ट्रम्पको 'हत्या गर्न खोज्ने व्यक्ति' युक्रेनी सेनामा भर्ती हुन चाहन्थे तर 'बहुलट्ठी कुरा गर्थे'

अमेरिकामा डोनल्ड ट्रम्पको हत्या गर्न प्रयास गरेको आशङ्कामा पक्राउ परेका रायन वेस्ली राउथ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसले युक्रेनमा धावा बोलेपछि रायन वेस्ली राउथ युक्रेन पुगेका थिए
    • Author, जेम्स वाटरहाउस
    • Role, युक्रेन संवाददाता, किएभ
  • पढ्ने समय: ५ मिनेट

“हामी यहाँ किन आयौँ त्यो भन्न मिल्दैन। यो निकै गोप्य कुरा हो।”

मैले मदिरा पिएर मातेका र अनौठो सैन्य पोसाक लगाएका ती ब्रिटिश पुरुषलाई उनी युक्रेनको एउटा क्याफेमा पसलमे के गर्दै छन् भनेर सोधेको थिइनँ। तर आफैँ मसँग बोल्न आएका थिए।

यो कुरा सन् २०२२ को गर्मी यामतिरको हो। किएभको मुख्य सडक ख्रेश्चाटिक स्ट्रीटमा उनीजस्ता धेरै मानिस देखिन्थे जो आफूहरू रुसविरुद्ध युक्रेनको युद्धमा सहभागी हुन आएको बताउँथे। “युद्धमा जस्ता मान्छे पनि आउँछन्," त्यतिबेला मलाई लागेको थियो।

अमेरिकामा आइतवार भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको हत्या प्रयासका सन्दिग्ध रायन वेस्ली राउथ पनि त्यसरी युक्रेन पुग्नेमध्ये एक भएको अहिले हामीले थाहा पाएका छौँ।

राउथ युक्रेनको राजधानीमा "जतासुकै देखा पर्ने व्यक्ति" भएको उनलाई धेरै पटक भेटेका सहायता कार्यकर्ता क्रिस लुट्स बताउँछन्।

“म उनलाई बहुला त भन्दिनँ,” उनले भने, “उनले युक्रेनलाई यथाशक्य सहयोग गरिरहेका थिए तर त्यो अस्वाभाविक खालको बन्दै थियो।"

युक्रेनी अधिकारीहरू फ्लोरिडास्थित गल्फ मैदानमा ट्रम्पको हत्या गर्ने प्रयास गर्ने व्यक्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको देखाउने प्रयास गर्दै उनको विषयमा टाढै बसेका छन्।

युक्रेनसँग कस्तो सम्बन्ध

सहायता कार्यकर्ता क्रिस लुट्स

तस्बिर स्रोत, Patrick Enssle

तस्बिरको क्याप्शन, सहायता कार्यकर्ता क्रिस लुट्सले राउथ किएभमा जहाँ पनि पुगेको देख्थे

फ्लोरिडामा पक्राउ परेका ५८ वर्षीय राउथले धेरै पटक विदेशी लडाकुहरूलाई युक्रेनको सेनामा भर्ना गराउने प्रयास गरेका थिए। तर उनी विफल भए।

“उनले कहिल्यै पनि युक्रेनको 'इन्टरन्याश्नल लीजन'मा सेवा गरेनन् र उनको यो टुकडीसँग कहिल्यै पनि सम्बन्ध थिएन,” त्यसका प्रवक्ताले भने।

एक युक्रेनी सैनिकका अनुसार राउथले बारम्बार उक्त टुकडीसँग सम्पर्क गरेका थिए तर उनका कुराहरू "अण्टशण्ट" र "बहुलट्ठी" हुन्थे।

राउथले सेनामा भर्तीका लागि आफू अस्वीकृत भएको भन्दै त्यसको कारण उमेर र आफूसँग युद्धको अनुभव नहुनु रहेको जनाएका थिए।

अमेरिकामा केही दिनअघि भएको घटनाबारे प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले डोनल्ड ट्रम्पलाई कुनै चोटपटक नलागेकोमा आफू "खुसी" रहेको टिप्पणी गरेका छन्।

तर जेलेन्स्कीको युक्रेनलाई समर्थन गर्ने ती सन्दिग्ध आक्रमणकारीबारे भने कुनै चर्चा गरेनन्।

रायन राउथ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रायन राउथलाई अदालतमा पेस गरिएको छ (फाइल तस्बिर)

युक्रेनको टाउको दुखाइ

रुसले युक्रेनमा धावा बोलेको तीन दिनपछि जेलेन्स्कीले "शान्ति र प्रजातन्त्रका मित्रहरूलाई" विदेशबाट युद्धमा सहभागी हुन आह्वान गरेका थिए। हजारौँ मानिस सहयोग गरेका पनि थिए।

