अशर्स्ट'का वकिल हुन् र कम्पनीहरूलाई प्रतिबन्ध र निर्यात नियन्त्रणहरूबारे सल्लाह दिने गर्छन्। उनका अनुसार कुनै कम्पनीको नाम र ठेगाना अमेरिकी प्रतिबन्धको सूचीमा भएका कुनै कम्पनीसँग असाध्यै मिल्दोजुल्दो छ भने त्यो "सतर्क हुनुपर्ने विषय" हो।
उनले बताएअनुसार नयाँनयाँ 'मश्रूम कम्पनीहरू' निस्कनु सामान्य भए पनि यो कम्पनी भने आधारभूत रूपमै अर्कोसँग दुरुस्त छ।
यी नयाँ कम्पनीहरू प्रतिबन्धको दायरामा नआउने भएकाले प्रतिबन्धित कम्पनीका तर्फबाट सामानहरू बेच्न, ढुवानी गर्न र उत्पादन गर्न सक्षम हुने उनी बताउँछन्।
बेइजिङको बेवास्ता?

तस्बिर स्रोत, Reuters
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध पूर्ण स्तरको आक्रमण थालेयता महत्त्वपूर्ण सामग्रीहरू उपलब्ध गराएर चीन मस्कोको 'वार मशीन' अर्थात् युद्धका निम्ति महत्त्वपूर्ण सामग्री उपलब्ध गराउने स्रोत बनेको वाशिङ्ग्टनले आरोप लगाउने गरेको छ।
चिनियाँ कम्पनीहरूलाई मुख्य प्रविधिहरू रुसलाई आपूर्ति गर्नबाट रोक्न अमेरिकाले धेरै चरणमा प्रतिबन्धहरू लगाएको छ।
बेइजिङले रुसलाई सघाएको आरोप बारम्बार अस्वीकार गर्दै युक्रेनमा शान्ति र छलफलका निम्ति आह्वान गरेको छ।
बीबीसीलाई प्रतिक्रिया दिँदै लन्डनस्थित चिनियाँ दूतावासले आफ्नो देशले "दोहोरो प्रयोगका वस्तुमा कडा निर्यात नियन्त्रणको अभ्यास गर्ने" जनाएको छ।
गत अक्टोबरमा अमेरिकी अर्थ मन्त्रालयले अघिल्ला प्रतिबन्धहरू छल्दै आएका २७५ भन्दा धेरै "व्यक्ति तथा संस्थाहरूमाथि" प्रतिबन्ध लगाएको थियो।
तिनमा 'सिनो नेटवर्क'अन्तर्गतका लिन र पेङका अन्य कम्पनीहरू पनि पर्छन्।
यी प्रतिबन्धहरूले अमेरिकी भूमिमा भएका उनीहरूको सम्पत्ति रोक्का गर्छन्। अझै महत्त्वपूर्ण कुरा के छ भने यी प्रतिबन्धले अमेरिकी ब्याङ्कहरूलाई प्रतिबन्धमा परेकाहरूलाई रकम तथा सेवा उपलब्ध गराउन पनि रोक लगाउँछन्।
व्यवहारत: यसको अर्थ के हो भने ती कम्पनीहरूलाई चिनियाँ ब्याङ्कहरूसँग काम गर्न पनि कठिन हुन्छ किनकि उनीहरू आफू अमेरिकाको प्रतिबन्धमा पर्न चाहँदैनन्।
"उक्त सूचीमा कोही पनि पर्न चाहँदैन," दिमित्रेन्को भन्छन्, "कुनै पनि मुख्य ब्याङ्कहरूले काम गर्ने छैनन्, कुनै पनि ग्राहकले काम गर्ने छैनन्।"
तर त्यो विश्वस्तरको महत्त्वाकाङ्क्षा भएका कम्पनीहरूका निम्ति मात्रै समस्याको विषय हो, जसले अमेरिकी वित्त प्रणालीबाट काटिँदा धेरै कुरा गुमाउनुपर्ने हुन्छ।
दिमित्रेन्कोका अनुसार अमेरिकी नियामकहरूलाई रुस र चीनबीच व्यापार गर्दै आएका ससाना कम्पनीहरूको निर्यातमाथि नियन्त्रण गर्न कठिन भइरहेको छ। त्यसमा पनि सहजै नाम तथा विवरणहरू फेर्न सक्ने कम्पनीहरूमाथि कडाइ गर्न गाह्रो भइरहेको उनले बताए।
कसरी भइरहेको छ कारोबार
बीबीसीले अक्टोबरमा हङकङमा भएको विद्युतीय सामग्री प्रदर्शनीका क्रममा प्रतिबन्धमा नपरेका केही चिनियाँ 'माइक्रोइलेक्ट्रोनिक' कम्पनीहरूका बिक्री प्रबन्धकहरूसँग कुरा गरेको थियो। त्यस क्रममा उनीहरूले प्रतिबन्धलाई छल्दै कसरी आफ्नो व्यवसाय सञ्चालन गर्छन् भने खुलाए।
नाम नखुलाउने गरी बीबीसीसँग कुरा गरेकी एक जनाले उनको कम्पनीका अधिकांश रुसी ग्राहकहरूले तेस्रो पक्षका कम्पनीहरू (उदाहरणका निम्ति : किर्गिस्तान वा हङकङका बिचौलिया)मार्फत् भुक्तानी गर्ने गरेको बताइन्।
उनले आफ्नो कम्पनीले सरकारी स्वामित्वको रुसी ब्याङ्क 'भीटीबी ब्याङ्क'को शाङ्घाई शाखाको प्रयोग समेत गर्ने गरेको बताइन्। रुसले पूर्ण स्तरको आक्रमण थालेपछि सन् २०२२ को फेब्रुअरी २४ यता अमेरिकी वित्तीय प्रणालीमा रहेका 'भीटीबी'का सम्पत्तिहरू रोक्का भएका छन्।
मस्कोस्थित 'भीटीबी'को सञ्चारसमूहसँग बीबीसीले सम्पर्क गर्दा उनीहरूले यसबारे कुनै जानकारी उपलब्ध गराउन नसकिने बताए।
त्यस्तै 'प्रिन्टेड सर्किट बोर्ड'हरू रुस निर्यात गर्दै आएको कम्पनीमा काम गर्दै आएकी अर्की बिक्री प्रबन्धकले ती सामग्रीहरू जहाज वा पश्चिम चीनको सिन्जियाङ क्षेत्रबाट अन्तरसीमा मोटरमार्गमार्फत् 'लरी'हरूमा हालेर पठाइने गरेको बताइन्।
यसरी पठाइने सामग्रीको अन्तिम गन्तव्य यी कम्पनीका चासोका विषय होइनन्।
उनले बताएअनुसार यी सामान हतियार बनाउन प्रयोग गरिन्छ कि गरिँदैन भन्ने कुरामा उनका मालिक टाउको दुखाउँदैनन् : "मुख्य कुरा भनेको व्यवसाय हो।"
अतिरिक्त रिपोर्टिङ : ओल्गा शामिना
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




