रुस-युक्रेन युद्ध: शरणार्थीका लागि बनेको विद्यालयको भविष्य अनिश्चित

- Author, डायना कुरिश्को र अनास्तासिया ग्रिबनोभा
- Role, बीबीसी न्यूज युक्रेन
- Reporting from, वार्स्अ
एउटा समय थियो जतिबेला अहिले १४ वर्षकी उल्यानाको सबैभन्दा ठूलो चाहना भनेको यात्रा गर्नु र विश्व घुम्नु थियो। अहिले उनी युक्रेनस्थित आफ्नो घरभन्दा सयौँ माइल टाढा छिन् र उनको सबैभन्दा ठूलो चाहना भनेको आफ्नो सहर फर्किनु हो जुन रुसको कब्जामा छ।
१६ वर्षीया भिक्टोरिया युक्रेनको अर्कै ठाउँकी हुन्। तर उनको घर रहेको सहर पनि दैनिक रुसी बमबारीको निसानामा परेपछि उनी त्यो ठाउँ छोडेर अन्यत्र जान बाध्य भइन्।
यी दुवै किशोरीहरू अहिले पोल्यान्डमा अध्ययनरत छन् र दुवै जीवित रहन पाएकामा धन्य छन्।
विस्थापित भएर अन्यत्र जान परेको अवस्थासँगै विद्यालयको पढाइमा गम्भीर अवरोध पुग्नु, पूर्णस्तरको युद्धको सबैभन्दा खराब असर मध्येको एक हो।
युक्रेनमा करिब १० लाख बालबालिकाहरू विद्यालय नगइकनै पढाइ जारी राख्न बाध्य छन्। हजारौँ विद्यालयहरू ध्वस्त भएपछि वा तिनमा नराम्ररी क्षति पुगेपछि र थुप्रै क्षेत्रमा बमबारीको जोखिम भएपछि स्कुल मै उपस्थित भएर पढ्न एकदमै खतरनाक वा असम्भव भएको छ।
उल्याना र भिक्टोरिया युक्रेन छोडेर पोल्यान्ड गएपछि अहिले सुरक्षित छन् तर उनीहरूका लागि उपयुक्त विद्यालय खोज्न निकै चुनौती पर्यो।
सुरक्षित ठाउँ जान सयौँ माइलको यात्रा
पूर्ण स्तरको हमला भएको १ हजार दिन बितिसक्यो तर द्वन्द्व अन्त्य हुने कुनै सम्भावना देखिएको छैन।
संयुक्त राष्ट्र सङ्घले करिब १ करोड युक्रेनीहरू र त्यसमा धेरैजसो महिला र बालबालिकाहरू शरणार्थी भएको र उनीहरू देशभित्रै वा देश बाहिरसमेत विस्थापित भएको अनुमान गरेको छ।

१० लाख युक्रेनीहरू छिमेकी पोल्यान्डमा रहेको अनुमान गरिएको छ।
युद्धका सुरुका दिनमा पोल्यान्डका कयौँ गैरसरकारी संस्थाहरू युक्रेनी माध्यमिक विद्यालय बनाउनका लागि जुटेका थिए।
यहाँ करिब ३०० बालबालिका र २७ जना शिक्षकहरू छन्। यी धेरैजसो शरणार्थी नै हुन्।
यहाँ रहेका केहीले रुसी अधिनबाट बच्न भागेर सुरक्षित स्थलमा पुग्नका लागि सयौँ किलोमिटरको यात्रा गरेका हुन्।
अरूहरू लडाईँको अग्र मोर्चा नजिकै रहेका गाउँ र सहरहरूबाट आएका हुन्। ति ठाउँहरू यति नराम्री नष्ट भएका छन् की त्यहाँ सामान्य जीवन जिउने र विद्यालय जाने भन्ने कुरा सम्भव छैन।

एक अन्तर्राष्ट्रिय दातृ निकाय सेभ द चिल्ड्रेनले १० युक्रेनी बालबालिकामध्ये नौ जनामा जारी द्वन्द्वको मनोवैज्ञानिक असर परेको जनाएको छ।
त्यस्तो सर्वेक्षण गरिएकामध्ये ७३ प्रतिशतले आफू असुरक्षित र त्रस्त महसुस गर्ने र ६४ प्रतिशतले केही सिक्ने इच्छा नरहेको बताएका छन्।
सन् २०२२ को वसन्त ऋतुमा रुसी सेनाले उल्यानाको घर भएको सहर घेरामा पारेसँगै उनको जीवन सदाका लागि परिवर्तन भयो।
पहिला उनको परिवार बमबारीबाट जोगिन कयौँ दिनसम्म भवनको जमिनमुनिको तलामा लुकेर बस्नुपर्यो। जब सहर कब्जामा पर्यो उनीहरू युक्रेन नियन्त्रित क्षेत्र तर्फ भाग्न सफल भए। उक्त यात्रा निकै दुःखद रह्यो।
"त्यो अवस्था एकदमै डरलाग्दो थियो। उल्याना जमिनमुनिको तलामा आफू बसेको ठाउँ छोडेर जान एकदमै डराएकी थिइन्। हामीले जलेका गाडी र शवहरू देखेका थियौँ … कयौँ रुसी जाँच चौकीहरू हुँदै गएका थियौँ," उल्यानाका आमाले भनिन्। उनले आफ्नो घर ध्वस्त भइसकेको आफूलाई थाहा भएको बताइन्।
उल्यानाकी स्कुले साथी भिक्टोरिया आफ्नी आमा, बहिनी र आफूले पालेको बिरालोसँग खार्किभबाट आएकी हुन्। खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो।

