ट्रम्पको पक्षमा २७० भन्दा बढी इलेक्टोरल कलेज मत, राष्ट्रपति 'बन्ने सुनिश्चित'

नोर्थ क्यारलाइना, जोर्जा, पेन्सिल्भेनिआ र विस्किन्सिनजस्ता महत्त्वपूर्ण 'स्विङ स्टेट' आफ्नो पक्षमा उभिएपछि डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित हुने निश्चित भएको छ। यद्यपि मतगणनाको अन्तिम र औपचारिक परिणाम घोषणा हुन बाँकी नै छ।

सारांश

  • डोनल्ड ट्रम्पले अमेरिकामा भएको राष्ट्रपति निर्वाचन जित्ने सुनिश्चित भएको छ, अब उनी ४७औँ राष्ट्रपतिका रूपमा ह्वाइट हाउस फर्किने छन्
  • निर्णायक हुने ठानिएका नोर्थ क्यारलाइना, जोर्जा, पेन्सिल्भेनिआ र विस्कन्सिनसहितका 'स्विङ स्टेट' उनको पक्षमा उभिएपछि उनको विजय पक्का भएको हो
  • यसअघि जितका लागि आवश्यक २७० 'इलेक्टोरल कलेज मत' नजिक पुगेपछि ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै आफूले "अभूतपूर्व र बलियो जनादेश" पाएको दाबी गरे
  • कमला ह्यारिसले पराजय स्वीकार गर्न बाँकी नै छ
  • विभिन्न देशका नेताहरूले ट्रम्पलाई बधाई दिएका छन्
  • अमेरिकाको माथिल्लो सदन सिनेट पनि पुनः रिपब्लिकन पार्टीकै पोल्टामा गएको छ

लाइभ कभरेज

केशव कोइराला, सञ्जय ढकाल, विष्णु पोखरेल र दिवाकर प्याकुरेल

  1. आजका लागि विश्राम

    अमेरिकी राष्ट्रपति निर्वाचनसम्बन्धी लाइभ पेजमा हामीले बुधवार दिनभरि उक्त चुनावको मतपरिणामलगायतका घटनाक्रमहरू राख्यौँ। अब भने बीबीसी न्यूज नेपालीले सञ्चालन गरेको यो लाइभ पेजबाट हामी बिदा माग्छौँ। थप समाचारका लागि हाम्रो होमपेज हेर्नुहोला।

    धन्यवाद।

  2. ट्रम्पको जित निश्चित भएसँगै शेअर र डलरको भाउ वृद्धि

    ट्रम्पको जित निश्चित भएसँगै शेअर र डलरको भाउ बढेको छ

    तस्बिर स्रोत, EPA

    डोनल्ड ट्रम्पको विजय सुनिश्चित भएपछि अमेरिकी कम्पनीहरूको शेअर र डलरको मूल्य उकालो लागेको छ।

    उनले चुनावमा कर कटौतीको प्रतिबद्धता गरेकाले त्यसले अमेरिकी अर्थतन्त्रमा लगानीलाई आकर्षित गर्न सक्नेछ।

    विदेशबाट अमेरिकामा हुने आयातमा कर लगाउने उनको धम्कीले मूल्यवृद्धि चाहिँ उच्च हुने सम्भावना देखिन्छ। उच्च मुद्रास्फीति भनेको ब्याजदर कटौती सुस्त हुनु पनि हो।

    क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य पनि बढेको छ। ट्रम्पले खुकुलो नीति लिन सक्ने अपेक्षाका साथ अमेरिकी ब्याङ्कहरूको शेअरको मूल्य माथि उक्लेको छ।

    डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्ने निश्चित
  3. अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल कस्तो होला?

