शीतयुद्ध यताकै ठूलो कैदी बन्दी साटफेर सम्झौताअन्तर्गत रुसद्वारा अमेरिकी पत्रकार रिहा

तस्बिर स्रोत, EPA
टर्कीले भनेको छ एकातर्फ रुस र बेलारुस अनि अर्कोतर्फ संयुक्त राज्य अमेरिका, जर्मनी र तीन अन्य युरोपेली देशहरूबीच भएको सहमति अनुसार २६ कैदी बन्दीहरूको साटफेर गरिएको छ।
टर्कीको गुप्तचर निकायले उक्त कदमका लागि मध्यस्थता गरेको थियो। त्यस अन्तर्गत सात वटा विमानहरू टर्कीको राजधानी अङ्कारा पुगेका थिए।
टर्कीले वाल स्ट्रिट जर्नलका पत्रकार एभन गोर्स्कभीच र पूर्व अमेरिकी मरिन पल विलन त्यसरी सट्टापट्टा गरिएका कैदी बन्दीमा रहेको जनाएको छ।
उसले रुसमा जेलमा रहेकी एक जना रुसी मुलकी अमेरिकी पत्रकार इलिया यासिन र बेलारुसमा जेलमा रहेका एक जना जर्मन रिको क्रिग्रर पनि उक्त आदानप्रदान सहमति अन्तर्गत रहेको जनाएको छ।
क्रेम्लिनका कट्टर आलोचक भ्लादिमिर कारा मुर्जा पनि उक्त सम्झौताको हिस्सा भएको ठानिएको छ।
टर्कीले जर्मनीमा थुनामा रहेका एक जना रुसी गुप्तचर एजेन्ट भादिम क्रासिकोभ रिहा भएका १० रुसीमध्ये रहेको जनाएको छ।
बर्लिन पार्कमा एक जना पूर्व चेचेन कमान्डरको हत्यामा उनले आजीवन कारावासको सजाय काटिरहेका थिए।
अमेरिकी राष्ट्रपति जो बाइडनले रिहाइ सुनिश्चित गर्ने उक्त सम्झौता कूटनीतिको जित भएको बताए।
उनले देशबाहिर गैरकानुनी थुनामा रहेका वा बन्धक बनाइएका अमेरिकीलाई घर फर्काउन आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।
उनले जटिल वार्ताहरूमा अमेरिकाको पक्षमा उभिएका जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे र टर्कीसहितका देशप्रति आभार व्यक्त गरेका छन्।
तनावपूर्ण अवस्थामा कसरी यो सम्भव भयो?
अहिलेको कैदी बन्दी सट्टापट्टालाई रुस र पश्चिमा विश्वबीचको ठूलो मध्येको एक भनिएको छ।
बीबीसीका सुरक्षा संवाददाता गोर्डन कोरेरा भन्छन्, "युक्रेन युद्धका कारण रुस र पश्चिमा जगतबीचको सम्बन्ध अति कटुतापूर्ण देखिएका बेला यस्तो खालको बन्दी साटफेर हुनु बाहिरबाट हेर्दा आश्चर्यजनक देखिन्छ।"
तर वास्तवमा यस्ता घटना पहिला पनि भएका छन्। शीतयुद्ध उत्कर्षमा रहँदा वासिङ्टन र मस्कोले गुप्तचरहरू आदानप्रदान गर्थे। चर्चित चलचित्र ब्रिजेज अफ स्पाइजका दृश्य जस्तै लाग्ने कतिपय त्यस्ता सट्टापट्टा बर्लिनमा पनि भएका थिए।
पछिल्ला दुई वर्षमा युक्रेन र रुस युद्धमा भएपनि उनीहरूले ठूलो स्तरमा कैदी बन्दीहरूको आदानप्रदान गरेका छन्। एउटा विन्दुमा हमास र इजरेल पनि कैदी बन्दी साटासाट गर्न सफल भएका थिए।
सुरक्षा संवाददाता कोरेरा भन्छन्, “यसको कारण सामान्य छ। दुवै पक्षसँग अर्को पक्षलाई चाहिने केही चिज वा कोही छ त्यही भएर उनीहरूले लेनदेन गर्नुपर्ने हुन्छ।”
तर सम्बन्ध तनावपूर्ण रहेको समयमा यस्तो किसिमको लेनदेनका लागि हुने वार्ता निकै कठिन हुने उनको विश्लेषण छ। किनभने कुनै अर्को पक्षले जितेको जस्तो देखिने गरी सम्झौता गर्न कोही चाहँदैनन्।
तर गुप्तचर निकायहरू पर्दा पछाडिका माध्यमहरू प्रयोग गरेर यस्ता खालका संवेदनशील वार्ताहरू गर्न अभ्यस्त हुन्छन्। सर्वसाधारणको नजरमा पर्न नदिईकन उनीहरूले यस्तो काम गर्छन्।
यो मध्यस्थतामा टर्कीको संलग्नता संयोग मात्रै होइन।
टर्कीको गुप्तचर निकाय एमआईटीका प्रमुख इब्राहिम कालीनले अघिल्लो हप्ता अङ्कारामा आफ्ना रुसी समकक्षीलाई भेटेका थिए।
टर्की नेटोको पनि सदस्य हो र उसले मस्कोसँग राम्रो सम्बन्ध कायम राखेको छ। टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच राम्रो सम्बन्ध छ।
१६ महिनापछि गोर्स्कभीच रिहा

द वाल स्ट्रीट जर्नलका पत्रकार गोर्स्कभीच एक अनुभवी रुस संवाददाता थिए र पक्राउ परेको समयमा उनी यक्याटरिङबर्गमा कार्यरत थिए।
अघिल्लो वर्ष पक्राउ परेका उनलाई रुसले जासुसीको आरोप लगाइएको थियो। उनी बन्दी साटफेर अन्तर्गत रिहा भएको वाल स्ट्रीट जर्नलले पुष्टि गरेको छ।
उनी र अन्य अमेरिकीहरू रुसी विमानबाट ओर्लिएको सो समाचारपत्रले जनाएको छ।
गोर्स्कभीचले द वाल स्ट्रीट जर्नलका लागि पक्राउ पर्नुभन्दा अगाडि एक वर्षभन्दा बढी समयदेखि काम गरिरहेका थिए।
विगतमा उनले त्यहाँ नै एएफपी समाचार संस्था र द मस्को टाइम्समा काम गरेका थिए।
द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनी विरुद्धका आरोपलाई कडा शब्दमा अस्वीकार गर्दै आएको थियो।
१६ महिनापछि रिहा भएका उनलाई रुसको अदालतले जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








