किर्ते गरेर 'पोर्नस्टार'लाई रकम दिएको मुद्दाको फैसला उल्ट्याउन ट्रम्पको आग्रह

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्पले सर्वोच्च अदालतको फैसलाको प्रशंसा गरेका छन्

डोनल्ड ट्रम्पका वकिलहरूले भूतपूर्व 'पोर्नस्टार' स्टोर्मी ड्यान्यल्सलाई रकम दिएको प्रकरणमा उनी दोषी ठहर भएको विषयलाई बेवास्ता गर्न र यो महिना सजाय तोक्ने योजना पछि सार्न न्यूयोर्कस्थित अदालतलाई आग्रह गरेको विवरण अमेरिकी सञ्चारमाध्यममा प्रकाशित भएको छ।

उनीहरूले उक्त मुद्दाको सुनुवाइको नेतृत्व गरेका न्यायाधीशलाई एउटा पत्र पठाउँदै सोमवार सर्वोच्च अदालतले ट्रम्पलाई उनले राष्ट्रपतिका रूपमा गरेका औपचारिक कामकारबाहीका लागि उन्मुक्ति प्रदान गरेको दाबी गरेका छन्।

व्यावसायिक अभिलेख किर्ते गरेको सन्दर्भमा उनीविरुद्ध परेका ३४ वटा अभियोगमा गत मे महिनामा अदालतले ट्रम्पलाई दोषी ठहर गरेको थियो। अदालतले आगामी जुलाई ११ मा सजाय सुनाउन लागेको छ।

ह्वाइटहाउस गइसकेपछि ट्रम्पले सन् २०१७ मा ती कागजपत्र अनुमोदन गरेका थिए। अहिले उनका वकिलहरूले त्यसलाई ट्रम्पले राष्ट्रपतिका रूपमा गरेको काम मानिनुपर्ने तर्क गरेका छन्।

गत वर्ष पनि वकिलहरूले ट्रम्पविरुद्ध लागेका आरोपहरूलाई 'राष्ट्रपतीय अधिकार'को सेरोफेरोमा बुझ्नुपर्ने तर्क गरेका थिए।

यद्यपि सङ्घीय अदालतका एक न्यायाधीशले ट्रम्प आफ्नो आचरण "राष्ट्रपतिले गरेको वा राष्ट्रपतिका लागि गरिएको कार्य" का रूपमा देखाउन "विफल" भएको लेखेका छन्।

ट्रम्प

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकी संसद् भवनमा दङ्गा हुनुअगाडि डोनल्ड ट्रम्पले ज्यानुअरी ६, २०२१ मा गरेको टिप्पणीलाई आधिकारिक गतिविधि मान्न सकिने सम्भावना छ

सर्वोच्च अदालतले के भन्यो

ट्रम्पले सोमवार सर्वोच्च अदालतको आदेशलाई अमेरिकाको संविधान र प्रजातन्त्रको पक्षमा "ठूलो विजय"को सङ्ज्ञा दिँदै प्रशंसा गरेका छन्।

न्यायाधीशहरूले "औपचारिक कामकारबाही" का लागि राष्ट्रपतिले उन्मुक्ति पाउने तर "अनौपचारिक कामकारबाही" का लागि नपाउने ठहर गरेका थिए।

यो आदेश ट्रम्पले जो बाइडन विजयी भएको सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउन खोजेको भन्दै परेको मुद्दामा आएको हो।

चुनावमा धाँधली गरेको आरोपको सन्दर्भमा ट्रम्पले न्याय मन्त्रालयका अधिकारीहरूसँग गरेको सम्पर्कलाई राष्ट्रपतीय कर्तव्यभित्र राखेर हेरिएको छ। अब ट्रम्पविरुद्ध परेको उक्त अभियोग व्यावहारिक रूपमा निष्क्रियजस्तै भएको छ।

सोमवार सर्वोच्च अदालतबाहिर प्रदर्शनकारीहरू भेला भएका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सोमवार सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा बाहिर प्रदर्शनकारीहरू भेला भएका थिए

अब अभियोजनकर्ताहरूले ट्रम्पविरुद्ध कुनै मुद्दा हाल्न निकै मेहनत गर्नुपर्ने छ।

सर्वोच्च अदालतको फैसलालाई बाइडनले "भयानक नजिर" भन्दै त्यसले अमेरिकाको "विधिको शासन" लाई कमजोर बनाएको प्रतिक्रिया दिए।

उक्त फैसला गर्ने इजलासमा भएका नौ न्यायाधीशमध्ये छ जना कन्जर्भेटिभ हुन्। उक्त फैसला ६-३ को बहुमतमा आएको थियो।

ट्रम्पका वकिलहरूले न्यूयोर्कका न्यायाधीश ह्वाँ मर्शानलाई सोमवार पत्र पठाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

सर्वोच्च अदालतको फैसलाले राष्ट्रपतीय कर्तव्यको परिधिमा पर्ने भएकाले न्यूयोर्कको मुद्दामा पेस गरिएका केही प्रमाणलाई मान्यता दिइनु नहुने तर्क गरेका छन्।

उक्त पत्र सार्वजनिक हुन बाँकी नै छ। न्यायाधीश मर्शानले पनि त्यसबारे कुनै टिप्पणी गरिसकेका छैनन्।

ट्रम्प दोषी ठहर भएको मुद्दा

मे महिनामा म्यान्हटनस्थित अदालतमा १२-सदस्यीय न्यायिक समितिले व्यावसायिक अभिलेख किर्ते गरेको मुद्दामा एकमतले ट्रम्प दोषी भएको ठहर गरेका थिए।

उक्त मुद्दाको सुनुवाइका क्रममा ट्रम्पसँग यौन सम्बन्ध भएको आरोप लागेकी भूतपूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्ससहित विभिन्न साक्षीहरूले बयान दिएका थिए।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको अभियानको अन्तिम चरणमा 'ड्यान्यल्सलाई मुख नखोल्नका लागि ट्रम्पले गुप्त रूपमा रकम दिएको' आरोप लागेको थियो।

छलपूर्वक कानुनी खर्चको शीर्षकमा पैसा स्वीकृत गरेर ड्यान्यल्सलाई रकम दिँदा निर्वाचन कानुन उल्लङ्घन भएको अभियोजनकर्ताहरूको तर्क थियो।

ट्रम्पले न्यूयोर्कस्थित अदातलको फैसललाई "कलङ्क" भनेका थिए।

यो मुद्दामा ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ। कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन्।

भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो।

उक्त फैसला आएपछि ट्रम्पका एक वरिष्ठ अधिवक्ताले 'पूर्वराष्ट्रपतिको कानुनी टोलीले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको बताएका थिए

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।