युक्रेन र रुसद्वारा एकअर्कामाथि अहिलेसम्मकै भीषण ड्रोन हमला, निसानामा मस्को

रुसस्थित एउटा आवसीय भवनमा युक्रेनबाट भएको ड्रोन हमलाका कारण लागेको आगो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसस्थित एउटा आवसीय भवनमा युक्रेनबाट भएको ड्रोन हमलाका कारण लागेको आगो
    • Author, एलेक्स बोइड
    • Role, बीबीसी न्यूज

रुस र युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा भीषण ड्रोन हमला गरेका छन्।

रुसको रक्षा मन्त्रालयले आफूले विभिन्न छ स्थानबाट ८४ वटा युक्रेनी ड्रोनलाई निष्क्रिय तुल्याएको जनाएको छ।

तीमध्ये कतिपय मस्कोतर्फ आइरहेका थिए र ती ड्रोनका कारण राजधानीका तीनवटा प्रमुख विमानस्थलबाट उडानहरू अन्यत्र मोड्नुपरेको थियो।

युक्रेनको वायुसेनाका अनुसार रुसले शनिवार राति १४५ वटा ड्रोन आफ्नो देशका विभिन्न ठाउँमा पठाएको र तीमध्ये अधिकांशलाई खसालिएको थियो।

अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दुवै पक्षलाई द्वन्द्व अन्त्य गर्न दबाव दिन सक्ने अपेक्षा गरिएकै बेला यी आक्रमणहरू भएका हुन्।

रुस र युक्रेनमा कहाँकहाँ भयो ड्रोन हमला

रुसी ड्रोनले युक्रेनको ओडेसा क्षेत्रमा क्षति पुर्‍याएको एउटा ठाउँ

तस्बिर स्रोत, Reuters

मस्कोमा हमला गर्ने युक्रेनको प्रयासलाई युद्ध सुरु भएयताकै उसको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। एक क्षेत्रीय गभर्नरले त्यसलाई "भीषण" भनेका छन्।

अधिकारीहरूले अधिकांश ड्रोनहरू रामनस्कोय, कोलोम्ना र डेमडियाडोभा डिस्ट्रिक्टमा खसालिएको जनाएका छन्।

मस्कोबाट दक्षिणपश्चिममा पर्ने रामनस्कोयमा ड्रोनलाई खसाल्दा त्यसका भग्नावशेषबाट पाँच जना घाइते भएका र चारवटा घरमा आगलागी भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। उक्त नगरबाट ३४ वटा ड्रोन खसालिएको उसको भनाइ छ।

गएको सेप्टेम्बरमा रामनस्कोयमा गरिएको एउटा ड्रोन हमलामा एक महिला घाइते भएकी थिइन्। गएको वर्षको मे महिनामा दुईवटा ड्रोनलाई मध्यमस्कोको क्रेम्लिननजिकै ध्वस्त पारिएको थियो भने मस्को सिटी बिज्नेस डिस्ट्रिक्टमा कैयौँ हमलाहरू भएका थिए।

युक्रेनको ओडेसा क्षेत्रमा ड्रोन प्रहारबाट कम्तीमा दुई जना घाइते भएका थिए। तस्बिरहरूमा केही भवनमा आगोका लप्का र त्यसपछिको क्षति देख्न सकिन्छ।

युक्रेनी वायुसेनाले इरानमा निर्माण भएका ६२ वटा रुसी ड्रोन खसालिदिएको र ६७ वटा "हराएका" जनाएको छ। थप १० वटा युक्रेनी हवाई क्षेत्र छाडेर रुसतर्फ नै फर्किएका थिए र केही छिमेकी बेलारुस र मोल्डोभातर्फ गएका थिए।

ट्रम्पको नीतिमाथि सबैको चासो

ड्रोनले युक्रेनको ओडेसा क्षेत्रमा क्षति पुर्‍याएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ड्रोनले युक्रेनको ओडेसा क्षेत्रमा क्षति पुर्‍याएको थियो

एएफपी समाचारसंस्थाले 'इन्स्टिट्यूट फर द स्टडी अफ वार'को तथ्याङ्कलाई विश्लेषण गर्दा ड्रोनहरूको यस्तो भीषण आक्रमण सन् २०२२ मार्च यता गत महिना रुसी सेनाले सबैभन्दा ठूलो भौगोलिक उपलब्धि हात पारेपछि भएको हो।