    डोनल्ड ट्रम्प

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्प

    कतिपय पर्यवेक्षकहरूका अनुसार डोनल्ड ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालले यसपटक उनले कसरी सत्ताको नेतृत्व गर्छन् भन्ने सङ्केत दिन्छ।

    उनीहरू राष्ट्रपति ट्रम्प सन् २०२० मा आफ्नो पहिलो कार्यकाल सकिएकै बिन्दुबाट अघि बढ्ने ठान्छन्।

    उनको पूरा नभएको एउटा प्रमुख परियोजना भनेको अमेरिकाको दक्षिणी सीमा बन्द गर्ने थियो। त्यसबेला ट्रम्प कंग्रेसबाट मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण गरेर सीमा नियन्त्रण गर्नका लागि बजेट जुटाउन विफल भएका थिए।

    चुनावी अभियानका समयमा गरिएको पर्खाल निर्माण अघि बढाउने प्रतिबद्धतालाई उनले यसपाली कायम राख्ने ठानिएको छ।

  4. राष्ट्रपति निर्वाचनमा 'जित सुनिश्चित भएपछि' ट्रम्पले के भने?

    अमेरिकाका महत्त्वपूर्ण 'स्विङ स्टेट' राज्यहरूमा मतपरिणाम डोनल्ड ट्रम्पको पक्षमा जाने देखिएपछि उनी राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० 'इलेक्टोरल कलेज मत' पार भइसकेको प्रक्षेपण सार्वजनिक भएको छ।

    त्यसभन्दा केही घण्टाअघि नै ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफ्नो विजय घोषणा गरेका थिए।

    त्यसबेला उनले के भने?

    यो भिडिओ हेर्नुहोस्।

    भिडिओ क्याप्शन सुरु हुँदैछ, राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बढेपछि डोनल्ड ट्रम्पले के भने?
  5. ट्रम्पको गजबको पुनरागमन,

    ट्रम्प

    तस्बिर स्रोत, Reuters

    डोनल्ड ट्रम्पले फेरि जितेका छन्। हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको आठ वर्षपछि अनि जो बाइडनले उनलाई विस्थापित गरेको चार वर्षपछि पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउस फर्किने निश्चित भएको छ।

    सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनापश्चात् नराम्ररी बिग्रिएको छवि लिएर उनी राष्ट्रपतिको पदबाट बिदा भएका थिए। अहिलेको विजयबाट उनको गजबको पुनरागमन भएको छ।

    त्यतिखेर डेमोक्र्याटहरूका अतिरिक्त कतिपय रिपब्लिकनहरूले पनि ट्रम्पको चर्को निन्दा गरेका थिए। त्यसपछि उनले थालेको चार वर्ष लामो राजनीतिक यात्राले अन्तत: उनलाई अमेरिकी राजनीतिको सर्वोच्च पदमा पुर्‍याएको छ।

    र्‍यालीहरूमा उनको भाषण सुन्दा बेलाबेला विषयवस्तुमा ध्यानकेन्द्रित नभएको अनि जथाभावी बोलेको सुनिन्थ्यो। तर उनले आफूवरपर दक्ष तथा व्यावसायिक सहयोगीहरू राखे। अमेरिकीहरूले ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको सर्वेक्षणहरूले देखाए – आप्रवासन तथा अर्थतन्त्र। अनि उनको निर्वाचन अभियानले यिनै विषय निरन्तर उठाइरह्यो।

    निर्वाचन प्रचार सुरु भएपछि बाइडनको साटो कमला ह्यारिस मैदानमा आएपछि ट्रम्पको टोली थोरै अनिश्चयमा परेको देखियो। तर चाँडै नै पूर्वराष्ट्रपति सम्हालिए अनि शासनमा रहेकाहरूको विरोधमा रहेको जनमतको बलमा अघि बढे।

    अब उनीसँग शासन चलाउन चार वर्ष छ – यसपालि उनको पछाडि अझ परिस्कृत राजनीतिक सङ्गठन पनि छ जो उनका चुनावी वाचाहरूलाई कार्यान्वयन गर्न तत्पर देखिन्छ।

  6. ट्रम्पको पक्षमा मतपरिणाम, यसरी भयो उनको विजय सुनिश्चित

    अमेरिकाको नक्सा र मतपरिणाम

    ताजा प्रक्षेपणअनुसार डोनल्ड ट्रम्पले विस्कन्सिनपछि अलास्का राज्यमा जितेको देखिएको छ। यससँगै उनले २७९ इलेक्टोरल कलेज मत पुर्‍याएका छन्।

