युक्रेनी परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएकी रुसी-अमेरिकी महिलालाई १२ वर्ष जेल

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
एक रुसी अदालतले कसेनिआ करेलिना नामकी एक महिलालाई युक्रेनको साथ दिइरहेको एक परोपकारी संस्थालाई ५१ अमेरिकी डलर चन्दा दिएपछि देशद्रोहको अभियोगमा १२ वर्षको जेल सजाय सुनाएको छ।
अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले गत साता बन्द कोठाभित्र भएको एक सुनुवाइका क्रममा आफ्नो दोष स्वीकार गरेकी बताइएको छ।
लस एन्जलसमा बसिराखेकी उनी सन् २०२१ मा अमेरिकी नागरिक बनेकी थिइन्।
गत ज्यानुअरीमा एक पारिवारिक भ्रमणका क्रममा रहेका बेला उनी मस्कोभन्दा झन्डै १,६०० किलोमिटर पर रहेको यकाटरिन्बर्गबाट पक्राउ परेकी थिइन्।
अभियोजनकर्ताहरूले उनका लागि १५ वर्षको जेल सजाय माग गरेका थिए।
यकाटरिन्बर्गको उक्त अदालतले ठूलो देशद्रोहका लागि दोषी करार गर्दै उनलाई कारावासको सजाय सुनाएको हो।
आरोप
रुसको एफएसबी सुरक्षा सेवाले करेलिनालाई युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने एक युक्रेनी संस्थाका लागि पैसा उठाएको आरोप लगाएको छ।
रुसका मानवअधिकारवादीहरूले करेलिना अमेरिकामा रहँदा एक पटक मात्र ५१.८० अमेरिकी डलर पठाएको जनाएका छन्।
उक्त चन्दा उनले रुसले युक्रेनमा पूर्ण आकारको अतिक्रमण गरेको पहिलो दिन अर्थात् सन् २०२२ को २२ फेब्रुअरीमा पठाएकी थिइन्।
एफएसबीले उनको मोबाइलमा उक्त कारोबारको विवरण भेटेको ठानिएको छ।
उनका वकिलले करेलिनाले उक्त पैसा पठाएको र त्यो दुवै पक्षका पीडितको सहायतामा प्रयोग हुने ठानेको मात्र स्वीकार गरेको बताएका छन्।
ती वकिलले रुसी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै करेलिनाले आफूविरुद्धको सजायका लागि पुनरावेदन दिने भनेको बताएका छन्।
'राजम फर युक्रेन' नामको सो परोपकारी संस्थाले यस वर्षको सुरुमा उक्त घटनाबाट आफू 'स्तब्ध' भएको जनाउँदै आफूले हतियारका लागि पैसा उठाएको कुरा अस्वीकार गरेको थियो।
उसले आफू अमेरिकामा स्थापित परोपकारी संस्था रहेको र आफू मानवीय सहायता तथा विपद्को राहतमा केन्द्रित रहेको जनाएको छ।
'क्रुद्ध'
गत जुनमा करेलिनाको सुनुवाइ 'द वाल स्ट्रीट' जर्नलका पत्रकार एभन गोर्स्कभीचको सुनुवाइ भएकै अदालतमा भएको थियो।
गोर्स्कभीचलाई जासुसी गरेको आरोपमा जेल सजाय सुनाइए तापनि यसै महिनाको सुरुमा अमेरिका र अन्य पश्चिमा देशसँगको एउटा मुख्य बन्दी साटफेर सम्झौताअन्तर्गत छाडिएको थियो।
यकाटरिन्बर्गका मुद्दाहरू एकै न्यायाधीश एन्द्रे मिनेभले हेरेका थिए।
करेलिनाका प्रेमी बक्सिङ खेलाडी क्रिस भान हिर्डेनले बिहीवार उक्त आदेशबाट आफू निकै क्रुद्ध भएको बताए।
"म बिहान उठ्नेबित्तिकै यो समाचार सुनेँ। के भइरहेको छ भन्ने मैले अझै बुझ्न सकिरहेको छैन," उनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग भने।
"दुई साताअघि एक बन्दी आदानप्रदान भयो र केसेनिआ उक्त सूचीमा थिइनन्," उनले भने।
आठ महिनादेखि घर फर्काउनका लागि जोडबल गरिरहेको बताउँदै उनले थपे, "केसेनिआ घर फर्कनुपर्छ, मलाई रिस उठेको छ र म संयम हुन खोजिरहेको छु।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