तर यूकेका चीफ अफ डिफेन्स स्टाफ टोनी राडाकिनले बीबीसीको 'सन्डे विथ लोरा कुन्सबर्ग' कार्यक्रममा बोल्दै युद्ध सुरु भएयता रुसले सबैभन्दा खराब क्षति भोग्नुपरेको बताए।

उनका अनुसार रुसी फौजले अक्टोबरमा औसतमा १,५०० जना गुमाएको थियो भने दिनहुँजसो सैनिकहरू घाइते पनि भएका थिए।

अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्नो जितपछि डोनल्ड ट्रम्पले रुस-युक्रेन युद्धबारे कसरी प्रस्तुत हुन्छन् भन्नेमा व्यापक चासो पाइन्छ।

डोनल्ड ट्रम्पको चुनावी अभियान टोलीले निर्वाचनमा निश्चित जित हासिल गरेको दुई दिनपछि ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन कुराकानी गरेका विवरणबारे प्रतिक्रिया नदिने बताएको छ।

वाशिङ्टन पोस्टका अनुसार ट्रम्पले रुसी नेतालाई युक्रेनमा द्वन्द्व नचर्काउन चेतावनी दिएका थिए र उनलाई युरोपमा अमेरिकाको उल्लेख्य सैन्य उपस्थिति रहेको सम्झाएका थिए।

आफ्नो चुनावी अभियानमा राष्ट्रपति निर्वाचितले नियमित रूपमा आफूले "एकैदिनमा" युद्ध अन्त्य गर्न सक्ने बताएका थिए। तर उनले कसरी त्यसो गर्छन् भन्नेबारे केही खुलाएका छैनन्।

यसैबीच राष्ट्रपति जो बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ट्रम्पलाई युक्रेनलाई परित्याग नगर्न अनुरोध गरेका छन्। उनले बहिर्गमन हुन लागेको प्रशासनले किएभका लागि छुट्याइएको छ अर्ब डलर खर्च गर्ने पनि जनाएका छन्।

आफूले रुस युक्रेन युद्ध ‘एकै दिनमा’ अन्त्य गराउने बताएका ट्रम्पले कसरी त्यसो गर्छन् भन्ने खुलाएका छैनन्। 

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आफूले रुस युक्रेन युद्ध ‘एकै दिनमा’ अन्त्य गराउने बताएका ट्रम्पले कसरी त्यसो गर्छन् भन्ने खुलाएका छैनन्

ट्रम्पका एक पूर्वसल्लाहकार ब्र्यान लान्जाले बीबीसीसँग नयाँ प्रशासनले युक्रेनलाई रुसबाट आफ्नो भूभाग फिर्ता लिन सहयोग गर्नुको सट्टा शान्ति हासिल गर्नमा जोड दिने बताएका छन्।

यद्यपि ट्रम्पले त्यसबारे टिप्पणी गरेका छैनन्। उनका एक सहयोगीले लान्जा ट्रम्पको नभएको बताए।

क्रेम्लिनका प्रवक्ता दिमित्रि पेस्कोभले अमेरिकाको नयाँ प्रशासनबाट "सकारात्मक सङ्केत" पाइरहेको धारणा आइतवार सरकारी सञ्चारमाध्यममार्फत् राखेका थिए।

उनले चुनावी अभियानका क्रममा ट्रम्पले शान्ति चाहेको र रुसलाई पराजय थोपर्ने चाहना नरहेको धारणा राखेको पनि दाबी गरेका थिए।

निर्वाचनमा जित हासिल गरेपछि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग कुराकानी गरेका थिए जुन "झन्डै आधा घण्टा चलेको" एउटा स्रोतले बीबीसीलाई बताएको थियो।

जेलेन्स्कीले विगतमा उक्त भूमिमाथि रुसी नियन्त्रण स्वीकार गर्नेविरुद्ध चेतावनी दिएका थिए र अमेरिकी सहयोगबिना युक्रेन लडाइँमा पराजित हुने धारणा राखेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।