तस्बिर स्रोत, BBC/Kamil Dayan Khan
“हामीले सोचेका थियौँ हामी तीन दिनपछि खार्किभ फर्किन सक्नेछौँ। तर तीन दिनमा त अवस्था नराम्रोबाट खराब बन्यो। हामी जब त्यो ठाउँ छोडेर निस्कियौँ छोरीहरू असाध्यै दुःखी भए किनभने उनीहरूका साथीहरू भने त्यहीँ बस्ने भए ,” भिक्टोरियाकी आमाले भनिन्।
“मैले उनीहरूलाई भने: “म तिमीहरूको ज्यान बचाउँदै छु।”
पोल्यान्डस्थित युक्रेनी विद्यालयमा भएका शिक्षकहरूको पनि उस्तै कथा छ।
पूर्वी युक्रेनको एउटा नगर पोक्रोभ्स्कका एक जना रसायनशास्त्रका शिक्षक छन्। पोक्रोभ्स्क त्यस्तो नगर हो जुन हप्तौँसम्म रुसी हमलाको केन्द्रमा थियो।
कुनै बेला ६० हजार मानिसहरूको बसोबास रहेको उक्त क्षेत्र अहिले खण्डहर जस्तो छ। अङ्ग्रेजीका शिक्षक भने खार्किभका हुन् जुन क्षेत्रमा युद्धले गर्दा करिब ९० प्रतिशत विद्यालयहरू ध्वस्त भएका छन् वा तिनमा नराम्ररी क्षति पुगेको छ।
रुसले युक्रेनका सर्वसाधारणको आवासीय क्षेत्र वा भौतिक संरचनालाई निसाना नबनाइएको दाबी गर्छ।
यो विद्यालयमा घन्टी बज्दैन
झट्ट हेर्दा वार्स्अमा रहेको युक्रेनी विद्यालय विश्वका अन्य कुनै ठाउँमा भएको विद्यालय जस्तै लाग्छ। कक्षाकोठाहरू व्यस्त देखिन्छन्, बालबालिकाहरू वरपर कक्षा विरामको समयमा घुमिरहेका देखिन्छन्, हाँसो र गीत गाउने अनि गफ गरेको सुनिन्छ।
तर एउटा विषयको कक्षा पढाइ भइसकेर अर्को सुरु गर्नका लागि कुनै घन्टी बज्दैन। विद्यालयका कर्मचारीहरू एक्कासि आउने ठूलो आवाज निकाल्न चाहँदैनन्। यहाँ भएका धेरै बालबालिकाहरू बमबारी र हवाई हमलाको जनाउ दिने साइरन बजेको सुनेकाहरू छन्। धेरै बालबालिकाहरूले बलात्कार, कुटपिट, ट्याङ्कहरूले मानिसहरूलाई किचेको जस्ता चरम हिंसाका घटनाहरू प्रत्यक्ष देखेका छन्।
विद्यालयकी हेड मिस ओक्साना कोलेस्निकले व्याख्या गर्दै भनिन्: “यहाँ परिवारहरू छन् जो रुसी कब्जाबाट भागेर रुस, बेलारस र बाल्टिक देशहरू पार गर्दै पोल्यान्ड आएका छन्। सुरक्षित यहाँ आइपुग्न उनीहरूले कति सङ्घर्ष गर्नुपर्यो होला भन्ने कल्पना गर्न कठिन छ।”

