रुस-युक्रेन युद्धमा शान्ति सम्झौताका सम्भावना केकस्ता छन्?

तस्बिर स्रोत, Getty
- Author, अक्साना टोरप
- Role, बीबीसी न्यूज युक्रेनिअन
- Reporting from, किएभ
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले "एक दिनमै रुस-युक्रेन युद्ध अन्त्य गरिदिनेई वाचा गरेका थिए। तर त्यसयता धेरै घटनाक्रम विकसित भएका छन्।
'अट्याकम्स' क्षेप्यास्त्र र जमिनमुनि गाडेर राखिने विस्फोटक अस्त्र 'ल्यान्ड्माइन' प्रयोग गर्न अनुमति पाएको युक्रेनले रुसले दक्षिणी सहर डिनिप्रोमा बिहीवार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) गरेको बताएको छ।
यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र 'आईसीबीएम' नभई 'ओरेश्निक' नामक “नयाँ परम्परागत मध्यम दूरीको क्षेप्यास्त्र” प्रहार गरिएको दाबी गरेका छन्। युक्रेनले अमेरिका र यूकेले उपलब्ध गराएका हतियार प्रयोग गरेर आफ्नो भूमिमा आक्रमण गरेको जबाफ दिन रुसले त्यसो गरेको पुटिनको भनाइ छ।
यी घटनाक्रमको विकाससँगै युद्धमोर्चाको स्थिति भिन्न भएका बेला शीघ्र शान्ति सम्झौता हुने सम्भावना के कस्ता छन्?
चुनावी अभियानका क्रममा ट्रम्पले उनले कसरी युद्धको अन्त्य गर्ने छन् भन्नेबारे विस्तृतमा बताएका थिएनन्। धेरै विश्लेषकहरू द्वन्द्व टुङ्ग्याउने उपायहरूको विकास गर्नेतर्फ काम भइरहेको विश्वास गर्छन्।
ट्रम्पले आफ्नो कार्यकालको सुरुमै युक्रेन र रुसलाई वार्ताको टेबलमा ल्याउने प्रयत्न गर्नेछन् भन्ने किएभको पूर्वानुमान छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समेत घुमाउरो तरिकाले 'कूटनीतिक माध्यमहरू'मार्फत् अर्को वर्ष युद्ध टुङ्ग्याउनेबारे बोलेका छन्।
यो बेला यस्तो वक्तव्य आउनुको अर्थ के हो, त्यस्ता छलफलबाट के अपेक्षा गर्न सकिन्छ र १,२०० किमि लामो अग्रमोर्चाले त्यसमा के प्रभाव पार्ला?
अग्रमोर्चाको अवस्था : रुसी सेना अघि बढ्दै
सबै मोर्चामा अग्रता कायम गरिराखेका कारण रणभूमिको परिणाम रुसको पक्षमा गइरहेको देखिएको छ।
पूर्वी डोन्बास क्षेत्रमा प्रगति गरिराखेका रुसी सैन्यहरू उत्तरपूर्वमा खारकिभको कुप्यान्स्क नगरतर्फ अघि बढिराखेका छन्। उक्त स्थान दक्षिणपूर्वको ठूलो क्षेत्रीय केन्द्र हो।
यो वर्षको अक्टोबरमा रुस युक्रेनको अतिरिक्त पाँच सय वर्ग किमि हात पार्न सफल भयो। यो उसको सन् २०२२ को मार्चयताको महत्त्वपूर्ण सफलता थियो।