    कमला ह्यारिसको पक्षमा इलेक्टोरल कलेज मत अहिले २२३ पुगेको देखिएको छ।

    अमेरिकामा लोकप्रिय मतले नभई राज्यहरूलाई छुट्ट्याइएको मतभार अर्थात् इलेक्टोरल कलेज मतका आधारमा राष्ट्रपति निर्वाचित गरिन्छ। अमेरिकाका ५० राज्य र वाशिङ्टन डीसीको सहित कुल ५३८ इलेक्टोरल कलेज मत हुन्छ। निर्वाचित हुन २७० मत आवश्यक पर्छ।

    लोकप्रिय मतमा पनि ट्रम्प नै अगाडि छन्।

    सम्बन्धित समाचार

  7. विस्कन्सिन राज्य पनि ट्रम्पको पोल्टामा, राष्ट्रपति निर्वाचित हुने पक्का भएको प्रक्षेपण

    बीबीसीको अमेरिकी साझेदार सीबीएसले विस्कन्सिन राज्यमा पनि डोनल्ड ट्रम्प विजयी हुने प्रक्षेपण गरेको छ।

    उक्त राज्य आफ्नो पक्षमा उभिएपछि ट्रम्पले २७६ इलेक्टोरल कलेज मत हात पार्छन्। यो निर्वाचनमा विजयी हुन २७० इलेक्टोरल कलेज मत भए पुग्छ।

    यसको अर्थ ट्रम्प निर्वाचित हुने र ४७औँ राष्ट्रपतिका रूपमा फेरि ह्वाइट हाउस जाने निश्चित जस्तै देखिएको छ।

    यद्यपि औपचारिक परिणाम घोषणा हुन बाँकी नै छ।

  8. कमला ह्यारिसका समर्थकहरू निराश भएर घर फर्किए

    डोनल्ड ट्रम्पले फ्लोरिडामा आफू विजयी भएको घोषणा गर्नुअघि नै वाशिङ्टन डीसीमा भेला भएका डेमोक्र्याटहरू हताश देखिएका थिए।

    हाउअर्ड यूनिभर्सिटी परिसरमा समर्थकहरूको भेलालाई उनले सम्बोधन गर्ने अपेक्षा गरिएको थियो। तर उनले भाषण नगर्ने थाहा पाएपछि उनीहरू घर फर्किए। त्यहाँ खाली कुर्सी र झण्डाहरू मात्र देखिन्छ।

    ह्यारिसका समर्थकहरू घर फर्किएपछि खाली कुर्सी

    तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

    ह्यारिसका समर्थकहरू घर फर्किएपछि खाली कुर्सी

    तस्बिर स्रोत, Reuters

    ह्यारिसका समर्थकहरू

    तस्बिर स्रोत, Reuters

  9. ट्रम्पलाई बधाई दिँदै विश्वभरका नेताहरू

    सन् २०२० मा नेतन्याहु र ट्रम्प

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, सन् २०२० मा नेतन्याहु र ट्रम्प

    विश्वका नेताहरूले डोनल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएकोमा बधाई दिन थालेका छन्।

    मतपरिणामको प्रक्षेपणका आधारमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प पुनः राष्ट्रपति निर्वाचित हुने देखिएको छ। त्यसलाई उनले "ऐतिहासिक चुनावी जित" भनेका छन्।

    यूकेका प्रधानमन्त्री किअर स्टार्मरले डोनल्ड ट्रम्पलाई बधाई दिँदै भनेका छन्, "आगामी वर्षहरूमा म तपाईँसँग काम गर्न तयार रहेको छु।"

    स्टार्मरले "सबैभन्दा नजिकको साझेदारका रूपमा" स्वतन्त्रता र लोकतन्त्रका "साझा मूल्य" रक्षाका लागि ट्रम्पसँग 'काँधमा काँध' मिलाएर खडा हुने विश्वास व्यक्त गरेका छन्।