केही बालबालिकाहरूका आफन्त रुसले कब्जामा राखेको भूभागमा छन्। उनीहरूका बुवाहरू अग्रमोर्चामा लडाइँ गरिरहेका छन्, केहीलाई युद्धबन्दी बनाइएको छ। केही बालबालिकाहरू आफ्ना आमाबुवाबाट अलग्गिएका छन् र अभिभावकसँग पोल्यान्डमा छन्।
विद्यालयकी मनोचिकित्साविद् नतालिया करापाता, वार्स्अ बमहरूबाट सुरक्षित रहेको भएपनि, कसरी यी बालबालिकाहरू सुरुमा आउँदा पन्जा र ह्याट लगाएर बस्थे, सूचना जारी हुने बित्तिकै सुरक्षित स्थलमा जान तयार अवस्थामा रहेका जसरी कक्षा विरामको समयमा पनि पिठ्यूँमा झोला बोकिरहन्थे भनेर बताएकी छन्।
"यी बालबालिकाहरू दुःखी छन्। उनीहरू युक्रेनमा छाडेर आउनु परेको आफ्नो घर, आफन्त र घरपालुवा जनावरसमेत सम्झिन्छन्। कब्जामा परेका क्षेत्रमा केहीका हजुरआमा हजुरबुवा छन्। आफ्ना आफन्त र माया गर्ने मानिसहरूसँग नजिक बस्न र अङ्गालो मार्न पाउने क्षण उनीहरूले गुमाएका छन्,” कारापाताले भनिन्।
'पैसा नभए विद्यालय चल्न सक्दैन'
युक्रेनी बालबालिकाको पोल्यान्डमा जीवन सहज बनाउनका लागि यो छोटो समयको परियोजना ल्याइएको भए पनि यो विद्यालय खुलेको दुई वर्षभन्दा बढी भइसक्यो र यो कहिलेसम्म आवश्यक पर्छ थाहा छैन।
पोलिश र युक्रेनी दुवै भाषामा कक्षाहरू सञ्चालन गर्न पाएकामा कर्मचारीहरू गर्व गर्छन्। यसले बालबालिकालाई उनीहरूले आफ्नो सिकाइ जहाँ निरन्तर गर्न चाहन्छन् त्यो सुविधा दिन्छ।
“हामी पोलिश र युक्रेनी दुई शैक्षिक प्रणालीमा पढ्छौँ, र जब हामी पढिसक्छौँ तब दुवै भाषामा प्रमाणपत्र पाउँछौँ,” भिक्टोरियाले भनिन्।
युक्रेनबाट आएका परिवारहरूले सामान्य अनुभव गर्न सकुन् भनेर खोलिएको विद्यालयको एउटा प्रायोजक सेभ द चिल्ड्रेन (एसटीसी) बन्न तयार भयो।

सेभ द चिल्ड्रेन पोल्यान्डका लागि रेस्पन्स डिरेक्टर, बुजार होक्साले भने: "यस्ता विद्यालयहरूले सुरक्षित भन्दा पनि केही बढी नै उपलब्ध गराउँछन्। यिनले बालबालिकाहरूलाई तिनको वरपर सामाजिक स्थायित्व निर्माण गर्न सुरु गर्न सघाउँछन्।"
“यहाँ दोस्रो विश्वयुद्ध अन्त्य भएयता शरणार्थीको सङ्ख्या अहिले सबैभन्दा धेरै ओइरिएको छ, त्यसैले आवश्यकता पनि व्यापक छ। युद्ध जारी रहेको, पीडितहरू धेरै रहेको, आक्रमणमा परेको क्षेत्रहरूबाट भागेर मानिसहरू सिमानाहरूमा दैनिक रूपमा आइरहेको जस्तो अवस्था कायमै रहँदा पनि युक्रेनको सङ्कट मानिसहरूले बिर्सँदै गएका अन्य यस्ता खाले सङ्कटहरू जस्तै बन्न थालेको छ।
युक्रेनको युद्धबारे समाचार शीर्षकहरू फेरि बन्न लागेका बेला यो विद्यालयको भविष्य अनिश्चित छ। यो विद्यालय सञ्चालनका लागि वार्षिक करिब १९ लाख डलर आवश्यक पर्छ त हेडमिस ओक्साना कोलेस्निक अहिले चिन्तामा छिन्।
“यदि पैसा भएन भने हाम्रो समुदायका लागि यो असाध्यै पीडादायी झट्का हुनेछ किनभने आर्थिक सहायता बिना यो विद्यालय चल्न सक्दैन,” उनले भनिन्।
"म युक्रेन पुनर्निर्माण गर्न चाहन्छु"
अनिश्चितता भए पनि थुप्रै बालबालिकाहरू कुनै दिन युक्रेन फर्किन पाउनेमा आशावादी छन्।

“मलाई पोल्यान्डमा बस्न मनपर्छ। यो साँच्चै राम्रो देश छ। तर यो आफ्नो घर जस्तो लाग्दैन,” १६ वर्षीया यानाले भनिन्, "म अब युक्रेनमै पनि पूरै घर जस्तो महसुस गर्न सक्दिनँ किनभने मैले पोल्यान्डमा धेरै समय बिताइसकेँ। म दुई ठाउँमा बाँडिएकी, छु तर म फर्किन चाहन्छु।”
“म युक्रेनको पुनर्निर्माण गर्न चाहन्छु, म मेरो देशलाई मद्दत गर्न चाहन्छु।”
* सुरक्षाका कारणले यो लेखमा केही नामहरू परिवर्तन गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








