डोनल्ड ट्रम्पको 'हत्या गर्ने प्रयास', कानमा गोली लाग्यो

ट्रम्प

तस्बिर स्रोत, Reuters

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआ आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ।

उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ।

उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ।

उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो।

गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए।

त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेका थिए।

ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल "ट्रूथ सोशल" मा एउटा सन्देश लेख्दै आफू "सकुशल रहेको" र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन्।

ट्रम्पले लेखेका छन्, "सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो।"

"धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।"

उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।

डोनल्ड ट्रम्पमाथि भएको हमलाका सम्बन्धमा हालसम्म थाहा भएका विवरणः

-ट्रम्पले उनको दाहिने कानको माथिल्लो भागमा गोलीले चोट पुर्‍याएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

-उनी माथि गोली प्रहार भएको घटनापछि एकजनाको ज्यान गएको र अन्य दुईजना घाइते भएको बताइएको छ। सुरक्षा अधिकारीहरूले तीनै जना वयस्क पुरुषहरू रहेको जनाएका छन्।

-एफबीआइले ट्रम्पमाथि गोली प्रहार गर्ने संदिग्ध बन्दूकधारीको पहिचान गरिएको बताएको छ। २० वर्ष उमेरका थमस म्याथ्यू क्रूक्स नामक ती व्यक्तिलाई सिक्रेट सर्भिसका अधिकारीले गोली हानी मारिदिएका थिए।

-हमलाकारी पेन्सिल्भेनिआ राज्यको बेथेल पार्क निवासी बताइएको छ। उक्त नगर घटनास्थल बट्लरबाट ७० किलोमिटर पर अवस्थित छ।

-केहिबेर अघिको पत्रकार सम्मेलनमा एफबीआइका फिल्ड अफिसर केभिन रोजेकले गोली प्रहारको घटनालाई ट्रम्पको हत्या गर्ने प्रयासका रूपमा लिइएको बताएका थिए।

एक सन्दिग्ध मारिए

ट्रम्प

तस्बिर स्रोत, Getty Images

उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई 'यूएस सिक्रेट सर्भिस'का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए।

उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

कानुन कार्यान्वयन गर्ने अमेरिकी निकायका स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई ती पुरुष आक्रमणकारीले राइफल बोकेको र घटनास्थलभन्दा केही परबाट एउटा अग्लो स्थानमा चढेर गोली प्रहार गरेको बताएका छन्।

ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताएका छन्।

गुग्लिएल्मीले ट्रम्प सुरक्षित रहेको र उनको सुरक्षाका लागि आवश्यक कदम चालिएको बताए। उनका अनुसार घटनाबारे हाल अनुसन्धान जारी रहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।