    उनले आगामी वर्षहरूमा सुरक्षा, नवप्रवर्तन, प्रविधिलगायतको विकास र सुरक्षाका विषयमा यूके र अमेरिकाको "विशेष सम्बन्ध" थप विस्तार हुने ठानेको जनाएका छन्।

    इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पनि ट्रम्पलाई बधाई दिएका छन्।

    उनले भनेका छन्, "तपाईँको ऐतिहासिक पुनरागमनका लागि बधाई! ह्वाइट हाउसमा तपाईँको फिर्तीले अमेरिकाका लागि नयाँ सुरुवात र इजरेल तथा अमेरिकाबीचको महान् साझेदारीको शक्तिशाली पुन: प्रतिबद्धतालाई दर्शाउँछ।"

    युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफूले अमेरिका-युक्रेन साझेदारीको 'दरिलो युग'को पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको जनाएका छन्।

    फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग "सम्मान र महत्वाकांक्षा"का साथ काम गर्न तयार रहेको बताएका छन्।

    हङ्गेरीका दक्षिणपन्थी राष्ट्रपति भिक्टर ओर्बानले "विश्वका लागि अति आवश्यक विजय" भनेका छन्।

  10. कुल लोकप्रिय मतमा पनि ट्रम्प नै अगाडि

    ट्रम्प

    तस्बिर स्रोत, Reuters

    ताजा विवरणअनुसार डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल कलेज मत मात्र नभई कुल मत वा कुल लोकप्रिय मतमा पनि जित्ने प्रक्षेपण गरिएको छ।

    सन् २०१६ मा उनले पहिलोपल्ट राष्ट्रपति निर्वाचन जित्दा लोकप्रिय मतमा भने हिलरी क्लिन्टन अगाडि थिइन्।

    पछिल्लो आँकडामा ट्रम्पले ६ करोड ९० लाखभन्दा धेरै मत पाएका छन् भने कमला ह्यारिसले ६ करोड ३७ लाखभन्दा धेरै मत पाएकी छन्। मतगणना अझै जारी छ।

    बीबीसीको पछिल्लो प्रक्षेपणमा ट्रम्पले २६६ इलेक्टोरल कलेज मत जित्ने देखिएका छन् भने कमला ह्यारिसले २१९ जित्ने देखिएका छन्। कतिपय राज्यको मतपरिणामका प्रक्षेपण अझै भइसकेका छैन।

    ह्वाइट हाउसमा फर्किएपछि उनले इतिहासमै सबभन्दा धेरै आप्रवासीलाई देशनिकाला गर्ने, वैदेशिक व्यापारमा थप शुल्कहरू लगाउने अनि युक्रेन र मध्यपूर्वका युद्ध अन्त्य गर्ने वाचा गरेका छन्।

    सम्बन्धित समाचार

  11. ट्रम्प फेरि राष्ट्रपति बने भने बाँकी विश्वलाई कस्तो फरक पर्छ

    डोनल्ड ट्रम्प

    तस्बिर स्रोत, Reuters

    मतपरिणामको प्रक्षेपणका आधारमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनल्ड ट्रम्प पुनः राष्ट्रपति निर्वाचित हुने देखिएको छ। यद्यपि अन्तिम नतिजा घोषणा हुन बाँकी नै छ।

    उनी फेरि अमेरिकाको राष्ट्रपति बन्दा बाँकी विश्वलाई कस्तो प्रभाव पर्छ?