राष्ट्रपति जेलेन्स्कीका अनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त सिमानाभित्रको युक्रेनको भूमिमध्ये २७ प्रतिशत हाल रुसको नियन्त्रणमा छ। त्यसमा क्राइमिया तथा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएका देशका पूर्वी भूभागसमेत पर्छन्।
युक्रेनका सुमी, खारकिभ, ओडेसा तथा किएभमा दैनिक रूपमा घातक बम तथा विस्फोटक बोकेका ड्रोनहरूमार्फत् हमला भइराखेका छन्।
रुसले उत्तर कोरियाली सेना खटाएर कुर्स्क क्षेत्रमा ठूलो स्तरको प्रतिरक्षात्मक कारबाहीको तयारी गरिराखेको विवरणहरू आएका छन्। आकस्मिक अन्तरसीमा आक्रमणमार्फत् युक्रेनले गत अगस्टदेखि उक्त हिस्सामा नियन्त्रण जमाएको छ र सम्भावित शान्तिवार्ताका निम्ति लेनदेनको उपायका रूपमा त्यसको व्यवस्थापन गरिराखेको छ।
रुस पनि शक्तिकै बलमा लेनदेन गर्ने कोसिसमा छ। बीबीसीले कुरा गरेका युक्रेनी विश्लेषक तथा सैन्य प्रतिनिधिहरू सन् २०२५ को ज्यानुअरीमा ट्रम्प सत्तामा आएसँगै युद्धविराम वार्ता सुरु हुनु सक्ने भएकाले त्यसका निम्ति काम लाग्ने ठानेर क्रेम्लिन सक्दो युक्रेनी भूमि हडप्ने हतारोमा रहेको बताउँछन्।
पुटिन डोनेत्स्क र लुहान्स्क क्षेत्रको सीमासम्मै वा अझै अघि बढेर जापोरिज्झियाजस्तै अर्को क्षेत्रीय राजधानी कब्जा गर्न चाहन्छन् भन्ने व्यापक बुझाइ छ।
'अट्याकम्स' र 'ल्यान्डमाइन'ले स्थितिमा फेरबदल ल्याउन सक्छन्?
युक्रेनलाई आफूद्वारा आपूर्ति गरिएका 'अट्याकम्स' क्षेप्यास्त्र रुसविरुद्ध प्रयोग गर्न दिने बाइडन नेतृत्वको बिदा हुँदै गरेको अमेरिकी प्रशासनको निर्णयसँगै युद्धको स्थितिमा नयाँ मोड आएको छ।
यसअघि पनि क्राइमिया र पूर्वी युक्रेनमा हमला गर्नका निम्ति युक्रेनलाई 'अट्याकम्स' क्षेप्यास्त्र दिइएको थियो। युक्रेनी भूमिका रूपमा मान्यताप्राप्त ती क्षेत्र हाल रुसको कब्जामा छन्।
यसै साताको सुरुमा राष्ट्रपति बाइडनले अमेरिकी क्षेप्यास्त्र रुसका भित्री भूभागमा प्रयोग गर्न किएभलाई अनुमति दिएका थिए, जसलाई मस्कोले तनाव बढाउने र "आगोमा घिउ थप्ने कार्य" भनेको छ।
अधिकतम ३०० किमिसम्म प्रहार गर्न सक्ने 'अट्याकम्स' क्षेप्यास्त्रले युक्रेनलाई केही राहत दिए पनि त्यसले स्थितिलाई उसको पक्षमा नलैजाने विश्लेषकहरू विश्वास गर्छन्। उनीहरूका अनुसार युक्रेनलाई ती अस्त्र प्रयोग गर्न दिइने सम्भाव्यताको निम्ति तयारी गरिरहेको रुसले आफ्ना केही बन्दोबस्ती केन्द्रहरूलाई सीमा भन्दा केही पर सार्न समय पाएजस्तो देखिन्छ।
युक्रेनले रुसको १०० किमिभित्र अवस्थित सेनाको एउटा भण्डारण केन्द्रमा पहिलोपटक उक्त 'अट्याकम्स' क्षेप्यास्त्र प्रयोग गरेको बताइएको छ।