त्यसपछि युक्रेन 'इन्टरन्याश्नल लीजन' गठन भयो। प्रारम्भमा २०,००० स्वयंसेवकहरू त्यसमा सहभागी हुन इच्छुक रहेको ठानिएको थिए। विज्ञहरूका अनुसार अहिले युक्रेनमा ४,००० हजारभन्दा बढी विदेशी सैनिक छन्।

उक्त समूहमा आबद्ध हुन राउथ विफल भए। अहिले फ्लोरिडामा उनी पक्राउ परेपछि राउथ किएभका लागि टाउको दुखाइको विषय बनेका छन्।

युक्रेनको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा परिषद्का लेफ्टिन्ट आन्द्री कोभालेन्को फ्लोरिडाको घटनालाई रुसले ‘प्रोपग्यान्डा’ का रूपमा प्रस्तुत गर्न सक्ने आशङ्का गर्छन्।

‍के उक्त हमलामा युक्रेनको हात हुन थियो कि भनेर सोधिएको प्रश्नमा क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “आगोसँग खेल्दा त्यसको दुष्परिणाम निस्किन्छ।"

रुसी सरकारी टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्दै ओल्गा स्काबेयेभाले राउथलाई "मशीनगन बोकेर हिँड्ने जेलेन्स्कीका एक बहुलट्ठी समर्थक"को सङ्ज्ञा दिइन्।

पेन्सिल्भेनिआमा त्यसअघि ट्रम्पमाथि अर्का आक्रमणकारीले गोली प्रहार गरेको प्रसङ्गलाई इङ्गित गर्दै उनले “डोनल्ड ट्रम्पको ज्यान लिने अर्को प्रयास भएको छ र त्यो आधिकारिक रूपमा युक्रेनसँग सम्बन्धित छ” भनिन्।

युक्रेनमा लोकप्रिय बनेको रुसपक्षधर एउटा टेलिग्राम च्यानलले उक्त हत्या प्रयासमा युक्रेनी गुप्तचर सेवाको संलग्नता रहेको दाबी गर्‍यो। एउटा उस्तै दाबीमा "भाडाका अमेरिकी सैनिकहरू भर्ना गर्न" ती अमेरिकी नागरिकले युक्रेनको भ्रमण गरेको उल्लेख गरिएको छ।

तर यी दाबी पुष्टि गर्ने कुनै पनि प्रमाण छैनन्।

“यो सबै कुरा मिथ्या हुन्,” लेफ्टिनन्ट कोभालेन्कोले भने, “तर सूचनाको द्वन्द्व युद्धको अङ्ग नै हो।”

अन्योल

नर्वेकी सान्द्रा आन्दर्सन आइरा युक्रेनलाई सघाउन सैनिक बनेकी छन्

तस्बिर स्रोत, Instagram/Sandra Anderson Eira

तस्बिरको क्याप्शन, नर्वेकी सान्द्रा आन्दर्सन आइरा युक्रेनलाई सघाउन सैनिक बनेकी छन्

युक्रेनी जलसेना 'मरीन कोर'बाट दक्षिणी मोर्चामा लडिरहेकी नर्वेकी सान्द्रा आन्दर्सन आइराले राउथको विषयमा आफू अन्योलमा परेको बताइन्। “मेरो एउटै प्रश्न छ - उनी कसरी इन्टरन्याश्नल फोरिन लीजनमा अस्वीकृत भए?"

उनका अनुसार गत मे महिनाअघिसम्म छनोटमा खासै परीक्षण गर्ने हुन्नथ्यो। त्यसयता न्यूनतम छ महिनाको करार र आधारभूत तालिमको प्रबन्ध गरिएको छ।

अहिले पनि भर्ना गरिएका व्यक्तिहरूसँग कुनै सैन्य अनुभव छैन, तर केही अनुभव हुँदा कतिपयले फाइदा हुने ठान्छन्। "राउथ अनुभव नभएकामध्ये थिए,” आइराले भनिन्।

“आफू कुनै सैन्य एकाइबाट लडाइँको अग्रमोर्चामा खटिएको झुटो दाबी गर्दै केही मानिसले पैसा उठाउने र अरूलाई झुक्क्याउने गरेका थिए।"

“कतिपय स्वयंसेवकको उद्देश्य राम्रो हुन्छ र उनीहरू राम्रै होस् भन्ने चाहन्छन्। तर सम्भवतः उनीहरू मानसिक वा शारीरिक रूपमा अस्वस्थ हुन सक्छन्। उनीहरूमध्ये कोही भ्रान्तिमा परेका पनि हुन सक्छन्।”

सम्भवतः रायन राउथ पनि त्यही वर्गमा पर्छन्।

उनले युक्रेनलाई सहयोग नगरेका पनि हुन सक्छन्। तर उनी युक्रेनमा बसेकाले र अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिको हत्या गर्ने प्रयासका कारण युक्रेन जबरजस्ती यो प्रकरणमा तानिएको छ।

थप रिपोर्टिङ हाना चोर्नूस शार्लोट स्कार

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।