  12. ट्रम्प २७० नजिक

    अमेरिकाको नक्सा र मतपरिणाम

    महत्त्वपूर्ण 'स्विङ स्टेट' राज्यहरूमा मतपरिणाम डोनल्ड ट्रम्पको पक्षमा जाने देखिएपछि उनी राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० 'इलेक्टोरल कलेज मत' को निकै निकट पुगेका छन्।

  13. ‘अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ’ – ट्रम्प

    फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उनीहरूले भविष्यमा आजको दिनलाई फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए।

    “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भने।

    अब सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताए।

    उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन्।

    उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन्।

    मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।

    ट्रम्प र मेलानिया

    तस्बिर स्रोत, Reuters

  14. फ्लोरिडामा ट्रम्पको भाषण

    डोनल्ड ट्रम्पले फ्लोरिडामा भेला भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्न थालेका छन्।

    त्यसअघि उनका छोरा एरिकले ट्रम्पको यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

    भाषण गर्न मञ्चमा जाँदा ट्रम्पसँग उनकी पत्नी मेलानिया र उनको निर्वाचन अभियानका कर्मचारीहरू पनि छन्।

    ट्रम्पले आफ्नो विजयलाई "भव्य" भनेका छन्।

    उनले सीमासम्बन्धी विषय समाधान गर्ने घोषणा पनि गरे।

    डोनल्ड ट्रम्प

    तस्बिर स्रोत, X/Eric Trump

  15. फक्सद्वारा ट्रम्प विजयी हुने प्रक्षेपण, पेन्सिल्भेनिआमा पनि रिपब्लिकन पार्टीको लहर

    फक्स न्यूजले रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुने प्रक्षेपण गरेपछि ट्रम्पको निर्वाचन अभियानको मुख्यालयमा कार्यकर्ता र समर्थकहरूको घुइँचो लागेको छ।

    बीबीसीको अमेरिकी साझेदारसहित अन्य अमेरिकी टेलिभिजन च्यानलले त्यस्तो प्रक्षेपण गरेका छैनन्।

    केही राज्यबाट मतपरिणाम आउन बाँकी नै छ। तर मतगणनाको रुझान विजयका लागि आवश्यक २७० 'इलेक्टोरल कलेज मत'को नजिकै पुग्ने प्रक्षेपणपछि ट्रम्पले समर्थकहरूलाई फ्लोरिडामा सम्बोधन गर्न लागेका छन्। ह्यारिसले आज सम्बोधन नगर्ने बताएकी छन्।

    नोर्थ क्यारलाइना र जोर्जापछि अर्को महत्त्वपूर्ण 'स्विङ स्टेट' पेन्सिल्भेनिआमा पनि ट्रम्प विजयी हुने प्रक्षेपण गरिएको छ।

    अहिलेसम्म ट्रम्पको पक्षमा २६५ इलेक्टोरल मत जाने देखिएको छ।

  16. अहिलेसम्मको परिणाम

    अहिलेसम्मको प्रक्षेपणअनुसार डोनल्ड ट्रम्प अगाडि देखिन्छन्। यद्यपि केही राज्यमा मतपरिणाम वा त्यसको प्रक्षेपण आउन बाँकी नै छ।

    अमेरिकाको नक्सा र राज्यगत परिणाम
  17. महत्त्वपूर्ण दुई स्विङ स्टेट जित्ने प्रक्षेपण हुँदा ट्रम्पका समर्थक हर्षित

    ट्रम्प समर्थक

    तस्बिर स्रोत, Getty Images

    अमेरिकाका विभिन्न भागमा डोनल्ड ट्रम्पका सदस्यहरूले खुसी मनाइरहेका तस्बिरहरू आएका छन्।

    आफूले समर्थन गरेको उम्मेदवारले प्रक्षेपणहरूमा राम्रो प्रदर्शन गरिरहेकोले उनीहरू हर्षित देखिएका छन्।

    कतिपयले मागा (मेक अमेरिका ग्रेट अगेन) भनिने ट्रम्पको निर्वाचन अभियानको नारा अङ्कित टोपी लगाएका छन् भने कतिपले अमेरिकी झण्डा ओढेका छन्।

    ट्रम्प समर्थक

    तस्बिर स्रोत, Reuters

    ट्रम्प समर्थक

    तस्बिर स्रोत, Reuters

    ट्रम्प समर्थक

    तस्बिर स्रोत, Reuters

  18. अमेरिकामा राष्ट्रपति कसरी निर्वाचित हुन्छन्?, इलेक्टोरल कलेज के हो, धेरै मत ल्याउने उम्मेदवार किन राष्ट्रपति नबन्न पनि सक्छ