त्यस्तै अमेरिकाले युक्रेनलाई युक्रेनी भूमिमा मात्रै प्रयोग गर्ने र सघन बस्तीमा प्रयोग नगर्ने सर्तमा जमिनमुनि गाडेर राखिने विस्फोटक अस्त्र 'ल्यान्डमाइन' समेत उपलब्ध गराउने घोषणा गरेको छ।
रुसले जारी युद्धका क्रममा स्वयंद्वारा निर्मित 'माइन' को प्रयोग गर्दै आएको छ। रुसी 'माइन'हरू युक्रेनले प्राप्त गरेका अमेरिकी 'माइन'भन्दा भिन्न छन्। अमेरिकी 'माइन'हरू केही हप्तासम्म मात्रै सक्रिय रहने गरी बनाइएको छ भने रुसी 'माइन'हरू निस्क्रिय नपारेसम्म जोखिमयुक्त हुन्छन्। गएको साढे दुई वर्षमा करिब ३०० युक्रेनी नागरिकहरू 'माइन' दुर्घटनामा परी मारिएका छन्।
रेड क्रससहितका कैयौँ अन्तर्राष्ट्रिय मानवतावादी सङ्गठनहरूले यस्ता अस्त्रका विरोधमा अभियान चलाइराखेका छन्। यी अस्त्र "दीर्घकालसम्म मृत्यु, चोट र पीडा"को कारक बन्ने उनीहरूको तर्क छ।
युक्रेनलाई 'एन्टि–ट्याङ्क माइन'हरू उपलब्ध गराउँदै आएको अमेरिका हालसम्म 'एन्टि–पर्सनल माइन'हरू उपलब्ध गराउन अनिच्छुक रहँदै आएको थियो।
'अट्याकम्स'ले जस्तै यी हतियारहरूले युक्रेनी सेनालाई आक्रामक हुनुको साटो रक्षात्मक हुन सघाउने सम्भावना छ।
जनमतमा आएको परिवर्तन
युक्रेनले युद्धको अग्रमोर्चामा कठिनाइ भोगिरहँदा युक्रेनी समाजको जनमतमा पनि उल्लेख्य परिवर्तन देखिएको छ।
निरन्तरको बम प्रहारका घटना, विद्युत् नहुने स्थिति तथा सन् २०२२ को फेब्रुअरीदेखिका अनिदा रातहरूका कारण समग्रमा युक्रेनमा मानिसहरू लडाइँबाट थाकिसकेका छन्। जाडो याम नजिकिरहँदा उनीहरू त्रासमा बाँचिरहेका छन्। धेरैले यसपालीको जाडो सबैभन्दा कष्टकर हुने ठानेका छन्।
सर्वेक्षणहरूले युक्रेनले आफ्नो भूभाग गुमाउनु परेछ वा दीर्घकालसम्म सीमाको अवस्था के हुने भन्ने अनिश्चित नै रहन्छ भने पनि मानिसहरूका मनमा रुससँग शान्तिवार्ता गर्नु पर्छ भन्ने भावना पलाउन थालेको छ।
रजुम्भोभ सेन्टर नामको थिङ्क ट्याङ्कले अक्टोबरमा गरेको एउटा जनमत सर्वेक्षणले हरेक तीनमध्ये एक युक्रेनी नागरिक वार्ताको पक्षमा छन् भन्ने देखाएको छ। यो सङ्ख्या एक वर्षअघि हरेक पाँचमा एकजना थियो।
अक्टोबरकै अर्को एउटा सर्वेक्षणले बहुसङ्ख्यकले अझै युक्रेनले रुसलाई परास्त गर्ने विश्वास गरे पनि युक्रेनीहरू आफ्नो देशले अन्तत: जित हासिल गर्नेछ भन्नेबारे पहिलेझैँ ढुक्क नभएको देखाएको छ।

तस्बिर स्रोत, Getty Images
'ट्रम्पको योजना'को प्रतीक्षा
डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै धेरै पर्यवेक्षकहरू उनको रुस र युक्रेनसम्बन्धी शान्ति योजनाको विस्तृत विवरण सुन्ने प्रतीक्षामा छन्।
चुनावपछि उनका वक्तव्यहरू त्यति प्रष्ट छैनन्, जस्तै: "रुस र युक्रेनबारे हामी कडा काम गर्नेछौँ। यो रोकिनुपर्छ। रुस र युक्रेन रोकिनुपर्छ।"
त्यसपछि अमेरिकी सञ्चारमाध्यमहरूले 'ट्रम्पले पुटिनलाई टेलिफोन गरेको र रुसी राष्ट्रपतिलाई युद्ध नचर्काउन चेतावनी दिएको' भन्ने जस्ता विवरणहरू दिएका थिए तर क्रेम्लिनले त्यसको खण्डन गरेको छ।
युक्रेनी विज्ञहरू ट्रम्पको समूहले पहिलेदेखि नै काम गरिराखे पनि उनको योजना पूर्ण रूपमा विकसित नभइसकेको विश्वास गर्छन्।
अल्योना हेट्मानचुक "न्यू युरोप" नामको वैदेशिक नीतिसम्बन्धी युक्रेनी थिङ्क ट्याङ्ककी निर्देशक हुन्। उनका विचारमा अस्तित्वमा आएका यी अवधारणाहरूले यो वा त्यो तरिकाले द्वन्द्वलाई साम्य पार्ने सम्भावना छ।
"यसले युद्धको अग्रमोर्चालाई साम्य पार्न सक्छ। नेटोको सदस्यताको प्रश्नलाई स्थगित गराउन सक्छ। कमसेकम आर्थिक सहयोगलाई स्थगित गर्न सक्छ। सबै सबै कुरालाई साम्य पार्न सक्छ," हेट्मानचुक व्याख्या गर्छिन्।
उनी यो तरिका बाइडन प्रशासनको भन्दा धेरै भिन्न नभएको ठान्छिन्। एउटा भिन्नता भनेको डेमोक्र्याट्सहरू अमेरिकाले नभइ युक्रेनले वार्ताको पहल गर्नुपर्ने ठान्थे र त्यसबाहेक उनीहरूले युक्रेनलाई दीर्घकालीन आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका थिए।
डेमोक्र्याट्सभन्दा विपरीत, ट्रम्पले वार्ताको नेतृत्व गर्न युक्रेनका निम्ति विशेष दूत नियुक्त गर्न चाहेको मनसाय व्यक्त गरेका छन्। किएभले त्यसलाई दृढ सकारात्मक सङ्केत ठानेको छ। पहिलो कार्यकालमा ट्रम्पसँग अनुभवी कूटनीतिज्ञ कर्ट भोल्करजस्ता प्रतिनिधि थिए।
"हामीलाई ट्रम्पको कानसम्म नियमित पहुँच भएको प्रभावशाली 'मिस्टर युक्रेन'को खाँचो छ," हेट्मानचुक भन्छिन्।

तस्बिर स्रोत, Getty Images
युक्रेन र रुसले जारी युद्धसम्बन्धमा नयाँ अमेरिकी प्रशासनको पहिलो कदमको प्रतीक्षा गरिरहँदा कुनै पनि किसिमका सम्भावित शान्तिवार्ता जटिल र लामो हुन सक्ने भने सुनिश्चित छ।
द्वन्द्व समाधान गर्ने सन्दर्भमा दुवै देश र तिनका नेताहरू, राष्ट्रपतिद्वय जेलेन्स्की र पुटिनका धेरै कुरा दाउमा छन् र तिनीहरूको भविष्य उनीहरू भविष्यमा हुने कुनै पनि वार्ताबाट के कुरा हासिल गरेर बाहिर निस्कन सक्छन् भन्नेमा निर्भर गर्छ।
कोलाज : एन्जिलेना कोर्बा
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








