डोनल्ड ट्रम्प अब कहिले र कसरी राष्ट्रपति पदमा बस्छन्

तस्बिर स्रोत, Getty Images
- Author, जोर्ज बाउडन
- Role, बीबीसी न्यूज, वाशिङ्टन
रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प ऐतिहासिक जितसँगै पुनः अमेरिकी राष्ट्रपति बनेर ह्वाइट हाउस फर्किन लागेका छन्।
ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने ठानिएको थियो। तर मतदान सकिएपछि आएको परिणामबाट ट्रम्पको जित सुनिश्चित भएको देखायो।
संयुक्त राज्य अमेरिकाको इतिहासमा १३० वर्षभन्दा लामो समयपछि उनी राष्ट्रपति बनेर पुनः ह्वाइट हाउस फर्किने पहिलो व्यक्ति हुने छन्। अठहत्तर वर्षीय ट्रम्प उक्त पदमा निर्वाचित हुने अहिलेसम्मकै पाका व्यक्ति पनि हुन्।
अन्तिम परिणाम कहिले टुङ्गो लाग्छ
ट्रम्पलाई विश्वका कैयौँ नेताहरूले बधाई दिइसकेका छन्। कमला ह्यारिसले पनि पराजय स्वीकार गर्दै ट्रम्पलाई बधाई दिँदै सत्ता हस्तान्तरणमा सहयोग गर्ने वाचा गरेकी छन्।
तर निर्वाचनको औपचारिक परिणाम घोषणा हुन बाँकी नै छ।
मुख्य प्रतिस्पर्धा हुने ठानिएका 'स्विङ स्टेट' भनिने राज्यहरूमा नतिजा जता पनि ढल्किन सक्ने र त्यसबाट अन्तिम मतपरिणाम अनिश्चित हुन सक्ने अनुमान गरिएको थियो।
तर सोचेभन्दा पहिल्यै नोर्थ क्यारलाइना, जोर्जा, पेन्सिल्भेनिआ र विस्कन्सिन राज्यहरू रिपब्लिकन पार्टीको पोल्टामा गएको देखियो। पहिल्यैदेखि रिपब्लिकनको बलियो पकड भएका राज्यको पनि हिसाब गर्दा उनले राष्ट्रपतिका लागि चाहिने २७० इलेक्टोरल मत सजिलै नघाए।
बीबीसीको अमेरिकी प्रसारण साझेदार सीबीएसले डोनल्ड ट्रम्पलाई चुनाव सकिएपछि जीएमटी १०:३० बजे (५:३० ईएसटी) समग्र विजेताको रूपमा प्रक्षेपण गरेको थियो।
यद्यपि प्रत्येक राज्यमा विस्तृत परिणामको औपचारिक घोषणा हुन अझ कैयौँ दिन वा साता लाग्न सक्छ।
के डोनल्ड ट्रम्प राष्ट्रपति बनिसकेका हुन्
होइन। ट्रम्प राष्ट्रपति पदमा निर्वाचित मात्रै भएका हुन्। उनीसँगै उनका चुनावी सहयात्री जेडी भान्स उपराष्ट्रपति पदमा निर्वाचित भएका छन्।
ट्रम्पले सन् २०२५ को ज्यानुअरी २० (माघ ७ गते) सोमवार एउटा विशेष समारोहमा शपथ लिने छन्। त्यसलाई 'इनग्युरेशन' भनिन्छ।
त्यस बेलादेखि उनले कानुनी रूपमा राष्ट्रपतिको शक्ति र उत्तरदायित्व वहन गर्न पाउने छन्।
मतदान भएको दिन र शपथग्रहणको दिनसम्म के हुन्छ
अन्तिम परिणाममा प्रत्येक वैध मत समावेश भएपछि त्यसलाई 'इलेक्टोरल कलेज' भनिने निर्वाचक 'मण्डल' ले पुष्टि गर्छ।
उक्त प्रक्रियामा प्रत्येक राज्यमा निर्वाचक मण्डलले मतदान गर्छ। वाशिङ्टन डीसी र अमेरकाका ५० राज्यका आआफ्नै निर्वाचक मण्डल हुन्छन्। तिनमा हुने मत भने फरक हुन्छ।
सर्वसाधारण मतदाताको प्रत्यक्ष मतबाट निर्वाचित हुने निर्वाचक मण्डलसँग हुने 'इलेक्टोरल मत' सुनिश्चित गरेपछि मात्र राष्ट्रपति निर्वाचित हुन्छन्।

तस्बिर स्रोत, Getty Images
सामान्यतया राज्यका इलेक्टोरल कलेजले त्यहाँ बढी लोकप्रिय मत पाउने व्यक्तिलाई समर्थन गर्छ। डिसेम्बर १५ मा हुने भेलाबाट त्यसको निर्क्योल गरिन्छ।
इलेक्टोरल कलेज मतको गणना गरेर नयाँ राष्ट्रपतिको टुङ्गो लगाउन नयाँ अमेरिकी कङ्ग्रेसको बैठक ज्यानुअरी ६ बस्छ।
डोनल्ड ट्रम्पले हार स्वीकार गर्न नमानेपछि सन् २०२१ मा ट्रम्पका समर्थकहरूले त्यस्तै बैठकलाई रोक्ने प्रयासमा अमेरिकी संसद् भवनमा धावा बोलेका थिए।
संसद्मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उकासेको आरोपमा उनीविरुद्ध महाभियोग पनि दर्ता भएको थियो।
अब राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित दुई नेताले के गर्छन्
राष्ट्रपति र उपराष्ट्रपति पदमा निर्वाचित डोनल्ड ट्रम्प र जेडी भान्सले राष्ट्रपति जो बाइडनको प्रशासनबाट आफूमा सत्ता हस्तान्तरण गराउन आफ्नो विशेष टोलीसँग सहकार्य गर्छन्।
उनीहरूले आफ्ना नीतिगत प्राथमिकता पहिचान गर्छन्। उनीहरूले आफ्नो नयाँ प्रशासनका लागि उपयुक्त व्यक्तिहरू छनोट गर्दै सरकारको कामकारबाहीका लागि तयार पार्छन्।
अब ट्रम्प र उनको टोलीलाई वर्तमान खतरा र जारी सैन्य कारबाहीका राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा गोप्य जानकारीहरू पनि दिइने छ।
ट्रम्प र भान्स दुवै जानले गुप्तचर निकाय 'यूएस सीक्रेट सर्भिस' बाट स्वतः सुरक्षा पाउने छन्।
सामान्यतया पदासीन राष्ट्रपतिले आफ्नो उत्तराधिकारी निर्वाचित भएका व्यक्तिलाई ह्वाइट हाउसमा आमन्त्रित गर्छन्।
राष्ट्रपतिले आफ्ना उत्तराधिकारीको शपथग्रहण समारोहमा सहभागी भई शान्तिपूर्ण शक्ति हस्तान्तरणको सङ्केत पनि दिने चलन छ। यद्यपि सन् २०२० मा ट्रम्प बाइडनको 'इनग्युरेशन'मा अनुपस्थित थिए।
रोनल्ड रेगनले सुरु गरेको परम्परा अनुसरण गर्दै उनले नयाँ नेतृत्वका लागि एउटा हस्तलिखित टिपोट ओभल अफिसमा छाडेका थिए।
त्यस बेला राष्ट्रपति बाइडनले पत्रकारहरूलाई आफ्ना पूर्ववर्तीले "एउटा निकै सदाशययुक्त पत्र" छाडेको बताएका थिए।
शपथग्रहण गरेपछी नयाँ राष्ट्रपतिले तत्काल काम सुरु गर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