    अमेरिका मतदान

    अमेरिकामा नयाँ राष्ट्रपति छान्न निर्वाचन भएको छ। अमेरिकी मतदाताहरूले देशको राष्ट्रपतिसँगै कङ्ग्रेस भनिने त्यहाँको संसद्‌का सदस्यहरू पनि चयन गर्दै छन्।

    निकै प्रतिस्पर्धा देखिएको यो निर्वाचनबाट उपराष्ट्रपति कमला ह्यारिस वा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमध्ये एक जना नयाँ राष्ट्रपति बन्ने छन्।

    तर अमेरिकामा जनताको प्रत्यक्ष मतबाट नभई राज्यहरूलाई छुट्ट्याइएको मतभारबाट राष्ट्रपति निर्वाचित हुन्छन्। त्यसलाई 'इलेक्टोरल कलेज मत' भनिन्छ।

  19. ट्रम्पतर्फ ढल्कँदै मतपरिणाम, जोर्जामा पनि जित्ने प्रक्षेपण

    मतगणना सकिएको छैन तर अब नतिजा बिस्तारै ट्रम्पको पक्षमा ढल्कँदै गरेको देखिन्छ।

    ट्रम्पले दोस्रो स्विङ स्टेट जोर्जामा पनि जित्ने प्रक्षेपण गरिएको छ। यसअघि नोर्थ क्यारलाइनामा पनि उनले जित्ने प्रक्षेपण गरिएको थियो। यसपालिको मतपरिणाम सन् २०१६ को जस्तो देखिँदै छ। त्यति बेला ट्रम्पले जितेका थिए।

    अमेरिकाभरिका काउन्टीहरूमा पूर्वराष्ट्रपतिले थोरै तर उल्लेखनीय प्रगति गरिरहेको देखिन्छ।

    सहरी तथा उपनगरजस्ता क्षेत्रमा कमला ह्यारिसले जो बाइडनकै जस्तो प्रदर्शन गरिरहेकी छन् तर पूर्वराष्ट्रपति ट्रम्पसँगको अन्तर कम हुन सकेको छैन।

  20. सिनेटमा नियन्त्रण गर्ने सँघारमा रिपब्लिकन पार्टी

    ओहायो राज्यका वर्तमान सिनेटर शेरड ब्राउन पराजित भएपछि अब सिनेटमा डेमोक्र्याटिक पार्टीले आफ्नो नियन्त्रण बनाइराख्ने सम्भावना झिनो बन्दै गएको छ।

    उक्त पार्टीले दुई सीट गुमाइसकेको छ भने मन्टानामा पनि जोन टेस्टर जोखिममा परेका छन्। अन्यत्र डेमोक्र्याटहरूले नजिते अब सिनेटको नियन्त्रण रिपब्लिकनको हातमा पुग्ने छ।

    यतिखेर डेमोक्र्याट उम्मेदवारले सिनेट सदस्य जित्ने अन्य ठाउँ खासै देखिँदैन।

    फ्लोरिडा र टेक्ससमा रिपब्लिकन उम्मेदवारले जितिसके। नेब्रास्कामा ६९% मतगणना भइसक्दा रिपब्लिकन उम्मेदवार डेब फिशर स्वतन्त्र उम्मेदवार ड्यान अस्बोर्नभन्दा थोरैले अगाडि छन्। अस्बोर्नले जिते पनि सिनेटमा उनी डेमोक्र्याटहरूको पक्षमा लाग्छन् भन्न सकिँदैन।

    यदि डोनल्ड ट्रम्प राष्ट्रपति अनि जेडी भान्स उपराष्ट्रपतिमा निर्वाचित भए भने जेडी भान्सले सिनेटमा 'टाइ-ब्रेकिङ' अर्थात् निर्णायक भोट हाल्न पाउने हुनाले नेब्रास्कामा जेसुकै भएपनि त्यसले महत्त्व राख्ने छैन।

    यो रात रिपब्लिकनहरूका लागि हर्षको रात हुने जस्तो देखिँदै छ।